arrow

एउटै ब्रम्ह सत्ता स्त्री र पुरुष दुबैमा विद्यमान

शरीर एक माध्यम 

logo
विष्णुप्रसाद तिमिल्सीना,
प्रकाशित २०७७ वैशाख १९ शुक्रबार
vivekananda_and_ramakrishna_paramahamsa.jpg

गौरीघाट । स्वामी विवेकानन्दसंग उनका चेलाहरु अनेक जिज्ञाशाहरु राख्दथे । स्वामीजी उनीहरुको प्रश्नको उत्तर दिएर मनमा उठेका सन्देहहरु हटाउँदथे । 

एकजना शिष्यले स्वामीजी, शास्त्रहरुमा कतैपनि स्त्रीजातिले आश्रम (मठ) मा बसेको कुराहरु उल्लेख छैन । बौद्ध युगमामात्र स्त्री जातिहरु विहारमा बसेका, जसले गर्दा अनेक व्यभिचारहरु उत्पन्न भएको कुरा हामीले सुनेकाछौं भन्ने जिज्ञाशा राखेका थिए ।  

यस्तो जिज्ञाशालाई समाधान गर्न उनले भने, अध्यात्ममार्गमा लाग्ने यात्रीहरुले स्त्री र पुरुषमा भेद देख्नु हुन्न, वाह्य शारीरिक रुपमा मात्र दुवै फरक देखिन्छन् । वेदान्त शास्त्रले एउटै ब्रम्ह सत्ता सबैमा विद्यमान छ भनेकै छ, तापनि समाजमा स्त्रीजाति कतै कतै निन्दाका पात्र बन्न पुगेका र उनीहरुलाई सन्तान जन्माउने साधनका रुपमामात्र हेर्ने गरिएको छ । 

कुनैपनि शास्त्रमा स्त्री जाति ज्ञान र भक्तिको अधिकारी होइनन् भनेर बताइएको छैन । आफ्नो स्वार्थ पूर्ति गर्नमात्र भेद देखाइएको हो । यस्को ज्वलन्त उदाहरण उपनिषद्हरुमा उल्लेख छन् । 

मैत्रेय, गार्गी जस्ता महिलाहरु ब्रम्हचिन्तनमा लागेर ऋषिहरु सरह ज्ञान हासिल गरेका छन् । गार्गीले वेदज्ञ ब्राम्हणको साथमा याज्ञवल्क्यसंग शास्त्रार्थ गरेकी थिइन् । जव त्यसै वेलादेखि स्त्रीजातिले ब्रम्हतत्व प्राप्त गरेका उदाहरण छ भने अहिले नसक्ने, नहुने भन्ने कहाँ छ र ? जहां नारी पुजिन्छन्, त्यहां देवतापनि खुशी हुन्छन् । 

संसारमा कुनैपनि महान कार्य त्याग नभई सम्भव भएको छैन । जसरी विज रोपेपछि त्यसको सानो अंकुर बढ्दै गएर वृक्षको रुपमा परिणत हुन्छ, त्यसरी नै स्त्री जातिलाई पनि पुरुषसरह मौका दिनुपर्छ, शिक्षा दिनुपर्छ । यस्ता कार्य शुरु गर्दा आउने भय र कातरता जस्ता दुर्गुणहरुको वास्ता गर्नुहुन्न । मनमा सात्विक भावना राख्नुपर्छ, कसले के भन्ला भनेर अगाडि नबढ्ने हो भने के काम सफल होला र ?

स्त्रीजातिले पनि आश्रममा बसेर आफ्नो अध्ययन, उन्नति गर्न सक्तछन् । वेद, वेदान्त रटेरमात्र केही उपलव्धी हुन्न । हासिल गरेको ज्ञानलाई प्रयोगमा ल्याएर सत्कर्ममा उद्यत् हनुपर्छ । यसबाट समाजमा, देशमा, विश्वमा सद्भावना बढाउन मद्धत पुग्नजान्छ । आफूले विद्या हासिल गरिसकेपछि यदि ईच्छा छ भने गृहस्थाश्रममा पनि जाने बाटो खुल्ला गरिदिनुपर्छ । राम्रो नराम्रो जुनसुकै युगमा पनि भएकै छन् । संघर्ष नै जीवनको सफलताको चिन्ह हो । चाहे शिक्षा होस् या दीक्षा, धर्महीन भयो भने त्यसमा त्रुटी आउँछ । त्यसैले जो सुकैले पनि आत्मोन्नति गर्नेतर्फ लाग्नु नै श्रेय हुनेछ । (विवेकानन्द साहित्यमा आधारित)।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ