arrow

संवाद

logo
सुरेन्द्र सिटौला, 
प्रकाशित २०७७ जेठ ११ आइतबार
surendra-sitaula.JPG

बिहानै उसले
बगैंचाको सुन्दर फुल चुड्यो
आस्थाको स्थुल मूर्तिमा
रुँदै !
फुलको सुन्दर यौवन चढायो
फुलको मृत्युमा बिरक्त ब्रह्मानन्द
मन्दिरमा मान्छे रोएको देखेर
सोद्धै थियो
तिम्रो के हरायो ?
अकमक्क मान्छे
मूर्तिमा टाउको ठोक्दै 
जोडले करायो
भन्यो
मैले हुर्काएको फूल
मलाइ जिस्क्याएर सधै हाँसी रह्यो
लाग्छ मेरो खुशी चोरेर
ऊ सधै नाची रह्यो
सदियौँदेखि
पूर्णानन्दमा ऊ बाची रह्यो ।

सोचे !
फूलको सुन्दर यौवनिक मादकता
ईश्वरलाई उपहारमा चढाऊ
सधै सधैका लागि
उनलाई आफ्नो बनाऊ
ईश्वर साक्षी राखेर
यौवन र दौलतको
अजम्बरी गुण गान गाउँ
ब्रह्मानन्दको सानो कुटी
आफ्नै संसारमा सजाऊ ।

रुग्ण मान्छेको उत्तरमा
सच्चिदानन्द ईश्वर
मौन निरुत्तरता तोड्दै भन्छन्
श्रृष्टिको मुस्कान मर्दा
दैवी स्वार्थ लजाउँछ
थाहा छ 
तिमीले चुँढेको फूल
तिम्रो मृत्युमा
तिम्रै गुणगान गाउँछ
सोधी हेर आफैलाई
उसको मृत्युमा
तिम्रो मन किन रमाउँछ ?

अकमक्क मान्छे
आफैमा झस्किन्छ
उत्तर खोज्दै
आफ्नै अस्तित्वसँग कड्किन्छ
भन्छ –कुन कर्मको कारण
तिमीले मलाइ मान्छे बनायौ ?
फूलको इर्ष्याले बिक्षिप्त मेरो मनलाई
जीवन भर किन रुवायौ ।

सोप्निल निशामा गुमनाम
मान्छेको होस् ब्युझाउँदै
सच्चिदानन्द उदघोष गर्छ
अहम ब्रह्माष्मी ! भन्दै
फूलसंग दोहोरी गीत गाउँ
अनन्त शृष्टिको ब्रह्माण्डमा
तिमी आफै रमाऊ ।

संवाद गर्दा गर्दै
ऊ निदायो
बिडम्वना !
भोलि पल्ट बिहानै
ईश्वर खोज्दै
सुन्दर फुलका गुच्छा
पत्थरको मुर्तिमा फेरि चढायो
परमानन्द खोज्दै
पहिले जस्तै
अतृप्त तृष्णाको
पुस्तैनी गीत गायो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ