arrow

मृत्युशैयाको नाटक

logo
रेवती प्रसाद भूसाल
प्रकाशित २०७७ साउन २ शुक्रबार
rewati-prasad-bhusal.gif

आठ दश वर्ष पहिले एउटा लामो हिन्दी टेलीश्रृंखला चलेको थियो । 'घरघर की कहानी' को चर्चा त्यस समयमा काठमाडौंका भेटघाटमा हुन्थ्यो। प्राय हरेकले त्यो श्रृंखलाका पात्रहरुका बारेमा चर्चा गर्ने गरेकाले उत्सुकताबस केहि भाग मैले पनि हेरे । सभ्रान्त परिवारहरुको चरित्र दर्शाउने श्रृखला रहेछ । हजार करोड रुपैयाँ भन्दा तलको कुरै नहुने । त्यसको बिशेषता हरेक श्रृंखलाको अन्त्यमा सस्पेन्स कायम राख्दो रहेछ,अब के होला भन्ने ? त्यसको लागी अर्को इपीसोड हेर्ने खुल्दुली लागिरहने । कुनै अर्थ, उपयोगिता र शिक्षा केहि नभएको बास्तविक जीवनको थोरै पनि प्रतिनिधीत्व नगर्ने ब्यर्थ सिरीयल लागेपछि हेर्न छाडिदिएँ । त्यसका तीन प्रमुख पात्र थिए। महिला पात्र प्रेरणा पुरुष पात्र अनुराग बासु र बजाज । मानिसहरु कतिसम्म प्रभावित थिए कि कहिले अनुराग बासु मर्यो भनेर रुने कहिले प्रेरणाको छोरो गायब भयो भनेर रुने यस्तै यस्तै गरी रहने । लामै समय चल्यो होला त्यो सिरीयल कसरी टुङ्गियो थाहा छैन।

अहिले नेपालमा पनि नेकपाले बिगत पाँच महिनादेखी त्यस्तै एउटा नाट्यश्रृंखला चलाइराखेको छ । रचनाकारहरुले यसको नामाकरण नगरेका हुदा हेरिसके पश्चात हामी नै नामाकरण गरौला । यसका पुरुष पात्र त धेरै छन आमने सामनेमा नेकपाका दुई अध्यक्ष छन् । नायिका भने अति आकर्षक, सबैलाइ लोभाउने अनुहार नदेखिने बिचित्रकी सुन्दरी जो सिंहदरवारमा बिराजमान छिन् । सिंहदरवारकी सुन्दरी जो आएपनी आफ्नो मादकता भित्र समेटेर मदहोस गराउन तयार छिन् । तिनीसँग आलिङ्गित हुन बाहिर ठूलो प्रतिस्पर्धा छ । एक पटक सुन्दरीको स्पर्स पाएर छुट्टीनु परेकालाइ कतिबेला तीनलाइ आलिङ्गन गर्न जाने छटपटी छ, हासिल गरिरहेकालाइ बियोग हुने हो की भन्ने चिन्ता छ, स्पर्सनै गर्न नपाएकालाई कसरी कतिबेला स्पर्स गर्न पाइने हो भन्ने ब्यग्रता छ । यिनै बिचित्र सुन्दरीको प्राप्तीको लागी बहुनायकहरुका बिचमा भएको प्रेम संघर्षको यो नाट्यकथाले धेरै नेपालीलाइ रोमाञ्चित गराइराखेको छ।

यती जीवन्त छ यो नाटक कि नायक सहनायकहरु आपसमा भिडदा आफुहरुसंगै पार्टी भित्रका सम्पूर्ण बडे कामरेड छोटे कामरेडहरुलाइ भिडन उत्तेजित गराएका छन् । कोही सडकमा भिडछन, कोही सञ्चार माध्यमबाट भिडछन, कोही सामाजिक संजालबाट भिडछन् । देश भित्र मात्र भिडेर सन्तोष नभएर बिदेशमै पनि भिडछन् । अरब खाडीको गर्मीमा भवन निर्माणस्थलबाट कोठामा आएका एउटा कामरेड ढोकाबाट छिर्ना साथ मोबाइलबाट फेसबुकमा स्टाटस पोष्ट गर्छन- खबरदार राष्ट्रवादी सरकारलाइ कार्वाही गरौला ! राष्ट्रघातीहरु ! कार्वाही गर्यौ भने एकता भङ्ग हुन्छ, पार्टी फुटछ । त्यस पछी बल्ल पसिना पुछ्दछन र पानी पिउँछन् । उनले पानी पिउँदा पिउँदै भर्खर भेंडा चराएर त्यही कोठामा आएका अर्का कामरेडले फेसबुकबाट प्रतिउत्तर ठोक्छन-कम्युनिष्ट पार्टीमा बहुमतको निर्णय अल्पमतले नमानेर कमिटी प्रणालीलाइ स्विकार नगर्ने ? अराजकहरु होसियार ! निर्णय मान्नै पर्दछ, पार्टी फुटाउन पाइदैन, अनी कोठाको तापक्रम घटाउन एसी चलाउँछन् । भारतमा मृत्युको मुखबाट फुस्कने आशामा घर आउन पैदल हिडेका कामरेड मध्येका एक सिमा नजीकै भारतीय क्वारेन्टीन भित्रै उफ्रिन्छन-बिस्तारवादका दलालहरुले राष्ट्रवादी सरकार ढाल्न लागे पार्टी फुटने भयो । छेवैमा पानी नपाएर छटपटाइरहेका कामरेडले टाउको उठाउदै भन्छन-पार्टी फोर्नु हुदैन कामरेड, बहुमतको निर्णय मान्नु पर्दछ भन्दा भन्दै बेहोस भएर ढल्छन् । मलेसिया, युरोप, अमेरिका, अष्ट्रेलीया संसार भर फैलिएका सबै कामरेडहरुसंग अहिले समर्थन र बिरोधको महान क्रान्तीकारी बहस चलेको छ । यस्तो लाग्छ ती अनुहार देख्न नसकिने (आलिङ्गन गर्न पाउनेले देख्छन कि ? ) सुन्दरी नायिकाको मदको वासना सिंहदरवारबाट उडदै संसारभर फैलिएका कामरेडका नाकसम्म पुगेको छ र सबै मदहोसीमै छन।

यो श्रृङ्खलाको लोकप्रियता नेपालमा मात्र सीमीत छैन । उत्तर, दक्षिण, पाताललोकलाई पनि यसले आकर्षित गरेको छ । दक्षिणतर्फको गेरुवा बस्त्रधारी सिंह टेलिभीजनबाटै गर्जन्छ-पहिला मलाइ गुरु मानेर मन्त्र लिने गर्ने अहिले अर्कोलाई गुरु बनाएर मलाइ आँखा देखाउने, मन्त्र फुकेर पछारी दिन्छु । उत्तरको रातो टाइवाला ड्रागनले फुँकार छोडदै कराउछ-बिआरआइ सी बिचारधारालाई अलपत्र पार्ने । मैले कती मेहनत गरेर जुटाएर बिवाह गराएको, पारपाचुके गरौला खबरदार ! पाताललोकबाट चीलले चेतावनी दिन्छ ड्रागन र सिंहले राम्रो शिक्षा दिएनन, मेरो आशिर्वाद लेउ सबै आनन्दीत हुन्छौ । यस जीवन्त कथाका नायक सहनायकहरु तीन महान गुरुहरुलाई एकै पटक अखाडामा तान्न सकेकोमा प्रसन्न छन् । आश्चर्य लाग्दो त यो छ की यस नाट्यकथाको खलनायक को हो त्यो अहिलेसम्म दर्शकले ठम्याउन सकेका छैनन ।

सम्पूर्ण कलाले युक्त छ यो नाट्य कथा । नेपालीहरु कोरोनाबाट त्रस्त छन । मानिस मानिससंग नै डराइ रहेकाछन् । कोरोनाकै कारण काम गर्न नपाएर भोकबाट मरीने हो की उपचार नपाएर अन्य रोगबाट मृत्यु हुने हो भन्ने सुर्ताले अझ बढी आतङ्कित छन् । मानिसहरुलाई डरमा राखेर शासन गर्ने मन्सुबा भएका नेकपाका नायक सहनायकहरु नेपालीहरु आतङ्कित बनेकोमा आनन्दित छन् । त्यसैले आपसमा मल्लयुद्ध गर्न चारैतिरबाट सैनीक पहराले सुरक्षित अखाडामा जम्मा हुन्छन र एक अर्कालाई हाँक दिन्छन् । कहिले सुन्दरी च्यापेकाले ढाल्न खोज्छ कहिले सुन्दरी खोस्न खोज्नेले ढाल्यो कि भन्ने गराउँछ । श्रृङ्खला चाँडो अन्त्य होला भनेर बिचबिचमा एक अर्को समुहका सहनायकहरु कहिले बामन अवतार बनेर समुह बदल्दिन्छन, कहिले बर्षाको कालो बादल भएर ठाउ सर्दै बर्सन्छन र युद्धमा रोमाञ्चकता थपी दिन्छन् । रोग, भोक र महामारीले आतङ्कित मानिस पनि झ्याल, ढोका, झुपडीको प्वालबाट यही दृष्य हेर्दै चित्कार युक्त हाँसो हास्दछन् । भित्र अखाडाबाट आवाज आउछ तैले राम्रो गर्न सकिनस, एक्लै खाइस अब पालो पुग्यो हामीलाइ छोड । अर्कोको जवाफ आउँछ तैले गर्नै दिइनस, पाइला पाइलामा अबरोध गरिस मलाइ खुला छोड तेरो पालो अर्को पटकको लागी हो । यो अवधिभर चुप लाग मैले जती दिन्छु त्यती मै सन्तोष गर । हुन त के नगरेको र के गर्न नदिएको भन्ने कुरा हल्लाले बुझिदैन । तर यती त पक्कै बुझियो कि नगरेको पनि रहेछ, गर्न नदिएको पनि रहेछ । अब दुबैलाइ दोषी भन्ने कि दुबैलाइ निर्दोष मान्ने ? दर्शक नै अलमल । कती सजीब छ यो नाटक ।

सिद्धार्थ गौतम लुम्बिनीमा जन्मिए । कपिलवस्तुका युवराज भए । उनलाइ सन्तोष भएन । सधै प्रश्न आइ रहे । रोग किन ? मृत्यु किन ? दुखी किन ? दुख नै किन ? उनलाइ यतीसम्म प्रश्नले सतायो कि म नै को हुँ भन्ने लाग्यो । कारण खोजे, उत्तर पाउने अपेक्षा गरे । कहि कोहीबाट जवाफ आएन । राजपाट त्यागेर साधनामा हिडे, लामो साधना पछी उत्तर प्राप्त गरे । त्यही ज्ञान बाँडेर बुद्ध बने । यो पच्चिस सय वर्ष अघीको कुरा थियो । आज भोली त्यती कष्ट गर्नै पर्दैन । राजपाट छाडनै पर्दैन । राजपाट लिनु पर्छ प्रश्न झर्ना साथ उत्तर फटाफट आउछन । मलर सदा खान नपाएर मरे । कामरेडको जवाफ आयो दारु धेरै पिएर मरेको हो । सुर्य बहादुर तामाङ भोकले मरे कामरेडको जवाफ आयो दुर्घटना बाट मरेको हो । राजु सदा अस्पताल भित्रै उपचार नपाएर जीवनजल नपाएर निर्जलीकरण भएर छटपटाउदै मरे, कामरेडको जवाफ आयो मानसिक समस्या थियो । जब चारैतर्फबाट सबैले भन्न लागे खान नपाएर र उपचार नपाएर मरेका हुन । कामरेडहरुको परिस्कृत उत्तर आयो ती नागरिक नै थिएनन, नागरिकता परिचयपत्र नै थिएन । नागरिकलाई सरकारले खुवाउने उपचार गर्ने भनेको हो अनागरिकलाई होइन । यो पाली कामरेडको जवाफ सत्य थियो । तिनीहरुसंग नागरिकताको प्रमाणपत्र थिएन । तिनीहरुसंग प्रमाणपत्र बनाउन सक्ने न त आर्थिक सामर्थ्य थियो न त पहुँचवाला आफन्त जस्ले राज्यबाट स्वत:प्राप्त हुनु पर्ने हक दिलाउन मद्दत गरुन । तिनीहरु कुनै पार्टीका सदस्य पनि थिएनन, भोटर हुने त सम्भावना नै रहेन । नेपाल सरहद भित्र बस्ने प्राणी मात्र थिए । प्राणी त कमिला पनि हो । हिडदा कती कुल्चिएर मर्दछन, हिडन छाडिन्छ र ! तिनीहरु पनि कामरेडको दृष्टीमा त्यस्तै त हुन नी । सिद्धार्थ बुद्धु(?)थिए, राजपाट त्यागेर दुख कष्टयुक्त साधनाको मार्ग चुने । अहिलेका कामरेडहरु चलाख छन् । राजपाट पाउनु पर्दछ पाए पछी जवाफ फुरी हाल्दछ । अहिले विज्ञ भनाउदाहरु पीसीआर टेष्ट नघटाउ खतरनाक हुन्छ भन्छन । कामरेडहरुको जवाफ हाजिर छ दक्षिण एसियामा अगाडी छौ । अगाडी भए पुगी हाल्योनी, रोग त कती जनासंग हुन्छ हुन्छ, जती जाँच्यो उती देखिने न हो । किन धेरै जाँचेर रोगी मात्र बढाउनु । यो श्रृङ्खला हाजिर जवाफको लागी पनि ज्ञानबर्धक छ ।

संस्कृतमा एउटा निती श्लोक छ-'तुष्यन्ती भोजने विप्रा, मयूरा घन गर्जिते । साधवो पर सम्पत्तौ, खला र विपत्तिषु'।। ब्राह्मण भोजनले नै सन्तुष्ट हुन्छन, मयूर मेघ गर्जदा रमाउछन, साधुजन अरुको सुखमा आनन्दित हुन्छन, तर दुष्टहरु अरुलाई दुख आइ पर्दा खुसीयाली मनाउँछन । शकुनीका कपटी पासाबाट जुवामा पराजित भएर पाण्डब बनवासमा गए । कौरबलाइ यत्तिले सन्तोष भएन । पाण्डबहरुको दुख हेरेर अझ बढी आनन्दित हुने मन लाग्यो र लावालस्कर लिएर पाण्डबको झुपुडो नजिक त्रीपाल टाँगेर राजसी ठाँटबाँठ सहित बस्न पुगे । नाचगान मदिरा पान गर्न लागे । मदमस्त भै गन्धर्ब कन्यामाथी हातपात गर्न पुगे पछी आपत आइ लाग्यो । पछी तीनै पाण्डब आएर छुटाए । त्यो द्वापर युगको कथा हो । कलीयुगमा नेकपाले बेग्लै कथा रचना रचेको छ । नेपालीहरु दुखी छन् । महामारीको भय छ । अन्य रोगको उपचार नपाइने डर छ । निम्न र निम्न मध्यम बर्गलाइ काम गर्न नपाइने, काम नभए पछी खान पनि नपाइने दुख छ । मध्यम बर्ग ब्यवसाय चौपट भएर ऋणमा डुबी भिखारी बन्नु पर्ने स्थितीबाट भयग्रस्त छ । कलीयुगिन सभ्रान्त कौरबहरुमा यि निमुखाहरुको दुखमा आनन्दीत भएर सिंहदरवारकी सुन्दरीसँग आलिङगन गर्ने प्रतिस्पर्धा छ । अरुलाइ विपत्ती पर्दा आनन्द आउने कामरेडहरु कस्ले आलिङ्गन गर्ने भनेर मल्लयुद्ध गर्दैछन् । प्याला र प्यादा थप्दै जाने युद्ध गर्दै जाने हार जीत नहुने मल्लयुद्ध ।

शिसिर, वसन्त, गृष्म हुदै वर्षा ऋतु शुरु भयो । सधै जस्तो वर्षाले ताण्डब नृत्य देखाउन थाल्यो । महामारीको आतङ्कको रमाइलो हेर्दा वाक्क हुनु भएका कामरेडलाइ अर्को अवसर जुरेकोछ । बाढी पिडीतहरुसम्म पुगोस नपुगोस खजानामा हात मार्ने अर्को बहाना पनि मिल्यो । त्यसैले अहिले एक हप्ता बिश्राम लिनु भएको छ । ड्रागनको कडा निर्देशन पनि छ । सगोत्रीबाट दिक्षामन्त्र लिइ सके पछी गुरुको आदेश पालन गर्नु शिष्यको कर्तब्य बन्दछ । त्यसैले यस्तो लाग्छ कामरेडहरु अन्तिम दृष्यको तयारीमा हुनुहुन्छ । अन्तिम दृष्यलाइ कसरी भब्य बनाउने भनेर छलफल चलाइ रहनु भएकोछ । म जस्ता छल मात्र पाएका दर्शकहरुमा फलको आशा नभएता पनि पर्दा गिरेको हेर्ने उत्सुकता भने कायम नै छ ।

हामी नेपाली सुखान्त चलचित्र, नाटक, कथा हेर्न पढन रुचाउछौ । धेरै पहिले लेखिएका रामायण, महाभारत यथार्थमा दुखान्त थिए । त्याग गर्न र दुख उठाउन तयार हुने चरीत्रको निर्माण गरिएको थियो तीनमा । त्याग गर्ने र दुख सहने नायक भएका ती कथाहरुको शिक्षा हामीले लिएनौ । त्यसैले यो शृङ्खला सुखान्त बनोस भन्ने सबैको चाहना छ । कसैले हाँक नदिइकन आफ्नै सुरमा जुवा खेली राजपाट हारेका २-४ जना बनवासीहरुलाई दुखान्त नहुदा नमज्जा लाग्ला । ती त अपवाद मात्र हुन । तिनकै समुहका अधिकांस बनवासीले पनि सुखान्त नै खोजेका छन् । दृष्यमा रातो टाई, निलो स्कर्ट, गुलाफी लिपीष्टीक र काँटेदार बुट लगाएको बिचित्रको प्राणीले चहल पहल गरेको र त्यसको भयले चीलको च्याँ च्याँ र सिंहको गर्जन पनि मधुरो भएकोले हाम्रो अपेक्षा अनुसारकै अन्तिम दृष्य हुने संकेत देखिन्छ । हुन त यो श्रृङ्खलामा म जस्ता दर्शकको लागि कोही नायक या खलनायक नभएकाले जस्को पल्ला भारी भए पनि फरक पर्दैन । सुखान्तको आकांक्षा त यत्रो मेहनत गरेर नाट्य श्रृङ्खला चलाउने समुह तितर बितर नहोस भन्ने मात्र हो । यस्मा मेरो र म जस्ता दर्शकको एउटा मात्र स्वार्थ छ, यो समुह एकजुट रह्यो भने बाँकी रहेको आधा अवधीमा फेरी अर्को र यो भन्दा मजेदार कथानक भएको श्रृङ्खला हेर्न पाइने छ । किनकी पाच वर्ष सम्म नाटक हेर्ने टिकट पहिल्यै काटी सकिएको छ । आशा गरौ यो पाच वर्ष भित्र फेरी अर्को टिकट काटन नपरोस । अन्त्यतर्फ पुग्न लागेको यो नाटक को नाम "नेकपा नाट्य श्रृङ्खला भाग-१" भन्दा उपयुक्त होला । मृत्यु शैयाको छटपटीमा रहेका दर्शकलाइ पनि कलायुक्त नाटक प्रदर्शन गरी मनोरन्जन दिएर मृत्यु सहज बनाइ दिन सकेकोमा नेकपालाई बधाइ। ( भूसाल नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य हुन्। )



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ