- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पहिलो अध्यायको अर्जुनको युद्ध नगर्ने संशय, दोस्रो अध्यायको आफन्तलाई मार्नुभन्दा भिख मागेर खानु उत्तम भन्ने विचार, तेस्रो अध्यायमा आइपुग्दा कर्म गर्ने कि ज्ञान आर्जन गर्ने भन्ने बारेको दुविधा र चौँथो अध्यायको भगवानका जन्म र कर्मका बारेमा आश्वस्त हुन नसकेका अर्जुनको संशय हटाउँदै भगवान् अब पाँचौं अध्यायमा आइपुग्दा ज्ञानयोग, कर्मयोग, भक्तिसहितको ध्यानयोग र साङ्ख्ययोग बीचका भिन्नताहरु बताउँदै अर्जुनलाई निश्चिन्त पार्न प्रयास गर्नुहुन्छ ।
यहाँसम्म आइपुग्दा अर्जुनले श्रीकृष्णलाई भगवानको रुपमा देख्न थालिसकेका छन् तर भगवानलाई चिनेका भने हुँदैनन् । कस्ता व्यक्तिले कर्म त्याग गर्छन्, कस्ता व्यक्तिले कस्ता कर्म गर्छन् ? कर्म त्याग गर्ने र कर्म गर्नेका बीचमा के कस्तो फरक छ ? यो अध्यायमा भगवान् श्रीकृष्णले यस्तै यस्तै कुरा गर्नुहुन्छ ।
यस अध्यायमा ज्ञानका कुराहरु धेरै हुन्छन् । यहाँ कस्ता मान्छे कर्मयोगी हुन् भन्ने बारेमा भगवान् श्रीकृष्णले अर्जुनलाई उपदेश दिनुहुन्छ । उहाँले अध्याय चारसम्म अर्जुनलाई विभिन्न किसिमका ज्ञान दिइसक्नु भएको छ । तर प्रारम्भमै अर्जुनमा आएको विषाद अहिलेसम्म हट्न सकेको छैन । तसर्थ कर्मयोगमा आधारित कर्म गर्ने मानिस कसरी श्रेष्ठ हुन्छन् या कर्म त्याग्ने मानिसको हालत कस्तो हुन्छ भन्ने प्रश्नको वरिपरी यो अध्याय केन्द्रित छ ।
उनन्तीस श्लोकको यो अध्यायको पहिलो श्लोकमा फेरि अर्जुनको विषाद देखिन्छ । पुरै अध्यायमा उनी त्यही एउटै श्लोक बोलेर अरु बाँकी अठ्ठाईस श्लोक भगवान् श्रीकृष्णबाट सुन्छन् । यस अध्यायको पहिलो श्लोकमा भगवान्बाट उपदेश पाउने याचनाका साथ अर्जुन विन्ति गर्छन्, हे कृष्ण ! मलाई हजुरले पहिले कर्म त्याग गर भन्नुभयो । तर अहिले फेरि भक्तिपूर्वक कर्म गर्न आदेश दिँदै हुनुहुन्छ । अब निश्चय गरेर यी दुईमध्ये मेरा लागि जुन बढी लाभदायक छ, कृपा गरेर त्यही मार्गको उपदेश दिनुहोस् ।
यो अध्याय कर्मको आधारमा तेस्रो अध्यायको निरन्तरता हो । चौथो अध्यायमा भने भगवानले अर्जुनलाई आफ्ना अवतार बताउन लैजानुभयो । यो पाँचौं अध्यायका उनन्तीस श्लोकहरुलाई चार भागमा बाँडेर व्याख्या गर्न सकिन्छ ।
भगवान् श्रीकृष्णले चार अध्यायसम्म भन्नुभएका कुरा सुनिसकेपछि अर्जुन फेरि अलमलमा पर्छन् । उनले भगवानले वास्तवमै भन्न खोज्नुभएको कुरा के हो भनेर ठम्याउन सक्दैनन् । अलमलकै बीचबाट अर्जुनले सोध्छन्– कर्मलाई त्याग गरेर ठुलो होइन्छ कि कर्म गरेर ठुलो होइन्छ ?
यो प्रश्नको जवाफ दिँदै भगवान् यो अध्यायको पहिलो भाग अर्थात् पहिलोदेखि छैठौँ श्लोकसम्म कर्मयोग र शाङ्ख्ययोगको भेद बताउनुहुन्छ । भगवान् भन्नुहुन्छ– अर्जुन ! कर्म कहिल्यै पनि त्याग गर्नु हुँदैन । त्याग त कर्मफलको आशक्तिलाई गर्ने हो । यसबाट फेरि पनि त्यही कुरा दोहोरिन्छ कि हामीले गर्ने कर्म हामी कर्ता हौँ भनेर गर्ने होइन, हामी माध्यम हौं भनेर गर्नु पर्दछ । हामीले गरेको कर्मबाट कस्तो खालको फल प्राप्त हुन्छ त्यो भविष्यकै हातमा छोडिदिनुपर्छ र कर्मफलको आशक्ति त्याग्नुपर्छ भगवान् श्रीकृष्ण भन्नुहुन्छ ।
बुझ्नुपर्ने कुरा के छ भने आएको अर्थात् प्राप्त गरेको फलको त्याग गर भनेर भगवानले कतै पनि भन्नुभएको छैन । यो अध्यायको तेस्रो श्लोकमा भगवानले त अझ यी कुरामा प्रकाश पार्दै भन्नुहुन्छ–
ज्ञेयः स नित्यसन्न्यासी यो न द्वेष्टि न काङ्क्षति ।
निद्र्वन्द्वो हि महाबाहो सुखं बन्धात्प्रमुच्यते ।।
कर्मफलप्रति आशक्त पनि नहुने र कर्मफललाई घृणा पनि नगर्ने व्यक्ति नै संन्यासी हो । यो अध्यायमा आइपुग्दा श्रीमद्भगवद्गीतामार्फत भगवानले संन्यासीको परिभाषा दिनुभयो । घरव्यवहार छाडेर पहेंलो वश्त्र धारण गरेर कुटीमा बस्दैमा मात्र कोही संन्यासी हुनै सक्दैन । घरमै बसेर आफूलाई तोकिएको कर्म भगवानमा अर्पित गरेर कर्मफलमा जो आशक्त हुँदैन र जो सधैं सन्तुष्ट छ त्यो नै संन्यासी हो । दोस्रो अध्यायका मुनी वा स्थितप्रज्ञ र यो अध्यायका संन्यासी एकै हैनन् । मुनी ज्ञानका भण्डार हुन् भने संन्यासी कर्मयोगी हुन् ।
हामीले फल प्राप्त गरौंला भनेर कर्म गर्ने होइन तर कर्म गरेपछि प्राप्त भएको फल पनि त्याग्नु हुँदैन । सबै मान्छेको अन्तिम चाहना भनेको मुक्ति नै हो र मुक्तिका लागि कर्म गर्नुपर्छ । मोक्षका लागि कर्म गर्नुपर्छ । यसअघि पनि भनिएको छ कर्म गरेर मोक्ष प्राप्ति हुन्छ भने त्यो सबैभन्दा ठुलो कर्म हो । मुक्तिका लागि के गर्नुपर्छ भन्ने कुरा बताउने क्रममा भगवान् भन्नुहुन्छ– कर्मको त्याग मुक्तिका लागि एउटा उपाय होला तर त्योभन्दा पनि ठुलो उपाय भनेको भक्तिमय कर्म हो । त्यो भनेको सम्पूर्ण कर्म भगवानमा समर्पण गर्नु हो ।
यदि तपाईंले केही कर्म गरिरहनुभएको छ भने त्यसलाई आफ्नो कर्तव्य ठान्नुपर्छ र कर्म भगवानलाई समर्पण गर्दै गर्नुपर्छ । सबै कर्ममा आफू कर्ता बन्नुहुँदैन, त्यसको कारण भगवानलाई मान्नुपर्छ भनेर भगवान् श्रीकृष्णले अर्जुनलाई उपदेश दिनुभएको छ ।
कर्मफल चार प्रकारका हुन्छन्,
पहिलो दृष्टः वर्तमानमा गरिएको कर्मको फल वर्तमानमै र प्रत्यक्ष रुपमा पाइन्छ भने त्यस्तो कर्मफलाई दृष्ट कर्मफल भनिन्छ । जस्तैः खाना खाएपछि भोक मेटिनु । महिनाभरी काम गरेपछि तलब आउनु ।
दोस्रो अदृष्टः अहिले कर्म गर्ने अनि पछि प्राप्त हुने कर्मफललाई अदृष्ट कर्मफल भनिन्छ । जस्तैः वर्तमानमा कुनै अपराध गर्ने र भविष्यमा त्यसको सजाय पाउने । वर्तमानमा राम्रो काम गरेवापत भविष्यमा पाइने पुरस्कार ।
तेस्रो प्राप्तः अघिल्लो जन्ममा वा विगतमा गरेको कर्मको फल वर्तमानमा पाइन्छ भने त्यस्तो कर्मफललाई प्राप्त कर्मफल भनिन्छ, जस्तै धन, रुप, शरीर । शास्त्रअनुसार यी कुराहरु अघिल्लो जन्मको पूण्यकर्मका फल हुन् ।
चौंथो अप्राप्तः हाल कर्म गर्ने तर कर्मफल प्राप्त नहुने, जस्तै धर्म कर्म । यी कर्मफल अर्को जन्ममा गएर पाईन्छ वा स्वर्ग नर्कमा गएर भोग गर्न पाइन्छ वा पर्छ । अथवा कर्ममा भक्तिको भाव छ भने त अझ मोक्ष नै भइन्छ । कतिपय अवस्थामा यी कर्मको फल यही जन्ममा समेत पाइन्छ ।
आजको समाजमा यो उपदेश हेर्नुपर्दा र मनन गर्नुपर्दा हामीले कसरी हेर्नु र मनन गर्नुपर्छ भने, यदि हामी कुनै कार्यालयमा काम गर्छौँ भने आफ्नो भविष्यको लागि वा तलव भत्ताको लागि भनेर नगरी कार्यालयको सफलताको लागि भनेर गर्नुपर्छ । कार्यालय कर्मचारीको लागि भगवान् हुनुपर्छ र कर्म कार्यालयको लागि र कार्यालयले तोकेअनुसार हुनुपर्छ । त्यस्तै राजनेताहरुका लागि देश भगवान् र कर्म देशसेवा हुनुपर्छ । दुवै स्थितिमा कुनै फलको इच्छा भने हुनुहुन्न र आफूमा कर्ताभाव हुनुहुन्न । कर्मचारीका लागि जति कार्यालय सफल हुन्छ त्यति नै आफुलाई फाइदा र सन्तुष्टि मिल्छ भने नेताका लागि जति देश विकास भयो त्यति नै कीर्ति रहन्छ । तर यी दुवैको अभाव र पूर्ण कर्तापनका कारण हामी अत्यन्त दुखी हुनुपर्ने अवस्थामा छौं ।
श्रीमद्भगवद्गीताको अध्याय पाँचको दोस्रो भाग अर्थात् सातौँ श्लोकदेखि बाह्रौँ श्लोकसम्ममा कर्मयोगी र शाङ्ख्ययोगीका लक्षण के हुने, कस्तो मान्छेलाई संन्यासी भनिन्छ भनेर भगवान् चर्चा गर्नुहुन्छ । माथि भनिएझैं कर्मफललाई घृणा पनि नगर्ने र आशक्ति पनि नराख्ने नै सबैभन्दा ठूलो संन्यासी हो र त्यही ब्यक्ति नै यी सम्पूर्ण सांसारिक भ्रमबाट मुक्त हुन्छ । त्यसैले कुनै पनि हालतमा कर्म त्याग गर्न हुन्न र कर्मफलमा आशक्त राख्न पनि हुन्न ।
कर्म गरेर कर्मफलप्रति आशक्ति नराख्ने मान्छेहरु मोक्ष भएर भगवत्धाममा पुग्छन् र उनीहरु फेरि जन्म मृत्युको यो संसारमा आउँदैनन् । फेरि भगवान् भन्नुहुन्छ– कर्म नगर्ने र कर्मफलको त्याग पनि नगर्ने व्यक्ति कहिल्यै पनि संन्यासी बन्न सक्दैन, त्यो केबल ढोंगी हो ।
संन्यासी बन्ने सन्दर्भमा गृहस्थीका लागि जहिले पनि कर्मयोग नै सबैभन्दा ठूलो उपाय हो । यदि तपाईं घर गृहस्थी चलाईरहनुभएको छ भने आफ्नो कर्मबाट नभागेर राम्रोसँग घर चलाउनुहोस् त्यो तपाईंका लागि योग हो, संन्यास हो । यसबाट तपाईंलाई मोक्ष प्राप्त गर्न सजिलो हुन्छ । जन्म मृत्युको चक्रबाट मोक्ष पाउन, कर्तव्य पालना गर्न अर्थात् आफ्नो धर्म पालना गर्नका लागि यही अध्यायको दशौं श्लोकमा भगवान् भन्नुहुन्छ–
ब्रह्मण्याधाय कर्माणि सङ्गं त्यक्त्वा करोति यः ।
लिप्यते न स पापेन पद्मपत्रमिवाम्भसा ।।
जजसले कर्मफल परमेश्वरलाई अर्पेर आशक्तिरहित भएर कर्म गर्छ त्यो मान्छे कमलको पातको माथि रहेको पानीजस्तो निश्चल हुन्छ । कमलको पातको माथि पानी हुन्छ तर त्यो पानीले कमलको पातलाई छोएको हुन्न । यसको अर्थ के हो भने आशक्तिरहित तरिकाले कर्म गर्ने मान्छे त्यति स्वच्छ निर्मल र अत्यन्तै सरल हुन्छ । यस्ता मानिसहरु अरुले देख्दा वरिपरी नै देखेको जस्तो लाग्छ तर ऊ कसैप्रति निर्भर हुँदैन, उसले मोक्ष प्राप्त गरिसकेको हुन्छ ।
यहाँ फेरि अर्काे प्रश्न उठ्छ– के घर ब्यवहार त्याग्ने व्यक्ति संन्यासी हो त ? हामी सन्न्यासीको अर्थ लगाउँदा जो मान्छेले पहेँला लुगा लगाएर घर ब्यवहार छोडेर आफ्नो जीवन सञ्चालन गरिरहेको देख्छौ, मठमन्दिर जंगलमा गएर बसेका मानिसलाई यो त संन्यासी हो भन्ने अर्थ लगाउँछौ । हामीले सुन्ने बुझ्ने संन्यासीको अर्थ त्यही हो । तर भगवान् संन्यासीको अर्थ त्यसरी भन्नुहुन्न । घरब्यवहारनै त्यागे पनि आफूलाई संन्यासी भन्नेले जप, तप र पूजा गर्छन त्यो पनि कर्म हो । घर, श्रीमती वा परिवार त्यागेर कहिल्यै कोही पनि संन्यासी हुनै सक्दैन । संन्यासी हुनका लागि कर्मफलको इच्छा त्याग्नुपर्छ । मन सरल, निश्चल र कञ्चन राख्नुपर्छ । सुख या दुःखमा नआत्तिने र नमात्तिने किसिमको हुनुपर्छ । कर्मफलको इच्छा पनि नराख्ने र कर्मफललाई घृणा पनि नगर्ने हुनुपर्छ । आफ्नो घर त्याग्दैमा, श्रीमती या परिवार र बालबच्चा त्याग्दैमा कोहीले म संन्यासी हूँ भन्छ भने त्यो केबल उसको देखावटीपन हो मोक्षप्राप्तिको मार्ग होइन ।
भक्तिभावले कर्म गर्ने, मन शुद्ध राख्ने र जो इन्द्रिय वासनाको वशमा परेको छैनन यस्ता मान्छे नै संन्यासी हुन र यी मान्छे भगवानको प्रिय हुन्छन र सधैँ भगवानको नजिक हुन्छन् । जसको मन शुद्ध हुन्छ यी मान्छेले मृत्युको अवस्थालाई जितिसकेका हुन्छन् तिनीहरु नै संन्यासी हुन ।
पाँचौं अध्यायको तेस्रो भाग अर्थात् तेह्रौं श्लोकदेखि छव्बीसौं श्लोकसम्म भगवान् अर्जुनलाई ज्ञानयोग तर्फ लैजानुहुन्छ र भन्नुहुन्छ– जब मानिसका शरीरले कुनै कर्मको श्रृजना गर्दैन, उनीहरुको शरीरलाई आत्माले जितिसकेको हुन्छ । उसको शरीर इन्द्रियहरुको सट्टा आत्माको निर्देशनमा चल्ने भइसकेको हुन्छ । उनीहरुको शरीर सञ्चालनको काम पनि प्रकृतिबाट आर्जित गुणले गर्छ ।
यहाँ भगवानले त्यस्ता मानिसको शरीरलाई एउटा शहर र त्यसमा भएका नौद्वारलाई इन्द्रियतृप्तीका कारणको रुपमा चित्रण गर्नुभएको छ । ती नौद्वार भनेका इन्द्रिय र बिषयसँग सम्बन्धित छन् । हरेक मानिसका शरीरमा नौवटा ढोकाहरु हुन्छन् ती नै सबै सुख, दुःख, जीवन मृत्युका कारक हुन् । शरीरको माथिल्लो भागमा हुने र विषय आदीका सेवनसँग सम्बन्धित दुई कान, दुई आँखा, दुई नाकका प्वालहरु र एक मुख गरी सातवटा ढोकाहरु र मलमुत्र विषर्जन गर्ने दुई ढोका गरी जम्मा नौ ढोका नै मानिसरुपी नगरमा हुन्छन् ।
जब मानिसमा लोभ लालच हुन्न यी ढोकाहरु शान्त हुन्छन्, लोभ लालचले यी ढोकाहरु खुल्न पुग्छन् र मानिस दुःखी हुन पुग्छ । शारीरिक सन्तुष्टीका लागि कुनै पनि कर्म नगर्ने मानिसहरुले यी नौ ढोकाका कर्महरुका बारेमा चिन्ता गर्नु पदैंन । यी मानिसहरु काम, क्रोध, लोभ र मोहबाट धेरै माथि उठिसकेका हुन्छन् । उनीहरुले इन्द्रियलाई पूर्णतः नियन्त्रणमा लिइसकेका हुन्छन् । यस्ता संन्यासीहरु हरचिजमा भगवान् देख्छन् । जताततै भगवानको महिमा पाउँछन् । उनीहरुले सबै वस्तु भगवान् नै हुन भन्ने बुझेका हुन्छन् । राम्रो या नराम्रो, दुःख या सुख, असल या खराब सबैतिर कुनै न कुनै रुपमा भगवानको उपस्थिति रहन्छ भन्ने यी प्रकारका मानिसहरुमा हुन्छन् । हर चिजमा एउटै भगवानको रुप देख्नु संन्यासीको गुण हो । यो नै ज्ञानको विषय हो र जसले यो ज्ञानलाई भक्तिमा जोड्छ र अगाडी बढ्छ । त्यो नै संन्यासी हो भनेर भगवानले अर्जुनलाई बताउनुहुन्छ । अब भगवान् संन्यासीमा हुने समभावको कुरा गर्दै जोड्नुहुन्छ,
विद्याविनयसम्पन्ने ब्राह्मणे गवि हस्तिनि ।
शुनि चैव श्वपाके च पण्डिताः समदर्शिनः ।।
यस्ता मानिसहरु विद्वान ब्राम्हण, गाई, हात्ती, कुकुर र चाण्डाललाई पनि समान दृष्टिले हेर्ने गर्दछन् । माथि उल्लेखित पाँचमा कुनै समानता छैन । सामान्य मानिसका लागि ती पाँचलाई एउटै दृष्टिले हेर्नु असम्भव नै छ । तर जब मानिस संन्यासको बाटोमा लाग्छ, जब मानिस मुक्तिको बाटोमा लाग्छ, उसले यी सबैलाई समान देख्छ । त्यो स्थिति ब्रम्हज्ञानको स्थिति हो । ब्रम्ह वा आत्मामा मात्रै यस्तो प्रकारको समभाव हुन्छ । त्यो नै भगवान् भक्तिको बाटो हो । त्यो बाटोमा कहिल्यै कतै दुर्घटना हुन्न । यो बाटोमा मानिस सधैं सुखी हुन्छ र त्यो सुखमा ऊ सधैं रमाउने गर्दछ ।
यो अध्यायको चौँथो भाग अर्थात् सत्ताइसौं श्लोकदेखि उनन्तीसौं श्लोकसम्म भगवानले सन्यासलाई पूर्णतः ज्ञानसँग जोड्नुभएको छ, भक्तिसँग जोड्नुभएको छ, कर्मसँग जोड्नुभएको छ । यी सबैमा प्रमुख रुपमा ध्यानको महिमा जोड्दै भगवान् शरीर भित्र रहेका पाँच प्रकारका वायु मध्ये प्राण र अपान वायुलाई वशमा राखेर क्रोध मुक्त हुँदै मोक्षको बाटोमा अग्रसर हुने शिक्षा अर्जुनलाई दिनुहुन्छ । यहाँ भगवानको आशय ध्यानयोगले मानिसलाई स्वतन्त्रतापूर्वक भगवानको सामिप्यमा लान्छ भन्नु हो ।
जब कोहि मानिस भगवानको सामिप्यमा पुग्छ उसका सबै कर्म भगवानमय हुन पुग्छन् । त्यसपछि ऊ भगवानको निर्देशनमा कर्म गर्न थाल्छ । अर्जुनलाई युद्ध कार्यबाट पछि नहटाउन भगवानले यस ज्ञानद्वारा उनलाई आफ्नो समीपमा तान्दैहुनुहुन्छ । शरीरमा भएका विभिन्न वायुहरु मध्ये यहाँ भगवानले जम्मा ध्यानयोगसँग सम्बन्धित दुई वायुको मात्र चर्चा गर्नुभएको छ । अब अन्त्यमा भगवान् भन्नुहुन्छ, अर्जुन ध्यान गरेर मात्रै संन्यासी बन्न सकिन्न । त्यसको लागि त मलाई इश्वर मान्नुपर्छ । सबै यज्ञको भोक्ता मान्नुपर्छ र सबै देवताहरुको पनि देवता मान्नुपर्छ । ध्यान गर्दा गर्दै यी कुरा मान्न सकियो भने मानिस शान्त हुन्छ ।
यस अध्यायमा अर्जुनको अलमल हटाउन भगवान् बारम्बार भन्नुहुन्छ– कर्मबाट भाग्दैमा कोही पनि संन्यासी बन्न सक्दैन । जसले कर्मफलमा आशक्ति नराखेर कर्म गर्छ त्यही व्यक्तीले नै मोक्ष अर्थात् मुक्ति प्राप्त गर्छ, त्यो नै संन्यास हो ।
के हामी यस अध्यायमा बताइए जसरी कर्मफलप्रति अनाशक्त हुन सक्छौं ? के हामी गृहस्थीमा रहँदै गर्दा संन्यासी हुन सक्छौं ? के हामी हाम्रो कर्मलाई भगवानको रुपमा हेर्न सक्छौं ? के हामी आडम्बर त्यागेर साँच्चिकै भगवानको नाममा ध्यानयोगी बन्न सक्छौं ? सकिन्छ । तर त्यसका लागि आफू कर्ता हैन भन्ने बुझेर भगवानको अस्तित्व जस्ताको तस्तै स्वीकार गरे पुग्छ । भगवानको अस्तित्व स्वीकार नगरी शास्त्रका बिधान स्वीकार नगरी ध्यान गर्न त कुनै हालतमा सकिन्न । यो कुरा सबैले बुझ्नु जरूरी छ ।
श्रीमद्भगवद्गीताको कर्मसन्यासयोग नामको पाचौं अध्याय समाप्त भयो ।
(लामो समय बैंकिंग क्षेत्रमा विताएका राजु नेपाल (@rajunepal) सोखिन लेखक हुन् । उनका असंख्य लेख र श्रीमद्भगवद्गीताको व्याख्या सहित विभिन्न बिधामा चारवटा पुस्तक बजारमा छन् । अत्यन्त कठिन विषय सरल ढंगले प्रस्तुत गर्न सक्ने उनको अध्यात्मको गहिरो स्वअध्ययन छ । त्यसैको उपज यो श्रीमद्भगवद्गीताको सरल व्याख्या हो।)