arrow

झम्सिखेलको अँगेनोमा जुटेको नेकपाको नयाँ समिकरण र ओलीको खस्किदो राप

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असार १७ बुधबार
kp-oli-serious-mood.jpg

काठमाडौं। आफ्नै पार्टीका नेताहरुलाई समेत सुइको नदिएर तत्कालीन नेकपा एमाले र माओवादी एकीकरण भएको अढाई वर्ष पुग्ने तरखरमा छ। यद्यपि पार्टीका कतिपय एकताका प्रक्रियाहरु बाँकी नै छन्।एकीकरण भएर नेकपा बनेपछि घोषणाका क्रममा दुबै अध्यक्षले पुष्पकमल दाहाल र केपी शर्मा ओलीले नेकपालाई डबल इन्जिन भएको जम्बो जहाजको उपमा मात्र दिएनन, आफू दुई जना त्यसका पाइलट भएको जिकिर गरे।

ओलीले त दुई जना पाइलटले नेकपा नामको जहाजले सफल उडान भर्ने जिकिर समेत गरे। विडम्बना दुई पाइलटको बुद्धि, बल र बरकतले उडान भर्नुपर्ने नेकपा आज दुई पाइलटबीचकै रस्साकस्सीले 'भयंकर दुर्घटना ' मा पर्ने संकेतहरु पटक पटक देखिन थालेका छन्। 

यसको चुरो भनेको नेकपा गठन भएसँगै दुई पाइलटबीच भएको पाँच वर्षे सरकारको कार्यकाल भएको विश्लेषण राजनीतिक वृत्तमा हुन थालेको छ। ओलीले कहिले पार्टी शक्तिमा अर्का अध्यक्ष दाहाललाई बाइपास गर्ने, कहिले पार्टी भित्रै सल्लाह नगरी पार्टी विभाजन लगायतका विधेयक ल्याउने कामले झन दरार ल्याएको पार्टीभित्रैका नेताहरु बताउँछन् । 

पार्टी एकताका र समझदारीका तमामौं काम बाँकी रहेको र पार्टीमा समान हैसियतका अर्का अध्यक्ष पुष्पकमल दाहाल भए पनि उनको गणना नै नगरेर ओली एकलौटी रुपमा अघि बढ्न थालेपछि नेकपाको जहाज समस्यामा परेको राजनीतिक विश्लेषकहरु बताउँछन्। 

झण्डै दुईतिहाइको सरकारको नेतृत्व गरे पनि ओलीले पार्टीको मत, भावना र सहमति भन्दा केही निकटस्थको रक्षार्थ काम गरिरहेकोप्रति पार्टीपंक्तिको ठूलो जमात ओली रुसँगष्ट भएको बताइन्छ। पछिल्लो समय त ओलीले ' मुखमा राम राम, बगलीमा छुरा ' भने झैं भ्रष्टाचारदेखि दुराचारसम्ममा शून्य सहनशीलताको मन्त्र उच्चारण गर्ने तर व्यवहारमा निर्मला पन्त बलात्कार काण्डका दोषीदेखि, बालुवाटार जग्गा प्रकरण हुँदै ७० करोडको बास्कोटा बार्गेनिङ मात्र होइन सुन काण्डदेखि, यति हुँदै महामारीको मेलोमा स्वास्थ्य मन्त्रालयको अमानीवय भ्रष्टाचारसम्मलाई ढाकछोप गर्नमै समय खर्चिएकाले पार्टीकै साख गिराउने काममा ओलीको राप र ताप खर्च भएको स्थायी समितिकै सदस्यहरु बताउँछन्। 

अनेक हतकण्डा अपनाएर आधा आधा कार्यकाल प्रधानमन्त्री बन्ने सहमतिबाट प्रचण्डलाई पछि हट्न बाध्य बनाएका ओलीले पछिल्लो समय समान हैसियतका दाहाललाई नै किनारा लगाउने प्रपञ्च र प्रपोगान्डा फैलाउन थालेपछि भने दाहालले मौनतापूर्वक आन्तरिक सक्रियता बढाएको देखिन्छ। जसको परिणाम उनले पूर्व माओवादीलाई मात्र आफ्नो पक्षमा राखिरहेनन, पूर्व एमालेका माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतमलगायतका नेताहरुलाई पनि आफू निकट बनाउन सफल भए । बुधवार साँझ झम्सिखेलको अँगेनो रेष्टुरेण्टमा प्रचण्ड सहित खनाल, नेपाल र गौतमको भेट पनि यसैको निरन्तरताको रुपमा हेरिएको छ। यहि वैठकमा प्रधानमन्त्री ओलीलाई पार्टीको निर्णय मान्न वाध्य पार्ने सहमति नेताहरुबीच भएको छ। 

विश्वव्यापी महामारीको संकट देशमा पनि छाएका बेला ओलीले विना प्रसंगको विधेयक काण्ड, सरकार निकटकाहरुबाट भएका भ्रष्टाचार र अत्याचारमा गरिएको बचाउ, पार्टीभित्रै ओलीले देखाएको तानाशाही चरित्रकै कारण आज उनीसरहकै हैसियतका अर्का अध्यक्ष दाहाल, खनाल, नेपाल र गौतमहरुले ओलीको राजीनामा मागिसकेका छन्।  

अबको अवस्था भने ओलीका लागि नैतिक र राजनीतिक रुपमा निकै संकटको भएको बताइन्छ । बुधबार जारी नेकपाको पाँचौ दिनको स्थायी कमिटी बैठकमा पनि ओलीले असार १४ गते 'आफू नेतृत्वको सरकार हटाउन भारत र नेताहरु चलखेल गरिरहेको ' भन्दै दिएको अभिव्यक्तिमाथि तमामौं प्रश्न उठेको एक स्थायी कमिटी सदस्यले हाम्राकुरालाई बताए । ओलीले स्वर्गीय मदन भण्डारीको जन्मजयन्तीका अवसरमा पदीय मर्यादा भुलेर कुटनीति मर्यादा विपरित दिएको अभिव्यक्तिले पार्टी बाहिर मात्र होइन पार्टीभित्रै ठूलो आलोचना र बिरोध खेपिरहनु परेको ती सदस्यले बताए । उनको कार्यशैली, उनी नेतृत्वको सरकारको असफलता र ओलीको अभिव्यक्तिका कारण पार्टीभित्र राजीनामाको माग पेचिलो बन्दै गएको ती सदस्यले बताए । 

'ओलीको राजीनामाको विकल्प छैन ', स्थायी कमिटी सदस्यले भने, 'धेरै चाँडो राजीनामा आउँछ ।' प्रतिपक्षी दलभन्दा पनि पार्टीभित्रै आलोचना तीव्र भएपछि ओलीले अब राजीनामा दिएर फेस सेभ गर्नुको विकल्प नभएको नेकपाका एकथरी नेता कार्यकर्ताको तर्क छ। अर्कोथरी नेता कार्यकर्ता भने पार्टी अध्यक्षको सम्पूर्ण जिम्मेवारी दाहाललाई दिएर पार्टी निर्देशन अनुसार प्रधानमन्त्री बनिरहनु अर्को विकल्प हुने ती नेताले बताए ।

पार्टीमा पूर्व माओवादी मात्र होइन पूर्व एमालेका प्रभावशाली नेता, पूर्व प्रधानमन्त्री भइसकेका नेताहरुका साथमा दोस्रो र तेस्रो श्रेणीका नेता समेत अध्यक्ष दाहालको कित्तामा उभिएपछि ओलीको राप र ताप फिका भइसकेको पनि ती नेताको जिकिर छ। पूर्व माओवादीकै भएपनि विवादका बेला कतै पनि नदेखिने गृहमन्त्री राम बहादुर थापा वादल पनि ओली इतरका नेताहरुको वैठकमा सहभागी भएबाट नेकपाको हावा कता चलिरहेको संकेत प्रष्ट छ। नेकपा पार्टीमा चलेको यो हावाले ओलीको राप र ताप सकाउँदै गर्दा झम्सिखेलको अँगेनोले नेकपामा नयाँ समिकरणलाई राप र ताप दिएर बल पुर्‍याएको विश्लेषण हुन थालेको छ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ