arrow

कोरोना कारक अघोषित विश्वयूद्धः लकडाउनको स्वरुप परिवर्तन अपरिहार्य

logo
भक्त बहादुर खड्का,
प्रकाशित २०७७ जेठ १८ आइतबार
bhakta-bahadur-khadka.gif

वर्ल्ड मिटर डट कमको पछिल्लो विवरण अनुसार कोराना भाइरसले विश्वका २ सय १३ राष्ट्रका हाराहारी ६१ लाख मानिसहरुलाई आफ्नो संक्रमणको चपेटामा लपेट्दै करिब ३ लाख ७१ हजार हाराहारी मानिसहरुको ज्यान लिइसकेको छ । समग्र विश्व बन्दाबन्दीको कैदमा छ । गत डिसेम्बरदेखि चीनको वुहानवाट फैलिएको कोरोना महासंकटले यसको उत्पत्ति, नियन्त्रण र विश्वव्यपी विवाद जस्ता कैयन बहुआयामिक सवालहरु खडा गरिदिएको छ ।

विद्यमान विश्वप्यापी समग्र घटनाक्रमको गहिरो अध्ययन, चिन्तन र विश्लेषणवाट कोरोना नामक जैविक अस्त्रको माध्यमद्वारा सुषुप्त रुपमा तेश्रो विश्वयुद्ध चलिरहेको, कोरोना विरुद्घको लडाईमा अपनाइएको पुर्ण लकडाउनको (बन्दाबन्दी) रणनीति घातक भएको, उपचार पद्धति प्रभावहीन रहेको र यसले भोकमरी, कुपोषण र मानसिक रोग बढाई विश्वमा कोरोना महामारी भन्दा भयानक मानवीय र आर्थिक महासंकट निम्त्याउन सक्ने अनुमान गर्न थालिएको छ। 

यसर्थ अब नेपाल सहित विश्व समाजले कोरोना भाइरस अस्त्रको माध्यमवाट अघोषित विश्वयुद्ध चलिरहेको हुनसक्ने तथ्यलाई मनन गर्दै यसका बहुआयामिक प्रभावहरुकोे विश्लेषणका साथ कोरोना विरुद्ध अपनाईएका विद्यमान उपचार पद्धति र पूर्ण लकडाउनको स्वरुपमा यथाशिघ्र वस्तुगत र वैज्ञानीक ढंगले परिमार्जन गर्न आवश्यक छ । वर्तमानमा विश्वयुद्ध चलिरहेको हुन सक्ने आधारहरु, लकडाउनको वैकल्पिक स्वरुप र कोरोना संक्रमण नियन्त्रणका लागि अपनाउनु पर्ने प्रभावकारी उपचार पद्घतिबारे प्रस्तुत लेखमा विश्लेषण गरिएको छ ।   

जैविक अस्त्रद्वारा विश्वयुद्ध चलिरहेको हुन सक्ने आधारहरु
विद्यमान विश्वव्यापी कोरोना मुद्दा विश्वयुद्धको स्वरुप हो वा होइन भन्ने सवालमा यसलाई विश्वयूद्घको परिभाषा, वर्तमान विश्वव्यापी विवाद र ध्रुविकरण, उद्धेश्य र प्रभाव, अस्त्रको प्रयोग एवम् प्रथम तथा दोश्रो विश्वयुद्धको प्रकृति र तेश्रो विश्वयुद्ध सम्बन्धी भविष्यवाणीसँग जोडेर विश्लेषण गर्न सान्दर्भिक हुन्छ । 
विश्वयुद्ध शब्दको प्रयोग सर्वप्रथम अक्सफोर्ड इङ्गलिस डिक्सनरीले सन् १८४८ मा र जर्मनका चर्चित दार्शनिक एवं अर्थशास्त्री कार्लमार्क्स र उनका सहपाठी एङ्गेल्सले सन् १८५० ताका वर्ग संघर्ष सम्बन्धी लेखमा गरेको पाइन्छ । विकिपेडियाका अनुसार ‘विश्वयुद्ध एउटा यस्तो युद्ध हो जस्मा विश्वका सबै वा धेरै प्रमुख राष्ट्रहरु संलग्न रहन्छन् ।’ 

अमेरिकाद्वारा उठाइएको कोरोना भाइरस उत्पत्ति सम्बन्धी निष्पक्ष अनुसन्धानको मुद्धालाई लिएर आज विश्व दुई कित्तामा विभाजित भएको छ । यति बेला अमेरिकालाई बेलायत, अष्ट्रेलिया, क्यानडा, इजरायल, भारत, जापान, कोरीया तथा यूरोपियन राष्ट्रहरुले साथ दिएका छन् भने चीनलाई रसिया, उत्तरकोरीया, इरान, पाकिस्तान लगायत केहि अरेवियन र अफ्रीकन देशहरुले साथ दिएका छन् । यसर्थ विश्वका शक्तिसाली राष्ट्रहरुको प्रष्ट रुपमा ध्रुविकरण भएकोले प्रस्तुत परिभाषाका आधारमा कोरोना द्वन्द्व तेश्रो विश्वयुद्धको स्वरुप हुन सक्ने देखिन्छ  । 

अमेरिकाद्वारा चीनले कोरोना भाइरसको उत्पत्तिका बारे लामो समयसम्म सत्यता लुकाएको, आफ्नो आन्तरिक शहरहरुमा आवतजावत बन्द गरेको तर अन्तराष्ट्रिय आवतजावत खूल्ला राखेकोे र विश्व स्वास्थ्य संगठनलाई समेत प्रभावमा पारी कोरोना मानिसवाट मानिसमा नसर्ने जस्ता अभिव्यक्ति दिन लगाएकोले कोरोनाको उत्पत्ति प्राकृतिक नभई चीनको जैविक प्रयोगशालामा उत्पादन गरी विश्व भरी फैलाएको संगिन आरोप लगाउनु र चीनद्वारा पनि अमेरिकन सेनाले वुहानमा पहिलो पटक कोरोना भाइरस फैलाएको आरोप लगाएको कुरा सञ्चार माध्यमहरुले सर्वत्र प्रकाशन गरेका छन् । यसबाट कोरोना भाईरस प्राकृतिक होस् वा प्रयोगशाला निर्मित यो मुद्धा र विवाद विश्वव्यापी बन्नु, कोरोना भाइरसलाई अस्त्रको रुपमा प्रयोग गर्नु र विश्वका प्रमुख शक्तिशालि राष्ट्रहरु दुई समुहमा विभक्त हुनुले बाँकी विश्वले यसलाई जैविक अस्त्रको प्रयोगवाट तेश्रो विश्वयुद्ध चलिरहेको बुझ्न गाह्रो छैन ।

उद्धेश्य, प्रभाव र अस्त्रका आधारमा कोरोना विवादलाई विश्लेषण गर्ने हो भने अमेरिका र चीनबिच विगत केही समय यता आर्थिक शितयुद्ध चलिरहेको तथ्य विश्व सामु जगजाहेर नै छ। यो घटनाक्रमसँग कोरोना विवाद अन्तरनिहित मुद्दाको रुपमा विश्लेषण गर्ने हो भने यी दुई महाशक्तिका विच संरक्षणवाद, विश्वव्यापी आर्थिक प्रभुत्ववाद्, उद्धेश्य र प्रभाव अनि कोरोना युद्धको जैविक अस्त्र हुन सक्छ ।

सन् १९१४ देखि १९१८ को प्रथम र १९३९ देखि १९४५ सम्म चलेको दोश्रो विश्वयुद्ध सैनिकिकरण, भौगोलिक राष्ट्रियता र गठबन्धन विस्तारका कारण र उद्धेश्यवाट प्रभावित थिए भने मेशिनरी लगायतका हातहतियारहरु युद्धका अस्त्र थिए । यसरी हेर्दा भौतिक हतियार विनाको वर्तमान युद्ध विश्वयुद्धको रुपमा स्वीकार्न धेरैलाई गाह्रो होला तर विगत तीन दशक यता प्रविधिमा आएको आश्चर्यजनक परिवर्तनले तेश्रो विश्वयुद्ध परमाणु हतियारद्वारा हुने भविष्यवाणीकर्ताहरुको भनाईलाई उछिन्दै अन्ततः जैविक अस्त्रको प्रयोगद्वारा विद्यमान विश्वयुद्ध चलिरहेको हुन सक्छ । 

चर्चित फ्रेन्च ज्योतिषशास्त्री एवं द्रष्टा नेस्त्रोदिमसले सन् १५५५मा “लेस् प्रोफेटिज” नामक भविष्यवाणी संग्रह प्रकाशन गरेका थिए । जस्मा भविष्यमा घट्न सक्ने थुप्रै राजनीति, विश्वयुद्ध, महामारी, संकट, विपत्ति र व्यक्ति मृत्यु सम्मका भविष्यवाणी गरिएको थियो । उनका सही सावित भविष्यवाणीहरुमा फ्रान्सका शासक हेनरी द्वितियको मृत्यु–१५५९, ग्रेट फायर अफ लण्डन–१६६६, फ्रेन्च रेभोलुसन–१७८९, गरिब परिवारमा हिटलरको जन्म, प्रसिद्धी, दोस्रो विश्वयुद्ध र अवसान, जापानको हिरोसीमा र नागासाकीमा एटम बम विस्फोट, वेलायतकी राजकुमारी डायनाको मृत्यू लगायतका कैयन घटनाहरु विश्व प्रख्यात छन् । 
 
उनले तेश्रो विश्वयुद्ध अमेरिकन गठबन्धन र चीन तथा मुस्लीम लगायतका एण्टिक्राइष्ट गठबन्धन बिच हुने र सन् २०२० मा मृत्यु, मानविय हताहत, विध्वंस, आर्थिक मन्दी, विश्वव्यापी उष्णता विरुद्ध सुधार प्रयास, आँधिबेहरी, भुकम्प र प्राकृतिक रोगको महामारी जस्ता घटनाहरुको परिकल्पना गरेका छन् । उनका भविष्यवाणीलाइ मान्ने हो भने विद्यमान विश्वव्यापी विवाद, ध्रुविकरणको प्रकृति र महासंकटले तेश्रो विश्वयुद्धको चित्रण गर्दछ ।

अनुमान गरिए झैं विद्यमान कोरोना युद्ध साच्चिकै तेश्रो विश्वयुद्ध सावित भई यो युद्धमा अमेरिका विजय भएमा विश्वभर चरम पुँजीवादी प्रभुत्व कायम हुने र चीनले विजय हासिल गरे विश्व कम्युनिष्ट उपनिवेशमा परिणत हुने खतरा भएकोले हार न जीतको स्थितिमा टुङ्गिएमा बाँकि विश्वका लागि राम्रो हुनेछ । यसबाट अमेरिका र चीनलाई अतिवाद्, नियन्त्रणवाद् र हैकमवादबाट सुध्रिन दवाव पर्ने र समतामुलक प्रजातान्त्रीक समाजवादको उदय हुन सक्ने छ । 

कोरोनारुपी विश्वयुद्ध यथास्थितिमै टुङ्गियो भने करिव ४ करोड जति मानिसहरुको ज्यान लिएको प्रथम र र ६ देखि ८ करोडको ज्यान लिएको दोश्रो विश्वयुद्धको तुलनामा विश्व समाजको लागि यो सस्तो सावित हुने छ। अबको उन्नत र सभ्य मानव समाजले राष्ट्रियता, भूगोल, धर्म संस्कृति, साम्राज्य विस्तार र गठबन्धनका आधारमा हुने विश्वयुद्ध नस्विकार्ने भएकाले अन्तरिक्षको भागबन्डा एवम् उपयोगमा सहमति कायम हुन सकेमा वर्तमान कोरोना अस्त्रको आर्थिक युद्धसंगै विश्वयुद्धको खेल सदाका लागि समाप्त हुन सक्ने अनुमान गर्न सकिन्छ ।

लकडाउनको स्वरुप परिवर्तनका कारणहरु
करिव ५ महिनादेखि देखा परेको कोरोना महामारीको कारण सिङ्गो विश्व भयभित र त्रसित मात्र होइन लकडाउनको कारागारमा बन्दी छ। उत्पादन, प्रशोधन, वितरण, आयात निर्यात लगायत समग्र आर्थिक गतिविधिहरु ठप्प छन् । तर यस्को संक्रमणको विस्तार र मानिसहरुको मृत्यु अझ बढ्दै गएको देखिन्छ भने यसको दिर्घकालिन नियन्त्रणको अत्तोपत्तो छैन । 

विज्ञहरु यसका विरुद्धको औषधि र खोप बनाई परिक्षणको प्रकृया पुरा गर्न कम्तीमा पनि एक बर्ष भन्दा बढी समय लाग्ने बताइरहेका छन् । कथंकदाचित भनिएको समयमै औषधी र खोप निर्माण भैहालेछ भने पनि नेपाल जस्ता विकासोन्मुख देश र विपन्न वर्ग लगायत आम जनताको पहुँच र प्रयोगमा आउन निश्चित रुपमा केही वर्षं लाग्न सक्छ । अनुमान गरौं केही वर्षसम्म लकडाउनलाई यथास्थितिमा राख्यौं भने के हालत होला ? यसर्थ सुगा रटाइवाट माथि उठेर लकडाउनको स्वरुप तथा उपचार पद्धतिमा आफ्नो देश, अवस्था र वातावरण सुहाँउदो परिवर्तन गर्न अपरिहार्य छ । अन्यथा संचित रकम र खाद्यान्न रित्तिदै जाने र भोकमरी, कुपोषण, बेरोजगारी, मानसिक चिन्ता, घरेलु, महिला, बृद्धबृद्धा तथा बालबालिका हिंसाका कारण कोरोनाले भन्दा कैयौं गुणा बढीको मृत्यु हुने र अर्थतन्त्र उठ्नै नसक्ने गरी थला पर्ने निश्चित छ । 

कोरोना निश्चित रुपमा तिव्र गतिमा फैलिने संंक्रमण भएतापनि हुने वित्तिकै मरिहालिने प्राणघातक रोग भने होइन । यसबाट बच्न पूर्ण लकडाउन मात्रै निर्विकल्प उपाय मान्नु सरासर विश्वव्यापी भ्रमात्मक हवालाद्वारा सृजित गलत र आत्मघाती कदम हुन सक्छ । यसका पछाडि विश्वलाई कृत्रिम महासंकटको दलदलमा फसाई विश्वभरी आर्थिक प्रभुत्व जमाउने शक्तिशाली देशहरु र अस्तव्यस्त परिस्थितिको दुरुपयोग गर्दै शक्ति र धन आर्जन गर्न पल्केका धुर्त शासक, पुँजीवादी सामन्त दलाल, घुसखोरी र कालोबजारीहरुको ठूलो हात हुन सक्छ । 

नेपालमा कोराना संक्रमणको प्रवृत्तिलाई अध्ययन गर्ने हो भने संगै खाने र उठबस गर्ने एकाघरको पतिमा पोजेटीभ पत्नीमा नेगेटीभ, आमामा पोजेटीभ बच्चामा नेगेटीभ, छोरामा पोजेटीभ आमामा नेगेटीभ र संगै बस्ने र सहयात्रा गर्ने सहपाठी मध्ये एकमा पोजेटीभ र अन्यमा नेगेटीभ हुनु जस्ता कैंयन उदाहरणले यस्को संक्रमण र प्रभाव भ्रम सृजना गरिए जस्तो छैन भन्ने पुष्टि हुन्छ ।   

नेपालमा विद्यमान लकडाउनको स्वरुप र प्रयोग आधारमा विश्लेषण गर्ने हो भने यो अति अव्यवहारिक, अमानविय र विकृत शैलिको छ । मुलुकको अर्थतन्त्र धानेका नेपाली आप्रवासी मजदुरहरुले जीवन मरणको संकटकालिन घडीमा आफ्नो भूमिमा आउन नपाउनु, भारतीय सिमाक्षेत्रमा नेपालीहरु भोकभाकै थलिएर मर्नुसम्म परेका विजोग र दर्दनाक दृष्य देखिनु, विपन्न र दैनिक ज्यालादारीमा गुजारा गरेका मजदुरले खान नपाउनु, टोले गुण्डाहरु समेत लाठी बोकी चोकचोमा खानतलासी र झडपमा उत्रिएर आतङ्कित पार्नु, अति आवश्यक बस्तु खरिद तथा सेवामा समेत स्थानीय तहवाट छोटो समय तोकिनुले एकै समयमा मानिसहरुको भिड लाग्नु, मर्निङ्ग वाक समेतमा रोक लगाउनु, ईपासको नाममा पहुँचवालालाई मात्रै आवतजावत गर्न दिइनु, कालाबजारी र भ्रष्टाचार बढ्नु, रु. १५ हजारमा निजी अस्पताललाई कोरोना जांच गर्न दिन खोज्ने चलखेल हुनु, निम्नस्तरको क्वारेन्टाइन र घर–परिवार, आफन्त र अस्पतालवाट समेत कोरोना संक्रमितहरु माथि विगतमा कुष्ठ र एड्सरोगीहरुलाइ गरिने व्यवहार भन्दा बढी तिरस्कार र अवहेलना गर्नु जस्ता कार्यहरु कोरोना आतङ्क र लकडाउनबाट सृजित अमानविय र विकृत उपजहरु हुन् ।  

यद्यपी कोरोना संक्रमणवाट एकजनाले पनि ज्यान गुमाउन नपरोस् भन्ने चाहना सरकार र जो कोहिलाई हुनु स्वभाविक भएता पनि सन् २०१७ को तत्थ्याङ्कका आधारमा विश्वमा बार्षिक प्रति हजार ९ दशमलव ५ जना मानिसहरुको मृत्यु हुने गर्दछ । यस्का आधारमा विश्वको विद्यमान करिव ७ अरव ७९ करोड जनसंख्याको हिसाबले मृत्यु हुनेको संख्या बार्षिक हाराहारी ७ करोड ४० लाख र मासिक ६१ लाख ६७ हजार हुन आउँछ । त्यस्तै अन्य संक्रमणवाट भएको मृत्युदर हेर्ने हो भने इवोला–८३ देखि ९०, स्मलपक्स–९५, एचआइभी एड्स–८० देखि ९०, इन्फ्लुन्जा–६० र प्लेग–५० प्रतिशत रहेको छ । विश्व स्वास्थ्य संगठनको पछिल्लो विवरण अनुसार कोरोना संक्रमणबाट झण्डै ६ महिनाको अन्तरालमा ३ लाख ७१ हजार जनाको मृत्यू र संक्रमितको मृत्यूदर ३ दशमलव ४ प्रतिशत मात्रै हुनुले यस्लाई यति ठूलो भयावह र आतङ्कको रुपमा फैलाइ विश्वलाई त्रसित गरिएको विषय सोचनिय छ ।
 
अर्कातर्फ बलपुर्वक लादिएको लकडाउन प्रभावकारी ढङ्गले लागू नभएको र केवल उत्पादन, सेवा प्रवाह र राजश्व संकलन लगायतका कृयाकलाप मात्र ठप्प भएकाले पुर्ण लकडाउनको उचित विकल्प खोज्नु आवश्यक छ । जस्ले गर्दा उत्पादन र दैनिक कृयाकलापहरु सुचारु हुनुका साथै कोरोना संक्रमणवाट पनि मानिसहरुलाई बचाउन सकियोस् । 

वैकल्पिक लकडाउनको स्वरुप 
यावत विश्लेषणका आधारमा कोरोना संक्रमण सावधानीपुर्वक सामाजिक दुरी कायम गरी हिंड्डुल, कामकाज वा कुराकानी गर्दैमा नसर्ने भएकोले लकडाउनको विकल्पको रुपमा विश्व स्वास्थ्य संगठनले सिफारिस गरेका र हाल अधिकांश मानिसहरुमा संस्कृतिकै रुपमा स्थापित हुन थालेका सामाजिक दुरी कायम, मास्कको प्रयोग, नियमित सावन पानीले हात धुने र सेनिटाइजरको प्रयोग गर्ने जस्ता कार्यलाई प्रभावकारी ढङ्गले लागू गर्ने अवस्थाको सृजना गर्न आवश्यक छ । यस्का लागि विपन्न र आर्थिक अवस्था कमजोर भएका वर्ग र समुहलाई स्थानीय तहका टोल विकास समितिहरु मार्फत आवश्यक सावुन तथा सेनिटाइजर लगायत सामग्री वितरण गर्ने र अपनाउनु पर्ने पुर्व सावधानी सम्बन्धी चेतना फैलाउनु पर्दछ ।   
यद्यपी भविष्यमा संक्रमणवाट हुन सक्ने ठूलो जोखिमलाई दृष्टीगत गर्दै लकडाउन खोल्ने कार्यलाई चरणबद्ध रुपमा प्रयोग, प्रभाव विश्लेषण र थप परिमार्जन गर्दै आंशिक, अधिक र पुर्ण गरी तीन चरणमा लागू गर्न उपयूक्त हुन्छ । 

आंशिक चरणमा पुर्व सावधानीको पुर्ण रुपमा पालना गर्ने गरी राजश्व संकलन, आयात निर्यात, उद्योग, वितरण, व्यापार व्यवसाय, सेवा प्रवाह, कृषि, निर्माण कार्य, निजी, नगर स्तरीय र छोटो दुरीका सवारी साधन लगायतका सबै प्रशासनिक र सरकारी सेवाहरु खोल्ने, सम्भव हुने क्षेत्रमा अनलाईन प्रयोगलाइ प्रेरित गर्ने तर ठूला जमघट हुने शैक्षिक संस्था, तालिम, सिकाइ तथा वालस्याहार केन्द्र, होटेल, डान्स रेष्टुरेण्ट, नाइट क्लव, दोहोरी सांझ, सेमिनार, बैठक, गोष्ठी, भोज भतेर, सामुहिक भ्रमण, अन्तराष्ट्रिय आवागमन र लामो दुरीका सवारी साधन आदीलाई पुर्ण रुपमा बन्द गर्न उपयूक्त हुन्छ । पूर्व सावधानीको प्रभावकारी कार्यान्वयनका लागि आवस्यक वजेट व्यवस्था र निर्देशिका जारी गरी स्थानीय निकाय, सम्बन्धित क्षेत्रमा पेशागत संगठन, अन्य सामाजिक संघसंस्थाहरु र सरकारी निकायको सहकार्यमा कार्य गर्न सकिन्छ । यदि संक्रमणको प्रभाव घट्दै गयो भने दोश्रो चरणमा पूर्व सावधानी अपनाउन सक्ने वयस्क विद्यार्थीहरु अध्ययनरत शैक्षिक संस्थाहरु जस्तै कलेज, विश्वविद्यालय, तालिम तथा सिकाई केन्द्रहरु, होटेल, रेष्टुरा, लामो दुरीका सवारी साधन लगायतमा लकडाउन फुकुवा गर्न सकिन्छ ।कोरोना संक्रमण बिरुद्धको प्रयोगसिद्ध औषधी वा खोज पहुँचमा वा कोरोना संक्रमण नियन्त्रण आए लगत्तै पूर्णरुपमा लकडाउन खुलेको घोषणा गर्न सकिन्छ । 

वैकल्पीक उपचार पद्घति 
कोरोना संक्रमणको प्रयोगसिद्ध एलोप्याथिक उपचार नभएकोले पुर्व सावधानी, होमियोपेथिक वा परम्परागत उपचार, रोग प्रतिरोधात्मक शक्तिको र उच्च मनोबलको विकासमा जोड दिन आवश्यक छ । साथै कोरोना उत्पत्तिको उद्गमस्थल, संक्रमणको सबैभन्दा पहिला सामना गरि अनुभव बटुलेको र तुलनात्मक रुपमा कम मानवीय क्षति व्यहोर्न सफल चीनद्वारा अपनाईएका उपचार पद्घति अनुशरण गर्नु पनि उच्चतम् उपाय हुन सक्छ ।  

पूर्वसावधानीको प्रभावकारी कार्यान्वयन
कोरोना संक्रमणवाट बच्ने सबैभन्दा भरपर्दो उपाय पूर्वसावधानी भएकोले राज्यले आवश्यक वजेटको व्यवस्था र कार्यविधी बनाई स्थनीय निकाय, पेशागत तथा स्थानीय सामाजिक संघसस्थाहरुको सहकार्यमा विपन्न वर्ग र समुदायलाई विनामुल्य व्यक्तिगत सरसफाईका सामग्री उपलब्ध गराउनुका साथै जनचेतना मुलक कार्यक्रम संचालन गरी यस्को प्रभावकारी कार्यान्वयन गर्दा उचित हुन सक्दछ ।  

चिनियाँ शैलीको परम्परागत उपचार र रोग प्रतिरोधात्मक शक्तिको विकास
चीनले पश्चिमा र परम्परागत उपचार दुबै विधीलाई समानान्तर रुपमा प्रयोग गर्दै आएको छ । चीनको आधिकारिक संचार माध्यम चाइनिज ग्लोवल टेलिभिजन नेटवर्क (सीजिटिएन) बमोजिम ९१ दशमलव ५ प्रतिशत कोरोना संक्रमितलाई अकुपञ्चर लगायत परम्परागत चाइनिज पद्धतिद्वारा उपचार गरिएको र उपचार निकै प्रभावकारी रहेको जनाइएको छ । कोरोना भाइरसले स्वासप्रश्वास र पाचन प्रणालीमा असर गर्ने भएकोले भार्भिन, टाइगर स्टीक र नटवीड जस्ता जडिबुटीहरु निकै उपयोगि हुने प्रम्परागत चाइनिज उपचार विभागका डा. हुहङ्गले बताएका छन् । त्यसै गरी चीनको वुहानमा व्यवसाय गरिरहेका एक भारतीय नागरिकले सामाजिक संजालमा बताए अनुसार त्यहाँ कोरोना संक्रमणको उपचारको रुपमा नियमित तातो पानी, दुध र झोलिलो प्रदार्थको सेवन गर्ने गराउने गरिएको छ । 

चीनमा प्रयोग गरिएका जडिबुटीहरुको उपलब्धता र प्रयोगविधि नेपालमा संभव नहोला तर यसबाट पाठ सिक्दै नेपालका बैद्य तथा आयुर्वेद क्षेत्रका विज्ञहरुको सहकार्यमा नेपालमा पाईने यस्तै तमाम जडिबुटिहरुको प्रयोग गरी कोरोनाको उपचार गर्नु केहि हदसम्म फलदायी हुन सक्छ । भारतका विश्व विख्यात् योग तथा साधना गुरु रामदेवले गिलोय, तुलसी, ल्वाङ्ग, मरिच, हल्दी, ज्वानो र अदुवा मिश्रीत सुप कोरोना संक्रमणको उपचारमा रामवाण सावित हुने बताएका छन् र यो सत्य सावित पनि भएको छ ।

त्यस्तै कोरोना संक्रमण लगायत भविष्यमा आउन सक्ने यस्ता कैयन महामारीवाट बच्न रोग प्ररोधात्मक शक्तिको विकास गरिनु दिर्घकालिन उपाय हुनेमा कुनै शंका छैन । चीनका डाक्टरहरुले कोराना संक्रमणवाट बच्न इम्यून शक्ति बढाउनु पर्ने भएकोले मानिसहरुलाई प्रोटिन र कार्बोहाइड्रेटयूक्त खानेकुराहरु प्रचुर मात्रामा खान सल्लाह दिएका छन् । रामदेव बाबाले शरिरको भित्री अङ्गहरुको कसरत हुने भस्त्रिका, भ्रामरी, अनुलोम विलम र कपालभाँति, प्रणायाम जस्ता योगहरु नियमित गर्नाले शरिरमा सहजै प्रतिरोध शक्तिको विकास हुने र कोरोना संक्रमणवाट बच्न सकिने भनेका छन् । यसर्थ मानिसहरुमा यी प्रयोगहरुको उपलब्धता र बानीको रुपमा विकास गर्ने अवस्था सृजना गर्न सकेमा संक्रमणवाट धेरै हदसम्म बच्न सकिने छ।

उच्च मनोबलको विकास 
कोरोना संक्रमणसंग लड्ने अर्को बलियो हतियार भनेको मानिसहरुमा उच्च मनोबलको विकास गराउनु हो । यस्मा सरकार, आम संचार क्षेत्र र नागरीक समाजको ठूलो भूमिका हुने गर्दछ । तर कोरोना संक्रमणलाई सरकारी निकाय, आम संचारमाध्यम, यूट्यूबर र फेसबुक प्रयोगकर्ताले प्राणघातक रोगको रुपमा प्रस्तुत गरी आतंकित पार्ने कार्य गरिरहनु र फेसबुक प्रयोकर्ताहरुले समेत पत्रकार भन्दा तिव्र गतिमा मृत्यु र संक्रमणका नकारात्मक र डरलाग्दा समाचार स्टाटस पोष्ट गर्नुले मानिसहरुमा झन बढी सन्त्रास फैलाएको छ । 

यसर्थ संचार माध्यम र सरकारी निकायहरुले शैलि परिवर्तन गरी संक्रमित हुँदैमा मृत्यु भई नहाल्ने र उपचार विना नै धेरै हदसम्म निको हुन सकिने सन्देश दिने खालका समाचार संप्रेषण गरेर मानिसहरुको आत्मबल बढाउन, युट्यूवर र फेसवुककर्ताहरुवाट अनाधिकृतरुपमा विना सम्पादन जथाभावी स्टाटस् पोष्ट गर्ने कार्यमा बन्देज लगाउन र लकडाउन खुलाई जनजिवन सुचारु गर्न आवश्यक छ। त्यस्तै कोरोना संक्रमितलाई तिरस्कार र अवहेलना गर्ने अमानवीय व्यवहारमा समेत पविर्तन गर्न आवश्यक छ । 
फिलिपिन्समा चिकित्सा विज्ञान अध्ययनरत सुरेन्द्र रोका मगरले फेसवुक स्टाटसमा लेख्छन्, “कोरोना भाइरसको उपचारको आविष्कार भए पनि यो पूर्ण रुपमा निर्मुल हुने छैन र यो मानिससंगै रहिरहने छ” । यो भनाईवाट उत्पत्तिसंगै कोरोना भाइरस संक्रमणको खतरा अब उप्रान्त रहिरहने भएकाले डार्विनको संघर्षको सिद्धान्त अनुसार उच्च मनोवलका साथ हामी सबै कोरोनासँग संघर्ष गर्दै बाच्नका लागि तयार हुनु पर्दछ । 
 (लेखक पुर्व एनसिडी बैंंकका नायव प्रमुख कार्यकारी अधिकृत र तिलोत्तमा बुद्धज्योति लायन्स क्लवका चाटर्ड प्रेसिडेण्ट हुन्) 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ