arrow

कोरोना कहरः स्थानीय रेडियोहरु के गर्दैछन्, के गर्न जरुरी ?

logo
रमेश बस्ताकोटी,
प्रकाशित २०७७ वैशाख २१ आइतबार
ramesh-bastokoti.jpg

नेपाल लगायत विश्वका २०७ वटा मुलुक कोरोना भाईरसका कारण आक्रान्त छ । कोभिड १९ को महामारीले विश्वका शक्तिशाली मानिएका र भनिएका देशहरु पनि लडखडाएका छन्। सबै देश आफ्ना नागरिकहरुलाई कसरी यो महामारीबाट जोगाउने र कमभन्दा कम क्षती होस भनेर योजना बनाईरहेका छन् । विश्वका अधिकांश देशहरु लकडाउनको अबस्थामा छन् । अधिकांश शक्तिशाली राष्ट्रहरुमा आर्थिक गतिविध ठप्प प्राय छ । यस अबस्थामा विश्वको जनसंख्याको दुई तिहाई भन्दा बढी मानिस घरभित्र छन् । 

नेपालमा पनि कोभिड १९ को प्रकोप निणन्त्रण तथा रोकथाम गर्न सरकारले अघिल्लो बर्षको चैत्र ११ गतेदेखि लकडाउन शुरु गरेको हो जुन यो लेख तयार पार्दाको बखतसम्म जारी छ । यो लेख तयार पार्दा नेपालमा लकडाउन भएको  ४१ औं दिन पुगेको छ। यो लेख्दा सम्म नेपालमा ५९ जना संक्रमितहरु भेटिएका छन् र ति मध्ये १६ जना निको भएर घर फर्किएका छन् । विश्वमा ३४ लाख २२ हजार २ सय ९१ मानिसहरु संक्रमित छन् भने ति मध्ये २ लाख ४० हजार ३ सय ३४ जनाको मृत्यु भईसकेको छ । संक्रमितहरु मध्ये १० लाख ९३ हजार १ सय १५ जना निको भएका छन् । यो तथ्याङ्क हेर्दा लाग्छ महामारी तत्काल रोकिनेवाला छैन र यसले धेरै समय विश्वलाइ आक्रान्त पार्ने छ । 

यस्तो बेलामा संचारमाध्ययमको भुमिका निकै महत्वपुर्ण मानिन्छ । यो लेखमा नेपालको सन्दर्भमा महामारीका यो बेला रेडियो स्टेशनहरुको भुमिका कस्तो हुनुपर्दछ र यस्तो बेलामा उनिहरुलाइ आईपर्न सक्ने चुनौतीलाई समाधान गर्दै कसरी रेडियो प्रसारणलाई यस्ता महामारीका बेलामा उपयोगी बनाउन सकिन्छ भन्ने बिषयमा चर्चाको प्रयास गरिएको छ ।

नेपालमा एफएम प्रणालीमा रेडियो प्रसारण सुरु भएपछि सर्वसाधारणको पहुँचमा सहजरुपमा रेडियोको प्रसारण पुगेको हो । आजको मितिमा पनि संचारका माध्ययमहरु मध्ये रेडियो स्टेशनहरुनै सबैभन्दा बढी लोकप्रिय छन् र रेडियो सबैको पहुँचमा पनि छ । रेडियोमा नागरिकहरुको सहज पहुँच भएका कारणनै रेडियोप्रतिको विश्वास पनि नागरिकहरुमा उतिकै छ । त्यसकारण यस्तो महामारीका बेलामा रेडियोहरुको भुमिका निकै प्रभावकारी मानिन्छ । 

नेपालमा कोरोना प्रकोपसँगै लकडाउन सुरु भएपछि जुन किसिमले जनताको सहज पहुँचमा रहेका रेडियो स्टेशनहरुले भुमिका खेल्नु पर्दथ्यो त्यस्तो पाईएको छैन । यहाँ सबैलाइ त्यसो भन्न खोजिएको होईन केहि रेडियो स्टेशनहरुले अत्यन्तै राम्रा काम गरेको उदाहरण पनि छन् । उनीहरुले नागरिकहरुलाई सचेतना गराउने, सचेतनामुलक रेडियो कार्यक्रमहरु संचालन गर्ने, स्थानीयतहलाई निरन्तर खबरदारी गर्ने काम पनि गरेका छन् । यो प्रशंशनीय छ ।  तर अधिकांश रेडियो स्टेशन भने यस्तो बेलामा मात्रै कर्मकाण्डी बनेका छन् । केन्द्रीय नेटवर्कबाट प्रसारण भएका समाचार बुलेटिन र कार्यक्रमहरु बजाईदिने अनि आफुचाँहि हाईसन्च सुत्ने प्रवृति स्थानीय रेडियोहरुमा यो महामारीका दौरान पनि देखिएका छन् । लाज गालले केहि गरेजस्तो देखिएपनि त्यो प्रभाकारी छैन । यस्तो हुनुमा थुप्रै अप्ठ्यारा र चुनौतीहरु होलान् । त्यसलाइृ नकार्न सकिदैन तर यस्तै बेलामा नागरिकहरुले स्थानीय रेडियोको अव्वल भुमिका खोजिरहेका हुन्छन् । स्थानीय रुपमा संचालनमा रहेको एफएम स्टेशनहरुबाट उनिहरु आफ्नै गाउँ ठाउँका कुराहरु, आफ्नै गाउँ ठाउँका मान्छेका कुराहरु सुन्न खोजिरहेका हुन्छन्  । सरकारका मन्त्रीका कुरा भन्दा यस्ताबेलामा स्थानीय नागरिकहरुले गाउँकै आफ्नै ठाउँकै रेडियोबाट बजेका शिक्षकका कुरा, स्वास्थ्यकर्मीका कुरा बिषेष ध्यान दिएर सुन्छन् र त्यसैलाई पत्याउँछन् पनि। 

अहिले यो महामारीका सन्दर्भमा विश्वभरी स्थानीय रुपमा खुलेका रेडियोहरुको भुमिका कस्तो हुनुपर्छ ?  उनीहरुको उत्पादन यो बेला कस्तो हुनुपर्छ ? प्रसारणको शैली कस्तो हुनुपर्छ ? भन्ने बिषयमा व्यापक बहस चलिरहेको छ । तर दुखका साथ भन्नु पर्छ हाम्रा स्थानीय रेडियो संचालहरु यो कुराहरुबाट बेखबर छन् । उनिहरु उहि पुरानै शैलीमा रमाईरहेका छन् । उहि काठमाडौंमा नेटवर्कले तयार पार्दिएको समाचार र कार्यक्रम बजाएर आफ्नो दावित्व र कर्तव्य पुरा गरेको मानिरहेका छन् । तर त्यो आत्मरति मात्र हो । यस्तो बेलामा आफ्ना स्रोताहरुलाई अपनत्व महसुस गराउन नसक्नु भनेको कमजोरी हो । वाधा व्यवधान र कठिनाइ छ भन्दैमा रेडियो स्टेशनले पुरा गर्ने आफ्नो दायित्वबाट पछि हट्न पाईदैन, हुँदैन । 

हाम्रो देशमा सामुदायिक र व्यवसायिक भनेर रेडियोलाई दुई प्रकारले हेर्ने गरिन्छ । ति सामुदायिक भनिने र व्यवसायिक भनिने सबै रेडियो स्टेशनहरुको छाता संस्था पनि छ । साुदायिक रेडियोहरुका लागि अकोराव र व्यवसायिक रेडियोहरुका लागि वान। तर रेडियोको प्रकार जे भएपनि यो बेलामा सबैले समुदायकै लागि काम गर्ने हो । व्यवसायिक रेडियोले म व्यवसायिक हुँ त्यसकारण जोखिम मोल्दिन बन्द गरेर बस्छु भन्न पाउँदैन, मिल्दैन । यसकारण यस्तो बेलामा रेडियो स्टेशनहरु जति संवेदनशिल भएर काम गर्नु पर्ने हो त्यो देखिएको छैन । कतिपय अबस्थामा सिधा काठमाडौमा तयार भएका नेटवर्क बजाउने बाँकी आफु तातो भुत्लो केहि नगरि बस्ने रेडियो स्टेशन पनि भेटिएका छन् । यो लेख लेख्नु पुर्व मैले करिव एक दर्जन जिल्लाका रेडियो संचालक साथीहरुलाई प्रतिनिधिमुलक रुपमा फोन गरेर सोधे, तर उहाँहरुको ह्या सिङ्गो देश लागिरहेको छ, हामी मात्र के नै गर्न सक्छौ र भन्ने आशयको उत्तर आयो, यो भनेको स्थानीय रेडियो स्टेशनहरुका लागि राम्रो संकेत होईन । यसले भोलि रेडियोको लोकप्रियतामा ठुलो असर पुर्याउन सक्दछ, त्यस तर्फ चनाखो हुन आबश्यक छ । एउटा उदाहरण भनौं, सावुन पानीले हात धोऔं, मास्क लाऔं भन्ने कुरा काठमाडौंको कुनै मान्छेले भनेको भन्दा आफ्नै गाउँठाउँको सधै देखिरहने मान्छेले रेडियोबाट भन्यो भने त्यो बढी प्रभावकारिता हुन्छ । यो नै हो हो स्थानीय रेडियोहरको बिशेषता । त्यसकारण यो महामारीका बेलामा ह्या भै गो सकिएन भनेर लत्तो छोडियो भने त्यो प्रत्युत्पादक हुन्छ । 

अब प्रश्न उठ्ला, स्रोतसाधन, जनशक्ती, लकडाउन, पारिश्रमिक दिन नसक्ने कुरा यावत्, तर यसो भनेर यो महामारीका बेलामा उम्कन मिल्दैन, पाईदैन । किनभने यस्तोबेलामा जनतालाई निरन्तर साथ दिनु स्थानीय रेडियोको कर्तव्य हो । यो कर्तव्यबाट पछि हट्न मिल्दैन। भएका अप्ठ्यारा र चुनौतीहरको सामना गरेर भएपनि यो बेलामा रेडियो सामाग्रीहरुको गुणस्तरमा कमी गर्न पाइदैन । अझ यस्तोबेलामा त  साविक भन्दा बढी खट्नु पर्छ । यसका लागि सुरक्षाका सबै उपाउहरु अबलम्बन गर्नुपर्ने कुरामा बिषेष ख्याल गर्न पनि आबश्यक छ । 
रेडियोहरुका छाता संस्थाहरुको पनि यो बेलामा रेडियो स्टेशनहरुलाइ गर्ने सपोर्टमा खासै केहि गरेको देखिदैन । महामारीकै कारण प्रसारण गर्न नसक्ने वा आंशिक प्रसारण गर्न पर्ने वा अन्य समस्याहरु छन् भने त्यसको समाधान गर्न छाता संस्थाले पहल गर्नुपर्छ । तर छाता संस्था भएको अनुभव यो बेलामा रेडियो स्टेशनहरुले गरेका छैनन् । यो अर्को दुर्भाग्य हो । 

स्थानीय रेडियोको अर्को महत्वपुर्ण पाटो भनेको स्थानीय भाषामा प्रसारण हो । स्थानीय समुदायले बोल्ने भाषामा यो महामारीका बेलामा सन्देशहरु, सुचनाहरु, समाचारहरु, कार्यक्रमहरु दिन सकियो भने त्यो निकै प्रभावकारी हुन्छ । के हामीले यसो गरिरहेका छौं त ? हामीले हो गरिरहेका छौं भने पनि पत्याउने आधार छैन। किनभने अहिले यो संकटका बेलामा अधिकांश स्थानीय रुपमा खुलेका रेडियो स्टेशनहरु काठमाडौंका नेटवर्कका रिले स्टेशन मात्र भएका छन् । यस्तो बेलामा हामीले स्थानीय स्तरमा बोल्ने भाषाहरुमा सुचना सन्देशहरु समाचारहरु प्रसारण गर्न जरुरी छ । यसले स्रोताहरुमा अपनत्व महसुस गराउँदछ र त्यसको प्रभाव उनिहरुमा पर्दछ । यसले बल्ल हामीले गरेको प्रसारणको अर्थ हुन्छ । 

हामीले अहिले संकट आयो भन्दै कर्मचारी कटौती गरेर समाचार वुलेटिनहरु घटाउका छौं तर यसको ठिक विपरित यस्तो अवस्थामा समाचार बुलेटिनको संख्या बढाउन आबश्यक छ। किनकी धेरै भन्दा धेरै जानकारी ति बुलेटिन मार्फत दिन आबश्यक हुन्छ । यस्तो अवस्थामा अरु बिषयबस्तुहरु कम प्राथमिकतामा पर्ने भएकोले कोरोना भाइरससँग समबन्धित रेडियो सामग्रीहरुलाई बढी स्थान दिई प्रमुख प्राथमिकताका साथ प्रशारण गर्न आवश्यक छ । के हामी यो गरिरहेका छौं, रेडियो संचालक, व्यवस्थापक र रेडियोकर्मीहरुले यो बेला गम्भिर भएर सोचौं । 

अब कुरा गरौ रेडियोकर्म गरिरहँदा कसरी सुरक्षीत हुन सकिन्छ त ? रेडियोकर्मीहरुको लागि पनि यो माहामारी अरु माहामारी जति सजिलो छैन । सुरुमा आफु जोगिदै अरुलाई सचेत बनाउनुपर्ने बाध्यात्मक परिस्थिति रहेको छ । यस्तो अवस्थामा स्वयं रेडियोकर्मीहरुले सुचना संकलन र अन्तर्वार्ताहरु सकेसम्म टेलिफोन, इमेल इन्टरनेटबाट नै लिने गरौ । त्यो सम्भव नभएको अवस्थमा मास्क तथा पञ्जा लगाएर तोकिएको दुरीमा बसी सम्बन्धित पक्षसँग सुचना लिने र प्रशारण गर्ने गरौ । स्टुडियो भित्रको कम्प्यूटर, ल्यापटप, मिक्सर तथा रेकर्डर सामाग्रीहरु प्रयोग गर्दा पञ्जाको प्रयोग गर्ने र सेनिटाइजर साथमै बोकेर हिड्ने गरौँ । यसो गर्न सकियो भने आफुलाइ जोगाएर सुचना प्रवाह गर्न सजिलो हुन्छ । तर त्रासमा रहेर हुन्न । रेडियो स्टेशन जानै हुन्न, मलाई पनि कोरोनाको संक्रमण भइहाल्छकी भनेर रेडियोकर्मी तर्सने बेला हैन यो । आफु सुरक्षीत रहँदै आफ्नो जिम्मेवारी पुरा गरौं ।

संकटको बेला सही सूचना प्रवाह गरेर नेपालको रेडियोहरुले कैयौं नागरिकको ज्यान तथा स्वास्थ्य जोगाएको ताजा इतिहास हामीमाझ छर्लङ्ग छ । चाहे जनआन्दोनका बेलामा रेडियोहरुले खेलेको भुमिका होस् चाहे त्यो २०७२ सालको बिनासकारी भुमम्पको बेला सूचना सन्देश प्रवाह गरेर किन नहोस, नेपाली समुदायको अगाीड हाम्रा रेडियोहरु विश्वासिलो सहयोगी साथी बनेका छन् । यो पटकपनि रेडियोहरु चुक्नु हुँदैन । त्यसकारण गरिरहेका छौं, अझै प्रभावकारी गरौं । गरेका छैनौ आजै देखि लागौं ।

(लेखक बस्ताकोटी, विगत १८ बर्ष देखि रेडियोका बिभिन्न भुमिकामा रहेर निरन्तर रेडियो कर्ममा संलग्न छन् । हाल उनी नवलपुरको कावासोतीमा रहेको रेडियो मध्यविन्दु एफएमका संचालक समिति सदस्य हुन् । )



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ