arrow

झापाको कचनकवलमा क्वारेन्टिनको चरम अव्यवस्था, कांग्रेसले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

सीमाका सुरक्षाकर्मीलाई साधन स्रोत दिन समेत ध्यानाकर्षण

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ जेठ १० शनिबार
jhapa-congress-gyapan.gif

झापा। पूर्वी नेपालको सबैभन्दा बढी कोरोना संक्रमित भएको जिल्ला झापामा पनि सबैभन्दा बढी प्रभावित कचनकवल गाउँपालिकामा क्वारेन्टिनको चरम अव्यवस्था बिरुद्ध स्थानियस्तरमा क्रियाशिल राजनीतिक दलहरुले असन्तोष व्यक्त गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीकै गृहजिल्ला झापाका स्थानिय तहमा क्वारेन्टिनका नाममा चरम अव्यवस्था र लापर्वाही भएपछि नेपाली कांग्रेस झापाले स्वयं प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाएको छ। प्रमुख जिल्ला अधिकारी मार्फत कांग्रेसले ज्ञापनपत्र बुझाएको हो।    

कांग्रेसले कचनकवल गाउँपालिकाको ४ वटा क्वारेन्टिन नै अहिले संक्रमणको केन्द्र बनेको आशंका गरेको छ। पथरीया मावि, लक्ष्मीप्रसाद देवकोटा मावि, जानकी आधारभूत विधालय र महेन्द्ररत्न मा.वि. गरि कचनकवलमा बनाइएका ४ वटा ‘क्वारेन्टिन’ स्थलहरुमा न्यूनतम मापदण्डको पालना विल्कुलै नगरिएको आरोप कांग्रेसको छ। ‘क्वारेन्टिन’ स्थलमा बस्ने ३३ जना व्यक्तिमा कोरोना संक्रमणको पुष्टि भई उनिहरुलाई उपचारका निम्ति विराटनगर तथा धरानका अस्पतालमा राखिएको छ। एउटै गाउँपालिकामा यत्रो संख्यामा कोरोना संक्रमणको पुष्टि भई सक्दा समेत अझैसम्म क्वारेन्टिनमा बस्ने ठूलो संख्याका व्यक्तिहरुको संक्रमणको बास्तविक स्थिती पत्ता लगाउने पीसीआर परीक्षण गर्न उनिहरुको स्वाव संकलनसम्म नगरिएकोमा कांग्रेसले आपत्ती जनाएको छ। यस्तो भयावह स्थिती हुँदा पनि गाउँपालिकाको क्वारेन्टिनमा बस्ने अन्यको किट्सको अभाव देखाएर पीसीआर टेस्ट नभएकोमा कांग्रेसले गम्भिर रोष प्रकट गरेको छ। 

गाउँपालिकाले क्वारेन्टिनका नाममा एउटै कोठामा खाँदेर मान्छेहरु राखेको, उनीहरुबाट सिर्जित फोहोरको उचित व्यवस्थापन नगरेको फोहोरहरु काग र कुकुरले जथाभावी बोकेर लैजाँदा बस्तीका अन्य पनि संक्रमणको खतरामा परेको कांग्रेसको भनाई छ। ‘क्वारेन्टिन’ स्थलहरुलाई सुरक्षित नहुँदा समूदाय तथा स्वयं सो स्थलमा बस्ने संक्रमण नभएका व्यक्तिहरुलाई समेत संक्रमणको जोखिम बढेको कांग्रेसले चिन्ता गर्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको कांग्रेस झापा ३ का क्षेत्रिय सभापति गणेश पोखरेलले बताए। 

कांग्रेसले सीमामा रहेका सुरक्षाकर्मीहरु बिरुद्ध भारतबाट आएकाहरुले पटक पटक आक्रमण गरेको र त्यसको पुनरावृत्ती भइरहेको उल्लेख गर्दै त्यसलाई रोक्न सीमामा रहेका सुरक्षाकर्मीहरुलाई साधन स्रोतको उचित व्यवस्थापन गर्न र उनीहरुलाई उचित ढंगले बस्ने व्ववस्था मिलाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको कांग्रेस महासमिति सदस्य भूमी राजवंशीले बताए।  

झापा कांग्रेसले प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्र जस्ताको तस्तैः

सम्माननिय प्रधानमन्त्री ज्यू,
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, काठमाण्डौ,
मार्फतः प्रमुख जिल्ला अधिकारी ज्यू, जिल्ला प्रशासन कार्यालय, झापा
विषयः ज्ञापनपत्र सम्बन्धमा ।
कोरोना संक्रमणबाट उच्च प्रभावित क्षेत्र कचनकवल गाउँपालीकामा भारतबाट आएका र शंकास्पद व्यक्तिलाई राख्न बनाइएका ‘क्वारेन्टिन’ स्थलहरुमा देखिएको चरम अव्यस्थापन र कोरोना महाब्याधि विरुद्धको युद्धको अग्र मोर्चामा रहेका प्रहरीहरुलाई उपलब्ध गराउनु पर्ने न्यूनतम सुविधाप्रति तथा यस गाउँपालिकाका विपन्न वर्गप्रतिको सरकारी उदाशीनताले हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
समुदायमा कोरोना संक्रमण फैलन नपाओस् भनेर शंकास्पद व्यक्तिहरुलाई केही समयका लागि अलग्गै राख्न बनाइएको स्थल हो ‘क्वारेन्टिन’ । यसमा बस्ने सबै व्यक्तिहरुमा कोरोना संक्रमण हुन्छ भन्ने हुँदैन । बरु, यसमा बस्ने शंकास्पद व्यक्तिहरुमध्ये धेरै संक्रमण रहित हुने सम्भावना नै उच्च रहेको हुन्छ । तर, यी ‘क्वारेन्टिन’ स्थलहरुमा सुरक्षा सावधानी नअपनाउँदा यसमा बस्ने संक्रमण रहित व्यक्तिहरु पनि संक्रमणको उच्च जोखिममा पर्ने निश्चित छ । यस्तै असुरक्षित स्थलको रुपमा रहेका छन्, कचनकवल गाउँपालिकाका ‘क्वारेन्टिन’ ।

पथरीया मा.वि., लक्ष्मीप्रसाद देवकोटा मा.वि., जानकी आधारभूत विधालय र महेन्द्ररत्न मा.वि. गरि कचनकवलमा बनाइएका ४ वटा ‘क्वारेन्टिन’ स्थलहरुमा न्यूनतम मापदण्डको पालना विल्कुलै गरिएको छैन । ‘क्वारेन्टिन’ स्थलमा बस्ने ३३ जना व्यक्तिमा कोरोना संक्रमणको पुष्टि भई उनिहरुलाई उपचारका निम्ति विराटनगर तथा धरानका अस्पतालमा राखिएको छ । एउटै गाउँपालिकामा यत्रो संख्यामा कोरोना संक्रमणको पुष्टि भई सक्दा समेत अझैसम्म क्वारेन्टिनमा बस्ने ठूलो संख्याका व्यक्तिहरुको संक्रमणको बास्तविक स्थिती पत्ता लगाउने पीसीआर परीक्षण गर्न उनिहरुको स्वाव संकलन सम्म गरिएको छैन । यस्तो भयावह स्थितीका सम्वन्धमा गाउँपालिका र सम्वन्धित स्वास्थ्यकर्मीसंग बुझ्दा स्वाव संकलनका लागि आवश्यक किट्सको अभाव रहेको जवाफ निजहरुबाट पाइएको छ । 

एउटा कोठामा बढीमा तिन जना सम्म बस्न मिल्ने र एउटा खाट र अर्को खाटको बिचको दुरी कम्तीमा साढे तिन फिट हुनै पर्ने मापदण्डको यहाँ ठाडै उल्लंघन गरिएको छ । एउटै कोठामा सत्र जना सम्म व्यक्तिहरुलाई सुताएर राखेको पाइएको छ । अत्यन्तै सावधानी अपनाउनु पर्ने खानेपानी र शौचालयको प्रयोगलाई सुरक्षित र व्यवस्थित बनाइएको छैन । त्यहाँ एउटै ट्युवेल र शौचालयको प्रयोग असुरक्षित ढंगमा धेरै संख्याका व्यक्तिहरुले गरिरहेको स्थिती रहेको छ । सेनिटाइजर, साबुन लगायत सरसफाईको पर्याप्त प्रबन्ध गरिएको छैन । ‘क्वारेन्टिन’ स्थलमा रहेका व्यक्तिहरुले प्रयोग गरि फ्याँक्नु पर्ने वस्तुहरु राख्ने डस्टविनको उचित व्यवस्था गरिएको छैन । उनिहरुले प्रयोग गरेका सामाग्री बाहिर फाल्ने र सो सामाग्री कुकुर, काग जस्ता जीव जन्तुले बोकेर ल्याई बस्तीमा फाल्ने गरेको तस्विर देखिन थालेको छ । जसले गर्दा सिंगो समूदाय संक्रमणको त्रासमा रहेको छ । क्वारेन्टिन स्थलमा रहेका व्यक्तिहरुलाई दुई छाक खाना पनि अघाउन्जेल सम्म नदिइएको गुनासो ति व्यक्तिहरुले गरिरहेका छन् ।

विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड त के स्वयम् सरकारले स्थानीय तहहरुलाई पठाएको ‘कोरोना भाइरस सम्बन्धी क्वारेन्टिन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड, २०७६’ ले तोकेको न्यूनतम प्रवन्ध पनि कचनकवल गाउँपालिकाका क्वारेन्टिनमा हुन नसक्नु अत्यन्त चिन्ताजनक विषय हो । समाजलाई कोरोना संक्रमणबाट बचाउन व्यवस्था गरिएका यी स्थलहरु आफै प्रकोपको केन्द्रको रुपमा विकसीत भइरहेको दुर्भाग्यपूर्ण विडम्बना लाई प्रकोपसँग जुध्न नेतृत्वदायी भुमिका निर्वाह गर्नु पर्ने दायित्व भएको सरकारले अनदेखा गर्न किमार्थ पाउँदैन । संकटको यस घडीमा संघीय सरकारले मापदण्ड तोक्ने मात्र नभई सो मापदण्डको यथोचित परिपालना भएको छ वा छैन भनी अनुगमन गर्नु र त्यसको परिपालनाको प्रत्याभूतिको लागि प्रदेश सरकार र स्थानीय सरकारलाई उचित सहयोग गर्नु उसको प्राथमिक कर्तब्य हो । यसबाट विमुख हुनु भनेको कचनकवल गाउँपालिकाका क्वारेन्टिनहरुमा रहेका जस्ता विशेषत निम्न आर्थिक वर्गका नागरिकहरुप्रति सरकारको चरम उदाशिनता हो । यस्तो प्रवृत्तिमा अविलम्ब सुधार गर्न सरकार समक्ष हामी जोडदार अपिल गर्दछौं ।

यसै परिप्रेक्ष्यमा भारतबाट आएका र पछि समेत त्यहाँबाट आउने एवं अन्य संक्रमणको शंका रहेका व्यक्तिहरु एक दुई रात मात्र नभई कम्तीमा दुई हप्ता सम्म रहनु बस्नु बर्ने कचनकवल गाउँपालिकाका ‘क्वारेन्टिन’ स्थलहरुलाई सुरक्षित बनाई समूदाय तथा स्वयं सो स्थलमा बस्ने संक्रमण नभएका व्यक्तिहरुलाई संक्रमणको जोखिमबाट बचाउँदै उनिहरुलाई न्यूनतनम मानवोचित सुविधा पुर्याउन निम्न लिखत व्यवस्थाको प्रवन्ध अविलम्ब गर्ने व्यवस्था मिलाउन सरकार समक्ष जोडदार माग गर्दछौं ।

क) स्वाव संकलनका लागि आवश्यक किट्स लगायत पर्‍याप्त स्वास्थ्य सामग्रीको व्यवस्था गरी क्वारेन्टिन स्थलमा बस्दै आएका सम्पूर्ण व्यक्तिहरुको स्वाव संकलन गरी त्यसको अविलम्व पीसीआर विधिबाट परीक्षण गरियोस् । र, उनिहरुको संक्रमणको वास्तविक स्थिती पत्ता लगाइयोस् । साथै पछि भारत लगायत देशबाट आउने सम्भावित संक्रमित व्यक्तिहरुलाई सुरक्षित तवरले तुरुन्तै क्वारेन्टिनमा राखी उनिहरुको संक्रमणको स्थिती अविलम्व पत्ता लगाइयोस् ।

ख) संक्रमण पुष्टि भएका व्यक्तिहरुलाई तुरुन्त अलग गरी आवश्यक चिकित्सकीय सेवा प्रदान गरियोस् । र, क्वारेन्टिनमा बस्ने संक्रमण नदेखिएका व्यक्ति तथा समुदायलाई संक्रमणको जोखिमबाट बचाइयोस् ।

ग) क्वारेन्टिन स्थलमा रहने बस्ने व्यक्तिहरुको बिचमा मापदण्ड बमोजिमको भौतिक दूरी कायम गरियोस् ।

घ) क्वारेन्टिन स्थलमा प्रयोग हुने शौचालय, खानेपानी, स्नान घर जस्ता आधारभूत आवश्यकताका वस्तुहरुको प्रयोगमा सुरक्षा सावधानीको प्रत्याभूति गरियोस् ।

ङ) क्वारेन्टिन स्थलमा सावुन, सेनिटाइजर लगायतका सरसफाईका सामाग्रीहरुको पर्याप्त व्यवस्था गरियोस्।

च) क्वारेन्टिन स्थलमा रहेका व्यक्तिहरुले प्रयोग गरि फाल्ने सामाग्रीलाई राख्ने सुरक्षित डस्टविनको व्यवस्था गरि सो सामाग्रीलाई अन्य ठाउँमा फाल्ने स्थितीको अन्त्य गरियोस् । साथै सो सामाग्रीको सुरक्षित डिसपोज गर्ने व्यवस्था मिलाइयोस् ।

छ) क्वारेन्टिनमा बस्ने व्यक्तिहरुलाई अगाउन्जेल पौष्टिक आहारयुक्त खानाको व्यस्था गरियोस् । साथै, उनिहरुका लागि दिउसोको खाजाको व्यवस्था समेत गरियोस् ।

ज) नियमित औषधीको प्रयोग गर्दै आएका क्वारेन्टिनमा बस्ने ब्यक्तिहरुका लागि औषधी सेवनको निरन्तरताको प्रत्याभूति गरियोस् ।

झ) उनिहरुका लागि सफा ओड्ने, ओच्छ्याउने कपडाको उचित व्यवस्था गरियोस् ।

ञ) समग्रमा क्वारेन्टिनमा बस्ने व्यक्तिहरुका लागि मापदण्ड बमोजिमको बन्दोवस्तीको न्यूनतम व्यवस्था गर्दै सो स्थललाई सुरक्षित बनाई त्यहाँ बस्ने सम्भाब्य संक्रमण रहित व्यक्ति तथा समूदायलाई संक्रमणको जोखिमबाट बचाइयोस् ।

साथै संकटको यस घडीमा प्रकोपले सिर्जना गर्ने भोकमरी विरुद्धको लडाईं समेत एकसाथ लड्नु पर्ने कुरा निर्विवाद छ । भर्खरै सप्तरीका मलर सदाले भोकमरीकै कारण मृत्युवरण गर्नुपरेको खवरले सारा राष्ट्रलाई स्तब्ध बनाएको छ । सरकारी रवैयाका कारण त्यस्तै त्रासद सम्भावना बाट यस गाउँपालिकामा समेत मुक्त रहेको छैन । आदिवासी जनजाती, मधेसी, मुस्लिम वहुल यस क्षेत्रमा विपन्न वर्गका नागरिकको संख्या कम छैन । तर, सरकारले लकडाउन घोषणा गरेको दुई महिना भईसक्दा विपन्न वर्गमा झारा टार्ने किसिमले राहतको वितरण गरिएको छ । त्यही राहत पनि थुप्रै वास्तवीक विपन्न परिवारलाई छुटाई त्यसको पारदर्शी किसिमले वितरण नगरि यस क्षेत्रका विपन्न वर्गको कष्टमय दैनन्दिन जीवनलाई सरकारी भुमिकाले गिज्याएको छ । ‘भोकले कोही मर्नु नपर्ने’ सरकारी उद्घोषलाई यसले केवल प्रचारवाजीका लागि गरिएको नारामा सिमित गरिदिएको छ । तसर्थ कुनै पनि प्रकारको आग्रहबाट मुक्त भई पारदर्शी किसिमले राहतको वितरण गरि यस क्षेत्रका विपन्न वर्गको बाँच्न पाउने अधिकारको सुनिश्चितता गर्न हामी सरकार समक्ष जोडदार माग गर्दछौं ।

यसै सन्दर्भमा कोरोना महाब्याधि विरुद्धको लडाईंको अग्र मोर्चामा रही काम गर्दै गरेको सुरक्षाकर्मीलाई यस लडाईं लड्न आवश्यक पर्ने सामाग्री प्रदान गर्नु राज्यको दायित्व हो। उनीहरुलाई कर्तव्य पालनाको सिलसिलामा आवश्यक पर्ने सुविधाको वस्तु प्रदान नगरिंदा एकातर्फ उनीहरुबाट आफ्नो कर्तब्यको यथोचित पालनामा व्यवधान उत्पन्न हुन जाने हुन्छ भने अर्कोतर्फ उनिहरुको मनोवलमा समेत नकारात्मक प्रभाव पर्ने निश्चित छ । प्रकोपको यस समयमा सीमा नाकाबाट लुकिछिपी कोही व्यक्ति नेपालमा प्रवेश गर्न नसकोस् भनी त्यसको रोकथाम तथा नियन्त्रण लागि कचनकवलको सिमावर्ती ठाउँमा परिचालित सुरक्षाकर्मीका लागि उनिहरु रहनु बस्नु पर्ने सुरक्षा पोष्ट भरपर्दो छैन । अलिकती ठूलो हावाहुरी चल्दा उनिहरु आश्रय विहिन अवस्थामा रहनुपर्ने अवस्था विधमान छ । त्यहाँ खानेपानी, शौचालय, विजुली जस्ता अत्यावश्यक पूर्वाधारको सर्वथा अभाव रहेको छ । पारी भारतबाट ठूलो संख्यामा मानिस आई घरेलु हतियारको प्रयोग गरि सीमित संख्याका उनीहरुमाथि पटक पटक आक्रमण भईरहेको अवस्था छ । त्यस्तै यस्तो विषम समयमा कचनकवल क्षेत्रमा चोरीको घटनामा समेत वृद्धि भइरहेको छ । तसर्थ कोरोना संक्रमण नियन्त्रणको उदेश्यका खातिर सिमा क्षेत्रमा परिचालित सुरक्षाकर्मीहरुका लागि कार्यसम्पादनका सिलसिलामा उनिहरु रहने बस्ने भरपर्दो सुरक्षा पोष्टको व्यवस्था गर्दै उनिहरुका लागि आवश्यक पर्ने खानेपानी, शौचालय, विधुत जस्ता पूर्वाधारको पर्याप्त व्यवस्था गर्न सरकार समक्ष जोडदार माग गर्दछौं । साथै, सिमावर्ती नेपाली सुरक्षाकर्मीमाथिको आक्रमणको पुनरावृत्ति हुन नदिन आवश्यक कदम चाल्न समेत यसै ज्ञापनपत्र मार्फत सरकार समक्ष जोडदार माग गर्दछौं ।

गणेश पोखरेल

क्षेत्रीय सभापति

क्षेत्र नं. ३, झापा

भूमि राजवंशी  

गत प्रदेश सभा सदस्यको निर्वाचनमा

नेपाली कांग्रेसको तर्फबाट    

उम्मेदबार तथा 

महासमिति सदस्य, नेपाली कांग्रेस

सिताराम खड्का  

जिल्ला सदस्य, नेपाली कांग्रेस  

कालेन्द्र सिंह राजवंशी

स्थानीय निर्वाचनमा गाउपालिका अध्यक्षको पदमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार तथा जिल्ला सदस्य ने.का.

चिन्तामणि खरेल    
प्रदेश सभा निर्वाचन क्षेत्रीय सभापति नेपाली कांग्रेस

गिता प्रसाद भट्टराई    
क्षेत्रीय सचिव नेपाली कांग्रेस

तुलाराम अधिकारी
सभापति
नेपाली कांग्रेस गाउँसमिति, कचनकवल



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ