- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
यो अध्याय लामो भएकोले आधा यो भागमा र आधा अर्को भागमा पोष्ट हुनेछ। श्रीमद्भगवद्गीताको अध्याय दुई अर्थात साङ्ख्ययोग । बहत्तर श्लोकको यो अध्यायलाई पुरै श्रीमद्भगवद्गीताको सारसंक्षेपको रुपमा मानिन्छ।
अध्याय एकमा अर्जुनको विषाद र आफन्तलाई युद्धमा मार्नुपर्दाको पीडा सुनिरहेका भगवान् श्रीकृष्ण अब यो अध्याय सुरू भएपछि बोल्न थाल्नुहुन्छ। यो अध्यायमा सञ्जय मात्र तीन श्लोकमा बोल्छन्। अर्जुन आफ्ना जिज्ञासाहरु छ श्लोकमार्फत श्रीकृष्ण समक्ष पुर्याउँछन् भने बाँकी त्रिसठ्ठी श्लोकमा भगवान् श्रीकृष्ण बोल्नुहुन्छ।
अर्जुनमा उत्पन्न भएको विषाद देखेर छक्क परेका श्रीकृष्ण भन्नुहुन्छ– यस्तो वीर अर्जुनमा कायरता कहाँबाट आयो ? अर्जुनले युद्ध लड्दिन भनेर धनुष बिसाएपछि श्रीकृष्णको यो पहिलो प्रश्नमै कायरता भन्ने शब्द प्रयोग भएको छ। यो अध्यायमा आत्मा, शरीर, पुनर्जन्म, भगवानका अवतार किन र कहिले हुन्छन्, स्थितप्रज्ञहरुको चरित्रका बारेमा बताउनुहुन्छ र अर्जुनलाई युद्ध गर्न भन्नुहुन्छ। तर यो अध्यायका कुरा सुनेर मात्रै अर्जुन युद्ध गर्न तयार हुँदैनन् । यही अध्यायबाट अर्जुन र श्रीकृष्णका बीच गुरू शिष्यको सम्बन्ध स्थापित हुन पुग्दछ।
यो अध्यायलाई पाँच भागमा विभाजन गरेर व्याख्या गर्न सकिन्छ। यो अध्यायको पहिलो भागमा पहिलो श्लोकदेखि दशौं श्लोकसम्ममा अर्जुनको कायरताका विषयमा बोल्दै भगवान् श्रीकृष्ण भन्नुहुन्छ– तिमीजस्तो वीरलाई यो शोभा दिदैन।
अर्जुन ! जो वीर हो, जसले वीर भनेर आजसम्म परिचय बनाएको छ, उसले युद्धमैदानमा पुगिसकेपछि हतियार बिसाउनु कायरता हो । वीर मान्छेलाई डराएर कायरता देखाउने छुट धर्मले दिएको छैन् । आफूले जे जानेको छ त्यही गर्नुपर्छ भन्ने यी दश श्लोकको शिक्षा हो । मानिसले दुई लक्षका साथ काम गर्नुपर्छ, पहिलो मोक्षको प्राप्ती र अर्को कीर्ति । कीर्ति बाँचुन्जेल र मरेपछि दुवै अवस्थाका लागि हुन्छन् भने मोक्ष मृत्युपछिको लागि हो । कायर मानिसले ती दुबै लक्ष हासिल गर्न सक्दैन।
आफूलाई भगवानले कायर भनेको सुनेर खिन्न हुँदै अर्जुन भगवान् श्रीकृष्णसँग सोध्छन्– म त विवेकको दुर्वलताले गर्दा के सही हो के गलत हो छुट्याउन सकेको छैन। अब मलाई शिष्य स्वीकार गरेर के ठीक हो, के बेठीक हो बताउनुहोस् । अर्जुनले यहाँ आइपुगेर यी वचनहरु भनिरहँदा उपदेश र दिब्यज्ञानका लागि गुरूशिष्य परम्परा फेरि एकपटक स्थापित भएको अनुभूति हुन्छ। जब गुरू स्वीकार गरिन्छ तब सुन्न र ग्रहण गर्न सजिलो हुन्छ । गुरू र शिष्यको बीचमा शिष्य जहिले पनि गुरूको चरणमा र शरणमा हुनुपर्छ । गुरूलाई विश्वास गर्नुपर्छ र गुरूले भनेका कुरा जस्ताको तस्तै मान्नुपर्छ।
यो अध्यायको दोस्रो भाग अर्थात् एघारौं श्लोकदेखि तीसौं श्लोकसम्म अर्जुन अलमलमा परेको देखेपछि भगवान् श्रीकृष्ण अर्जुनलाई सम्झाउन थाल्नुहुन्छ । कतिपय बिद्वानहरुले त श्रीमद्भगद्गीताको सुरूवात नै यहि दोस्रो अध्यायको एघारौं श्लोकबाट भएको मान्छन् । यो श्लोकमा सुरु भएको ‘अ’ कार नै श्रीमद्भगवद्गीताको पहिलो अक्षरको रुपमा लिएको पाइन्छ।
अशोच्यानन्वशोचस्त्वं प्रज्ञावादांश्च भाषसे ।
गतासूनगतासूंश्च नानुशोचन्ति पण्डिताः ।।
यहाँबाट भगवानले साङ्ख्ययोगको दर्शनबाट अर्जुनलाई केही कुराहरु भन्नुहुन्छ । यहाँ भगवान् श्रीकृष्णले आत्माको कुरा निकाल्नहुन्छ । उहाँले शरीर र आत्माबीच फरक छ भन्दै कसरी फरक छ भन्नेबारेमा पनि अर्जुनलाई ज्ञान दिनुहुन्छ ।
भगवान् अघि भन्नुहुन्छ– शरीर भनेको नाशवान् छ, शरीर मानिसले लगाउने लुगा समान हो । जसरी लुगा पुरानो हुँदै गएपछि मानिसले त्यसलाई त्यागेर अर्को नयाँ लुगा लगाउँछ, त्यसैगरी नाशवान् शरीर पनि बृद्ध भएपछि हामीले लुगा फेरेको जस्तै गरि समयक्रममा शरीरलाई एकदिन आत्माले त्याग्छ । तर आत्मा अजर छ, आत्मा अमर छ र आत्मा कहिल्यै मर्दैन ।
यसरी भगवान् श्रीकृष्णले आत्मा र शरीरबीचको सम्बन्ध र फरक बताउने क्रममा बाह्रौं श्लोकमा भन्नुहुन्छ–
न त्वेवाहं जातु नासं न त्वं नेमे जनाधिपाः ।
न चैव न भविष्यामः सर्वे वयमतः परम् ।।
तिमी र म हिजो पनि थियौँ र आज पनि छौँ अनि भोलि पनि हुनेछौँ । भगवान् श्रीकृष्णले यसो भनिरहँदा यहाँ सनातन हिन्दु धर्मले स्वीकार्दै आएको पूर्वजन्म र पुनर्जन्म स्थापित भएको बुझिन्छ ।
यही सिलसिलामा भगवान् श्रीकृष्ण अर्काे महत्वपूर्ण कुरा के भन्नुहुन्छ भने सुख र दुःख त इन्द्रियले भोग गर्ने कुरा हो । सुख दुःख भोगकै पछि लागेर इन्द्रियहरुलाई हामी बारम्बार अस्थिर बनाइरहेका हुन्छौँ, आत्मा सधै स्थिर हुन्छ । आत्माले सुख दुःख भोग्दैन । जसले भोग्छ त्यो नाशवान छ र जसले भोग्दैन त्यो अमर छ । भगवानको तात्पर्य नाशवान बस्तुको लागि शोक गर्न हुँदैन भन्ने हो । फेरि शास्त्रले त केसम्म भन्छ भने पृथ्वीमा मरेकाका लागि बाँचेका आफन्तले जति धेरै शोक गर्छन, स्वर्ग वा नर्कमा मरेकाले त्यतिनै धेरै पीडा सहनुपर्छ । तसर्थ पनि आफन्तको निधनमा गरिने अत्यधिक शोक हानिकारक हुन्छ ।
यही क्रममा भगवान् भन्नुहुन्छ, आत्मा कहिल्यै मर्दैन । यदि कसैले आत्मा मर्छ भन्छन् भने उनीहरु मुर्ख हुन्, ती अज्ञानी हुन् । हामी यदाकदा फलानो मृतात्मालाई श्रद्धाञ्जली भनेको पनि सुन्ने गर्छाैं । यो गलत हो, आत्मा कहिल्यै मर्दैन । हामीले सही भन्ने हो भने मृतकलाई श्रद्धाञ्जली भन्नुपर्छ । आत्मा र मृत भनेर कहीं लेखिन्छ, भनिन्छ भने त्यो सरासर गलत हो । जसले आत्मा मर्दैन भन्ने कुरा बुझ्दैन उसैले मात्र मृतात्मालाई श्रद्धाञ्जली भन्ने गर्छ ।
संसारमा नाश गर्ने जम्मा चार तत्व हुन्छन् र ती हुन्– हतियार, पानी, आगो र हावा । यी चार चिजले बाहेक अरु कसैले कुनै चिजको नाश वा विनास गर्नै सक्दैन । यहाँ भगवान् श्रीकृष्ण अर्जुनलाई भन्नुहुन्छ– अर्जुन आत्मा यति अजर छ कि आत्मालाई हतियारले टुक्र्याउन वा काट्न सक्दैन, पानीले भिजाउन वा गलाउन सक्दैन, आगोले जलाउन सक्दैन र हावाले उडाउन वा सुकाउन सक्दैन ।
नैनं छिन्दन्ति शस्त्राणि नैनं दहति पावकः ।
न चैनं क्लेदयन्त्यापो न शोषयति मारुतः ।।
संसारमा व्यक्त र अव्यक्त गरेर दुई किसिमका अवस्थाहरु हुन्छन् । जन्मनुभन्दा अगाडी र मरिसकेपछि अव्यक्त अवस्था हुन्छ भने जन्मेर मर्नुभन्दा अगाडीको अवस्थालाई व्यक्त अवस्था भनेर बुझ्नुपर्दछ । यसको अर्थ के हो भने जबसम्म एउटा आत्मा एउटा शरीरमा रहिरन्छ त्यतिबेलासम्म ऊ व्यक्त अवस्थामा रहेको हुन्छ । तर जब आत्माले शरीर छोड्छ ऊ अव्यक्त अवस्थामा पुग्छ ।
यस भागको मूख्य उपदेश सम्झाउने क्रममा सत्ताइसौं श्लोकमा भगवान् श्रीकृष्ण अर्जुनलाई हरेक जन्मेको मर्छ, हरेक मरेका जन्मछ भनेर बताउनुहुन्छ । यही नै सनातन धर्मको सार पनि हो । हामीले किन धर्म गर्नुपर्छ भन्नेको कुराको कारण पनि यहि नै हो । आज गरेको कर्मको फल अर्को जन्ममा मिल्ने कुराको प्रमाण पनि यहि नै हो ।
जातस्त हि ध्रुवो मृत्युर्ध्रुवं जन्म मृतस्य च ।
तस्मादपरिहार्येऽर्थे न त्वं शोचितुमर्हसि ।।
शोकको मात्रै कुरा हैन । शोक त बाँचेकाले मरेकाका लागि गर्ने हो तर आफूले गरेको धर्मको फल पछि आफैंले उपभोग गर्ने हो । केही हदसम्म मात्र आफूले गरेको धर्मको फल आफ्ना सन्तानले उपभोग गर्न पाउँछन्, त्यसको ठूलो हिस्सा त आफैंले उपभोग गर्ने हो । पापको सम्बन्धमा पनि नियम एउटै हो ।
यो अध्यायको बाँकी अर्को भागमा ...
(लामो समय बैंकिंग क्षेत्रमा विताएका राजु नेपाल (@rajunepal) सोखिन लेखक हुन् । उनका असंख्य लेख र श्रीमद्भगवद्गीताको व्याख्या सहित विभिन्न बिधामा चारवटा पुस्तक बजारमा छन् । अत्यन्त कठिन विषय सरल ढंगले प्रस्तुत गर्न सक्ने उनको अध्यात्मको गहिरो स्वअध्ययन छ । त्यसैको उपज यो श्रीमद्भगवद्गीताको सरल व्याख्या हो ।)