- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
केही दिन अघि सदनमा बोलिएको यौटा भाषण सामाजिक संजालमा रातारात भाइरल भयो। रक्सीको नशा खाए पछि लाग्छ, पैसाको नशा पाए पछि लाग्छ अनि सत्ताको नशा गाए पछि लाग्छ। यी वाक्यहरु अहिले प्रायः नेपालीको जिब्रोमा झुन्डिएका छन्। विद्वान सर्वमान्य एवं बौद्धिक नेता सांसद प्रदीप गिरी नेपाली कांग्रेस पार्टीबाट निर्वाचित सांसद हुन्। संसद भवनमा प्रदीप गिरिको छुट्टै शान छ उनी बोल्दा संसदमा पेन ड्रप साइलेन्सको अनुभूति हुन्छ।
हुन त लगभग आधा हजार भन्दा धेरै सांसद भएको हाम्रो देशमा कुन सांसदले के बोल्यो त्यसको खासै लेखाजोखा हुँदैन किन कि बेतुकका विरोध र भक्तिगान बाहेक तर्क र फराकिलो विचारयुक्त भाषण विरलै सांसदले गर्छन्। तर जब प्रदीप गिरी बोल्न थाले भने लाग्छ कोहि सरस्वतीपुत्र बोल्दैछन्। आफ्नो आस्था भएका पार्टीको जे कुरा पनि ठिक फरक आस्था भएका पार्टीको जे कुरा पनि बेठिक यस किसिमको झोले प्रवृत्तिबाट कोसौं टाढा लाग्छन् प्रदीप गिरीका विचारहरु। कहिले संसद भवनको रोष्टममा उभिएर सरकारको मुक्तकण्ठले प्रशंसा गर्छन् त कहिले आफ्नै पार्टी कांग्रेसका त्रुटिपूर्ण कार्यको भर्त्सना गर्न पछि पर्दैनन् ।
यसपटक भने प्रदीप गिरीले सरकारलाई लक्षित गरेर धेरै बाउन्सरको प्रहार गरे । नीति तथा कार्यक्रमको दस्तावेजलाई सरकारको किंकर्तव्यविमूढता भन्दै भ्रष्टाचार कुशासन र मनलाग्दीपनले नेपाली राजनीति दिशाहीन बनेको तर्क उनको थियो। कोरोना रोकथामका लागि सरकारले गरेको अकर्मण्यता र उदासीपनप्रति उनले तीखा व्यंग्यबाण प्रहार गरे साथै केवल सत्ता हस्तान्तरणलाई प्राथमिकतामा राखेर सत्ता रूपान्तरण हुन नसकेकोमा उनले कता कता आत्मालोचना पनि गरेको अनुभूति भयो । यस किसिमका अरूपान्तरित गतिविधिका लागि कता कता आफू स्वयं पनि जिम्मेवार रहेको अप्रत्यक्ष रूपमा स्वीकार्दै उनले विगतको राजनैतिक संघर्ष एवं जेल जीवनलाई केलाए । साथै फरक राजनैतिक विचार राख्ने राजनैतिक सहकर्मीको पनि स्मरण गर्न बिर्सेनन्।
नेपालमा पटक पटक सत्ता हस्तान्तरण गरेर सरकार फेरिए पनि रूपान्तरणमा ध्यान दिन नसक्दा कसरी हामी चुकिरहेका छौं र अझै विकासका सैकडौं गतिविधिबाट वञ्चित छौं ? भन्ने उनको आशयलाई पंक्तिकारले व्याख्या गर्न खोजिरहदा आजसम्म उनीसँग बसेर गफ गर्ने मौका मिलेको छैन । धेरै पटक सार्वजनिक कार्यक्रममा दाई जय नेपाल भनेर भनिरहदा मुस्कुराउँदै जय नेपाल भनेर प्रत्युत्तर भने पाइन्थ्यो तर एकपटक नेपाल टेलिभिजनको कार्यक्रम होरा दर्शनमा दार्शनिक अन्तर्वार्ताका लागि अनुरोध गर्दा म बूढो मान्छेलाई किन दुख दिनुहुन्छ ? भनेर ठट्टा गर्दै टेलिफोनमा गरिएको वार्तालाप नै एकमात्र संयोग हो यद्यपि कार्यव्यस्तताले उनले सो कार्यक्रममा अन्तर्वार्ता दिन भ्याएनन्।
सत्ताको अर्थ अस्तित्व हो। सो राजनैतिक अस्तित्व आजसम्म एकै किसिमको कसरी छ भने आज पनि नेपाली राजनीति जी हजुरी र दर्शन परिक्रमामा अडिएको छ। एकाध अपवाद बाहेक नेतृत्व वा जिम्मेवारी तहमा क्षमता प्रतिभा भएका व्यक्ति भन्दा पनि हस हजुर भन्ने यसम्यानलाई जिम्मेवारी सुम्पिने चलनले असल नेतृत्व निर्माण हुन सकेन र यस्तो प्रवृत्ति सत्ता रूपान्तरणमा प्रमुख बाधकका रूपमा अद्यापि जीवित छ। कुनै संगठनको वा अन्य कुनै सार्वजनिक पदमा पुगिसके पछि छिन छिनमा रिपोर्ट खोज्ने निर्णयमा हस्तक्षेप गरिरहने प्रवृत्तिले नेता बन्ने र नेता बनाउने दुबैलाई रूपान्तरित हुन दिएन ।
रामायणका एक प्रमुख पात्र श्रीराम हुन्। कथामा उनी नारायण भगवानका अवतार हुन् र उनि जे पनि गर्न सक्छन् तर नाटक गरेर सामान्य मनुष्यका भाँति उनले आफ्नो जीवन बिताउँछन्। सीताको अपहरण पछि लंकामा सीता खोज्न उनी स्वयं जान सक्थे तर उनले सो खोजीकार्यका लागि हनुमानलाई चयन गरेर पठाए। बिना हस्तक्षेप हनुमानका लागि कार्यक्षेत्र खुला गरिदिए। फलस्वरूप सीताको खोजी मात्र गर्न भनेर गएका हनुमानले समुद्रलाई उडेर पार गरे। सुरसा नामकि राक्षसीको मुखमा पसेर बाहिर आए,लंका पुगेर लंकिनी नाम गरेकी राक्षसीलाई ठेगान लगाएर लंकाका राजा रावणका भाइ विभीषणसंग मित्रता गाँसे, सीता मातालाई भेटेर रावणका छोरा अक्षय कुमारलाई मारेर सारा लंकामा आगो लगाएर सीताको सन्देश लगेर श्रीरामलाई हनुमानले बुझाए। हनुमानको नेतृत्व विकासको मूल कारण श्रीरामले उनको क्षमतामा विश्वास गर्नु र स्वतन्त्रतामा रमाउन दिनु थियो । खोई त हामीले नेतृत्व चयनमा यी कुरालाई अवलम्बन गरेको? अचेल हनुमान शब्दको अर्थ नै नबुझेकाहरुले ढोके क्षमता र प्रतिभा रहितलाई हनुमानको संज्ञा दिइरहँदा धार्मिक रूपमा हनुमानको अपमान गरिएको महसुस हुन्छ।
सारा काम छोडेर बिहान बेलुका नेताको दैलो चहार्ने कुनै काम गर्ने ढंग नभएर नेताले भनेको ठाउँमा गएर चन्दा असुलेर ठगी खाने ठगहरुलाई हनुमान भन्नू कत्तिको उपयुक्त होला?सत्ता रूपान्तरणको अर्को बाधक भनेको दिशाहीन र चेतनाविहीन युवा जमात पनि हो । जुन युवा पुस्ता अग्रगामी चेतनाको संवाहक हुनुपर्ने हो त्यही युवा हावा तालमा जिन्दावाद र मुर्दावादको भूमरीमा फसेर आफ्नो चेतनालाई तिलाञ्जली दिन उद्यत छ।संघर्ष भन्दा शरणागत बन्नु अहिलेको युवालाई स्वीकार भएको देख्दा एकपटक नेपाली युवाले विश्वका अन्य मुलुकका युवालाई हेर्न आवश्यक छ । विदेशी मुलुकहरुमा तीस पैंतीस बर्षका युवा मन्त्री प्रधानमन्त्री राष्ट्रपति बनेको समाचार बिहानै चिया पसलमा गएर पढेर नेपाली युवा कुनै विद्यार्थी संगठनको केन्द्रिय सदस्य महामन्त्री वा महासचिव जस्ता पदको याचना गर्दै नेताका दैलो चहार्छ यो भन्दा ठुलो बिडम्बना के हुनसक्छ ? हिजोका दिनमा निरंकुशता विरुद्ध लड्न राजनैतिक दलको आस्था अनुरूप बनेका विभिन्न पत्रकार संगठन जस्तै प्रेस युनियन, प्रेस चौतारी वा अन्य प्रेस संगठन आजसम्म जीवित छन् र त्यस्ता संगठनमा बसेर अस्वतन्त्र पार्टीभक्ति एवं पार्टीपरक पत्रकारिता गर्नेहरु स्वयं त अंधेरोमा छन् नै साथै जनतालाई पनि अंध्यारोमा राख्नमा तल्लीन छन्। यसले दर्शाउँछ हाम्रो अवस्था आज पनि हिजोको जस्तै छ यस्तो प्रवृत्ति पनि सत्ता रूपान्तरणमा बाधक बन्यो। लोकतन्त्र स्थापनामा सहायक होलान भनेर बनाइएका यी प्रेस संगठनहरु आजको दिनमा लोकतन्त्र आइसकेको अवस्थामा कसरी औचित्यपूर्ण छन् त? या त लोकतन्त्र र गणतन्त्र झुटो हो होइन भने यस्ता संगठन झुटा हुन्।
आज पनि स्वतन्त्र पत्रकारिता गर्नेहरु प्रेस काउन्सिल, नेपाल टेलिभिजन, रेडियो नेपाल वा गोर्खापत्रको कार्यकारी बन्ने कुरा त पर नै जाओस् त्यहाँ सामान्य जागीर खाएर टिक्न सक्दैनन् अनि यस्तो प्रवृत्तिले कसरी हुन्छ सत्ता रूपान्तरण ? हिजो राणाका पालामा जस्तो निरंकुशता थियो सत्तामा उस्तै निरंकुशता छ पात्रहरु फेरिएका छन् तर प्रवृत्ति फेरिएको छैन। फुटाएर राज गर्ने र लुटेर खाने चलन अझै छ । निरंकुशताको शैली फेरिएको छ किन कि समय पनि फेरिएको छ । हिजो राणाका राजाका नजिकका अरौटे भरौटे नीति निर्माणको तहमा हुन्थे आज नेताका अरौटे भरौटे मात्र नीति निर्माणको तहमा छन् । क्षमता र प्रतिभालाई थुनेर राखिएको छ । यस्तो कुप्रवृत्ति शिक्षक कर्मचारी समाजसेवी व्यापारी जहाँ सुकै सिन्डिकेट व्याप्त छ यस्ता धेरै कारणहरु छन् जुन हाम्रो सत्ता रूपान्तरणमा बाधक बनेका छन्। बहुदलीय व्यवस्थामा दलको सदस्य बन्नु आम कुरा हो। पोलिटिकल पार्टीमा लाग्नै नहुने कुरा होइन तर पोलिटिकल पार्टीमा सक्षम क्षमतावानलाई पर हटाउने र आसपासका खासलाई मिलाएर राखेर आत्मकेन्द्रित शासन चलाउने जुन पुरानो राणाकालीन वा पंचायतकालीन व्यवस्था झैं अहिले पनि त्यस्तै हुनु अत्यन्त विडम्बना र दु:खको विषय हो।
विकारस्य न भो मित्र राजनीतिर्भवेत्सदा।
राजनीति:विचारस्योद्योगस्य च समिश्रणम्।।
राजनीति केवल अरुको विकार केलाउने र विरोध गर्नका लागि होइन यो त प्रष्ट विचार र विकासको समिश्रण हो हाम्रो सत्ता रूपान्तरण त्यति बेला हुनेछ जब हामी सदनमा एक अर्काको दललाई गाली गरेर होइन विकास र विचाररूपी उभय तत्वलाई आत्मसात गर्नेछौं ।
आज पनि मन्त्री प्रधानमन्त्री राष्ट्रपति आदिको विलासी जीवनशैली देखेर लाग्छ यिनले कहिले सिक्लान् राजनीति भनेको सेवा हो भनेर? व्यक्तिगत खर्चका लागि राष्ट्रको ढुकुटी खर्च नगर्ने संस्कार यिनले कहिले सिक्लान? जनता पनि कहिलेसम्म झोले मार्गमा हिंडिरहलान्? कहिलेसम्म पैसा, रक्सी र मासुभात, पेट्रोलसंग भोट साट्ने प्रथा टिक्ला र ? एक दिन त आउला जब चेतना जागेको समाज होला र सत्ता हस्तान्तरण मात्र नभएर सत्ताको रूपान्तरणको महसुस गर्न पाइएला। वर्तमान परिवेशको राजनीति र सत्ता देखेर लाग्छ मानौ नयाँ नयाँ बोत्तलमा उहि पुरानै रक्सी मिसाइएको छ मात्रै बोत्तल फेरियो तर यहाँ रक्सी पुरानै भयो।