arrow

कोरोनाले घचेट्दा

logo
रश्मी कडरिया, 
प्रकाशित २०७७ वैशाख १७ बुधबार
rashmi-kadariya.jpg

‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसि’ आफू जन्मिएको ठाउँ र आफूलाई जन्म दिने आमा स्वर्गभन्दा पनि प्यारो हुन्छ भन्ने यो संस्कृत भनाइ यथार्थ रहेछ भन्ने महशुस गरे मैले आज आएर । आज मलाई गाउँले जीवन भन्दा शहरीया जीवन बेस भन्ने शिर्षकमा सानो छँदा गरिएको बादविवादको झल्को आयो नराम्रोसंग । मैले शहरीया जीवनको पक्षमा राखेका ती दमदार तर्क जसको कारण प्रथम हुन सफल म, अनि गाउँले जीवनको पक्ष लिएर हार बेहोरेको त्यो माने । शहरको पक्षमा तर्क राख्दै त्यतिबेला प्रथम हुन सफल म, आज निर्लज्ज हार बेहोरेको छु भने माने सदासदाको लागि विजयी भएको छ । वादविवादमा हारेर पनि आज । हो माने तँ साह्रै वुद्धिमानी र भाग्यमानी रहेछस् । 

अभागी त म रहेछु, छोटो वुद्धि मेरो रहेछ । वर्तमानको सुखद परिकल्पना गरेर म शहरमा त्यसै रमाएँ । म शहरको रमझममा रमाएँ एकछिन । तँ गाउको हरियाली र मनोरम वातावरण अंगालेर संघर्षमा रमाइस् । म बाबुबाजेले जोडेको जायजेथा बेचेर, थातथलो छोडेर काठमाडौं शहरमा पुगेस् नपुगेस् एउटा घर टेकाएँ । आँगनमा तुलसी मठ समेत नअटाउने, दुईचार वटा फुल फुलाउन गमला किन्नु पर्ने, मर्दा सुताउने ठाउँसम्म पनि नभएको ठाउँमा रमाउन पुगें ।

तैले सम्झाएको नमानेर, मैले मेरो जायजेथा बेचेर हिँड्न लाग्दा, तैले मै किन्छु भनेर किनिदिएर गुन समेत लगाइस्, त्यतिवेला । तँलाइनै जवरजस्त दिएर हिडेँ म । मैले बेचेको बाँझो खेतवारीमा दश नंङग्रा खियाएर धान, मकै, कोदो, गहुँ  फलाउदै कृषिमा नै रमिस् तँ । बिहान बेलुका घरको ताजा खाना खाएर घर नजिकैको विद्यालयमा सेवा गरिस् र पेन्सन पकाउन सफल भइस् । 

तर म, गाँउको सेवाबाट टाढिएर शहर पसेको अझ भन्नु पर्दा गाउँबाट भागेको म, गाउँलाई हेला गर्ने मान्छे म । शहरमा सबैथोक किनेर खानु पर्ने त्यो पनि बासी तासी बिषादी हालेको । म त्यसमै रमाइ रहेँ । दुःखजेलो गरेर जसोतसो छोराछोरी हुर्काउन बढाउन र पढाउन त सफल भएँ । जसरी मलाई तैले अथक प्रयाश वावजुद रोक्न सकिनस् नि माने त्यसरी नै मैले मेरा छोराछोरीको विदेश मोह रोक्न सकिन। हुर्किएर पाखुरा लागेसंगै छोराछोरी विदेश पलायन भए । 

हामी बुढाबुढी, बुहारी र नातिनातिना छौं । अब छोराको ग्रीन कार्ड भएसंगै उनीहरु पनि उतै जाने तरखरमा छन् । अन्त्यमा, हामी बुढाबुढी टक्रायक टुक्रुक्क हुने निश्चित छ । बिरामी हुँदा स्याहार गर्ने  र अस्पताल पुर्याउने कोहि हुँदैन भन्ने पक्का पक्की भै सकेको छ । विदेश पुगेका कस्का छोराछोरी फर्किएका छन् र आजसम्म ?

विदेश मोह कतिपय वाध्यता त कतिपय विवशता किन नहोस् बाबु आमाको मृत्यु संस्कारमा समेत नआएका कति घटना हामीले देखेसुनेकै हो । हाम्रो  पो किन त्यो भन्दा भिन्न होला र माने ? विदेशबाट जति नै पैसा पठाए पनि संगै भएजस्तो आड भरोषा र सन्तुष्टि कसरी हुन्छ र ? जति पैसा भए पनि आखिरमा यहि एकमुठ्ठी सासको आस सबैलाई हुँदो रहेछ के रे !

मरेर कसैलै के नै पो लग्दो रहेछ र ? हिजोआज मलाई न निद्रा छ, न भोक नै छ । छ त केवल तनाव मात्रै । माने म त बोइलर कुखुरा जस्तै भएछु । हेर्दा मोटोघाटो देखिने तर विना तागतको कृतिम फगत । कृतिम र बनावटी मात्रै । शहरको बासी तासी बिषादी मिश्रित खानेकुराले । आखिर चाहिने त गाउँ पो रहेछ । सफा, हरियाली र स्वच्छ वातावरण । आहा ! कति रमणिय छ यो म जन्मेको हुर्केको ठाउँ । शहर त विरानो र स्वार्थी हुँदो रहेछ मानें । 

एउटा घरको कुरा अर्को घरमा थाहा नहुने । अझै भनौं भने एक कोठाको कुरासम्म अर्को कोठाकालाई पनि केहि थाहा नहुने । नितान्त एक्लो । सबै आ–आफ्नै धुनमा व्यस्त अनि मस्त रहने । पहिला यहि गाउँको हेला गरियो तर आज आपत् विपद पर्दा म मात्रै हैन माने सारा सहरीया गाउँ हुत्तिएका छन् । भीडभाड र कोलाहाल तथा महामारीबाट बच्ने आशमा । 

मोवाइल नभई खाना नखाने मेरा नातिनातिना आज गाउँको आँगनमा चरेका कुखुरा, परेवा तथा बाख्राका पाठासँग रमाउदै पिँढीमा बसेर दुईथाल भात खाएका छन् हेर्त माने । घरको बरण्डामा बिरालो म्याउँम्याउँ कराएको, पालिमा बाँधिएको कुकुर, गोठ भरीका गाई, भैसी देखेर उनिहरु दंग परेका छन् ।  

चिडियाखाना चटक्कै बिर्सिएका छन् । शहरमा औषधिले पकाइएका स्याउ केरा खाएका केटाकेटी, काल्नामा फलेका अम्बा, पहेलम्पुर पाकेका केराको घरी, आरु, आल्चा, आरुपोखडा, अमला, अमरा, च्युरी, तिँदु, आँप, लिचि, कटहर अनि घर मुनिको खोल्सामा पाकेका ऐसेलु, अंगेरी, खनायो र काफल खाँदा तीन छक्क परेका छन् । 

साधारण रुघाखोकी लाग्दा पनि एन्टिबायोटिकको सहारा लिनु पर्ने मेरा नातिनातिना र तेरा नातिनातिनाले खाने तुलसीपत्ता, बेसार, अदुवा, महमा कति फरक छ ? भन्त माने । तेरा केटाकेटीहरु भदाला भरीका दूध, मही र घ्यु खाएर हुर्किएका छन् । तर मेरा केटाकेटीहरु पोकाको दूध देखे खाएका बाल्टीमा भैसीको दूध देख्दा समेत आश्चर्यमा परेका छन् । अचम्म मानेका छन् । तेरा नातिनातिना कति रातापिरा र बलिया छन् तर यिनीहरु बोइलर हुन् । तेरा नाति नातिनाले तँलाई भैसी पालेर बुढेसकालमा दूध दही खुवाएर स्याहार गर्छन् । मेराले बजार गएर त्यही पोका दूध ल्याउने क्षमता समेत छैन, कति फरक छ । त्यो मानेमा गाउँको यो बसाइ अनि शहरको त्यो बसाइमा माने, तँ त बुझ्छस् नि है ?

तँ त साच्चै भाग्यमानी रहेछस् भकारी भरी धान छ । खलियोमा दाउराको चाङ छ । बारीभरी घिरौला, चिचिण्डा र फर्सीको झाँङ छ। अनि लटरम्म फलफुल अनि के चाइयो र माने ।  त्यति मात्रै होइन परिवारको साथ पनि छ । सबै संगै छौ ।  न कुनै पीर चिन्ता । न कुनै दुःख, तँ त मानसिक शारीरिक र भौतिक रुपमासमेत पूर्ण छस् । म जस्ता कयौ सहरियाहरु आज, त्यही भौतिक सम्पत्ति, कंक्रीट बिल्डिङग् पनि छोडेर महामारीबाट जोगिने आशमा गाउँ हुत्तिएका छन् आखिर । भौतिक सम्पत्ति बाहेक केहि नभएर दुखी छन् । पीडित छन् । पारिवारिक र मानसिक सुखको लागि तड्पिएका छन् जीवनको उत्तरार्धमा । ‘न्याउरी मारी पछुतो’ भनेको यही त होला नि माने । आज म कोरोना जस्तो महामारीबाट जोगिन र प्राण रक्षाको आशमा फेरि तेरै शरणमा यही गाउँ आएको छु ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ