arrow

दुःखका अनेक रुप

logo
सरला सिलवाल,
प्रकाशित २०७७ असार ४ बिहिबार
sarala-silwal.jpg

दुःख, दुई अक्षरको शब्द हो तर यसले सिंगो मानव जीवनलाई समेटेको छ । मानिसले भन्न सक्छन् आधा त सुख हुन्छ नि, आधा पो दुःख । तर न सुख पाएको मानिस सुखी मात्र हुन सक्छ, न त दुःख पाउनेले कुनै दिन सुख पाउँछ भन्ने ग्यारेण्टी नै । यद्यपि, जीवनलाई सुख र दुःखको सम्मिश्रण मानिन्छ । दुःखका रुप पनि एउटै हुदैन । कहिलेकाहिं प्राकृतिक विपत्ति आई लाग्छ र दुःख हुन्छ । धेरैजसो दुःखचाहिं आफ्ना कारणले निर्मित, सिर्जित हुन्छन् । तेस्रो खालको दुःख अरुबाट प्राप्त हुन्छ । अर्थात् तेस्रो पक्षले पनि अनाहक दुःख दिन्छ।

एकपटक अर्जुनले कृष्णलाई सोधे – हे केशव ! किन हरेक प्राणी सुःखको कामना गर्छ, किन दुःख भोग्न चाहदैन ? त्यो राजा होस् या रंक ? महिला होस् वा पुरुष ? कृष्णको जवाफ थियो – अर्जुन ! तिमीले ठीक भन्यौ । सबै सुखको नै कामना गर्छन् । तर सुखको परिभाषा हरेक व्यक्तिको प्रवृत्ति र रुची अनुसार फरक हुन्छ ।  एउटा साधु मानिस अर्काको सुखमा आफू सुखी हुन्छ । अर्कालाई सहयोग गर्न पाउँदा खुशी हुन्छ । तर अर्को निच प्रवृत्ति भएको मानिस अर्कालाई दुःख दिएर आफू खुशी हुन्छ । अर्काको सुख देखेर ऊ दुखी हुन्छ । हरेक प्राणीमा सुख र दुःखको परिभाषा एउटै हुदैन । मानिसहरु कागलाई भन्दा कोइलीलाई मन पराउँछन् । रंगमा दुबै काला अनि चिल्ला हुन्छन् तर पनि काग भन्दा कोइली मन पराइन्छ । कागको जस्तो स्वर होस् भनेर आशिक दिइदैन । कोइलीको जस्तो स्वर होस् भनिन्छ । स्वाभाविक हो, कागको भद्दा स्वर भन्दा कोइलीको कुहु कुहु मीठास पूर्ण हुन्छ । तर त्यही कोइलीले कागको फुल आफू खाई दिन्छ र आफू फुल पारेर कागलाई बच्चा कोरल्न लगाउँछ । यहाँ कागलाई आफ्नो सन्तान हुर्काउन नदिने कोइली परपीडक प्रतीत हुन्छ । त्यसैले मानिसको बाहिरी आवरणले को असल र को खराव भनेर छुट्याउन मिल्दैन । को सुखी र को दुखी छ भनेर पहिल्याउन सकिदैन ।

बाढी, पहिरो, भूकम्प आदिका कारण पर्न आउने दुःख प्राकृतिक हुन् । मृत्यु पनि प्राकृतिक हो । हरेक विपत्तिलाई हामी दुःख ठान्छौं । बिश्वका लागि कोरोना भाइरस अहिले विपत्ति बनेको छ । सबैका लागि दुःख बनेको छ । यसका कारण हरेक मानिसले विभिन्न खालको दुःख सहनु, भोग्नु र बेहोर्नु परेको छ । यी ठूला विपत्तिका कारण मात्र दुःख अनुभूति हुदैन । स–साना घटनाले पनि मानिसलाई दुखी बनाउँछ । कोही आफ्ना ईच्छा पूरा नभएर दुखी हुन्छ । कोही कसैबाट अप्रिय कुरा सुन्नु पर्दा दुखी हुन्छ । पटक पटकको प्रयास पछि पनि मानिसले लक्ष्य प्राप्त गर्न सक्दैन र ऊ दुखी हुन्छ । प्रयास आफ्नो हो । ईच्छा आफैले व्यक्त गरेको हो । प्रिय वा अप्रिय भावना हुन् । र पनि, यिनले मानिसलाई दुखी बनाइरहेको हुन्छ । 

सुख वा दुःख दुबै चिरस्थायी हुदैनन् । सधैं कोही सुखी रहन सक्दैन । आज अरुको सुखमा रमाउन चाहने मान्छे भोलि नै आफैं दुःखको भूमरीमा पर्न सक्छ । यो संसार परिवर्तनशील छ । परिवर्तन प्रकृतिको नियम हो । त्यसकारण हरेक क्षण परिवर्तन भइरहेको हुन्छ । समयको चक्रमा कसले दुःख भोग्छ र को सुखमा रहन्छ, केही भन्न सकिदैन । सुख दुःख सापेक्षिक कुरा हुन् । जुत्तामा एउटा सानो ढुंंगा पसोस्, दुई पाइला चाल्न कठीन हुन्छ । यात्रामा अचानक विराम लाग्न सक्छ । त्यो ढुंगा नफाली हिड्न ज्यादै पीडा अनुभूत हुन्छ, त्यो जति सानो नै किन नहोस् । तर त्यही मानिसलाई ठूलो पहरामा हिड्नु पर्‍यो भने जुत्ता लगाएर हिड्न सक्दैन । जुत्ता खोलेर बोकेर हिड्नु पर्छ । जुत्तामा पसेको सानो ढुंगाले पीडा महसुस गर्ने मानिस पहराको ठूला ढुंगामा पीडा अनुभूत गर्दैन । 

तेस्रो दुःख परपीडाबाट हुने गर्छ । यो खालको दुःख न प्राकृत हो, न त आफूले सिर्जना गरेको नै । समाजमा एकखालका मानिस हुन्छन्, जसलाई अरुलाई दुःख दिनुमा उनीहरुलाई आनन्द आउँछ । उनीहरुलाई लाग्छ – दुनियाँको सुखी म मात्र हूँ । अथवा उसले भोगेको सुखको म हिस्सेदार हुन पाउदिनँ भने उसले पनि त्यो सुख भोग्न पाउनु हुन्न । अरुलाई आफ्नो नियन्त्रणमा राख्ने चाहना वा प्रतिशोधको कायर आकांक्षाले मानिसहरु यसरी रमाउने गर्छन् । यो प्रवृत्तिका मानिसहरु पनि सुखीको कोटीमा पर्दैनन् । श्रीकृष्णले अर्जुनलाई सम्झाए जस्तै अन्ततः उनीहरुले पनि सुखचाहिं पाउँदैनन् ।

गरीब भएर दुःखी हुनु वा सम्पत्ति भएर सुखी हुनु यो भौतिक परिभाषा हो । धन त्यति मात्र भए पर्याप्त हुन्छ, जति जीवन जिउनका लागि आवश्यक हुन्छ । जब धनको संग्रह गर्न थालिन्छ, तब दुःखका दिन शुरु हुन्छन् । धन सम्पत्ति प्रशस्त हुनुलाई समाजका आँखाले परम सुख देख्दछ । तर त्यो सम्पन्न मानिएको मानिस यथार्थमा सुखी हुदैन । गरीबलाई धन कमाउन नसकेकोमा जति चिन्ता हुन्छ, त्यो भन्दा धेरै गुणा बढी धनीलाई सम्पत्तिको रक्षाको चिन्ता हुन्छ । गरीबका एक पीडा हुन्छन् भने धनीका हजार पीडा । त्यसरी नै परपीडकहरु अर्कालाई दुःख दिएर आनन्दको अनुभूति त गर्न सक्लान्, तर परपीडकहरु पनि चैनको निन्द्रा सुत्न सक्दैनन् । त्यसैले कसैले सुख ठानेको कुरा अर्काेका लागि दुःख हुन सक्छ वा अर्काले देखेको दुःख भोग्नेका लागि सुख पनि हुन सक्छ ।

सुख र दुःख मानिसको मन हो । भावना हो । अनुभूति हो । समग्रमा जीवनको यथार्थ हो । त्यसैले महाकवि लक्ष्मीप्रसाद देवकोटाले लेख्नु भएको छ – खोज्छन् सबै सुख भनी सुख त्यो कहाँ छ ? आफू मिटाई अरुलाई दिनु जहाँ छ ! 

र, अन्त्यमा

फेरि श्रीकृष्णले अर्जुनलाई सम्झाउनु भएको एउटा प्रसंगबाट बिट मार्न चाहन्छु । सुखदुःखे समे कृत्वा लाभालाभौ जयाजयौ !! अर्थात् सुख दुःख, लाभ हानी र जय पराजय मानिसको जीवनमा आइरहने कुरा हुन् । कोही पनि कुनै परिस्थितिबाट धेरै रोमाञ्चक वा उत्तेजक हुनुको कुनै अर्थ छैन।
(लेखक सिलवाल रेडियोकर्मी हुन् ।)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ