arrow

ओलीले नङग्रा निकाल्दिएका प्रचण्ड बौरिएपछि

logo
अजयबाबु शिवाकोटी,
प्रकाशित २०७७ असार १७ बुधबार
oli-prachanda.gif.gif

काठमाडौं। तत्कालिन नेकपा एमाले र माओवादी एकिकरण भएसँगै केपी शर्मा ओली र प्रचण्ड अध्यक्ष भए। एकिकरणसँगै दुबै अध्यक्षले डबल इन्जिन वाला प्लेनको डवल पाइलटका रुपमा आफूहरुलाई सार्वजनिक रुपमा प्रस्तुत गरेका थिए। 

२०७४को दशैंको आसपासमा यि दुई दल एक हुँदैछन भन्ने स्वयं नेकपाकै नेताहरुले थाहा पाएका थिएनन। केहि नेताहरुलाई एकिकरणको गृहकार्यको जिम्मा पाएपनि एकिकरणमा खासगरि उत्तरी छिमेकीको सदासयता त्यसपछि पुष्टी भएको थियो। 

नेपालमा आफ्नै जातको बलियो कम्युनिष्ट शक्ति हुँदा आफू अनुकुलको निर्णय गराउन सकिने विश्वास चीनको थियो। दुई पार्टी मिलेर बनेको नेकपा बलियो शक्ति बनोस भन्ने चीनको चाहना चुनाव मार्फत झण्डै दुई तीहाईको प्रचण्ड बहुमत पाएर पुरा भएको थियो। आफ्नो रणनीति अनुसार गठन भएको दलमा गरिएको लगानी खेर नगएकोमा चीन पनि उत्साहित थियो।

नेकपा गठन भएसँगै डबल पाइलटबीच एक समझदारी पनि भएको थियो। ५ बर्षे कार्यकालमा सरकार आधा आधा चलाउने सहमति अनुसार ओली पहिलो अवधीका लागि सत्तासिन भए। सत्तासिन भएसँगै ओली र उनको भित्रिया टीम पार्टी र सरकार दुवैमा अस्वभाविक रुपमा हावी भयो। 

पार्टी एकिकरणताका भएका सहमति समेत एकपछि अर्को गर्दै ओलीले लत्याउँदै गए। अध्यक्ष भएपनि प्रचण्डले त्यसको न अनुभूती गर्न पाए बरु आफ्नै हुर्मत लिएको अनुभव गर्दै गए। बेलाबेलामा घुर्क्याउनेमा मात्र सिमित रहेका प्रचण्डलाई नेकपाकै नेताहरुले सार्वजनिक रुपमै तेजोवध गर्ने काम गरे। 

केपी ओलीको निर्देशनमा उपप्रधानमन्त्री एवं रक्षा मन्त्री ईश्वर पोखरेल त प्रचण्डमाथि बेला बेलामा बर्सिरहे। प्रधानमन्त्री ओलीकै सचिवालयका सदस्यहरु पनि प्रचण्डलाई खुइल्याउने काममै सक्रिय भए। 

हुँदाहुँदा तत्कालिन माओवादीका नेता रामबहादुर थापा वादल जस्ता नेताहरु पनि प्रचण्डसँग नभएर तटस्थ वा ओलीसँग भएको देखियो। 

मन्त्री बनेका पूर्व माओवादीहरु पनि प्रधानमन्त्री ओलीसँगै रमाएको देखियो। सर्वशक्तिशाली प्रधानमन्त्री र अध्यक्षका अगाडी उभिएर बोल्न सक्ने आँट धेरैले गुमाएका थिए। आफू बिरुद्ध कहि कुराकानी समेत भएको थाहा पाउँदा ओलीले तिनलाई उठ्नै नसक्ने गरि थचारिदिने भएपछि सबैमा त्रासको वातावरण थियो।

पार्टी भित्र र वाहिर सबैतिर ओलीसँग जोरी खोज्न हुन् भन्ने वातावरण यसरी तयार भयो की सरकारी संयन्त्रहरु पनि हतासामा देखिन्थे। विपक्षलाई दवाएर राख्ने रणनीतिमै ओली देखिए। राष्ट्रिय अनुसन्धान विभागदेखि अन्य महत्वपूर्ण निकाय आफू मातहत लगेर प्रधानमन्त्री ओलीले शक्ति र सूचना एकिकृत गर्ने अभियान चलाउँदा फरक मत राख्ने र विपक्षहरु कतिखेर आफूमाथि बज्र बज्रिने हो भन्ने भयमै रहने भए। 

शक्ति केन्द्रीकृत गर्दै गएका ‌ओलीसँग हुँदाहुँदा प्रचण्डले समेत पार्टी एकिकरणताकाको सहमति अनुसार आधा कार्यकाल प्रधानमन्त्री हुन पाउने कुरालाई तिलाञ्जली दिए। पाँच बर्ष ओली नै प्रधानमन्त्री हुने कुरामा सहमति जनाए। आफूलाई बल्लतल्ल कार्यकारी अध्यक्ष भन्ने निर्णय गराए। तर त्यो पनि ओलीले चाहँदा मात्र जस्तो अवस्था देखियो। 

प्रधानमन्त्री ओली सामु दुई विकल्पः कार्वाही गर नत्र भोग

शक्तिशाली सरकार प्रमुखका रुपमा सत्तामा रहेका ओली त्यहि जगमा पार्टीमा पनि सर्वशक्तिशाली अध्यक्षका रुपमा रहेका थिए। उनीमाथि प्रश्न गर्नेहरु कोपभाजनमा पर्ने भएपछि प्रश्न गर्ने संस्कृती नेकपामा विस्तारै हराउँदै गइ तावेदारीको संस्कृती हावी हुँदै गएको थियो। 

पार्टी एकिकरणको बेला डबल पाइलटको अवधारणाको व्याख्या विस्तारै प्रचण्डको हकमा सहायक भूमिका मात्र देखियो। त्यसो गराउन सकेकोमा ओली भित्रभित्रै खुसी प्रकट गरिरहेका हुन्थे। आफ्ना सचिवालयका सदस्यहरुमार्फत सरकार र पार्टीको तल्लो तहसम्म प्रचण्डको कोर्ने चिथोर्ने नङग्रा आफूले निकालेको ओलीले संचार गर्न लगाउँथे। केहि दायाँवायाँ गरे संक्रमणकालिन न्यायको तरवार देखाएर समेत ओलीले प्रचण्डको दाह्रा निकाल्ने भन्दै आएका थिए।

विपक्षी दलका नेताहरुसँग समेत ओलीले प्रचण्डको आफूले नङग्रा निकाल्दिसकेको र दाह्रा देखिए त्यो पनि भाचिदिनेसम्मको टिप्पणी गर्न भ्याए।

आफ्ना बारेमा ओलीको मनमा कुनै इज्जत नरहेको अनुभूति गरेका प्रचण्ड शक्ति संचयमा लाग्नुको विकल्प थिएन। ओलीको आँखा छलेर तत्कालिन माओवादीलाई एक गराउँदै र तत्कालिन एमालेकालाई आफू निकट बनाउनु प्रचण्डको लागि चुनौती थियो। प्रचण्डको प्रयास पटकपटक असफल देखिएपनि ओलीले नै उनको कामलाई सफल बनाइदिए। 

ओलीको अहंकार बढेको अनुभीती गरेका माधव नेपाल र झलनाथ खनाल पनि एक ठाउँमा आइपुगे। उनीहरुसँग जोडिएका दोस्रो तथा तेस्रो तहका नेताहरु त ओली बिरुद्ध थोरै भएपनि उभिएकै थिए। पटकपटक धोका पाएका वामदेव यसपटक झुक्किने तहमा देखिएनन्। प्रचण्ड मात्रै नभइ पूर्व एमालेकै झलनाथ, माधव र वामदेव खुलेरै ओलीको बिरुद्धमा मात्र उभिएनन उनीहरुले ओलीको राजिनामा समेत मागे।  

पार्टी एकिकरणको लागि भूमिका खेलेको चीन नेकपा फुटमा नपुगोस भनेर सक्रिय हुँदा ओलीले त्राण पाएका थिए। तर त्यस यता पनि उनी सम्हालिने भन्दा पनि झनै फुटाउ र राज गर शैलीमा प्रस्तुत भए।

आफ्नो सत्ता जोगाउन सबै किसिमका हतकण्डा अपनाउँदै गर्दा ओलीले छिमेकी र मित्रराष्ट्रहरुसँग पनि सन्तुलित सम्वन्ध राख्न सकेनन्। प्रधानमन्त्रीमा पदासिन व्यक्तिका लागि नसुहाउने अभिव्यक्ति दिइरहे। लामो समयसम्म असर रहने अभिव्यक्ति प्रधानमन्त्रीको लागि नसुहाएपनि उनले फालेका राष्ट्रवादी कार्ड पनि यो पटक टिकेनन्। 

नक्सा सार्वजनिक गरेसँगै जस लिन खोजेका ओलीले त्यो पनि पाएनन। राजेन्द्र महतो र उपेन्द्र यादवले सम्पूर्ण जस नै खोसिदिए। पार्टीभित्र र वाहिर सबैतिर घेरावन्दीमा परेपछि एक्लिएका ओलीले आफूलाई हटाउन भारत सक्रिय रहेको उनीहरुको डिजाइनमा आफ्नै दलका नेताहरुले साथ दिएको अभिव्यक्ति दिएर राष्ट्रवादको अन्तिम अस्त्र प्रयोग गरे। तर त्यो पनि यो पटक विकेन। 

ओलीले भन्ने गरेका नङग्रा निकालिएका प्रचण्डले यसरी दाह्रा गाडेकी ओली घायल बनेर पदबाट विस्थापित हुने अवस्थामा पुगे। राजिनामा दिल्लीले हैन मैले मागेको भनेर प्रचण्डले भन्दै गर्दा शक्तिशाली मानिएको स्थायी कमिटीमा उनको राजीनामा माग्नेहरुको संख्या बढ्दै गएको छ। 

पार्टीभित्रको वदलिदो समिकरणले पनि अब उनी न पार्टी अध्यक्षको रुपमा रहने अवस्थामा छन न सरकार चलाउने अवस्थामा। थोरै भएपनि राजनीतिक साख जोगाउने हो भने दुबै पदबाट राजिनामा दिएर सरकार र पार्टीको नेतृत्वबाट वाहिरिनु नै ओलीका लागि हितकर छ सायद नेकपालाई अलि बढी नै छ। देशको लागि त ओलीले छोड्नु नै सबैभन्दा हितकर भइसकेको छ।    



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ