- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
अंग्रेजी वर्षको पूर्वसन्ध्यामा चीनको हुवेइ प्रान्तको वुहान शहरका जनताहरु नयाँ वर्ष २०२० को लागी स्वागत गर्न तम्तयारमा रहेको बेला कोरोना भाइरस (कोभिड १९) को केस देखियो । सार्स कोभ २ भन्ने भाइरसले गर्दा हुने यो रोग विश्वभर संक्रमणको जोखिम बढ्दै गएर र एक्कासी गाह्रो पारिरहेको छ भन्ने कुरा सञ्चार र सामाजिक मिडियाहरुबाट सुनेपछि मनमा चिसो भयो । अनि हाम्रो देशमा पनि कोभिड १९ आयो भने हाम्रो देशको स्थिति के होला भनेर मनमा अनेक कुरा खेल्न थाल्यो ।
विश्वकै आर्थिक रुपमा सम्पन्न मुलुकहरु जस्को स्वास्थ्य संरचना सवल छ, सबै कुरामा उनीहरु अव्वल छन् । त्यस्ता देशले त अझ वढी मानवीय क्षति बेहोर्नु परेको छ भने हाम्रो जस्तो सिमित स्रोत र साधन भएको मुलुकमा यसले ल्याउने आर्थिक तथा मानवीय क्षति कति होला भनेर आँकलन गर्न कठीन थियो ।
त्यतिवेला नेपालमा कोभिड १९ ले केही असर पारेको थिएन । तैपनि पछि कुनै असर नपरोस भनेर सरकारी निकायबाट व्यवस्थित बनाउने राम्रो कोसिस भइरहेको थियो । अफिसमा काम गरिरहेको समयमा एक्कासी कानमा कुरा आयो कि चीनको हुवेई प्रान्तबाट १७५ जना नेपालीलाई नेपाल ल्याउने तयारीमा छ सरकार भन्ने सुनेपछि मनमा अनेक कुरा खेल्न थाल्यो । सुरुमा थाहा भएन ती नेपालीमा कोभिड १९ पोजेटीभ छ की नेगेटीभ भन्ने मनमा डर बसिराख्थ्यो । यदि ती नेपालीमा पोेजेटिभ भए हामी नेपालीहरुलाई बाच्न गाह्रो हुन्छ भन्ने मनमा लिंदै अफिसबाट घर फर्किएँ । रातभरि निन्द्रा लागेन । के गर्ने होला यस्तो वेलामा भनेर मनमा कुरा खेलिरह्यो ।
फेरि एक्कासी अर्को कुरा मनमा आयो “म एउटा नेपाल रेडक्रस सोसाइटीको कर्मचारी भएको नाताले समाज सेवा गर्दै आएको, त्यसमाथि स्वास्थ्य सेवामा विगत तीन वर्षदेखि आकस्मिक कक्षमै काम गरेको अनुभवले मैले केही गर्नुपर्छ” भन्ने सोच आयो ।
यसैक्रममा नेपाल सरकारबाट खरिपाटी, भक्तपुरमा चाइनाबाट ल्याइएका नेपालीलाई क्वारेन्टाइनमा राख्नु पर्छ भन्ने कुरा आएपछि मैले स्वास्थ्य मन्त्रालयको स्वास्थ्य आपत्कालीन प्रतिकार्य सेन्टरको बैठकमा बस्ने मौका पाएँ । यो अवसर मेरो लागि धेरै महत्वपूर्ण थियो । त्यही बेला सबैको योजना सुनेर बसेको थिएँ । हामीले पनि सरकारलाई सहयोग गर्न सक्छौं भन्ने कुरा राखें, नेपाल रेडक्रस सोसाइटीसंग आफ्नै रेडक्रस आपत्कालीन क्लिनिक आरसीईसी छ । त्यसमा हामीसँग स्वास्थ्यकर्मी लगायत स्वयंसेवकहरु पनि हुनुहुन्छ भन्ने कुरा राखें । उक्त कुराले सरकारी निकायका प्रतिनिधिहरु खुशी हुदै सहयोग चाहिन्छ भन्नु भयो । त्यसमा नि हामीले स्वास्थ्य मन्त्रालयसँग एमओयू गरेको कारणले हरेक कुरा सजिलोसँग अगाडि बढ्यो ।
त्यही क्रममा मैले हाम्रो रोष्टरमा भएका क्लिनिकल टिमलाई तयारी अवस्थामा बस्न मेसेज पठाएँ । उक्त मेसेजमा आउन खोज्ने महान स्वास्थ्यकर्मीहरुले आउन सक्ने कुराको जानकारी गराउनु भयो । सोही अनुसार १४ फेब्रुअरी, २०२० का दिन २० जनाको समूह परिचालन गरेका थियौं । त्यो २० जनाको समूह मध्ये ८ जना खरिपाटीको क्वारेन्टाइन क्षेत्रमा, व्याकअपका लागि राखिएको थियो भने बाँकी स्वास्थ्यकर्मी खरिपाटीको गेट अगाडि हेल्प डेक्समा परिचालन गरिएको थियो । शुरुको दिन खरिपाटी पुग्दा मनमा डर लागिरहेको थियो कि कतै हामीलाई नि सर्छकी भनेर । तर मैले आफ्नो मनलाई सम्हालेर कामतिर ध्यान आकर्षित गरेकी थिएँ।
प्रत्येक दिन २ जना आरसीईसीको रोष्टरमा रहेका स्वास्थ्यकर्मी विहान १० बजेदेखि साँझ ५ बजेसम्म त्यहाँ खटिनु हुन्थ्यो भने समय समयमा म आफैँ जान्थें । त्यहाँको अवस्था हेर्दा वरिपरिका मान्छेले घर खाली गरेर आफन्तहरुको घरमा हिंडेको र भाडामा बस्नेहरु कोठा नै सरेर अन्यत्रै गएका थिए भने बाँकी रहेकाहरु पनि अव मरिन्छ भनेर आश मारेको अवस्था थियो । त्यस्तो अवस्थालाई सुधार गर्न नेपाल रेडक्रस सोसाइटीको आरसीईसीकोे रोष्टरमा भएका व्यक्तिहरु त्यहाँ खटाइएकोे थियो । जुन कुरा व्यवहारमा उत्तार्न त्यहाँ जनतालाई भेटेर सम्झाउन बुझाउन धेरै गाह्रो थियो । आपत्कालीन अवस्थामा काम गर्दा कठिनाई त छदैछ अर्कोतिर बासिन्दाहरुको कुरा सुन्दा हामीलाई नै केही हुन्छ कि भनेर मन आत्तिन्थ्यो । यसै क्रममा खरिपाटीमा १७ दिन विताएको पत्तै भएन । अफिस, खरिपाटीको काम र घर गर्दा गर्दै १७ दिन वित्यो । क्वारेन्टाइनमा बस्ने सवैको रिपोर्ट निगेटिभ आएपछि अव केही हुन्न होला भनेर मनलाई शान्त बनाएँ ।
खरिपाटीबाट घर पुग्दा छिमेकीहरुले पनि मलाई हेर्दा डराएर हेरेको जस्तै अनुभव हुन्थ्यो । तपाई नजानु भन्ने जस्ता कुरा सुन्दा मन नै खिन्न हुन्थ्यो । मनलाई बुझाउदै केही हुन्न भनेर अरुलाई हासो देखाएर घरभित्र पस्थें । यसरी १८ औं दिनमा क्वारेन्टाइनमा राखिएका सबैलाई विदा दिएपछि सरकारी निकायका प्रतिनिधिहरु र हाम्रो समूह लगायत सबै क्वारेन्टाइनभित्र पस्यौं । घर जानभन्दा अगाडि फेरि मनमा चिसो पस्यो । ला भित्र गएँ । कही हुने हो कि ? भन्ने डरले कहिले छोडेन । मलाई एउटा अनौठो डर लागि रहन्थ्यो ।
जब क्यारेन्टाइनका सबैलाई आ आफ्ने घरमा पठाइयो र म पनि घर आएँ तर घरमा आउँदा मनमा नराम्रो सोच आउथ्यो । त्यसपछि म एक्कासी विरामी भएँ, रुघा लाग्यो भने पनि मनले ठाउँ छोडे जस्तै हुन्थ्यो । ला अव रुघा लाग्यो आमा बुबा र परिवारबाट टाढा छु मलाई केही भयो भने एक्लै मर्नपर्छ । जस्तो कुविचारले मलाई आलस्य बनायो । आफैं रुन्थें । आफैं मन सम्हाल्थें र केहि हुन्न मैले समाज सेवा गरेको छु । मलाई भगवानले हेर्नु हुन्छ भनेर सोच्थें । मलाई आरामको आवश्यकता छ भनेर अफिसमा फोन गरेर जानकारी दिएँ र एक हप्ता कोठामै थन्कें । एक्लै एउटा कोठामा विरामी अवस्थामा पानी दिने मान्छे पनि नहुँदाको पिंडा म कल्पना पनि गर्न सक्दिन । केही दिनमा रुघा पनि कम भयो र आफ्नो आत्मवल दरो बनाएर अफिस गएँ ।
अफिस जाँदा फेरि एक्कासी टेकु अस्पतालमा आरसीईसी परिचालन गर्नुपर्ने कुरा सुन्दा मनले ठाउँ नै छोडेको जस्तै अनुभव भयो । जाँदिन पनि भन्न सकिन, जान्छु पनि भन्ने आँट आएन तर सबै स्वास्थ्यकर्मी (सबै डाक्टर, नर्स)ले सेवा दिएको देख्दा मनमा आँट आएर हुन्छ भनें र फेरि कोभिड १९ कै टेकु अस्पतालमा हेल्प डेक्स राखियो । हाम्रो रोष्टरबाट दिनमा २ जना स्वास्थ्यकर्मी र म समेत गरी ३ जना टेकुमा खटियौं । धेरै किसिमका मान्छेहरुसँग भेट हुन्थ्यो, कुराकानी हुन्थ्यो । हाम्रो टिमलाई पनि परामर्श दिंदा खुशी भइन्थ्यो तर खुशी पछाडिको पिडा लुकाउनु पथ्र्यो । घर फर्किंदा र अफिस जाँदा सबै जना टेकुबाट आएको भन्दै मबाट टाढा भएको अनुभूति हुन्थ्यो । कति जनाले राम्रो काम गर्नु भएको छ भन्नु हुन्थ्यो र मन खुशी हुन्थ्यो । आत्मवल बढेर आउँथ्यो । यसरी अस्पतालको ७ दिनको सेवा दिने काम सकियो । त्यही बीचमा हामीसंग सल्लाह लिन आउनेहरुमध्ये दोस्रो नेपालीको पोजेटिभ केस भएकी महिला पनि पर्नु हुन्थ्यो । उहाँलाई हामीले धेरै राम्रो सल्लाह दिएका थियौं । उहाँ पोजेटिभ हो वा होइन भनेर हामीले एकिन गर्न सक्ने कुरा पनि थिएन । उहाँको कुरा सुनेपछि स्याम्पल टेष्ट गर्न अस्पतालसँग अनुरोध गरियो । त्यसपछि हामी आफ्नो घरतिर लाग्यौं र तीन दिनपछि म अफिसको आफ्नै चेम्बरमा टेकु जाने तयारी गरिरहदा एक्कासी समाचार आयो कि फ्रान्सबाट आएकी एक जना महिलामा कोभिड १९ पोजेटिभ केस देखियो भनेपछि मेरो दिमागले काम नगरे जस्तै भयो । मन आत्तिएर ला तिनी त हामीहरुसँग कुरा गरेकी महिला हुन भन्ने कुुरा थाहा भैगयो । त्यसपछि मलाई धेरै डर लाग्यो र यताउता हिड्न थालें र सोच्न थालें अव के होला ? भनेर धेरै पिर पर्यो । घर, आफन्तहरु सबैबाट फोन आउन थाल्यो । उहाँहरुले भनेको र डराएको देख्दा झनै के होला भन्ने नकारात्कम सोचले पिरोल्यो । डराउनु पर्ने कारण चाही पीपीई(व्यक्तिगत सुरक्षाका सामग्री प्रयोग) पूर्ण रुपमा प्रयोग गरेका थिएनौं र हामीले सामाजिक दुरीकोे पनि ख्याल गरेका थिएनौं जो कोभिड १९ पोजेटिभ केस सर्नको लागि महत्वपूर्ण आधार (माध्यम) मानिन्छ ।
त्यसैले त्यो दिनदेखि टेकु जाँदा ध्यान दिएर गए । टेकु गएको कारणले म आफैं सबै जनाबाट टाढा भएर बस्थें । बनको वाघले खावस् कि नखावस मनको वाघले खान्छ भने जस्तै भयो मलाई । त्यस पछि पनि ७ दिन सेवा दिइयो । केस बढ्दै गएपछि मलाई धेरै कुराले मन पोल्न थाल्यो किनकी हामीसँग पीपीई सेट पनि थिएन । दिनमा ८० जनासम्मलाई परामर्श दिनुपर्ने अवस्थामा सुरक्षाका सामग्रीहरु पूरा नभएकाले हामीलाई केही भयो भने कसैले जिम्मेवारी नलिने भन्ने कुरा आएपछि मैले नजाने निर्णय लिएँ र पछि सरेको अवस्था रह्यो । अझै पनि त्यस्तो ठूलो महामारी नै आयो भने पनि मेरो ज्ञान, सिप र क्षमताले भ्याएसम्म देश र जनताको लागि म एउटा स्वास्थ्यकर्मी र नेपाल रेडक्रसको कर्मचारीको नाताले काम गर्नेछु ।
माथि उल्लेखित कुराहरुबाट निम्न अनुसारका सिकाई भएका छन्ः
कोरोनाले नमस्ते सिकायो । खानु, खुवाउन अघि सल्ल मात्र हात धुुनेलाई साबुन पानीले मिची मिची हात धुन सिकायो । एकलकाटे भएर बस्दा पनि क्षमता अभिबृद्धि हुँदो रहेछ भन्ने सिकायो । अर्को ठूलो मन्दिर टेकुमा रहेछ भन्ने देखायो । डाक्टर र नर्स पनि देश र जनताको रक्षाको लागि ज्यानको बाजी लगाएर लडने रहेछन् भन्ने सिकायो। कृृषी पेशालाई माया अनि इज्जत गर्न सिकायो । गुन्द्रुकलाई राष्ट्रिय तरकारी जानेर बनाइएको रहेछ । पकेट मनि रु १००० ले एक महिना पनि चल्दो रहेछ । नाफा घाटाको जोड घटाउ छाडेर जीवन रक्षा गर्न सिकाइदियो । “मानिसको सबैभन्दा ठूलो सम्पत्ति स्वास्थ्य हो“ भन्ने सिकायो ।
(रेखा भट्ट नेपाल रेडक्रस सोसाइटी स्वास्थ्य सेवा विभाग केन्द्रीय कार्यालय, काठमाडौंको आपतकालीन स्वास्थ्य अधिकृत हुन्।)