arrow

गोकर्ण किन पवित्र, सनतकुमारलाई ब्रम्हाजीले सुनाए रहस्य

नन्दीश्वर   (१)

logo
विष्णुप्रसाद तिमिल्सीना,
प्रकाशित २०७७ जेठ २२ बिहिबार
sanatkumar_and_brahma.jpg

गौरीघाट । ब्रम्हाजी र सनतकुमारका बीचमा कुरा चल्दै थियो । सनतकुमारका जिज्ञाशालाई ब्रम्हाजीले पूरा गरिरहनु भएको थियो । एकदिन उनले उत्तर गोकर्ण र दक्षिण गोकर्णका तथा श्रृंगेश्वर शिवलिंगलाई पवित्र मानिएको किन होला भन्ने प्रश्न गरेका थिए । उनको प्रश्नको उत्तरमा ब्रम्हाजीले यस प्रकारले बताउनुभएको थियो । 

मन्दराचल पर्वतको उत्तरभागमा कैलाश पर्वतको नजिक मुञ्जवान नामगरेको एउटा पर्वत शिखर रहेको छ । त्यो पर्वतमा अनेक प्रकारका पत्थर, पुष्प आदिले अति नै शोभा दिईरहेका थिए । त्यो ठाउं तपस्थलीको रुपमा पनि प्रख्यात थियो । 

त्रेतायुगमा नन्दी नाम गरेका एक ऋषि त्यहां आएर भगवान् शिवको तपस्यामा तल्लिन भएका थिए । उनी गर्मीको दिनमा पञ्चाग्नी तथा जाडोमा पानीमा उभिएर तपस्या गर्दथे । उनको तपस्याले शिवजी प्रसन्न भएर “तिमीले मेरो आराधना राम्रो संग गर्‍यौ अव मेरो रुप हेर” भनेर दिव्य नेत्र दिनुभयो । 

शिवजीको तेजको दर्शन पाएर उनले गदगद भएर शिवजीको स्तुति गरे । स्तुति सुनिसकेपछि शिवजीले आफूलाई जे चाहिन्छ त्यही मांग भन्नुभयो । उनले आफूलाई कुनै पनि प्रकारको सिद्धि, ऐश्वर्य न चाहिने तर भक्ति मात्र पाउं भनेर बिन्ती गरे । उनले आफू शिव बाहेक अरुको आराधना नगर्ने र दिन रात हजुरको जप, आराधना गरेर बस्न सक्ने क्षमता पाउं भने । 

नन्दीको यस्तो प्रकारको अनुरोध सुनेपछि शिवजीले भन्नुभयो, “तिमीले मलाई प्राप्तगर्न एक हजार वर्षसम्म तीन करोड जप गर्‍यौ जुन, आश्चर्यजनक छ । आजसम्म यस प्रकारको तपस्या कसैले गरेको थिएन । तीनै लोकका चर अचर प्राणीहरु क्षुब्ध भएकाछन् । तिमीलाई  भेटगर्न भनेर इन्द्रसहित सबै देवता यहां आउने बालाछन् । तिमीमा म बरावर अलौकिक शक्ति आएको छ , तिम्रो तीन नेत्र हुनेछ र तिमीमा सबै गुण व्याप्त हुनेछन्, तिमीलाई सबैले नन्दीश्वर भन्नेछन् । देवकार्यमा सबभन्दा पहिले तिम्रो पूजा हुनेछ । अव तिमी मेरो गण बन, मेरो व्दारपाल पदमा तिमी बस , तिमी खुशी भयौ भने म खुशी हुन्छु, तिमी रिसायौ भने म पनि रिसाउंछु । 

यसप्रकारले शिवजीले उनलाई वर दिनुभएपछि जाने बेलामा भन्नुभयो, “तिमीलाई भेटगर्न ईन्द्र सहित सब देवता यहां आउनेछन् । उनीहरु आउनु अघि नै म यहांबाट जानुपर्छ भन्दै अन्तर्धान हुनुभयो ।  (क्रमशः......)
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ