- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
सभ्यताको परम्पराको इतिहास अध्ययन मनन गर्दा नेपाल पनि विश्व सभ्यताको धरातलमा कुनै अर्को सभ्यताभन्दा कम परम्परागत छैन। यस बारे पूर्व र पश्चिम मानव संस्कृतिको तुलना परिधिभित्र नेपाल पनि एक खास स्थान विश्वस्तरमा उतारचढावको कालचक्रमा जाँदै गयो जसले नेपाललाई पनि त्यति नै परमम्परागत अवस्थामा इतिहासले राखेको छ।
राजनीतिक परम्परको क्षेत्रमा नेपाल आरम्भदेखि राजतन्त्रकै छत्रछायाँमा करिब साढे दुईसय वर्षसम्म रक्षित र संरक्षित भयो। तर जसरी राजनीतिक आरोह र अवरोहमा विश्वका देशहरूलाई प्रभावित गर्दै गएको इतिहास छ त्यसले नेपाललाई पनि त्यहि परिवेशमा ल्याइराख्यो। राजतन्त्रको लमो इतिहासमा स्वभाविक परिवर्तन नभई राजनीति र शासन व्यक्तिमुखी भए, नेतृत्वमुखी भएन।
अत: राजनीतिक संस्कृतिको परिवेश पनि सोही बाटोतिर जान थाल्यो र यसले गर्दा राज्यको संस्थागत स्वरूपले स्थायित्व, सुरक्षित र स्तरीय परिवेश उक्त समय कालमा सुनिश्चित गर्न सकेन। उहिलेको बेला राजा आए गए, राज्य एकीकृत वा विखण्डित भए। राजनैतिक संस्कृति रैति, जमिन्दार एकीकृत राज्यको घेराभित्र स्थापित भएको हुनाले मनमौजी शासन (whimsical) प्रणाली बन्यो। छिमेकी राज्यहरूमा पनि राजनैतिक संस्कृति एवं शोषणको बीच कठिन संघर्षको माहोल उत्पन्न हुँदै गयो र यहींबाट राजनीतिक संस्कृतिको तीनवटै आयाम रैती, नागरिक र सहभागी बनाउने संस्था अर्थात राजसत्ता अदृश्य र दृश्य, हिंसक र अहिंसक, प्रत्यक्ष र अप्रत्यक्ष किसिमको संघर्ष आन्दोलन, क्रान्ति, असहयोग आदि स्वरूप ग्रहण गरी राजनीतिक संस्कृतिको स्थापित परम्परागत आयामहरूले परिवर्तनकारी भूईंचालो बेहोर्नुपर्यो।
नेपाली इतिहासको परिवर्तनकारी राजनैतिक स्वरूप जनतान्त्रिक परिवेशमा निर्मित हुन थाले जनआस्था, आदर्शवादी मूल्य मान्यता, राजनैतिक प्रणालीगत स्वरूप ग्रहण गर्न थाले। अत: सांस्कृतिक परिवेशको स्थापित मान्यताको दिग्दर्शन हामी वि.सं. १९०३ देखि २००७ को जनक्रान्तिसम्मको राजनीतिक विकासलाई हेर्न सक्छौं। त्यसबेलासम्म विश्वमा अन्य देशमा घटित राजनैतिक घटनाहरू राजनीतिक संस्कृतिको मूल्य मान्यता स्थापित गर्न आवश्यक पर्ने तत्वहरू जस्तै कानुनी शासन, अधिकार संरक्षण, स्वतन्त्रताको विभिन्न तात्विक वर्गीकरण, समानताको अर्थ विश्लेषण, आन्दोलन अनिवार्यता, क्रान्तिको आवश्यकता, न्याय स्थापना, सम्पत्तिको प्रष्ट विवेचना, न्यायिक पृष्ठभूमि, राजनीतिक जवाफदेहिता, अस्तित्वको स्पष्ट नियमन लगायतका आयामहरूलाई विभिन्न ढंगले कसी गर्दै राजनीतक आदर्शमा आधारित राजनीतिक प्रणालीमा समाहित गर्दै सामान्य जनता माझ नागरिक दायित्वको रूपमा विश्लेषण र मूल्याङ्कन गरी संवैधानिक प्रकृयामा अंगिकार गरेर नेपालले पनि यसै प्रकृयालाई संवैधानिक स्वरूप प्रदान गर्यो बरू त्यो आन्दोलन, क्रान्ति आदि जुनसुकै रूपमा भएको होला।
राज्य र नागरिक एक अर्काका पूरक र पर्याय छन् तर दुबै प्रकृयाको दस्तावेजबाट सञ्चालित हुन्छन्। नागरिकको संस्थागत रूप जनता हो र राज्य पनि जनता नै हो जुन निश्चित भौगोलिक सीमाभित्र व्यवस्थित र अवस्थित हुन्छ। यसरी भौगोलिक सीमाभित्र व्यवस्थित र अवस्थित मानव समुदाय एक अर्कासँग अन्तरङ्ग हुन्छ र यसरी क्षेत्रहरू निर्धारित भई एकअर्कासँग अन्तरसम्बन्ध कायम गर्छन जसले गर्दा राष्ट्रिय, अन्तर्राष्ट्रिय संस्थागत मानवीय सम्पर्क कायम हुन्छन्, राजनीति व्यवस्थित हुन्छन्, मर्यादित हुन्छ, राजनैतिक संस्कृति सृजना हुन्छ र यसले गर्दा राज्यहरूको बीचमा सामिप्यता कायम हुन्छ र अन्तोगत्वा अन्तर्राष्ट्रवाद जन्मिन्छ। पारस्परिक सामिप्य विश्वस्त अन्तर्राज्य सम्बन्धबाट कायम हुन्छ। अत: सांस्कृतिक आदानप्रदानले गर्दा अन्तर्राज्य सम्बन्ध सुदृढ हुन्छ र अन्तर्राष्ट्रिय राजनीति गतिशील रहन्छ।
तर पारस्परिक सम्बन्ध, संदेहको घेरामा पर्छ भने त्यसले राजनीतिको संस्कृतिलाई संकटको चपेटामा ल्याइदिन्छ र विश्वासको संकट खतरनाक अवस्थामा पुग्न जान्छ र युद्धको रूपमा परिणत हुन जान्छ। राष्ट्रिय राजनीति दूषित हुन जान्छ जसले गर्दा सामान्य स्थिति सृजना हुन समय लाग्छ। वर्तमान अवस्था प्राय: संकटकालिन परिस्थिति तिर अग्रसर हुन जान्छ। अन्तर्राष्टरिय, क्षेत्रीय, तृपक्षीय र द्विपक्षीय नराम्रो परिदृष्य उपस्थित हुन जान्छ र राजनीति क्षेत्रीय र अन्तर्राष्ट्रिय रूपमा संकटकालिन अवस्थामा रहीरहने सम्भावना हुन जान्छ। यी अवस्थाहरूको अवलोकन वर्तमान विश्व परिस्थितिमा राम्ररी हेर्न र बुझ्न सकिन्छ।
लेखक : तारा कान्त झा, राजनीति शास्त्र सेवानिवृत्त प्रोफेसर, त्रिभुवन विश्वविद्यालय
सम्पर्क:chayudr@yahoo.com