- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
मलाई एक्लै पिउन मन पर्छ। पिउदै गर्दा अरुको गनगन सुन्न सक्दिन; एकदम झिंजो लाग्छ। रक्सी पिउन मिल्ने सबै ठाउँ मेरालागि भट्टी हो | मेरा एक जना मित्र बियरलाई रक्सीको दर्जामा राख्दैनन्, अनी भट्टीललाई ‘ठण्डी बियरकी दुकान’ भन्छन्।
‘भाइ , चिई..सो बियर है एउटा।‘
छेउबाट अवाज आयो, “ ओ भाइ! अरे यार भाइ ! एक्लै एक्लै ?”
पातलो अग्लो शरीर, ठुलो टाउको! खप्पर भित्रको ‘खोपिल्टो’ मा छिरेका आखाँ, घुम्रिएको कपाल, साइडमा सिउदो जस्तो पारेर तेल लगाएर कोरेको कपाल ! तालुमा कपालको छाल जस्तो देखिने |
रामकृष्ण दाई, हामी एकै वडाका, गाउँ चाही एकै भन्ने कि नभन्ने सधै ‘कन्फयुजन ‘ हुन्छ।
हात मिलाएँ उनका लामा औला ठुलो हत्केला | बल लगाएर हात मिलाएँ |
“के हो भाइ जात जाने चिज पिउँदै? तिमी सोझो भन्ने हल्ला थियो त!”
मुन्टो बंगाए! आजसम्म मैले पिउनु र सोझो हुनुको सम्बन्ध बुझेको छैन। बुझ्नु पनि छैन। संसारमा नबुझेका कुरा ‘N’ वटा छन्|
रामकृष्ण दाई कुर्सी तानेर मिलाएर बसे, “हामी जातले पाएकाले पिउन छोड्न आटिसक्यौं ! तिमी सुरु !”
अलिकति ‘अड’ लाग्यो।
तपाई पिउने होइन ?
“नाइँ म पिउँदीन “, दाइले खाजा मगाए।
एक अर्काको हाल खबर सोधियो। मैले केहि बताएँ, केहि लुकाएँ। सरकारी जागिरे भएका रहेछन दाई |
खाजा खाँदै गाउँठाउँको कुरो हुन थाल्यो ! म गाउँ नगएको बर्षौ भयो ! खासै लगाव छैन गाउँसंग मेरो ! चासो कम राख्छु! अनि अलिक एकलकाटे पनि भन्न थालिसके
गफ हुदै गयो, मैले बर्षौ देखी सरकारी कर्मचारी प्रति भएको भडाँस पोखें “दाई सिन्डिकेट छ यहाँ, ब्यावसायमा सिन्डिकेट! बिचारमा सिन्डिकेट! गरि खाना गाह्रो छ|
सरकारी कर्मचारीको रवाफ देख्दा, बोल्ने तरिका देख्दा! आम जनतालाई मान्छे नगनेको देख्दा झनक्क हुन्छ। पच्काइदिउं जस्तो हुन्छ। सरकारी कार्यलय छिर्यो कि ‘घुटन’ हुन्छ। एकदम उकुसमुकुस हुन्छ ! त्यो रवाफ किन ? हाम्रो करले तलब खाने हो सो अनुसार हाम्रो कामको लागि सुबिधा दिने हो |
सरकारी कर्मचारी भन्ने बित्तिकै एकै सासमा सक्काए।
रामकृष्ण दाई फिस्स हासे, “यत्ति सानो कुरामा यस्तो असन्तुष्टि ? यस्तो उकुसमुकुस ? यत्ति सानो कुरामा? “
अब प्रश्न तेर्साउन थाले दाई,
“पानी बोकेर हिडेको कसैलाई झुक्किएर छुँदा गाली खाएको छौ कहिले ? उस्तै परे पिटाइ खाएको छौ ? कारण समेत थाहा नहुने उमेरमा ?
कसैको घर भित्र पसेको भरमा अपमानित भएका छौ ?
पैसा तिरेरे घर भाडामा बस्न समेत थर फेर्नु परेको छ कहिल्यै? भागेको अपराधी जस्तो पहिचान लुकाउनु परेको छ?
होटलमा बसेर पैसा तिरेर भाँडा माझेको छौ कहिले ? यता नआईजा अलगै बस छोइएला भनेको सुनेको छौ ? “
पिलिक्क दाइको अनुहारमा हेरें! टाउको निहुराएँ, आखाँ जुधाउँन सकिन। गिलासमा भएको बियर स्वाट्ट पारेँ | एकदम तितो लाग्यो बियर आज मलाई ! चिसो बियर यत्तिको तितो नहुनु पर्ने! तर एकदम तितो लाग्यो , पेटमा कुन्नी के नमिल्दा डकार अनि हुल्लुक पानी आएर मुख तितो भए जस्तो !
“दाइ सेकुवा सेलायो। खानुस न !” मैले त्यति भने |
उनले हातमा भएको ‘टुथपिक’ घुमाए| निकै बेर घुमाए !!!
“हाम्रो जातले खाने मासु”
अनुहारमा हेरें। रिस पनि होइन। दुख पनि होइन। अनुहारमा कस्तो अर्कै खालको भाव देखिएको, मलाई बियरले छोयो ! पक्का लाग्यो ! खाली सिसि त खासै छैन टेबलमा !
“तिम्रो बच्चाले गाउँ नजाउँ न बाबा साथीको घरमा समेत जान दिदैनन् भनेको सुनेको छौ? बाबा मलाइ साथीको मम्मीले घरमा किन नआउ भन्नु हुन्छ ? म फोहोरी छु र त्यस्तो भनेर जिज्ञासा राख्दा नाजवाफ भएको छौ ?”
फ्याट्ट मेरो मुख बाट निस्कियो ,” दाइ मेरो बच्चा बच्ची भएको छैन”
मेरो ‘आंडे’ पारा! फुत्कि हाल्यो ! कस्तो माहोलमा कस्तो लाइन |
‘अड’ लाग्ने सन्नाटा भयो केहि बेर|........
दाजु म बुझ्छु, हजुरको पीडा भनें।
“अहँ , बुझ्दैनौ ! नभोगेको कसरि बुझ्छौ ?”
यस्तो बेला के भन्ने कसरि कस्तो प्रतिक्रिया दिने नै जान्दिन म !
“दाइ बिद्रोह किन हुन्न? कानून छ | प्रशासन छ |किन लड्नु हुन्न? ”
प्रश्नको उत्तर प्रश्न, “तिमि किन गर्दैनौ बिद्रोह ? किन भिडदैनौ? अख्तियार छ! कानून छ | १०० रूप्पे दिएर काम निप्टाएर किन हिड्छौ? “
उफ्फ़ ....लामो ‘पज’ लिएँ , “यस्तै त हो दाइ हाम्रो तरिका हाम्रो चलन! सबैले त्यहि गर्छन| कतिसंग लड्नु? को कोसंग लड्नु ? कहाँ कहाँ लड्नु? पुरा सिस्टमसंग लड्न जाउँ कि काम गर्न ? जिन्दगी दैनिकी चलाउनु पनि त छ | “
“ ‘ exactly ‘ “- यत्ति हो दाइको जवाफ आएको |
“तिमीलाई यो सब ठिक हो जस्तो लाग्छ ? मेरो जातीको केटीसंग प्रेम भयो मन पर्यो भने के गर्छौ? बिहे गर्छु भनेर अगाडी बढ्न सक्छौ ?”
साला टाउको घुम्यो! मेरो घर परिवार , आफन्त कुल समाज सम्झें।
“दाइ, मलाई त्यस्तो केहि लागदैन, मान्दा पनि मान्दिन यस्तो कु-संस्कार|”
फेरी अर्को प्रश्न, “उसो भए बिद्रोह गर्छु भन्न किन सकेनौ?”
आफुलाई सम्हाल्दै सकेको बचावमा जवाफ दिएँ ‘मेरो परिवार-आफन्तलाई बुझाउन सक्दिन! तपाईलाई थाहा छ नि कुन धरातलमा छ समाज। म मात्र हुन्थे भने अलग हुन्थ्यो सायद।‘
“उसो भए हामी चाहिँ कसरि सम्झाउने आफन्तलाइ, बाउ आमालाई ? यो अन्याय हो! कानून बिपरित छ ! लड्नु पर्छ भनेर भन्दैमा कसरि आउँछन ?” ओठ मात्र हल्लाएर बिद्रोह गर भन्छ भने दाजुले।
यस्तो गाह्रो खालको प्रश्न मैले कुनै परिक्षामा बस्दा नि ‘फेस’ गरेको थिईन | म मेरा आफ्नो बलबुता र क्षमताले भ्याएसम्म पन्छिन अनि बचावमा लागें|
“यो सब आर्थिक अवस्था अनि अशिक्षाले पनि हो नि, दाई। आर्थिक रुपमा सक्षम हुदाँ यो असमानता कम होला नि ? बिस्तारै हटला नि ?” मैले सोधें।
यसपाली रन्किए दाइ,”मैले पढेको छैन ? तिमीले पढेको छैनौ? तिमि जतिकै म पनि कमाउँछु नि ? तिमि र म बराबर भयौं त ? भएको हो भने हिड गाउँमा गएर प्रमाणित गर | संसारमा मेरो जातको सबै धनी हुन संभव छ ? ”
यति धेरै ना जवाफ कहिले भएको थिएँ, म?
समाधान के त दाइ ? सरकारले त्यत्रो लगानी गरेको छ| NGO अनि INGO लागेका छन! चेतनामुलक कार्यक्रम ल्याएका छन्! खेर गयो त ? त्यत्रो पैसा कहाँ गयो ?
दाइको आवाज ठुलो भो , “मलाई समाधान थाह छैन ! कार्यक्रम कसले बनाउँछ? कार्यक्रमको प्रमुख को हुन्छ ? भाइ तिम्रो चित्त दुख्ला! यो सब पैसा बाहुनले खाए ! हाम्रो जात भित्रका नयाँ बाहुनले खाए ! दलित संग बिहे गरे नगद पुरस्कार अनि सम्मान रे ! त्यस्तो नि कार्यक्रम हुन्छ? कसैले कसैलाई दया गरेको हो ? मान्छे ले मान्छेसंग बिहे गरेको होइन? कसैको उद्दार गरेको हो ? सडकमा फालिएको कुकुर ल्याएर पालेको हो ? भाइ यस्तो कार्यकर्म पीडितले बनाउदैन| खेती हो खेती, चली रहन्छ। अरे यार मेरो पीडा हो मलाई सबैले सुन्ने गरि चिच्याउन त देउ ! पिडा भन्न त देउ ! सुनी त देउ ! ठुलो स्वरले चिच्च्याउने पनि तिम्रो जातको हुन्छ, मेरो खुदको चिच्याई भन्दा बढी | दबिने गरि | जो पीडक हो उसले मुक्ति दिलाइदिने? नेतृत्व गरिदिने मेरो लागि ? यो सब फेरी राज गर्ने ‘ ट्रीक‘ हो | अर्को तुरूप हो | जसरि हुन्छ शासन गर्ने नयाँ तरिका हो, नेता हुने तरिका ।”
म सुन्न मात्र सक्छु अब। म संग उत्तर छैन । सुझाव पनि छैन।
पोर्क चुइगम जस्तो भएछ, दाइ पोर्क खानु न |
“ पोर्क रे | उहिले हामीले मात्र खादा बंगुर सुँगुर मासु भन्थे आजकल तिमीहरुले खान थालेसी बदेल पोर्क भएको छ |
एकै छिन दाइ घोरिएर बसे| माहोल एक छिन एकदम शान्त भो | पल्लो टेबलमा हल्ला छ तर मलाई एकदम शान्त लागेको छ माहोल ........
..........................
हिसाब सोधे, पैसा तिर्न खोजें। दाइले होइन म तिर्छु भने । मैले मानिन र जबर्जस्ती तिरें |
हिड्ने बेला हँसिलो अनुहार लगाएर दाइले भने, “भाइ याद छ? तिम्रो कुन चाही फुपुको बिहेको भोज हुदाँ सायद ! मैले पानी खाएको ‘जग ‘ सबैले पानी खाने भाडोमा किन राखेको थियौ?”
केहि नसोची जवाफ दिएँ , बुद्धीकृष्ण खुसी हुन्छ भनेर हो । देखाएर गर्न सक्दिन थिएं। साँचै बुद्धीकृष्ण के गर्दै छ आजकल ? कता छ ?
“किड्नी बेचेको पैसाले रक्सि खान्छ आजकल “, छोटो जवाफ आयो |
..................
हामी छुट्टियौ| हतार भो मलाई । फटाफट हिंडे ! गु-मुतले एकै पटक च्यापेको जस्तो भो। घर पुग्ने हतार थियो। धारो खोले ...सब पखाले ......अझै दिमाग ठण्डा चाहि भएन!
किन भेटियो जस्तो भो। कुनै अपराध गरेर आए जस्तो भो । कसैलाई रुवाएर आएको जस्तो भो।
मैले रामकृष्ण दाइलाई पैसा तिर्न लागउने पर्थ्यो कि ? पैसा मैले आफै किन तिरे ? लोभी त हो म खासमा ! पैसा तिर्ने बेला अघि पछी छल्लिन खोज्ने हो नि म ! आफुलाई मालिक ठुलो सम्झेर तिरेको सोचे कि ? मालिक पल्टिन खोजेको सोचे कि?
रामकृष्ण दाई म भन्दा एक ब्याच सिनियर। उमेरले चै ३-४ वर्ष जेठो हुदाँहुन्। उनको भाइ र म चाही ‘ क्लासमेट ‘, ३ कक्षा देखि । बुद्धीकृष्ण परियार । गाउँको प्राथमिक स्कूल , इट्टाको चांग दुइतिर लगाएर फलेकमा बसेर तिघ्रामा किताब कापी राखेर पढेको | ४ र ५ कक्षा पुगेपछि चाही डेस्क बेन्च पाइन्थ्यो | बुद्दीकृष्ने र म ‘फलेकमेट ‘| मेरो अमला, थाकल , काली अंगेरीको बोट। म चाही कापीको बिचको पन्नाको अनि गणितको उत्तरको स्रोत, उसको। खुस परेको बेला बुद्धीकृष्णे भन्दा “हजुर मालिक” भन्थ्यो। एकै स्कुल पढेको बराबर बेन्चमा बसेको हामी। म मालिक। बुद्दी कृष्णेको मालिक।
त्यसले मलाई मालिक किन भन्यो? कसले सिकायो ? मालिक शब्द सुन्दा मेरो छाती चौडा किन भो ?
.......
छतमा गएं। चुरोट सल्काएं। अघिको रामकृष्ण दाइको एक एक प्रश्न दिमागमा घुमेका मात्र छन्। बिहेमा पानीको भाडो छोएको कुरो निकालेर किन गिज्याए मलाई ? विद्रोहको कुरोमा किन उल्ल्लाए?
बिद्रोह....... पधेरो .....थर ......चर्को स्वर.....पिडित...नेता.........|
म वर्ग , ‘प्रिभिलेज्ड‘ उच्च वर्गको हुँदो हो त मेरो पनि अवस्था फरक हुन्थ्यो भनेर नथाक्ने । तिमि र म बराबर थिएनौं। त्यसैले मेरो प्रगतीमा ढिलाई भो भन्ने | मेरो लडाई अलग थियो भनेर अरुलाई सुनाउने । बुद्धीकृष्ण र म बराबर थियौ भनेर कसरि सोचें मैले ? म र बुद्धीकृष्ण चाही बराबरी हौ कसरि भन्ने ?
चुरोटको धुवासंगै गाउँ पुगे। दुईवटा पधेरो छ, लगभग ५० मिटर दुरीमा। एउटा मेरो पंधेरो (३ वटा ढोका वा मुख भनु । यहाँ लुगा धुन नुहाउन सख्त मनाइ छ बनेर लेखको छ ) अर्को अलिक सानो छ पधेंरो । ठुलो एउटा मुख भएको । बुद्धीकृष्णेको पंधेरो ।
पंधेरोको साइज अनुसारको अगाडी खाली ठाउँ छ मिलाएर ढुंगा बिछ्याएको छ ढलान पनि छ कतै कतै । बुद्धीकृष्णेको पंधेरो अगाडी नुहाएं । मैले नुहाउदा साबुनको फिज भित्र पस्यो अनि बिलायो पानीमा । लगाएको कट्टु धोए मिची मिची । ठुलो पधेरोमा गएं एक बाल्टी पानी झिकें , तौलिया काधमा भिरेर घर तिर लागे । क्या सफा म । हो म र बुद्धीकृष्णे बराबर ।
झ्यालमा बसेको छु। सानो होटल छ , झ्यलाबाट देखिन्छ । मेरो बा अनि बाका अरु दौतरी भित्र होटलमा बसेर चिया खादै छन्। बुद्धीकृष्णेका बा बाहिर बसेर चिसो हावासंगै चिया खाँदै छन। चिया सक्काए। बुद्धीकृष्णेका बाले गिलास माझे। पैसा तिरे । मेरा बाले नि तिरे। मेरा बा र बुद्धीकृष्णेका बा दुवै चियाको पैसा तिर्ने सक्ने । एकै वर्गको । हो बुद्धीकृष्णेका बा र मेरा बा बराबर ।
बुद्धीकृष्ण र म संगै पढेको हो । त्यसैले उ र म बराबर । एकै वर्गको हामी । एकै बेन्चमा बसेर पढ़को बुद्धीकृष्ण र मैले बराबर नै पाएको हो के ।
म किताब र अक्षरसंग लडाई गर्दै गर्दा, मसंग लडाईं गरिरहेको बुद्धीकृष्ण र म समान हो के। कस्तो नमानेको । बराबर नै हो । मैले भनेको त मान्नुस्, प्लिज !!
बराबरीको बुद्धीकृष्ण र म ................