arrow

राष्ट्रवाद कि राष्ट्रप्रेम

logo
रेवती प्रसाद भूसाल,
प्रकाशित २०७७ जेठ २९ बिहिबार
rewati-prasad-bhusal.gif

सन २०१८ को नोभेम्वरमा प्रथम विश्व युद्ध सय वर्ष पुगेको अवसरमा पेरीसमा अज्ञात सिपाहीहरुको समाधिस्थल नजिकै उभिएर विश्वका धेरै राष्ट्र प्रमुखहरुको उपस्थितीमा फ्रान्सका राष्ट्रपती इमानुअल म्याक्रोनले भने, 'राष्ट्रप्रेमी को छैन, म पनी छु, तर राष्ट्रवाद, राष्ट्रप्रेमप्रती धोका हो।' पुटीन लगायत विश्वका सबै नेताहरुले उनको भनाइको ताली बजाएर स्वागत गरे पछी ट्रम्पले पनि निधार खुम्चाउदै ताली बजाए।म्याक्रोनको पेरिस सम्बोधनको एक हप्ता अघी अमेरिकाको टेक्सासमा ट्रम्पले भनेका थिए, म राष्ट्रवादी हुँ, म जोड दिएर भन्छु म राष्ट्रवादी नै हुँ। ट्रम्पलाइ म्याक्रोनको भनाइको तत्काल स्वागत गर्न अप्ठ्यारो परेको बुझ्न सकिन्छ।

फ्रान्सका राष्ट्रपतीले प्रथम विश्व युद्धको जनसंहार पछि पनि युद्ध परिणामले जर्मनीमा पलाएको अपमान, बदलाको भावनाले राष्ट्रवाद र सर्वसत्ताबादी शासनको जन्म र त्यसबाट झन ठूलो नरसंहार भएकोतर्फ इंगीत गर्दै शान्तीको मुल्य महंगो छ र कमजोर अवस्थामा छ त्यसैले विश्वमा शान्ती कायम गर्न राष्ट्रवादी बन्नु भन्दा राष्ट्रप्रेमी बन्नु पर्दछ भन्ने सन्देश दिन चाहन्थे। यो लेखको उद्धेश्य विश्वशान्ती नभएर देशहित के हो भन्नेमा मात्र सिमित छ।

राष्ट्रियता
राष्ट्रियता कुनै ब्यक्तिको देशसँगको नाता हो। देशको राष्ट्रियता भित्रका मानिसको संरक्षण गर्नु राज्यको दायित्व हुन्छ। ब्यक्तीले राज्यबाट केही अधिकार प्राप्त गर्दछ भने केही कर्तब्य पनि पालन गर्नु पर्दछ।राष्ट्रियता ब्यक्तिको परिचय पनि हो। नेपाली, चिनी, भारतीय आदी। आधुनिक राज्यमा राष्ट्रियता र नागरिकतालाई अलग गर्न सकिदैन तथापी ब्यक्तीको नागरिकता नहुन सक्छ, तर राष्ट्रियता हुन्छ। नागरिकता नभएको राज्य बिहीन राष्ट्रियता हुन्छ। सन १९४८ अघी यहुदीहरु राज्य बिहीन यहुदी राष्ट्र थिए।प्यालेष्टाइनहरुलाइ अहिले पनि राष्ट्रसंघले राज्य बिहीन मान्दछ। थाइल्यान्डमा पाच लाख जती करेन, याओ जातीका राज्य बिहीन राष्ट्रियता छन्। राष्ट्रियताको सन्दर्भमा वीपी कोइरालाले सुन्दर परिभाषा गर्नु भएको छ, 'निश्चित क्षेत्रमा बस्ने मानिसहरुका बिचमा उपस्थित समस्या समाधान गर्ने प्रयत्न गर्दा उत्पन्न हुने सामुहिक भावना नै राष्ट्रियता हो।' यहि भावनाले त्यस क्षेत्र अर्थात देश भित्रका मानिसलाइ एक आपसमा जोडदछ। राष्ट्र निर्माणको लागी राष्ट्रियताको भावना जरुरी हुन्छ।

राष्ट्रवाद
राष्ट्रवाद एउटा बिचारधारा हो। राष्ट्रवादको बिचार अठारौ शताब्दीबाट शुरू भएको हो। साना साना राष्ट्र राज्यका रुपमा रहेका युरोपका देशहरु जो ठूला साम्राज्यबाट शासीत थिए स्वतन्त्रता प्राप्त गरी एकआपसमा मिसीइ ठूला देश बन्ने क्रममा राष्ट्रवादी भावनाको उदय भयो। बाइसी चौबिसी राज्यमा रहेको हाम्रै देश नेपालको एकिकरण पनि अठारौ शताब्दीबाटनै शुरु भएको हो। राष्ट्रवादले प्रत्येक देश स्वतन्त्र, सार्वभौम र स्वशासीत हुन पाउनु पर्दछ भन्ने मान्यता राख्दछ। सकारात्मक राष्ट्रवादले बिभिन्न जातीय, भाषिक,साँस्कृतीक र धार्मिक समुदायलाइ एकत्रित गराउँदछ। राष्ट्रवादमा शक्ती र सम्मानको आकांक्षा हुन्छ। नकारात्मक वा अती राष्ट्रवाद, दमन, उत्पीडन र हिंसाको कारण बन्दछ,आक्रामक हुन्छ।  

राष्ट्रप्रेम-देशभक्ती
पित्रीभुमीप्रति प्रेम, भक्ती, सम्मान र लगावको भावना नै राष्ट्रप्रेम हो, देशभक्ती हो। राष्ट्रप्रेमले आफु जन्मेको भुमी, त्यहाँका नागरिक, जीवन पद्धती, संस्कृतीप्रति अनुराग र सम्मान प्रकट गर्दछ। पित्रीभुमी, त्यहाँको सभ्यता, संस्कृतीको सर्वोत्तमताको कल्पना गर्दछ। राष्ट्रप्रेम प्रतीरक्षात्मक हुन्छ, आक्रामक हुँदैन। प्रेम हुन्छ, हिंसा हुदैन। निर्माण हुन्छ,बिध्वंस हुदैन। समर्पण हुन्छ,अहंकार हुदैन।

अठारौं शताब्दीमा शुरु भएको राष्ट्रवादमा स्वतन्त्रताको, स्वाधिनताको, आत्मसम्मानको चाहना र उपनिवेश, पराधिनताको अन्त्यको गौरब पूर्ण इतिहास छ। यस अवधीमा युरोप अमेरिकाका धेरै देश बिभिन्न साम्राज्यहरुबाट स्वतन्त्र हुने र नयाँ देशको रुपमा संगठीत हुने क्रम चल्यो। बिसौं शताब्दीसम्म आईपुग्दा युरोपमा रुसी, रोमन, ग्रीक साम्राज्यहरुको पतन र एसीयामा भारत, चीन लगायतका देशले ब्रिटीस, जापानी साम्राज्यबाट स्वतन्त्रता प्राप्ती गरे। अन्याय, असमानता, शोषणको बिरुद्धमा जनतामा जागरण आयो।प्रजातान्त्रीक, लोककल्याणकारी राज्यको अवधारणाको बिकास यहि अवधीमा भयो। देशहरु बिकास, नवनिर्माण र नयाँ आविस्कारहरुमा पनि यसै कालमा प्रगती गरेका छन्। यही समयमा अती राष्ट्रवादले प्रथम र दोश्रो विश्वयुद्धको बिभिषीका पनि जन्मायो। लीग अफ नेशन, संयुक्त राष्ट्रसंघ जस्ता संगठन स्थापना भै अन्तर्राष्ट्रिय भाइचारातर्फ पनि विश्व अगाडी बढ्यो। उदार प्रजातन्त्र, वैश्वीक अर्थतन्त्र, युरोपीयन युनीयन, सार्क, आसिआन जस्ता संस्था निर्माण गरी क्षेत्रीय र वैश्वीक अर्थराजनितीक सम्बन्ध बिस्तार भयो

सहिष्णुता, सहअस्तीत्व, विश्वमानवता, प्रकृती संरक्षण, वातावरण संरक्षण लगायतका अनेक विश्वकल्याणकारी कार्यक्रमहरु सञ्चालन भए, हुदैछन। अठारौदेखी एक्काइसौं शताब्दीसम्म आइपुग्दा राष्ट्रवाद एकातर्फ जनताको स्वतन्त्रता, स्वाधिनता, स्वाभिमान र प्रगतीको प्रेरक तत्व देखिन्छ भने अर्कोतर्फ अतीराष्ट्रवाद, बिनासकारी, बिध्वंसकारी, सर्वसत्तावादी र अमानवीय पनि देखिन्छ।

विश्व भूमण्डलीकरण तर्फ बढी रहेको समयमा अहिले केही देशमा राष्ट्रवादको नयाँ लहर शुरु भएकोछ।स्वतन्त्र ब्यापार र वैश्वीक अर्थतन्त्रको वकालत गर्ने अमेरिका संरक्षणवाद उन्मुख छ। ब्रिटेन युरोपियन युनियनबाट अलग भएको छ। उदार समाजवादी मुलुक मानिएका नर्डीक देशहरुमा दक्षीणपन्थी राष्ट्रवादीहरुको प्रभाब बढदो छ। हाम्रै छिमेक भारतमा कट्टर हिन्दु राष्ट्रवादी पार्टीको नेतृत्व सत्तामा छ।त्यस्को प्रभाब नेपालमा पनि परेकोछ। नेपाली जनतामा रहेको भारतीय हेजेमोनी प्रवृतीको बिरोधलाइ उपयोग गर्दै बर्तमान प्रधानमन्त्री ठूलो बहुमत साथ सत्तामा छन्। तर अहिलेको यो राष्ट्रवादी विचारधारा र शासन के जनपक्षीय छ? यो राष्ट्रप्रेम-राष्ट्रभक्तीबाट प्रेरित राष्ट्रवाद हो कि चालवाज, धुर्त शासकको सत्ताप्राप्त गर्ने र सत्ता टिकाउने साधन मात्र हो? यो सकारात्मकतातर्फ उन्मुख देशभक्ती हो या सर्वसत्तावादलाइ मलजल गर्ने नकारात्मक राष्ट्रवाद?

सन २०१६ मा अप्रत्यासित ढङ्गले ट्रम्प रिपब्लीकन पार्टीको उम्मेदवार बने र राष्ट्रपतीय चुनाबमा बिजय हात पारे। ट्रम्प शुद्ध ब्यबसायी हुन्। राष्ट्रपती बन्नु भन्दा पहिले उनको राजनीतिक वा शासकीय अनुभव थिएन।उनको अभिब्यक्ती पनि सन्तुलीत र राजनीतिक छैन। विभेदलाइ बढाउने, जातीय र आक्रामक छ। प्रेसप्रति नकारात्मक छन, आलोचना सहन सक्दैनन। निर्वाचनमा अमेरिका फस्ट र आप्रवासी रोक्न मेक्सीकोको सिमामा पर्खाल लगाउने नारा लगाए। भनिन्छ गरीब र अबिकसित देशमा राष्ट्रवादी नारा धेरै बिक्छ। तर अमेरिका जस्तो देशमा पनि ट्रम्पको नारा बिक्यो। अमेरिकनको महिलाप्रतिको नकारात्मक भावनाले पनि होला ट्रम्प बिजयी बने। अहिले अमेरिका विश्व समुदायबाट एक्लीदै छ। शीत युद्धको समाप्ती पछी विश्वको एकल नेतृत्व गरेको देशलाइ अहिले उस्का आफ्नै मित्र देशले पनी बिश्वास गर्दैनन्। अमेरिकामा अहिले बेरोजगारी चार करोडको हाराहारी पुगेको छ। शुरुमा कोभीड १९ लाई चाइनीज भाइरस भन्दै उपेक्षा गर्ने र राजनीतिक उपयोग गर्ने प्रयत्न गरे। जब नियन्त्रण बाहिर गयो अब विश्व स्वास्थ्य संगठनलाइ दोष लगाएर पन्छीदै छन। कोभीड १९ बाट मर्नेको संख्या एक लाख भन्दा माथी पुग्यो।संक्रमित दैनीक वृद्धी भइरहेछ। यस्तै केही समय रह्यो भने भनिन्छ अमेरिकामा सन १९३३ को भन्दा पनि ठूलो मन्दी आउने सम्भावना छ। अहिले प्रहरीले जर्ज फ्लोयडको क्रुर हत्या गरेको बिरोधमा अमेरिकाभर प्रदर्शन छ। अरबौं डलरको क्षती पुगी सकेको छ। कालाहरु माथी यस भन्दा पहिला पनि अत्याचार भएका थिए। तर तत्कालीन राष्ट्रपतीहरुले सुझबुझपुर्ण ब्यबहार गरे। जनतालाइ सम्बोधन गरे, त्यसैले ठूलो बिद्रोह भएन। अहिले ट्रम्पबाट सान्त्वनाका दुइ शब्द पनि जनताले सुन्न पाएनन्। आन्दोलनकारीलाइ बलपूर्वक दबाउनु पर्ने अभिब्यक्ती मात्र दिइ रहे। यस्ले आगोमा घिउ थप्ने काम गर्यो। एउटा पुलीस अधिकारीले आफ्नै राष्ट्रपतीलाई,'तपाँइ रचनात्मक बन्न सक्नु हुन्न भने आफ्नो मुख बन्द गर्नोस ' भन्नु पर्ने अवस्था श्रृजना भयो। अमेरिका फ्रस्ट भन्ने राष्ट्रवादी ट्रम्पको बोली र नीतिले अमेरिका वर्स्ट बन्दैछ। तैपनी ट्रम्प आफ्नो महत्वाकांक्षा पूर्ती गर्न पछि पर्दैनन।प्रेसलाइ गाली गर्छन, जातीभेदी आलोचना गर्छन, बिपक्ष माथी दोष थोपर्छन। अमेरिकन जनतामा पुनः राष्ट्रवादी ज्वरो निकाल्न चीनले मलाइ हराउन खोज्दैछ भन्छन। बिपक्षी डेमोक्रेटलाइ चीन समर्थक भन्दै उनी र उनका समर्थकले आरोपीत गर्छन। राष्ट्रप्रेम नभएको ट्रम्पको उग्र राष्ट्रवादी नारा र नीतिले विश्व नेतृत्वबाट क्षयीकरण भएको, बिश्वसनीयता गुमाएको, जातीय र रंग भेद बढेको, महामारीको आकलन नगरी लापरवाही गरेको कारण विश्वमा नै सबैभन्दा बढी जनधनको क्षती पुगेको र आर्थिक मन्दीतर्फ बढदै गरेको अमेरिकाले अब कुन बाटो लिन्छ नोभेम्बरमा देखिने नै छ।

भारतमा सन २०१४ मा 'अच्छे दिन आएगें ' ' सबके बैंक खाते में धन लाएगें ','भारत महान बनेगा ' भन्ने नाराका साथ चुनाब लडेर सत्तामा आएका मोदीको पहिलो कार्यकालमा आम जनतामा कुनै सकारात्मक परिवर्तन आएन। सत्ताको केन्द्रीयकरण भयो। धनीहरुको सम्पत्ती वृद्धी हुँदै जाने गरीब किसानहरुले आत्महत्या गरीरहने अवस्था रह्यो। साम्प्रदायीक हिंसामा वृद्धी भयो। राफेल प्लेन जी टु जी किन्ने सम्झौतामा ब्यबसायीलाइ एजेन्ट बनाएर घोटाला गरेको आरोप लाग्यो। बिमौद्रीकरण गर्दा निकटका मानिसलाइ फाइदा पुर्याइ सर्वसाधारणलाइ समस्यामा पारियो। संस्थाको स्वायत्तता कमजोर पारियो। कानून परिवर्तन गरेर सर्बोच्च अदालतका न्यायाधिस सत्ता निकटका नियुक्ती गरी न्याय प्रभावित पार्ने काम भयो। अम्बानी, अदानी जस्ता केही उद्योगपतीहरु र ब्यबसायीलाइ फाइदा लाभ पुर्याएको,नरेन्द्र मोदी, बिजेपीलाई सहयोग नगर्ने उद्योगी ब्यबसायी तथा प्रतीपक्षी नेताहरुलाइ सीबीआईको दुरुपयोग गरेर आतंकीत बनाएको, स्वतन्त्र लेखन गर्ने र भ्रष्टाचार, जातीभेद लगायत सरकारका गलत काम उजागर गर्ने पत्रकारहरुलाइ असुरक्षीत बनाएको आरोप लागी रहे। बिगतको सरकार छदा ६.३९ प्रतिशत रहेको आर्थीक वृद्धी मोदीको प्रथम कालभित्र २०१७ मा जीडीपीको ७.२३ प्रतिशतसम्म पुग्यो, तर आयको असमानतामा झन ठूलो वृद्धी भयो। स्वास्थ्य, शिक्षामा बजेट खुम्चीयो। बेरोजगार संख्यामा बिगत ४५ बर्षको किर्तीमानी वृद्धी भयो। तैपनी मोदी र उनको दलले उग्र राष्ट्रवादको नारा लगाएकै छ। २०१९ को जनवरी र फेब्रुअरीको शुरुमा गरिएका जनमत सर्भेक्षणमा बीजेपीको लोकप्रीयता घटेको थियो। निर्वाचनमा एनडीएको बहुमत नआउने हंग पार्लीयामेन्ट बन्ने सर्भेक्षण थियो। उता पाकिस्तान, भारतमा कस्तो सरकार चाहन्छ भन्ने पश्चिमा समाचार संस्थाको सर्भेक्षण र बिश्लेषणमा पाकिस्तानी जनता भारतमा उदार सरकार चाहन्छन तर त्यहाँको सेना कट्टर हिन्दुवादीले जितोस भन्ने चाहन्छ, ताकी भारतप्रती घृणा र डरले पाकिस्तानी जनताको सैनीक निर्भरता कायम रहोस, भन्ने थियो।सबैलाइ थाहा छ भारतीय जनमत पाकिस्तान र चीन बिरोधी छ, त्यस्तै पाकिस्तानी जनमत भारत बिरोधी छ।मार्च, अप्रीलमा भारतमा निर्वाचन हुने निश्चीत थियो। १४ फेब्रुअरीमा काश्मीरको पुलावामामा पाकिस्तान समर्थित जैस ए मोहम्मदका आतंकारीको भारतीय सैन्य पुलीसको गाडीमा आत्मघाती आक्रमणबाट सीआरपीएफका ४० जनाको मृत्यु भयो। सारा भारत शोकमा डुब्यो, पाकिस्तान बिरोध र बदलाको भावना उग्र बन्यो। बाह्र दिन पछी भारतीय सेनाले बालाकोटमा बम खसाल्यो। मृतकको संख्या सेनाले भनेन। तर मोदी सरकारका मन्त्रीले ठ्याक्कै ४०० जना आतंककारी मरेको प्रचार गरे। लास एक जनाको पनि देखिएन।प्रश्न गर्नेलाइ सेना माथी शंका गर्ने पाकिस्तान समर्थक भन्ने आरोप मोदीलेनै लगाए। ११ अप्रिलदेखी निर्वाचन हुने भनेर घोषणा भयो। बालाकोटमा बम खसालेको मोदी र बीजेपीले चुनाबी उपयोग गरे, चुनाबी प्रचारनै बालाकोट घटना भयो। दुई महिना पूर्व अलोकप्रीय रहेको बिजेपी चुनाबमा २०१४ भन्दा धेरै बहुमत सहित चुनाब जीत्यो। अहिले भारतीय अर्थ ब्यबस्था कमजोर छ। २००८ को मन्दीले नछोएको भारतमा अहिले मन्दी आउदैछ। स्वायत्तता कायम राखेको भारतीय रिजर्भ बैंक अहिले सरकारी आदेशमा चल्ने भएको छ।बेरोजगारी बढी रहेको छ। प्रेस आतंकीत छ,सरकारको भक्तीगानमा सिमीत हुदा गोदी मिडीया नामाकरण भएकोछ। केन्द्रीय शक्तीको दुरूपयोग गरी राज्य सरकार गिराइदै छन्। संबैधानीक संस्थाहरुमा हस्तक्षेप बढदोछ। बिश्लेषक बुद्धिजिबीहरु भन्दछन मोदीराजमा निम्न बर्गको उत्थान हुने छैन,जातीभेद र दमन बढने छ। अर्थतन्त्रको वृद्धी भइनै हाल्यो भने पनि त्यस्को लाभ आम मानिसले पाउने छैनन, बलीयो भारतको नाममा रक्षा खर्च बढाइने छ र मोदीको अन्तर्राष्ट्रीय ब्यक्तीत्व बनाइने छ। २०२४ को लोकसभा निर्वाचन पूर्व पाकिस्तान अधिकृत कास्मिरमा आक्रमण या यस्तै केहि उग्र राष्ट्रवादी कार्यबाट जनमत प्रभाबित पार्ने प्रयत्न हुनेछ। समग्रमा राष्ट्रप्रेमको अभाव भएको मोदी राष्ट्रवादले आम भारतीयमा कुनै सकारात्मक परिणाम दिन सकेको छैन। घृणा, बिभेद र आर्थीक बिषमता मात्र बढाएको छ।

नेपालमा भारतीय नाकाबन्दी समेतले भारत बिरोधी रहेको नेपाली जनमतलाइ राष्ट्रवादी नारा र रेल, पानीजहाज, घरघरमा पाइपबाट ग्याँस, कोही भोकै नपर्ने भोकले नमर्ने आदी नाराबाट अत्यधिक बहुमत प्राप्त नेकपाको सरकारका प्रधानमन्त्री केपी ओली सत्तारोहण भएको दुइ वर्ष पार भइसकेको छ। राष्ट्रवादी नारा दिने ब्यक्तीमा साँच्चीकै राष्ट्रप्रेम भएको भए यो दुई वर्षको बिचमा दुख पाएका जनताको कष्ट निवारण र सुख सम्वृद्धीको निमीत्त काम भएको देखिनु पर्ने हो। तर सरकारको दृष्टी त्यसतर्फ गएन। जनताका ब्यक्तीगत स्वतन्त्रता खोस्ने, सरकारका जनबिरोधी र भ्रष्ट कृयालाप उजागर गर्ने सञ्चारमाध्यमलाइ नियन्त्रण गर्ने, सरकार निकट ब्यबसायीलाइ फाइदा पुर्याउनको लागी मात्र ऐन संसोधन गर्ने, मन्त्रीपरिषद सदस्यहरु भ्रष्टाचारको लागी बार्गेनीङ गर्ने, प्रधानमन्त्री तीनै भ्रष्टाचारी मन्त्री र कर्मचारीको बचाउमा सार्वजनिक  रुपमा प्रस्तुत हुने, संवैधानीक संस्थाहरुलाइ कमजोर बनाउने, केही निकटका ब्यबसायीलाइ लाभ पुर्याउन राष्ट्रहित बिपरित भन्सार कर निर्धारण गर्ने, समग्रमा सरकारमा रहेका र सरकार निकटका ब्यक्तीहरुको पूँजी वृद्धी गर्नेतर्फ मात्र सरकारको ध्यान केन्द्रीत भयो। क्रमागत रुपमा चलिआएका केही बाटो, खानेपानी, सिंचाइका काम, निजी क्षेत्रले उत्पादन गरिदिएका बिद्युत जस्ता साना तीना नियमित कामलाइ प्रगती देखाइ प्रचार गर्ने र तिनैलाइ उपलब्धीमा नगनेकोमा आलोचना गर्दै संचारमाध्यम र बिपक्षीलाइ तथानाम भन्नु नै प्रधानमन्त्रीको दिनचर्या छ। राष्ट्रिय गौरबका आयोजना भनिएका तामाकोसी, मेलम्ची प्रत्येक ६-६ महिनामा भाका सार्नु नियमितता बनेको छ। बुढीगण्डकी अलपत्र छ। गौतमबुद्ध बिमानस्थल हरेक पर्यटनमन्त्रीको सस्तो लोकप्रीय निर्देसनमा सिमीत छ। नीजगढमा बनफडानी गरेर आम्दानी गर्ने हतार छ, पर्यावरणीय अध्ययन गरेर सहजताका साथ काम अघी बढाउने कुनै चासो छैन। कुनै पनि दिर्घकालीन योजनामा स्पष्ट दृष्टीकोण र कार्य सञ्चालनको गती छैन। नारा आकर्षक लाग्छन, परिणाम छैन या बिपरित छ। भ्रष्टाचारमा शुन्य सहनशीलताको नारा ब्यबहारमा भ्रष्टाचारमा लिप्तता र दण्डहिनता छ। रेल र पानीजहाज भनिन्छ तर रेल, पानीजहाज चलाउने बजेट महंगा गाडी आयात गर्न खर्चिन्छ।

अहिले कालापानी नक्साको राष्ट्रवाद चलेको छ। भारतले ५-७ वर्ष देखी बाटो निर्माण गर्दै थियो।प्रचण्ड, देउवा, ओली कसैलाइ मतलब भएन। बाटो उद्घाटन अघीसम्म पनि ओलीजीलाई कुनै चासो भएन। भारतले कालापानी क्षेत्र आफ्नो नक्सामा समाबेस गरी प्रकासित गर्दा देश भरीबाट आवाज उठ्यो, प्रतीपक्षले भन्यो, संसदले भन्यो नेपालले मिचिएको भूभाग समेटी नक्सा प्रकासीत गर्नु पर्दछ। ओलीजीले भन्नु भयो जमिन नै ल्याउने हो, नक्सा मात्रै किन? जमिन ल्याए पछि प्रकासीत गरौला। यता प्रधानमन्त्रीको पार्टी भित्र सत्ता संघर्ष चर्कियो, प्रधानमन्त्रीको कुर्सी हल्लीयो। यसै बेला भारतले बाटो उदघाटन गरेको समाचार आयो। पुनः सबै नेपाली सबै राजनीतिक दल एकजुट भएर भने नक्सा प्रकासीत गर, भारतसंग वार्ता गर। बल्ल ओलीजीको राष्ट्रवाद जाग्यो, भारतीय भाइरस कडा भन्दै नक्सा प्रकासीत भयो। ओलीजीको कुर्सी पनि सुरक्षीत भयो।अब केही समय प्रचण्डहरुलाइ ओलीको बिरोध गर्नु सहज हुने छैन।

ओलीजीको राष्ट्रवादी चरीत्रको अर्को रुप पनि छ। ०६३ मा गठन भएको गिरिजाप्रसाद कोइरालाको मन्त्री परिषदमा के पी ओली परराष्ट्र सम्हालेको उपप्रधानमन्त्री हुनु हुन्थ्यो। अमिक शेरचन पनि उपप्रधानमन्त्री हुनु हुन्थ्यो। त्यो मन्त्रीमण्डलको बैठकमा परराष्ट्र सम्बन्धी नीती निर्माण गर्दा भारतसंग सल्लाह गर्नु पर्ने प्रस्ताब चारपटकसम्म प्रवेस गर्यो। गिरिजाप्रसादसंगको सल्लाहमा अमिक शेरचनले बिरोध गरेर असफल बनाइयो।यो भन्ने अमिक शेरचन अहिले नेकपाकै नेता र यहि सरकारबाट मनोनीत प्रदेश प्रमुख हुनुहुन्छ, ओलीजी प्रधानमन्त्री। दुबैले यो भनाइको खण्डन गर्नु भएको छैन। सत्ताप्रेमी नेताका राष्ट्रवादका अनेक रुप देख्न पाइन्छ। कोरोना महामारीले सारा नेपाली आतंकित छन्। अब रोगको महामारीको आतंक भन्दा भोकको आतंक बढेको छ। बन्दाबन्दीको यो अवधीमा गरीबीसंग हारेर नौ सय बढी मानिसले आत्महत्या गरेको समाचार छ। मलर सदा, सूर्यबहादुर तामाङहरु भोकले तडपीएर मरिरहेका छन्। समाचार नबनेका यस्ता कती भोकले मरिसकेका, मरिरहेका होलान। सप्तरीकै राधादेबीको तीन महिने शीशु तीन दिनदेखी दुध चुस्न पाएको छैन। कुपोषणले पखाला लागेको छ। राधादेबी कती दिन देखी भोकै छिन दुध आए पो चुसाउनु।टुलुटुलु हेर्नु सिबाय अरु उपाय छैन। बिन्दा देबीको त्यस्तै हालत छ। तराइका दलीत भनिनेहरुको प्राय सबैको यस्तै अवस्था छ। सरकार लकडाउन पछि दस अर्ब खर्च गरेको भन्छ। निम्न बर्ग भोकले मरिरहेका छन। तीन तहका सरकार छन, तर प्रधानमन्त्रीको भोकै नपर्ने, भोकले नमर्नेको माप दण्डमा ती चमार, मुसहर, तामाङ पर्दैनन। महामारीको हाउगुजी देखाएर अन्य रोगीको उपचार नहुदा कतीले ज्यान गुमाउनु पर्यो। कती अपाहिज बनेका छन्। सरकार आरडीटी परिक्षण भन्दै संक्रमण समुदायमा फैलाउँदैछ। सरकार र सरकारका समर्थकलाइ नक्साको राष्ट्रवादको गुण गाउदै फुर्सद छैन। हाम्रो माटो, हाम्रो भूमी, हाम्रो स्वाभीमानको हामी सबै नेपालीलाइ माया छ। त्यस्को लागी नेपालीले जीवन अर्पण गरे, गर्न तयार छन्। तर त्यही नक्सा भित्र बस्ने नेपालीलाइ नदेख्ने, तीनको दुखमा मल्हम नगाउने, भोकभोकै मर्नु पर्ने, बिरामी पर्दा उपचार नपाउने, तीनको पनि हक लाग्ने राष्ट्रीय श्रोत यही मौकामा केही ब्यक्तीले सम्पत्ती थुपार्ने अवसर बन्ने यो कस्तो राष्ट्रवाद हो? यो देशको भूमी सम्पुर्ण नेपालीको लागी हो कि भूमीको नारा दिएर केही ब्यक्ती, समुहले शानशौकत देखाउनको लागी मात्र हो? नेपाली जनतालाइ उपेक्षा गर्ने,नागरिकको स्वतन्त्रता खोस्ने, आफ्नो देशमा आउन पाउने नागरिक हकबाट नै बंचित गर्ने, भ्रष्टाचारलाइ मलजल गर्ने, काम गर्न पनि नदिने, खान नपाइ भोकै मर्नु पर्ने राष्ट्रवाद कस्को लागी?

ट्रम्पको राष्ट्रवाद के हो? अमेरिकीहरुले भन्लान। मोदीको राष्ट्रवाद के हो? भारतीय हरुलाइ थाहा होला। तर बर्तमान प्रधानमन्त्री केपी ओलीको राष्ट्रवाद,राष्ट्रप्रेमको देशभक्तीको होइन,सत्तालीप्साको राष्ट्रवाद हो। नेपाल भित्रका नेपालीलाइ तुच्छ देख्ने, ती नेपालीको कष्टमा मन नपग्लने कठोर निर्दयी हृदयको राष्ट्रवादले मिचीएको जमिन फिर्ता गर्ला भनेर आशा मात्र गर्ने हो बिश्वास गर्न सकिदैन। सबै नेपालीको प्रशन्नतामा मात्र रमाउन सक्ने सफा मन भएको राष्ट्रप्रेमले मात्र भूमी रक्षा गर्दछ भन्ने बिश्वास जगाउँछ। देश हामी सबैको हो। देश बचाउने, देश बनाउने पनि हामीले नै हो। सही के हो? गलत के हो? चिन्तन गरौ। राष्ट्रवादका नाममा सरकारका गलत कामको बिरोध गर्न पनि नसक्ने गरी आतंकित नबनौ। पुनः एक पटक फ्रेन्च राष्ट्रपती म्याक्रोनका शब्द सापटी लिएर भन्छु जनताको माया नभएको जनताप्रती उत्तरदायी नभएको राष्ट्रवाद,राष्ट्रप्रेमप्रती धोका हो। त्यसैले राष्ट्रवादी होइन राष्ट्रप्रेमी बनौ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ