arrow

माफी देउ नवराज

logo
रेवती प्रसाद भूसाल,
प्रकाशित २०७७ जेठ १९ सोमबार
rewati-prasad-bhusal.gif

जेष्ठ १० गते मारिएका नबराज बि क सहितका दिबंगत आत्माहरुसंग सभ्रान्त र उच्च भनिएको जातीको एउटा सदस्यको हैसियतले सबै ब्राह्मण, क्षेत्री, वैश्य नामका छुत (कि च्युत) जातको तर्फबाट बिनम्रतापूर्वक माफी माग्दछु। मलाइ समवेदना र श्रद्धाञ्जली दिने हक पनि छैन। हत्यारा वा हत्यारा समुदायसंग जोडीएका ब्यक्तीले मृतकलाइ श्रद्धाञ्जली र परिवारलाइ समवेदना दिनु, तिनीहरुप्रति गरेको क्रुर व्यंग हो। त्यसैले श्रद्धाञ्जली र समवेदना भनेर छुद्रता प्रकट गर्न चाहन्न। यो शुद्ध माफीनामा हो।

सनातन परम्पराको आदि श्रुती ग्रन्थ वेद हो। वेदमा प्रकृती प्रेम छ, प्रकृतीको वर्णन, आह्वान र रहस्यको खोज छ। राष्ट्र धर्म छ, मानव धर्म छ, न्यायको सिद्धान्त छ। अरु पनि धेरै छ जो यस सम्बन्धी अध्येता बिद्वानहरुले बताउनु भएको छ। वेदको मुख्य कर्म यज्ञ होम हो। यज्ञ होम गर्नकोलागी पृथ्वीमा मानिसले उपभोग गर्न आवश्यक पर्ने सबै बस्तु सामाग्री जरुरी हुन्छ। त्यसैले यज्ञ गर्नु भनेको कर्म गर्नु हो। चारवेद मध्ये शुक्ल यजुर्वेदमा एउटा श्लोक छ। ब्राह्मणोस्यमुखमासीद्बाहूराजन्यकृतस्ऊरूतदस्ययद्वैश्य पद्भ्याशूद्रो अजायत।। यज्ञफलबाट उत्पन्न महान पुरुषको कल्पना गर्दा ब्रमर्षी मुख, शुरवीर हात, घुमफीर गर्न बलीया तिघ्रा र यि सबैको आधार पैताला भएको कल्पना छ। अध्ययन ज्ञानको कर्म गर्ने ब्राह्मण, वीरता प्रदर्शन गर्ने, राष्ट्र समाजको रक्षा गर्ने क्षेत्रीय, घुमफीर ब्यापार गर्ने वैश्य, यि सबैको आधार अर्थात भरण पोषण लगायतका शृजनशील काम गर्ने शूद्र मानिएको छ। वेदले जात निर्धारण गरेको छैन। यदि यसैलाइ जात मान्ने हो भने ब्राह्मण, क्षेत्री, वैश्यको आधार शुद्र हो। जस्को अभावमा जीवन असम्भव छ। सृजनाका काम गर्ने सबै शुद्र हुन। शुद्रको परिश्रम र श्रृजनाबाट नै मानव विकास भएको छ। मानिस स्वयं नै विराट पुरुष हो। मानिस भित्रै ज्ञान, वीरता, श्रृजनशक्ती र आफ्ना श्रृजनाहरु आपसमा लेनदेन गर्ने कला छ भन्नु वेदको गुढ हो। आधुनीक अर्थशास्त्रको भाषामा डिभीजन अफ लेबर हो।

ईश्वरमा बिश्वास नगर्ने भौतीकबादीहरुले जात बिभाजनको आधारमा उँच नीच नमान्नु पर्ने हो, मान्दैनन होला। ईश्वरमा बिश्वास गर्ने ज्ञानीहरुले सम्पूर्ण चराचर जगत ईश्वरको श्रृष्टी हो, ईश्वरको दृष्टीमा सबै समान छन् भन्दछन, मान्दछन। अझ मानिस मानिस विच त असमानता, विभेध, अस्पृस्यता नमान्नु पर्ने हो। ईश्वर बुझ्नेले मान्दा पनी मान्दैनन। तर यस्तो सम्वृद्ध सनातन धर्म परम्परा, जो कुनै पन्थमा जकडीएको छैन, सबैलाइ समेटन सक्ने गुण छ, यस्तो धर्म परम्परामा आबद्ध मानिसमा अस्पृस्यता र उँच नीचको बिषालु विज कहिले, कसरी र कुन विकृत मानसिकताबाट प्रबेश गर्यो आश्चर्य छ।

मनुस्मृतीबाट जातीय लैङ्गीक विभेद शुरु भएको भनाइ छ। मैले मनुस्मृती पढेको छैन। संस्कृत भाषाको धेरै ज्ञान पनि छैन। भाषानुवाद पढदा अनुवादकले पूर्वधारणा अनुसार ब्याख्या गरि दिन पनि सक्छन। माथीकै वेद श्लोकको पनि विकृत ब्याख्या सुनिएको छ। हाम्रा ऋषी मुनीहरु संकीर्ण थिएनन। मुनीनां हृदि दैवतुं अर्थात मुनीले हृदयमा देवता देख्दछन, भनिएको छ। सबैका हृदयमा देवता देख्ने ऋषी मुनीले मानिस बिचको यत्रो अन्याय कसरी सृजना गरे होलान। सनातन परम्परा मान्ने सबै मानिस कुनै न कुनै ऋषीका सन्तान हुन। गोत्र, त्रीप्रवर हेर्दा छुत र अछुतहरुको एउटै गोत्र, त्रीप्रवर देखिन्छ। एउटै बाबु बाजेका सन्तान कसरी सानो र ठूलो? किन छुत र अछुत? तार्किक कारण देखिदैन। ज्ञानी समदर्शी र महान हृदय भएका ऋषीहरुबाट यो विभेद शुरु गरिएको विश्वास छैन। निश्चयनै संकीर्ण सोच र कमजोर क्षमताका अल्छीहरुले धन्दा एकलौटी चलाउन वेद लगायत संस्कृत भाषाको अध्ययन अरुलाइ निषेध गरेर भाषा ज्ञानको एकाधिकार गरी संस्कृत श्लोकहरुको भ्रामक ब्याख्या गर्दै अपमानजनक परम्परा बसाएको हुनु पर्दछ। अहिले एक्काइसौ शताब्दीमा कोरोना आतङ्क मच्चिएर मानिसबाट मानिस नै अछुत बने जस्तै अज्ञानताले जकडीएको युगमा पाप, दण्ड भोगको त्रास देखाएर मानिसलाइ अपवित्र र अस्पृस्य बनाउने र निश्चित जात वर्गको श्रेष्ठता देखाउने पाखण्ड बाहेक अरु केही हुन सक्दैन। तर आज एक्काइसौ शताब्दीमा पनि द्वन्दात्मक भौतिकबाद र बैज्ञानिक समाजबाद भट्टाएर नथाक्नेहरु नै तल्लो जात र उपल्लो जातको मानसिक दरिद्रताबाट ग्रसित भएर बर्बरतापुर्ण घटना घटाउन पुग्नुले सिद्धान्तको पाखण्डपुर्ण मुकुण्डो आफ्नो हैकम र आधिपत्य स्थापना गर्नमा प्रयोग गरेको प्रमाणित गरेको छ।

निश्चयनै यो हाम्रो सामाजीक समस्या हो, बिकृती हो, रोग हो। कुनै एउटा पार्टी, समुह वा बर्गको मात्र समस्या होइन। शिक्षित समाज र राजनीतिक पार्टीको काम जनतामा चेतना फैलाउनु, अन्धबिश्वास हटाउनु र सही बाटो देखाउनु हो। विभेद, विकृती र अन्धबिश्वास हटाउनुको बदला जातीय सद्भाव बिथोल्ने र सामाजीक सहिष्णुता खल्बलाउनेको आरोप लगाएर पुस्तौदेखी दबाइएको जातीलाई अझ अपहेलित गर्नु, सामाजिक मानसिक दवाब दिनु, कुनै पनि अवस्थामा उचित मान्न सकिदैन। के दबिएको जाती थिचीइ रहदा र स्वयंघोषीत श्रेष्ठहरुको खटनमा मात्र रहदा मात्र जातीय, सामाजीक सद्भाव कायम रहने हो ? त्यही हो भने ००७ सालको क्रान्ती किन ? ०४६ र ०६२-६३ को आन्दोलन र परिवर्तन किन ? यी आन्दोलन, क्रान्ती जनताको मुक्तीको लागी स्वतन्त्रताको लागी भएका होइनन र ? राणाले भनेको खुरुखुरु मानी बस्न र राजाको जयजयकार गरी बस्न त ती अवस्थामा पनि पाइन्थ्यो। यदि ती ब्यबस्था अन्याययुक्त थिए भनेर फालिदा सामाजिक सद्भाब, राजकीय प्रवन्ध खल्बलीएन भने विभेदको अपमान सहेर बाँचेकाहरुले सामाजीक न्याय खोज्दा सामाजीक र जातीय सद्भाब खल्बलिन्छ भनेर कसरी बिश्वास गर्ने ? यस्तो अन्यायपुर्ण जातीय र सामाजीक सद्भाबको भारी बोकेर सम्बृद्ध समाजको कल्पना गर्नु कोरा पाखण्ड मात्र हो। जातीयता, अस्पृस्यता नेपाल र भारतमा मात्र होइन बौद्ध धर्म अगालेका जापान, कोरियामा पनl थियो, क्रीश्चीयन धर्मका फ्रान्स, स्पेन लगायत युरोपीयन मुलुक, अमेरिका र मुस्लीम धर्मावलम्बी मुलुकहरुमा थियो। तर आज अधिकांस देश यो विभेदलाई पार गरेर सामाजिक सहिष्णुता सहित नयाँ सभ्यतामा पुगेका छन। यथास्थितीनै सामाजीक, जातीय सद्भाव हो भन्ने देश कहिल्यै अगाडी बढदैन। संसारले हामीलाइ जितेर पछाडी पारेको छ, हामी आफ्नै समाजको एउटा अभिन्न अङ्गलाइ मात्र जीत्ने, दबाउने चिन्तनमा छौ।

सामाजिक विभेदले निम्ताएको यो एउटा मात्र घटना होइन। अन्तर जातीय प्रेमकै कारण काभ्रेका अजित मिजारको हत्या, रुपन्देहीकी एक बालिकालाइ रुखमा झुण्डाइ हत्या, छोराले अन्तरजातीय बिबाह गरेको कारण बाबुको हत्या, बिदेशमा मरेको भाइको कृया बस्न सुनार भएकै काणले सार्बजनीक कृयापुत्री भबन नपाउने र अन्यायको बिरुद्ध आवाज उठाउदा धम्काउने, यस्ता अनेकौ घटना हालसालैका हुन। दलीत भनेर संविधानले ट्याग लगाएका बालिका, महिलाहरु बलात्कृत हुनु र न्याय नपाउनु त बर्षौदेखी सामान्य छ। यो हरेक समाजमा हुने अपराधीक मनोबृतीको घटना मात्र नभएर एउटा समुदायले अर्को समुदाय माथी गरेको जघन्य सामाजीक अपराध हो । बिकृत, रोगी सामाजीक चिन्तनको परिणाम हो। हाम्रो समाजको कलङ्क हो।      

अझै, उमेर नपुगेकी नावालीग किसोरीलाई भगाउन रातीमा १९ जनाको जत्थाले आतङ्कीत बनाएको भन्ने आरोपयुक्त भनाइ पनि सुनिन्छ। तर निहत्था १९ जनाको समुहबाट दुई तीन सयको संख्यामा रहेका ‘बिशेष सुविधा’ प्राप्त सुसज्जीत विशाल समुह आतङ्कीत बनेको मान्नु पर्ने पनि सभ्य समुदायकै बिशेषाधिकार भित्र पर्ने होला।

किसोराबस्था बढी भावना प्रधान हुन्छ। छोरा छोरीको प्रेम सम्बन्ध बाबु आमालाइ उचित नलाग्न सक्छ। बिबाह दीर्घकालीन सम्बन्धको गाँठो हो। यदि बाबुआमा संरक्षकलाइ उचित नलागे आफ्ना छोरा छोरीलाइ सम्झाउने, उनीहरुलाइ सोच बिचार गर्न पर्याप्त समय दिने र बालिग भैसके पछी पनि उनीहरु आफ्नो निर्णय पुनर्बिचार गर्दैनन भने, सकिन्छ आफै स्विकार गर्ने, स्विकार गर्न नसके उनीहरुलाइ स्वतन्त्र छाडी दिनु बुद्धीमानी हो। तर उच्च जात र संस्कारको अभिमानमा आफ्नो निर्णय जबर्जस्ती थोपर्नु, बर्वर हिंसामा उत्रनु, राक्षसी चरीत्रको प्रदर्शन हो। अझ यस्ता अपराधमा जनप्रतीनिधी पनि सम्मिलित बन्नु ‘जनप्रतीनिध’भन्ने पदकै अपमान हो।

क्रीश्चीयन धर्म प्रचारकको षडयन्त्रका कुरा पनी आउछन। नेपाल यस्तो देश हो जहाँका नेता जनता आफु झगडा गर्दछन, झगडा बिदेशीले लगाएको भन्छन। घर सम्हाल्न सक्दैनन छिमेकलाइ दोष लगाएर उम्किन्छन। हामी पूर्वीय दर्शनको बखान गर्छौ, सनातन परम्परा, हिन्दु धर्म संस्कृतीको गुण गाउछौ। तर आफ्नै धर्म संस्कृती भlत्र हुर्किएको दोष देख्दैनौ। घरमा ताला नलगाए पछी चोर पस्न खुला हुन्छ। हामीले दुत्कार्ने अरुलाइ दोष दिन सुहाउदैन। क्रीश्चीयfनीटीको प्रचार रोक्ने, यहाँको धर्म संस्कृतीको रक्षा गर्ने हो भने पहिला आफ्ना कुसंस्कारको सुधार गरौ। संकीर्णताले न त समाजको विकास हुन्छ,न धर्मसंस्कृतीको।

कुनै समुदायलाइ ‘दलित’ भनेर ट्याग लगाउनु र त्यसैलाइ संविधानमा समेत अक्षराङ्कीत गर्नु बिभेदलाइ कायमै राख्नु हो। दलित शब्दनै अपमानबोध हुने शब्द हो। कुनै समुदायलाइ दलित भनेर घोषणा गरी सके पछी त्यो समुदाय मानसिक रुपमा कसरी माथी उठन सक्छ ? अन्य समुदायको पनि दलित भनिने समुदायप्रती सकारात्मक धारणा बन्न सक्दैन। केही थान टाठा बाठालाई सत्ताको सिट सुरक्षीत गर्न र बिभीन्न आरक्षणका कोटा हात पार्न त सुबिधा होला तर समग्र समुदायको आर्थिक, शैक्षिक, सामाजीक स्तर बृद्धी गर्दैन र मानसिक रुपमा पनि कमजोर बनाउँछ। बिभेदमा परेको समुदायको आर्थिक, शैक्षिक अवस्था अत्यन्त कमजोर छ। दुईचार जना ब्यक्ती धनी हुदैमा र शासकीय जातीमा बिलय हुदैमा तथा आफ्नो आधिपत्य सुरक्षीत राख्न दलीत भन्दै नारा मात्र लगाउदैमा समग्र समुदायको उत्थान हुदैन। आर्थीक,शैक्षिक, सामाजीक बिकासको अभाबमा जती क्रन्दन गरे पनि दलीत भनीने समुदायको हातमा लाग्ने सुन्य मात्र हो।

रुकुम घटनामा आतङ्कीत बनेका उच्च समुदायको भावना बोकेकाहरु एउटा पनि घाइते भएनन, जीवन गुमाउन परेन। आतङ्क मच्चाउन गएका निम्न जातको प्रतीनिधीत्व गर्नेहरुको मात्र मृत्यु भयो। आफनोतर्फ क्षती नभएकोमा सभ्रान्त समुदायले नबराजहरुप्रती खुच्चीङ भन्दै खुसीयाली मनाइ रहेका होलान। त्यो खुसीयालीमा म रमाउन सकिन। मेरै कमजोरी होला। सभ्रान्त समुदायले खुसीयालीको नाच नाच्दा अपहेलीत समुदायका आँसु पुछ्न जाने नैतीक सामर्थ्य पनि ममा छैन। त्यसमाथी त्यही समुदाय स्मेतले निर्वाचित गरेर सिंहासनमा बसालेको शासकले समय सिमा नभएको यथाशिघ्र प्रतीवेदन पेस गर्ने गरी छानबिन समिती गठन गरेको छ। घाउमा खाटा बस्नु प्राकृतीक नियम हो। खाटा बसे पछि प्रतिवेदन आउने छ र सगौरब घोषणा हुनेछ, क्षतीपुर्ती बापत प्रती परिवार दस लाख दिने। अदालतमा मुद्दा चले कमजोर प्रमाणको कारण भागाभाग हुदा भेरीमा खसी दुर्घटना, भबितब्यमा मृत्यु भएको फैसला हुनेछ। त्यसैले हे नबराज, न्यायको मुल्य द्रब्यसंग साटने मेरो सभ्रान्त जातको बर्चस्व रहेको सत्ताको तर्फबाट पनि म तिमिसंग माफी माग्दछु।

जापानका मानिसहरु माफी माग्नु पर्ने अवस्थाका लागी ठूलो अपमान मान्दछ न।त्यसैले सकभर सबैको सम्मान गर्दछन। जापानले उपनिवेश बनाएका देशमा भएको अन्यायप्रति दोश्रो विश्व युद्धको धेरै पछी सन २०१५ सम्म पनि बर्मा, कोरीया, अष्ट्रेलीया, ताइवान समेतका देशका जनतासँग जापानका साम्राट, प्रधानमन्त्री, मन्त्रीहरुले पटक पटक माफी मागेका छन। उनीहरु महान छन्। हाम्रो देशमा ०६४ सम्म त राजतन्त्र थियो। राजतन्त्रमा रैतीहरुले मात्र माफी माग्ने हो। हामीले ल्याएको गणतन्त्रले शासनको शीर्षमा बसालेका ब्यक्तीले पनि राजतन्त्रको परम्परा धानीरहेकै छन। सोंच गणतान्त्रीक भए सदीयौंदेखी अन्याय सहेका समुदायसंग शासन र समाज ब्यबस्थाले गरेको अन्यायको लागी माफी माग्नु पर्ने थियो। हुन त अहिले शासनारुढ ब्यक्तीहरु जात, धर्म नमान्ने सर्बहारा चरित्र अपनाउने लेलीन, स्टालीन, माओका अनुयायी हुन। लेनीन, स्टालीनको शासनकालमा लाखौ सोभियत जनता मारिए, उनीहरुले माफी मागेनन। माओको साँस्कृतीक क्रान्ती कालमा पनि लाखौ चिनीयाँहरुको हत्या भयो, माओलाई माफी माग्नु परेन। गुरुहरुले नगरेको कुरा अनुयायीहरुले गर्नु त स्वधर्म बिरोधी कुरा भयो।त्यसैले प्रीय नबराज, यो देशको शासनबाट भएका सम्पुर्ण जातीय बिभेधयुक्त अपराधको लागी म तिमिसंग माफी माग्छु।

प्रिय नबराज, महान ब्यक्तीहरुले केही लिदैनन, दिन्छन मात्र। कायरहरुले दिन सक्दैनन, माग्दछन र लिन्छन। हामीले पूजा गर्ने महादेवले कहिल्यै माग्दैनन, दिन्छन, हाम्रो रक्षाको लागि बिष पनि पिउँछन्। महात्मा गान्धीले आफनो लागी केही लिएनन। आफुलाइ गोली हान्ने ब्यक्तीलाइ माफीनै दिएर मरे। तिमी र तिम्रो समुदायले पनि समाजलाइ श्रृजना दिएको छ, परिश्रम दिएको छ, सम्मान दिएको छ। त्यस्को बदला कायर समुदायले तिमिसंग इज्जत खोस्छ, ज्यान लिन्छ। त्यसैले हे महान नबराज तिमि मार्फत तिम्रो महान समुदायसंग, जर्जर बनेको यो कमजोर र हृदयहिन समाजको लागी माफी माग्दछु। माफी देउ।

(भूसाल नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य हुन्।)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ