arrow

संस्कारित गणतन्त्र 

logo
प्रमोदहरी गुरागाई,
प्रकाशित २०७७ जेठ १५ बिहिबार
pramodhari.jpg

एकाबिहानै
सानो छोरोले 
रन्किदै भन्यो
मसँग बन्दुक भएको भए
छोरी चित्त दुखाउँछे
हेप्नेको पनि सीमा हुन्छ नि
आमा खुइय्य गर्दै भन्नुहुन्छ 
अब के–के हुने हो ?
बाबाको निष्कर्ष थियो
दुवै छिमेकी मिलेर हेपे ।

म यस समयको
बीचको प्रतिनिधि पात्र
अघिल्लो पुस्ता
मेरो पुस्ता
र, नवीन पुस्ता
तीनै पुस्ताले ब्यहोर्यो
भूकम्पपछिको नाकाबन्दी 
बेहोरिरहेछौं
कोरोनाको नयाँ संस्करण
कोभिड–१९ को महामारी ।

हजुरबुबा भन्नुहुन्थ्यो 
छिमेकी सक्षम भए
आपद विपद्मा काम लाग्छ
तर मेरो छिमेकी 
मेरै घर डढिरहँदा
पेट्रोल छर्कन्छ
तिर्खाले छट्पटिँदा 
पानीको मुहान थुन्छ
हरेक खेतीको समयमा
मेरै आलि तास्छ
मलाई घोचिरहन्छ
पटक–पटक चिमोटिरहन्छ ।

केटाकेटी अभिभावकसँग
रिसाएर विद्रोह गरेजस्तो 
मैले पनि विद्रोह नगरेको होइन 
क्रमशः घरमूलीहरु परिवर्तन गर्न
जुँगाको रेखी पनि प्रष्ट नहुँदै
मैले प्रजातन्त्रको लागि लडेँ, पाँए
प्रजातन्त्र परिपक्व नहुँदै
घरभित्र र बाहिरकाले मिलेर
प्रजातन्त्रलाई आइसीयूमा पुर्याए
म अझै बिद्रोही बने
मेरो छट्पटाहटले
देशले गणतन्त्र पायो
तर अफसोच
न ममा शीतलताको महशुस छ
न त छिमेकीहरु 
दाह्रा धस्न छोड्छन्
आखिर किन ?
निष्कर्ष–घर फुटे गवार लुटे ।

अहँ ! म मान्दिन
मलाई पटक्कै विश्वास छैन
मेरा प्रतिनिधिहरु
मञ्चका अभिनयकर्ता मात्र हुन्
उनीहरुले पटक–पटक
उठाएका राष्ट्रियताका सवालहरु
सत्ता आरोहण गर्ने
भर्याङ्ग मात्र हो
त्यसैले मेरो आग्रह
अब दल विशेषको
राष्ट्रियता होइन
नागरिक नागरिकबीच
ऊचाइ हासिल गर्न
कराइरहने मुखाले राष्ट्रवाद होइन
समग्र नेपालीको
प्रतिनिधित्व गर्ने
एकजुट राष्ट्रवाद
माटो पनि
नागरिक पनि
संवोधित हुने राष्ट्रवाद ।

सरकार पद्धतिको आदेश हो
बन्छ, बदलिन्छ
तर राष्ट्रियता
राष्ट्रियता रहिरहन्छ 
राष्ट्रियताको अंशबन्डा हुँदैन, हुन सक्दैन 
हाम्रो राष्ट्रियता
समयले जुराएको छ
संस्कारित गणतन्त्र 
राष्ट्रियताको जग हो
हार्दिक शुभ–कामना ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ