arrow

रेणुले बचाउन खोजेका चोरीमा संलग्न कर्मचारीहरु बिरुद्ध प्रहरीमा उजुरी दर्ता

अख्तियारले पनि अनियमितताको छानविन गर्दै

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ जेठ २७ मंगलबार
94659622_1085687748480980_1.jpg

भरतपुर। भरतपुर कोरोना विशेष अस्थायी अस्पतालको चोरी काण्डमा मुछिएका कर्मचारीहरुलाई कारबाही गर्न माग गर्दै प्रहरीमा उजुरी दर्ता भएको छ। चोरीमा संलग्नहरुलाई भरतपुर महानगरका मेयर रेणु दाहालले राजनीतिक संरक्षण दिएपछि प्रसासनले कार्वाही प्रक्रिया अघी बढाउन आलटाल गर्दै आएको थियो। पटक पटकको प्रयासपछि प्रहरीले मंगलवार उजुरी लिएको हो। 

चोरी र अपचलनमा संलग्न कर्मचारीहरुलाई निलम्बन गर्न माग गर्दै आएका महानगरका उपमेयर तथा वडाध्यक्षहरुले मेयरले कारबाहीको विषयमा चासो नदेखाएको भन्दै भरतपुर महानगरपालिकाका नेपाली कांग्रेससम्बद्ध जनप्रतिनिधिहरुले जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेका हुन् ।

वार्ताबाट समस्या समाधान गरौं भनेर लामो समयसम्म प्रयास गर्दा पनि वेवास्ता गरिएपछि महानगरको ईज्जत जोगाउन चोरीमा मुछिएकालाई कारबाही गर्न आफैले उजुरी दिएको भरतपुर २१ का वडाध्यक्ष चित्रसेन अधिकारीले बताए । उजुरीको दर्ता नम्बर ७६६ रहेको छ । उनले घटनाको अनुसन्धानगरी दोषीलाई कारबाही गर्न माग गरिएको बताए । सोमबार पनि उजुरी दर्ता गर्ने प्रयास भएपनि प्रक्रिया नपुगेको भन्दै प्रहरीले उजुरी लिन मानेको थिएन। हाम्राकुरासँग कुरा गर्दै चितवनका एसपी नातिकाजी गुरुङले मंगलवार उजुरी दर्ता गर्ने बताएका थिए। 

महानगरपालिकाकी उपमेयर पार्वती शाह ठकुरीले महानगरले घटनाको विषयमा प्रतिवेदन तयार पार्न आफ्नो नेतृत्वमा समिति बनाएपनि उक्त समितिले दिएको रायलाई वेवास्ता गरिएको बताइन। मेयर एकतर्फीरुपमा अघि बढेको भन्दै उनले यसको बिरोधमा उत्रन बाध्य भएको बताइन् ।

कोरोना अस्पतालको स्टोरबाट सामान अन्यत्रै लगिएको सीसीटीभी फूटेज बाहिरिएपछि कांग्रेस वडाध्यक्षहरुले फूटेजमा देखिएका कर्मचारीलाई कारबाही गर्नुपर्ने माग राख्दै आएका थिए । फूटेजमा महानगरका लेखाअधिकृत खनाल र स्वास्थ्य कर्मचारी तिवारीसहित भरतपुर अस्पतालका सञ्जय बराल देखिएका छन् । स्टोरबाट सामान चोरी गरी बिक्री गरेको आरोप उनीहरुलाई लागेको छ ।

तर, मेयरकै संयोजकत्वमा रहेको कोरोना नियन्त्रण कार्यदलले भरतपुर अस्पताललाई हस्तान्तरण भएपछि कोरोना अस्पतालको सामान सार्नेबेलाको फूटेजलाई अतिरञ्जित गरिएको बताएको छ। घटनामा मुछिएका कर्मचारीहरुले सामान नचोरेको भनेका छन् ।

फूटेज बाहिरिएसँगै अस्पतालमा लाखौं अनियमितता भएको आरोप लागेपछि अख्तियार दूरुपयोग अनुसन्धान आयोग हेटौंडा कार्यालयले अस्पतालमा छापा मारेर कागजात लगेको छ । मेयर दाहाल र उनी निकटका वडाध्यक्षहरुले भने अख्तियारले अनुसन्धान गरिरहेको भन्दै अन्य अनुसन्धान तथा कारबाही तत्कालका लागि आवश्यक नरहेको बताउँदै आएका छन् । मेयरको यो अडानपछि उपमेयर सहितका वडाध्यक्षहरुले मेयरलाई वहिष्कार गर्दै आएका छन्। 

राय लिनका लागि उपमेयरको नेतृत्वमा बनेको समितिमा रहेका कानूनी सल्लाहकारहरुलेसमेत अख्तियारको निर्णय कुर्न राय दिएका थिए । तर कांग्रेस निकटका जनप्रतिनिधिले भने अख्तियारले चोरीको विषयमा नभई अस्पतालका अन्य कारोबारको विषयमा मात्रै अनुसन्धान गरिरहेको भन्दै चोरीमा संलग्नहरुलाई महानगरले नै कारबाही गर्नुपर्ने अडान राख्दै आएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ