- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
गौरीघाट । भगवान विष्णुको दश अवतार मध्ये बराह तेश्रो अवतार हो । एकपटक पृथ्वी र बराह भगवान्को बीचमा संवाद चल्दा पृथ्वीले रुरुक्षेत्रको उत्पत्ति र विष्णु भगवान् किन यस क्षेत्रमा रहनु भएको बारेमा सोधेकी थिइन् । (यो क्षेत्रले पाल्पा र गुल्मीको सीमाना ओगटेको र काली गण्डकीको किनारामा अवस्थित छ । यहां अवस्थित विष्णुको मूर्तिलाई ऋषिकेशको रुपमा पनि मानिन्छ ।)
पृथ्वीको यस्तो प्रश्न सुनेपछि पृथ्वीलाई यसप्रकारले वताउनु भएको थियो । भृगु वंशमा देवदत्त नाम गरेका एक ब्राम्हण थिए । उनले आफ्नो आश्रममा बसेर १० हजार वर्षसम्म कठोर तपस्या गरेका थिए । उनले गरेको तपस्याले ईन्द्रलाई डाहा भयो । उनले देवदत्तको तपस्या भंग गर्न भनेर प्रम्लोचा नाम गरेकी अप्सरालाई बोलाए । उनले प्रम्लोचालाई नाच गान आदि जे गरेर भएपनि उनको तपस्यामा विघ्न बाधा पार्नु भनेर अर्हाए । आंपका पालुवा, अनेक प्रकारका सुगन्धित फूलहरुको वास्ना तथा भंवराहरुको गुञ्जन तथा शितल बातावरणले सम्पन्न भएको त्यस आश्रममा तपस्यारत देवदत्तको तपस्या भंग हुन गयो । उनले आफूलाई सम्हाल्न सकेनन् र प्रम्लोचासंग वार्तालाप गर्दै रमाइलो मानेर समय बिताउन लागे ।
यसरी रमाइलोमा मस्तभएका उनलाई एकदिन होश आयो । उनले सोच्न थाले, परमात्माको कस्तो माया । मलाई थाहा थियो यस्ता कार्यबाट मेरो तपस्या भंग हुन्छ भन्ने कुरा तर दैव अधीन हुनाले मैले यो काम गर्नुपर्यो । नारी अग्नीकुण्ड जस्तै र पुरुष घीउको घडा जस्तो हुन्छ भन्ने मैले सुनेको थिएं तर यो कुरा भनाईमात्र रहेछ । विचार गर्ने हो भने यी दुईमा अन्तर छ किनभने घीउको घडाले आगो देख्दैमा पग्लंदैन, आगोमा राखेपछि मात्र पग्लन्छ तर पुरुष त स्त्रीलाई देख्ने वित्तिकै पग्लने रहेछ । यी स्त्रीको यहां कुनै अपराध नै छ्र्रैन, जे छ, मेरो नै अपराध हो । मैले इन्द्रिय संयमगर्न सकिनं । उनले पश्चात्ताप गरे अनि प्रम्लोचालाई फिर्ता पठाए ।
देवदत्त अन्यत्र गएर तपस्या गर्ने विचार लिएर भृगु मुनिका आश्रममा पुगे । उनी गण्डकी नदीको किनारमा स्नान गरेर सन्ध्यावन्दन आदि सकेर शिवजीको पूजा आराधनामा लागे । उनको तपस्याले शिवजी खुशी भएर भन्नुभयो, “हेर, म शिव हुं । तिमीलाई ज्ञान हुनुपर्ने हो, विष्णु पनि म नै हुं, विष्णु र ममा केही फरक छैन । तिमीले तपस्या गर्दा ममा र विष्णुमा भेद देख्यौ, त्यसैले तिम्रो तपस्या भंग भयो । अव तिमी हामी दुवैलाई एकै दृष्टिले हेर, तिमीले सजिलैसंग सिद्धि प्राप्त गर्नेछौ । तिमीले तपस्या गरेको स्थान संगमको रुपमा हुनेछ । जस्ले मेरो लिंगको पूजा गर्दछ, उसले चाहेको फल भोग्दछ आदि भन्दै आफू अन्तर्धान हुनुभयो ।
उता प्रम्लोचा पनि देवदत्तको संसर्गमा परेको फलस्वरुप गर्भिणी थिइन् । उनले एक कन्यालाई जन्म दिइन् तर कन्यालाई छोडेर स्वर्गलोकमा गइन् । कन्यालाई रुरु नाम गरेको मृगले पाले, त्यसैले उनको नाम रुरु नै हुनगयो । उनी पछि आफ्नो बाबुको आश्रममा बस्न लागिन् र रुखको ठुटा जस्तै भएर श्रीहरीको तपस्यामा तल्लिन भइन् । उनको शरीरबाट तेज प्रवाहित भइरहेको थियो । उनको तपस्याले विष्णु भगवान् प्रकट हुनुभयो र वरमांग्ने आग्रह गर्नुभयो ।
ती कन्याले पनि “हे नारायण, हजूर प्रसन्न हुनुहुन्छ भने यो क्षेत्र रुरु क्षेत्रको नामले प्रख्यात होस् । हजूर यही नै रहनुहोस्” भन्ने वर मांगिन् । उनको मांग पूरा होस् भन्ने वरदान दिएर विष्णु भगवान्ले भन्नुभयो, “जो पुरुष रुरु तीर्थमा आएर स्नान, दर्शन गर्दछ उसले जानेर होस् वा नजानेर गरेको होस्, सबै पापबाट मुक्ति पाउंनेछ” । यति भनेर विष्णु अन्तर्धान हुनुभयो । (पुराणमा आधारित)