अस्पतालको सामान चोर्नेहरुलाई बचाउन लागेपछि मेयर रेणुलाई उपमेयर र वडाध्यक्षहरुले गरे बहिष्कार
चोरीमा संलग्नलाई निलम्बन गरि छानविन नभएसम्म बैठका भाग नलिने चेतावनी
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ वैशाख ३० मंगलबार
1.7k
Shares
भरतपुर। भरतपुर महानगरपालिकाले संचालनमा ल्याएको कोरोना अस्थायी अस्पतालको सामान चोरी गर्ने कर्मचारीहरुलाई मेयर रेणु दाहालले कार्वाही गर्न उदासिन रहि बचाउन लागेको भन्दै उपमेयर पार्वती शाही ठकुरी सहितका वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले महानगरपालिकाको सबै कार्यक्रम बहिष्कार गर्ने घोषणा गरेका छन्।
उपमेयर सहित वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले सोमबार विज्ञप्ती निकाली चोरी जस्तो फौजदारी अपराधमा सलग्न कर्मचारीहरुलाई कानुन वमोजिम निलम्वन गरि अनुसन्धानलाई अगाडी वढाउनुको सट्टा भरतपुर महानगरपालिकाको मुल नेतृत्व उदासिन देखिएको आरोप लगाएका छन्। उनीहरुले आफ्नै कर्मचारी चोरीमा संलग्न हुँदा आफू जनप्रतिनिधिलाइ जवाफ दिने वाटो समेत नरहेको र कानुनी राज्यको मान्यता माथि नै धज्जी उडाउने काममा महानगरको मुल नेतृत्व लागेको आरोप लगाएका हुन ।
कोरोना अस्पताल खोल्न महानगरपालिकाको लगानीको वास्तविक अवस्था र आयव्ययसमेत सार्वजनिक गरि जनप्रतिनिधिप्रतिको विश्वास र भरोसामाथि प्रश्न उठ्न नदिन गरिएको आग्रहलाई नसुनिएपछि महानगरपालिकाका बैठकहरु वहिस्कार गरिएको उनीहरुले बताएका छन्। उनीहरुले भरतपुर महानगरपालिकाले आयोजना गर्ने कुनै पनि कार्यक्रममा संलग्न नरहने समेत जनाएका छन्।
चोरीमा संलग्नहरुलाई कानुन वमोजिम निलम्वन गरि अनुसन्धानलाई अगाडी वढाउनुको सट्टा भरतपुर महानगरपालिकाको मुल नेतृत्व उदासिन रहि हामी जनप्रतिनिधिलाइ जवाफ दिने वाटो समेत नदिएको र कानुनी राज्यको मान्यतामै धज्जी उडाएको उनीहरुले बताएका छन्।
उपमेयर ठकुरी सहित वडा नं २१ का वडाध्यक्ष चित्र सेन अधिकारी, १५ का कर्ण बहादुर गुरुङ, २० का मणिलाल तामाङ, २७ का गोविन्द तामाङ, ८ का दामोदर न्यौपाने, ६ का हरिविलास कोइराला, १४ का ओमप्रकाश पोखरेल, ३ का चन्द्र मित्र पण्डित, १८ का दिपक लामा, १६ का अमृतराज हमाल, १५ का शम्भु बहादुर भण्डारी, १ का यम बहादुर आले, १७ का शान्तमान तामाङ र कार्यपालिका सदस्यहरु गीता शर्मा र पार्वती केसीले चोरीका आरोपितहरुलाई निलम्वन गरि अनुसन्धान नथालेसम्म महानगरका कुनै पनि कार्यक्रममा भाग नलिने र वैठक बहिष्कार गर्ने घोषणा गरेका हुन्।