- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
आज श्रावण एक गते अर्थात् कर्कट सक्रान्ति, सूर्य दक्षिणायन लाग्ने दिन, लुतो फाल्ने दिन । असारको रोपाइँ सकेर हिलामैलो पखाल्ने र मिठो मसिनो खाने दिन । यसैपछि हिन्दूहरुका महत्वपूर्ण पर्वहरु नाग पञ्चमी, जनै पूर्णिमा, हरितालिका तीज, पितृ पूजा, दूर्गा पूजा, लक्ष्मी पूजा, छठ पूजा आदि, आदि आउने र मनाउने गरिन्छ ।
साउने सक्रान्ति आफैमा एउटा पर्व हो । यस दिनलाई लुतो फाल्ने दिनका रुपमा चिनिन्छ । यस दिन कण्डारक नाम गरेका लुतोका देवताको आव्हान र पूजा गर्ने चलन छ । चलन अनुसार घरको आँगन लिपपोत गरी चोख्याएर त्यहाँ पत्थरको प्रतिमा स्थापना गरी कुरिलो, अमिलो, बाबियो, चिउरी, भलायोका पात, मास, बेसार, फूलपाती धूप, दीप, नैवेद्य आदिका साथ कण्डारक देवताको पूजा अर्चना गरिन्छ र नाङ्लो वा थाल ठटाउँदै सल्किरहेको अगुल्टो घरको चारै दिशातर्फ फाल्दै लुतो, फुतो, छेरौटे, पेरौटे, पिलो, चोर खटिरो, भिरिंगी, उकुच सबै फलानो गाउँले लैजा भन्दै चिच्याइन्छ ।
बढ्दो सहरीकरण, आधुनिकता र परिवर्तित सांस्कृतिक चिन्तनका कारण नेपाली समाजमा परम्परादेखि चल्दै आएको यो चलन हराउँदै गएको छ । लुतो रोग अगुल्टो फालेर हराउने कुरा त होइन तर खेतीपाती गर्दाको हिलोमैलो पखाल्न शारीरिक रुपले सरसफाइ र नुहाइधुवाइ गरिने र पूजाआजाका साथ लुतो फाली मनोवैज्ञानिक रुपमा स्वस्थ रहने विश्वाससँग यो पर्व जोडिएको छ । यस लेखमा पनि लुतो फाल्ने चलनसँग नेपाली राजनीतिका मुख्य घटना र दृश्य परिदृश्यलाई जोडेर हेर्ने प्रयास गरिएको छ ।
नेपाली राजनीति र शासन प्रणालीमा पनि कोरोना भाइरसभन्दा घातक र डरलाग्दा लुतो, फुतो, छेरौटे, पेरौटे, पिलो, चोर खटिरो र भिरिंगीजस्ता रोग र प्रवृत्तिहरु रहेका छन् । गणतन्त्रको यो चरणमा आइपुग्दा पनि यस्ता रोगहरु सल्टिनुको सट्टा झनझन बल्झिँदै गइरहेका छन् । यस्ता रोगहरुको बढ्ता संक्रमण गोप्य र सवेदनशील ठाउँहरुमा हुने गर्दछ । एसएमएस तरिका अर्थात् साबुनपानीले हात धुने, मास्क लगाउने र सामाजिक दुरी कायम राख्ने तरिकाले कोरोना महामारीबाट बच्न सकिएला, लुतोपिलोबाट जोगिन सकिँदैन । नआइदिओस् भन्ने ठाउँमा आइदिन्छ, नहोस् भन्ने बेलामा भइदिन्छ ।
सरसफाइको अभावमा नै लुतो फैलने गर्दछ । जब लुतो शरीरभरि फैलिन्छ, पानीले नुहाएर सन्चो हुँदैन, स्क्याबिनको झोलले विहान बेलुकी नै नुहाउनु पर्दछ । जिउभरि लुतो बोकेको मान्छेले लाज र घिन बिर्सेको हुन्छ । लुतो असाध्यै चिलाउने रोग भएकाले त्यस्तो मान्छेले सार्वजनिक ठाउँमा उभिँदा पनि अरुको वास्ता गर्दैन र केही उपाय नलागे गोजीभित्र हात पुर्याएर भएपनि आफ्नो जलन मेटाउने प्रयास गरेको हुन्छ । लुतो नकन्याउँदा पनि शान्त हुन नसकिने र कन्याएपछि पनि दुखिरहने रोग हो । लुतोका यस्तै धेरै विशेषता हुने गर्दछन् । त्यसैले यहाँ लुतोसँग ठ्याक्कै मिल्दाजुल्दा केही लक्षण र विशेषतासहित नेपाली राजनीतिलाई तुलना गरेर हेरिएको छ ।
पहिलो कुरा त नेपाली राजनीति र शासन प्रणाली यति फोहोरी खेल भएको छ कि इमान, जमान, नैतिकता, आदर्श, मूल्य, मान्यता, विचार, सिद्धान्त भन्ने केही कुरा अलिकति पनि बचेको छैन । शासन सत्ताका सबै अंगहरु लुतोमय भइसकेका छन् । यसको नेतृत्व सत्ताको बागडोर सम्हाल्नेहरुले गरेका छन् । यस्ता मान्छेहरुले आफुलाई भ्रष्टाचार, कमिसन र बेइमानीको लुतो आएको छ स्वीकार गर्न चाहन्नन् । कसैले देखिहाल्यो भने यो लुतो हुँदै होइन भनेर अटेरी गर्दछन् । ढाकछोप र संरक्षण गर्दछन् र सामान्य रोग हो, तातो पानी खाए ठिक हुन्छ, बेसार लगाए ठिक हुन्छ भन्छन् । आफै लुतो बोकेर हिंडेका हुन्छन्, आफै डाक्टर, आफै अख्तियार र आफै न्यायाधीशभन्दा जान्ने बनेका छन् । सरसफाइमा अरुभन्दा अगाडि छु भनेर अरुको मानमर्दन गरेका छन् । तर्कहीन र अप्रमाणित कुरा मात्रै गरेर आफ्नो मर्यादा र स्तरबाट स्खलित हुने काम गरेका छन् । आफ्ना विचारको सरसफाइ कहिल्यै गर्दैनन् । हामीले हिंजो जनताको अगाडि के बोलेको थियौँ, उनीहरुलाई हेक्का छैन । आत्मालोचना कतै गरिँदैन ।
यस्ता मान्छेले लाज र घिन सबै बिर्सेका छन् । मूर्खले जस्तै अर्काले दिएको उपदेशलाई गाली सम्झिइन्छ । भित्रभित्रै कमिसन र भ्रष्टाचारको भैँसे लुतो पाकेर कापकापमा डुङडुङती गन्हाउन थालेको हुन्छ, सर्वसाधरणले नाक छोपेर हिंड्न थालेका छन् । राजनैतिक लुतो बोकेर हिंडेका मान्छेले नाक छोप्नेलाई नै हामीलाई हेप्ने भन्दै उल्टै गाली गरेका छन् । त्रेता युगका रामका कुरा गर्दै बरबराउन थालेका छन् । होस गुमाउन थालेका छन् । झुक्न खोज्दै खोज्दैनन् । कहिले उनीहरुले यो लुतोलाई किलोकिलो सुनले लुकाउन खोजेका छन् कहिले वाइडबडी जहाजले छेक्न खोजेका छन् । यो नेपाली राजनीतिको माथिदेखि तल्लो तहसम्म देखिएको पहिलो डरलाग्दो लक्षण हो ।
दोस्रो कुरा, लुतोबाट ग्रसित नेताले अरुहरुको पनि लुतो पिलो आउन सक्ने सम्भावित ठाउँहरु हेर्छन् । मुख हेर्दैनन् र मुख हेर्दिन भन्छन् । फेरि उनीहरुलाई जतिबेला पनि आफ्नै मात्र र आफ्नाको मात्रै पिर हुन्छ । जसरी शरीरमा आएको लुतोले आफुलाई जतिबेला पनि सुम्सुमाइदिए हुन्थ्यो भन्ने चाहन्छ । त्यसैगरी लुतो बोकेर हिंडेका राजनीतिज्ञहरुले सडक, संसद र अरु बैठकहरुमा आफु विरुद्धका कुरा आए भने भाग्ने, छल्ने, शंका गर्ने, बन्द गर्ने, धरपकड गर्ने तर आफ्नो पक्षमा कुरा भए भिडभाडमा पनि कोरोना भाइरस भाग्नेजस्तो गरी लुतो कन्याउँदै र सुमसुम्याउँदै आनन्द मान्ने प्रवृत्ति मौलाउँदै गएको छ । नेपाली राजनीतिको यो दृश्य देखेर जनताहरु वाक्कदिक्क बनिसकेका छन् ।
राजनीतिको मसिहा सम्झने यस्ता मान्छेले कहिले दक्षिण फर्केर लुतो कन्याउँछन् र उत्तरलाई गाली गर्दछन् कहिले उत्तर फर्केर आफ्नैलाई सराप्छन् । यस्ता मान्छे आफुप्रति सहानुभूति बटुल्न जे पनि बोल्छन् । वर्तमान आवश्यकतालाई हेरेर सम्बन्ध बनाउनुको सट्टा बिगार्दै हिंड्छन् । कहिलेकाहीँ उनीहरुलाई लुतोका कारण यस्तो पीडा र डाहा भइरहेको हुन्छ कि यत्रतत्र भौतारिन्छन् । शितल खोज्न शीतलनिवास पुग्छन्, बुढानिलकण्ठ पुग्छन्, मध्यरातमा फनफनी बालुवाटार घुम्छन् । महोत्तरीदेखि होटल मेरियटसम्म चाहार्न भ्याउँछन् ।
जनताको भोक, रोग र समस्यासँग उनीहरुलाई केही सरोकारै हुँदैन । लुतोबाहेक अरु रोगै देख्दैनन् । छिमेकी देशका कोही चर्चित मान्छे बिरामी परे स्वास्थ्यलाभको कामना गर्न हतार गर्छन् तर आफ्नै देशका दर्जनौँ मान्छे मर्दा कोरोनाले होइन भन्छन् । बाढीपहिरोले ठुलो जनधनको क्षति भइरहेको छ, उनीहरु आफ्नै लुतो कन्याउनमा व्यस्त छन् । यस्ता राजनैतिक पात्र र प्रवृत्तिहरु पर्दाअगाडि मुख देखाउन लालायित भइरहन्छन् । मिठामिठा कुरा गर्दछन् कथा सुनाउँछन् र कसैले पनि मेरो लुतोको कुरा नगरिदिए हुन्थ्यो भनी ललीपप देखाएर फकाउन र नमाने अध्यादेश ल्याएर धम्क्याउन पनि पछि पर्दैनन् ।
तेस्रो कुरा, नेपालका लुतोप्रिय राजनीतिज्ञले छक्याएर, झुक्याएर, ढाँटेर, टाँसेर के गर्दा लुतो अरुमा सार्न सकिन्छ, अरुलाई पनि लुते र फोहोरी बनाउन सकिन्छ, हरसम्भव प्रयास गरेका छन् । उनीहरु अरुमा लुतो सार्न सक्नुमा बहादुरी सम्झन्छन् । त्यतिबेला उनीहरुले आफुमा लुतो भएको कुरा बिर्सन्छन् र औँला ठड्याएर अरुको लुतो देखाउन खोज्दछन् । लुतोले मात्रै होइन, चुन जुम्रोले पनि यिनीहरुलाई हैरान बनाएको छ । यही दोहोरो पीडा बिर्साउन मार्सी चामल खोज्दै पनि हिंड्छन्, होली वाइन र एमसिसीका पछि पनि ज्यान फालेर लाग्छन् र अझै लाग्दै पनि छन् । हावादारी सपना देखाएर लुतो छोप्न खोजेका थिए, आधा समय लुतो कन्याउन र अरुमा लुतो सार्नमै बिताए । यतिबेलासम्म जनताका अगाडि मुख देखाउन नसक्ने भइसक्ने थिए । कोरोनाले गर्दा मुखौटो लगाउनाले उनीहरुलाई बहुत सजिलो भएको छ । यही मुखौटोले स्वास्थ्य सामाग्री खरिदमा भएको भ्रष्टाचारको लाज छोपेर बसेका छन् ।
राजनैतिक लुतो भएको मान्छेको अर्को महत्वपूर्ण विशेषता के हो भने त्यस्ता मान्छेले आफुलाई प्राय सुकिलो, टिपटप र विज्ञ बनाउन खोजेका हुन्छन् । लुतो पाकेर पिप बाहिर निस्केको र दुनियाँले थाहा पाइ सकेको उनीहरुलाई पत्तै हुँदैन तर एउटा हातले आफ्नो सुके लुतो कन्याउँदै अर्को हातले इसारा गर्दै मजस्तो सुकिलो राष्टवादी अरु कोही छैन भन्ने ठान्दछन् । विगतमा आफुले गरेका राष्ट्रघात र बेइमानी सबै अरुले बिर्से होलान् जस्तो मान्दछन् । लुतो भएका राजनीतिक क्षेत्रका माननीय सम्माननीयहरुले लुतो नभएको बेलाको ब्याज खाएर कुशल शासकको अभिनय गर्न खोज्दछन् । यस्ताले लुतो कन्याउँदा कन्याउँदा कपडा झरेको थाहा पाएका छैनन्, इजारको पिर गरेर बसेका छन् ।
लुतोलाई लुकाएजस्तै अपराध, अपहरण, अनैतिकता, अध्यादेश, अकर्मण्यता, अतिवादिता, अनियमितता, आडम्बरीलाई लुकाएर बाहिर साधु, सज्जन, सन्त, सहकार्य, समझदार, सगोत्री र संवेदनशील जस्तो देखिन खोज्नु नेपाली राजनीतिमा मियो बनेकाहरुको घातक प्रवृत्ति हो । यस किसिमको घातक र डरलाग्दा पात्रहरुका बारेमा यहाँहरुले पक्कै पनि जानकारी राख्नुभएकै छ । गणतन्त्रका लागि एउटा सिन्को नभाँच्ने, गणतन्त्रको निम्ति लडिरहेका मान्छेको खिल्ली उडाउने व्यक्ति र प्रवृत्तिले शासन गर्नाले आज नेपाली राजनीतिको लुतो झनझन् पेचिलो हुँदै गइरहेको छ ।
यातायात सिन्डिकेट तोड्ने, गुठी विधेयक, र पार्टी फुटाउने अध्यादेश जस्ता दर्जनौँ गतिविधिहरु लुतो कन्याउँदा कन्याउँदै असफल भइसकेका छन् । यही लुतोका कारण दुई तिहाइको सत्ता राजनीति कुरुप भइसकेको छ र उकुचमा परिणत हुँदै गइरहेको छ । यस्तो लुतोमय प्रवृत्ति रहेसम्म देश र जनता सुखी र खुसी नहुने भएकाले यो राजनैतिक विकृतिजन्य लुतोलाई फाल्नै पर्ने आवश्यकता देखिएको छ । अब यो लुतो सर्वसाधरण मान्छेका बलले फालिने अवस्थामा छैन । लुतोका देवता कण्डारकलाई नै बोलाएर अगुल्टो जिम्मा लाउन पर्नै अवस्था आइसकेको छ । त्यसपछि नांग्लो र थाल ठटाउने काम तपाईँ हाम्रो है त !
कण्डारकासुराधीश ग्रहाण दीपमुत्तमम्
सरलेन्धनसंभूतं ममारिष्टं विनाशय ।