arrow

गुरुकुल शिक्षाको पाठ्यक्रममा विज्ञानको अभावले पुर्‍याएको क्षति

संस्कृत शिक्षालाई टीका र धोतीमा मात्र सिमित

logo
चन्द्रकान्त पौडेल,
प्रकाशित २०७७ जेठ ११ आइतबार
sanskrit_(1).jpg

"संस्कृतं संस्कृतेर्मूलम् "संस्कृत नै मौलिक संस्कृतिको आधार यानी कि मूल हो।"वेदो$खिलो धर्ममूलम्" वेद नै सबै धर्मको मूल आधार हो ।उपरिलिखित दुई संस्कृत पद्यांश मिथक होइनन् सत्य हुन्।

नमस्कार गर्नु ,गुरु सम्मान,अतिथि पूजा,माता पिता प्रतिको उत्तरदायित्व ,धर्ती प्रतिका कर्तव्यहरु,परिवार प्रतिको जिम्मेवारी ,समाज प्रतिको जिम्मेवारी,प्रकृति प्रतिको जवाफदेहिता ,आत्मानुशासन र यज्ञ यागादि कर्मकाण्डहरु  अनेक  जुन हाम्रा  मौलिक संस्कृति छन् नि  सबै संस्कृतमा लुकेका  छन्।सबै धर्मको भावना वेदमा छ नपत्याए गीता, कुराण, बाइबल, बुद्धग्रन्थ, गुरुग्रन्थको समानता केलाउनोस् धेरै समानता पाइन्छन्। यी सबै ग्रन्थको अध्ययन पछि पंक्तिकार पनि यो मान्यतामा अडिग छ कि संसारका धर्मग्रन्थहरुमा वेदको प्रत्यक्ष प्रभाव छ त्यति मात्र होइन मन्दिर, मस्जिद,चर्च,गुरुद्वारा,गुम्बाको स्वच्छन्द भ्रमणबाट के थाहा भयो भने सबैको उच्च भागमा  चुच्चो गजुर विविध रूपमा सजिएको छ तस्मात् कारणात् सबै प्रकारका धार्मिकस्थलहरु आध्यात्मिक उर्जाका श्रोत हुन्।

जातीय ,वर्गीय,भौगोलिक,साम्प्रदायिक बन्धनबाट परे कतै चेतनाको शान्तलोकमा रमण गर्नु त्यो लोक जिउंदै जाने लोक हो जुन प्रत्येक मानव भित्र अन्तर्निहित रहन्छ। संस्कृत त भाषा हो यसलाई उल्था गरेर पढे पुग्छ ज्ञान हुन्छ  भन्नू र पलस्टिकका लुगा लगाएर धारामा थापिएर नुहाएर सफा हुन्छ भन्नू उस्तै उस्तै हो ।

करोडौं शब्द, असंख्य  ग्रन्थ, हजारौं मन्त्र, लाखौं श्लोक यी सबै उल्था गरेर पढ्नुभन्दा संस्कृत भाषा पढेर सिकेर यस सागरमा हाम फालेर पौडिनुको मज्जा बेग्लै हुने छ। यो पुरातन कालको सभ्यता हो जसको कुनै एक्स्पायर डेट नै छैन यो कहिले नरोकिने गाडी हो। वेद भनेको नै ज्ञान हो त्यो सबैका लागि अपरिहार्य छ।

सशस्त्र द्वन्द्वकालका समयमा  संस्कृत शिक्षा नैतिक शिक्षा हट्यो संस्कृत शिक्षालाई जलाउने इतिहास मेटाउने कार्यमा अग्रणी माओवादी पार्टी आज इतिहास बनिसकेको अवस्था छ तर न केवल माओवादी त्यतिबेलाको कर्मचारीतन्त्र देखि राजनैतिक अन्य शक्ति पनि खोइ कसको इशारामा चले र हाम्रो पाठ्यक्रममा विदेशी हस्तक्षेप भयो र केही समय नेपालबाट संस्कृत कता कता हराए जस्तो भयो। अहिले आएर संस्कृत शिक्षा फाट्टफुट्ट संस्कृत मा वि बाहेक गुरुकुलहरुमा सुरक्षित छ।

तर गुरुकुलको पाठ्यक्रममा साइन्स यानी कि विज्ञान नहुनाले संस्कृत क्षेत्रमा अध्ययन गर्नेहरु साइन्स, कमर्स, प्राविधिक एवं अन्य नवीन संकायमा जानबाट वंचित हुन्छन् । वेद पुराण, संस्कृत भाषा, आयुर्वेद ,योग लगायत सकल पूर्वीय दर्शन गुरुकुलमा पढाइन्छन् भने अन्य  विषय तर्फ अंग्रेजी,म्याथमेटिक्स,सामाजिक जस्ता विषयहरु छन् तर महत्वपूर्ण विषय साइन्स यानि कि विज्ञान जुन अहिलेको युगमा अपरिहार्य छ त्यो विषय संस्कृत  गुरुकुलको पाठ्यक्रममा छैन।

विभिन्न सम्प्रदायले साम्प्रदायिक प्रतिस्पर्धायुक्त गुरुकुल चलाए जहाँ ज्ञान भन्दा पनि परम्परा वस्त्र टीकाको भूमिकालाई महत्वपूर्ण मानिदै आइयो। स्वामी श्रीधराचार्य ,डा स्वामी रामानन्द गिरि, स्वामी परमानन्द  लगायत केहि अपवाद बाहेक प्रायः १००८ स्वामी , महाराज ,जगद्गुरु, मण्डलेश्वर आदि विशेषण धारण गर्नेहरुमा नै संस्कृत भाषा, वेद पुराण ,व्याकरण, ज्यौतिष, आदिको गहन ज्ञानको अभाव देखिन्छ।

गहन ज्ञानको अभावमा समाजले जुन उच्च दिशा पाउन पर्ने हो त्यो पाउन असफल भयो तैपनी धेर थोर जे जति काम भएका छन् त्यसका लागि धन्यवाद नै भन्नुपर्छ ।वर्तमानमा देशमा शासन गर्ने विभिन्न ‘पोलिटिकल पार्टी’का नाराहरु जस्तै जय नेपाल, लालसलाम आदि चिह्नमा तारा, हंसिया हथौड़ा भए जस्तै जस्तै समाजमा एकप्रकारले शासन गरिरहेका सम्प्रदायहरुको पनि आफ्नै नारा छ कसै संग शिवको नाम छ त कसै संग नारायणको नाम छ कोहि वैष्णव पार्टी त कतै शैव पार्टी यो पुरानो समाज संचालनको पद्धति हो आन्तरिक विमतिका कारण विद्वानहरु फरक फरक सम्प्रदायमा बसेर आध्यात्मिक सामाजिक साधना गरे यसमा धेरै अन्यथा मान्नुपर्ने पनि केही छैन मात्र वेद, गीताको सन्देशलाई साम्प्रदायिक  व्याख्या गरेर समाजलाई ज्ञानको मार्गबाट भट्काउन भने हुँदैन । 

गुरुकुलमा अध्ययनरत विद्यार्थीको फराकिलो भविष्यको चिन्तन पाइएन फलस्वरूप संस्कृतमा शास्त्री आचार्य विद्यावारिधि पश्चात् पनि कथा प्रवचन, श्राद्ध, एकाह, षोडश संस्कार गर्दै मात्र  हिंड्नुपर्ने व्यापक बाध्यता आइलाग्यो। त्यसमाथिको राजनैतिक खिचातानीले संस्कृत भाषामा साधारणतया शुद्ध बोल्न लेख्न समेत नसक्नेहरु नेपाल संस्कृत विश्वविद्यालयका आंशिक, करार, उपप्राध्यापक, प्राध्यापक अझ डाक्टर पनि नामको अगाडी लेखे। ‘एकां लज्जां परित्यज्य सर्वत्र विजयी भवेत्।‘ कहिले काहीं प्रश्न उठ्छ त्यस किसिमका प्राध्यापकले के पढाउँदा हुन् ? तिनका विद्यार्थी कस्ता होलान्? 

यस मानेमा नेपाल संस्कृत विश्वविद्यालय विद्वान् रहित छ भन्न खोजेको पनि होइन गुरुकुलीय क्षेत्रबाट गएकाहरुले यसको साख जोगाइरहेका छन् स्वामी श्रीधराचार्यले बाग्लुङमा २०४१/४२ मा स्थापना गरेको श्रीमुक्तिनाथ संस्कृत वेद विद्याश्रम, डा स्वामी रामानन्द गिरिले  देवघाटमा स्थापना गरेको महेश संस्कृत गुरुकुल, त्यस्तै स्वामी परमानन्दले स्थापना गरेको हरिहर संस्कृत विद्यापीठले संस्कृत  विश्वविद्यालय धानेको छ भन्दा फरक पर्दैन।

यी तीन जना महापुरुषको शिष्य परम्पराले नै संस्कृत विश्वविद्यालयको लाज राखेको छ अहिले सबै संस्थाहरु संस्कृत विश्वविद्यालय संग अनुबन्धित छन् कोई हुने क्रममा छन्  अन्यथा नेपाल संस्कृत विश्वविद्यालयका रैथाने आंगिक क्याम्पसहरु वाल्मीकि क्याम्पस,विन्दुवासिनी क्याम्पस, वि पि संस्कृत विद्यापीठ, रुरुको संस्कृत क्याम्पस , मटिहानी आदिमा रहेका पुराना संस्थाहरुको संस्कृत  शैक्षिक स्तर अत्यन्त दयनीय छ। तर किताबी ज्ञान सबथोक होइन रहेछ।

संस्कृतका विद्वान् मानिएकाहरु, स्वामीजी मानिएकाहरुले समाजमा व्याप्त छुवाछूत भेदभाव अज्ञानताको पाटोलाई सुधार्लान् भन्नुको साटो यस्ता कुरालाई प्रश्रय दिने किसिमका  भए। साइन्सको गुरुत्व बुझ्ने गुरुहरु भएनन् संस्कृत शिक्षालाई टीका र धोतीमा मात्र सिमित बनाए यसलाई वेषको शिक्षा बनाउन तत्पर देखिए ज्ञानको पाटो कता हरायो हरायो  ।

सर्टिफिकेटमा साइन्स भएन भने विविध क्षेत्रमा जानबाट संस्कृतका विद्यार्थी  वंचित हुनेछन् त्यसैले साइन्स अनिवार्य गर्नुपर्छ। किताबी शिक्षा पछि आत्मशिक्षाको विश्वविद्यालयमा भर्ना हुनुपर्छ चेतनामा एम फिल र  ज्ञानमा पी एच डी गर्नुपर्छ अनि मुक्त भएर डि लिट हुनुपर्छ । पंक्तिकारले  त गुरुकुलमा साइन्स पढ्न पाएन अब आउने पुस्ताले भने गुरुकुलमा ढुक्कले वेद र विज्ञान संगै पढ्न पाओस्।

यौटै गुरुकुलमा पढेका भगवान् श्रीकृष्ण नेता तथा सुदामा विद्वान गुरु भए। क्षात्र कुलमा जन्मिएर भगवान श्रीरामले वशिष्ठको गुरुकुलमा पढे र राजा भए । प्राचीन गुरुकुलमा भेदभाव गरेको पाइंदैन त्यहाँ सबै वर्णका हुन्थे भन्ने प्रमाण पुराणहरुमा छन्  । हामिले कहिले होला सबै जात जातीलाई राखेर वेद संस्कृत र संस्कार सिकाउने? कथित शास्त्र पढेका हौं भन्नेहरूले म्लेच्छदेशका मान्छे भन्ने खैरे भन्ने खैरेहरुले उनिहरुलाई नै  प्रशिक्षण दिन थालिसके। उनि खैरेहरुलाई गुरु बनाउने मात्र होइन उनकैमा पूजापाठ गर्ने रिसर्च गर्ने आदि क्षमतानुसार जागीर खान थालिसके।

फेरि किन हाम्रै नेपाली समाजका मगर गुरुङ परियार विक क्षेत्री आदि कथित ब्राह्मणेतर समुदायलाई हामिले संस्कृत अन्तर्गत  वेदादि  नपढाउने? खोई यसमा पहल गरेको? रोक्नुको कारण के? गुरुकुलमा खेलकूद अस्त्र शस्त्र सबै पढाइन्थ्यो। खोइ त हामी? के पुजारी मात्र उत्पादन गर्ने भनेर पुर्खाले गुरुकुल चलाएका हुन्? तर त्यसो भनेर पुर्खाको कमजोरी केलाइरहंदा आज यो स्थितिमा हाम्रो पुस्तालाई ज्ञानको संरक्षणमा उभिने बनाएको तिनै धोती टीका चन्दन लगाएकाहरुले हो। प्रतिकूल अवस्थामा विविध कर्मकाण्डका माध्यमबाट नै वेद व्याकरण दर्शन आदि सकलशास्त्रलाई जोगाउने काम पनि उनै पुर्खाहरुले गरेका हुन् । उनले जे जति गरे त्यो वन्दनीय छ उनका कमी कमजोरीलाई अहिलेको पुस्ताले सच्याउने काम भने अवश्य गर्नुपर्ने हुन्छ। हामीसंग आज सबै पूर्वाधार तयार छन्, अवस्था अनुकूल बनेर आएको छ । अब  देवघाटमा धोती लगाएर अइउण् आदि संस्कृतका सूत्र रट्दै गरेको बच्चालाई डाक्टर इंजिनियर कृकेटर, कलाकार, पत्रकार वा अन्य विविध क्षेत्रमा पुर्याउने सपना देख्नुपर्छ। हामिले कस्तो जनमानस उत्पादन गर्ने सपना देखेका छौं? गुरुकुल पाठ्यक्रममा यदि विज्ञान छैन भने त्यो पाठ्यक्रम पढेर विद्यार्थीलाई अधुरो शिक्षा पढाएर समय खेर फालेर काम छैन।

"ज्ञानंविज्ञानसहितम्" अब वेद र विज्ञान एकै ठाउँमा ल्याउनुपर्छ यो उत्कृष्ट हुनेछ वेदको मन्त्र रट्नमा तल्लीन बटुकहरुका लागि विज्ञानका सूत्रहरु सामान्य लाग्नेछन् राम्रो अंक ल्याएर देश टप्नेछन्  यसले समुदाय र जनमानसमा पनि गुरुकुल शिक्षा प्रति आकर्षण बढ्नेछ र भोलि सबैले यसको महत्व बुझ्नेछन् कि संस्कृत चाहिने रहेछ भनेर।

यसरी सबै नेपाली छोराछोरीले संस्कृत बुझ्न पाए भने कसैले विदेशमा श्रमिक भएर जानुपर्ने छैन कोई योगगुरु, ज्योतिष ,प्रवक्ता, ट्रेनर, वास्तुविद्, आयुर्वेदिक वैद्य, कोई भाषाविद्, संस्कृत भाषा प्रशिक्षक  आदि विविध हुनेछन् विज्ञान मिसियो भने त कुन क्षेत्र बाँकी रहला र? समय आएको छ, मुट्ठी फुकाउनु पर्ने बेला आएको छ  अब ढिला गर्नुहुँदैन।

गार्गी, मैत्रेयी, अरुन्धतीको परम्परालाई जोगाउन अब गुरुकुलीय शिक्षामा महिला सहभागिता पनि अनिवार्य भैसकेको छ अहिले पाश्चात्य देशका आधुनिक युवतीहरु वेदका मन्त्र ,श्लोक ,संस्कृत भाषा सिकिरहेको बेलामा हामिले हाम्रो स्त्रीशक्तिलाई पनि यस क्षेत्रमा सुविधा दिन आवश्यक छ।

या त गुरुकुलको पाठ्यक्रममा विज्ञानलाई अनिवार्य गरौं नत्र संस्कृत मा वि को पाठ्यक्रममा पढाउन थालौं। विद्यार्थीको जीवन संग खेलवाड नगरौं । संस्कृतमा पी एच डी गरेका पनि उहि कथा सुनाउने एकाहमा पाठ गर्ने श्राद्ध गराउने काम मै मात्र रमाइरहने हो भने किन गर्न पर्यो शास्त्री आचार्य? यसको अर्थ कर्मकाण्ड नै नगर्ने भनेको पनि होइन । गुरुकुल पढेका विद्यार्थीहरु पनि  कृकेटर ,डक्टर, इंजिनियर, पाइलट, फार्मेसिस्ट आदि विविध बन्न  पाउनुपर्छ।

उनिहरुले पार्ट टाइम चिना हेरुन्, विवाह, व्रतबन्धादि षोडश संस्कार गराउन् यस्तो हेर्दा छुट्टै आनन्द हुनेछ । शिक्षा मन्त्रालयले गुरुकुल शिक्षाका लागि छुट्टै समिती बनाएको छ। त्यहाँ समितिमा भएका विद्वान् गुरुहरुलाई  ध्यानाकर्षण गराउने काम सबै पक्षबाट हुन जरुरी छ। नीति निर्माण तहमा ,संसदमा, कूटनैतिक नियोगहरुमा, देशको राजकीय क्षेत्रमा जस्ता पनि मान्छे पठाएर अर्थ छैन।

चेतनाको दियोले धपक्क बलेको व्यक्तित्व जो सबै किसिमका भेदभाव जस्तै धार्मिक जातीय,राजनैतिक,भौगोलिक,साम्प्रदायिक विभेदबाट परे होस सबैलाई समान माया गरोस् त्यस्तो व्यक्तित्वको निर्माण गरेर नीति निर्माण तहमा पुर्याउनु पनि संस्कृत गुरुकुलको दायित्व हो।किनकी माथी नै भनिसकें कि किताबको पढाई र विश्वविद्यालयको पढाई पूरा गरे पछि मान्छे केवल पेट पाल्न सक्षम हुन्छ त्यसैले तदनन्तर चेतनाको विश्वविद्यालयमा भर्ना हुनुपर्छ जहाँ न बिल्डिङ हुन्छन् , न पढाउने हुन्छन् ,न त्यसको कुनै समय हुन्छ त्यो छुट्टै कोर्स हो त्यसलाई चिन्तनको माध्यमबाट अंगाल्न सकिन्छ।  संस्कृत पढेकाहरुले आफ्ना छोराछोरीलाई संस्कृत पढाएको कम देखिन्छ त्यो पनि गुरुकुलमा शिक्षामा विज्ञान नभएर हो । गुरुकुलीय शिक्षा पद्धतिमा केही सुधार भए मात्रै पनि हाम्रो शैक्षिक गुणस्तर उकासिने छ र नेपाललाई विश्वगुरु बनाउने अभियान सार्थक र सफल हुनेछ। जयतु संस्कृतम् जयतु नेपाल:।।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ