सनाखत

ध्रुवप्रसाद गौतम प्रकाशित मिति : २०७७ असार ३ बुधबार
ध्रुवप्रसाद गौतम

यो उत्तर आधुनिक युगको शहरमा
यान्त्रिक मान्छेको भिडबाट
जैविक मान्छेको चिनारी हराएको बेला 
एउटा मान्छे सडक दुर्घटनामा मर्यो
सबै शरीर त सग्लो थियो 
उसको टाउको मात्र किचिएको थियो ।
शवको सनाखत गर्न 
किचिएको मान्छे चिन्ने प्रयास गरियो 

त्यहाँ धेरै मान्छेहरु आए
कसैले उसको पुष्ट पाखुरा हेरे
कसैले तिघ्राबाट चिन्न खोजे
कतिले उसको चौडा छाती नापे
कतिले भुँडी हेरेर अड्कल काटे।
तर
जतिनै प्रयास गरेपनि 
कसैले मृतक चिन्नै सकेन
शवको सनाखत हुनै सकेन
हेर्ने मान्छेहरू थकित भए 
चिन्न खोज्नेहरु चकित भए 
अहो ! 
मान्छेका कति धेरै अङ्ग प्रत्यङ्ग बीच 
टाउको मात्र किचिएर 
अन्य भाग सग्लै भएरपनी
मान्छे त नचिनिदो रहेछ ।
मान्छेको चिनारीको मियो त
टाउको नै रहेछ
मान्छेको अन्तिम सनाखत टाउको नै रहेछ ।।    
(कागेश्वरी मनोहरा ९ हात्तीडाँडा, गोठाटार।)

नयाँ