arrow

असारको दही चिउरा, साउनको खीर र स्वास्थ्यमा यसको प्रभाव

logo
डा किरण पौडेल, 
प्रकाशित २०७७ साउन ३ शनिबार
dahi-chiura.jpg

हामी नेपालीहरुले असारको पन्ध्र गते धान रोप्दै दही चिउरा खाने प्रचलन धेरै लामो समयदेखि चल्दै आएको छ । गाउँ-घरमा असारे रोपाइँको चटारो परिरहदा खेतमा काम गर्दै, दही चिउरा खाँदै राेपाईमा कृषकहरु तल्लिन रहन्छन् भने शहरमा असार पन्ध्र नै पारेर दही चिउरा खाने कार्यक्रमहरु आयोजना हुँदै आएको छ । त्यसरी नै साउन पन्ध्रमा खीर खाने परम्परा चल्दै आएको छ ।

असार-साउन महिना वर्षा अधिक हुने समय हो । बैशाख-जेठ महिनाहरुमा घामको ताप अधिक हुन्छ । पानी पर्ने सम्भावना कम हुने हुनाले जमिनमा सुख्खापन पनि ज्यादा हुन्छ । बैशाख-जेठको तापिलो घामको कारण जमिनमा रुखोपन बढेको हुन्छ । जमिनमा उत्पन्न हुने खाद्यान्नमा मानिस-पशुपन्छिलाई आवश्यक पर्ने आधारभुत खाद्य तत्वहरुको कमी हुन्छ । घामको ताप धेरै हुनाले जमिनबाट पानी लगायतका जलिय तत्वहरु वाफ बनाई नष्ट गर्दछ । गर्मीले बैशाख-जेठमा मानिस क्लान्त हुदैँ जान्छ । थकावट बढ्छ भने शरीरमा काम गर्ने शक्तिको पनि कम हुँदै जान्छ । यसरी मानिसको शरीर दुर्बल हुन्छ । यस शरीरमा वातावरणीय प्रभावकाे कारण पाचन शक्तिको कमि हुन्छ । असार-साउनमा आकाशबाट परेका पानी घामको तापले जमिनबाट वाष्प बनेर आकाशमै जाने क्रम पनि चलिरहेको हुन्छ । यस वातावरणीय प्रकृयाले गर्दा मानिसको दुर्बल शरीर अझै क्षीण हुन्छ । खाना पचाउने शक्ति धेरै कम हुन्छ, पानी अधिक पर्नाले मानिसले प्रयाेग गर्दै आएको स्वच्छ पानी पनि धमिल्लिन गई फाेहाेर हुन्छ र कमजोर शक्ति भएको मानिसकाे शरीरमा फाेहाेर पानी कै कारण अनेक राेगहरु उत्पन्न भई विमारी हुन सक्दछन् । पानीबाट फैलने संक्रामक राेगले संक्रमित हुने सम्भावना अधिक हुन्छ । मानिसले आफुले खाएको अन्न नै पचाउन नसक्ने हुनाले शरीरमा राेग उत्पन्न हुनु निश्चित झै हुन्छ । तसर्थ, अन्न पाचन शक्ति बढाई शरीरको बल बढाउनु अति आवश्यक हुन्छ । पाचन शक्ति बढाउनकाे लागि हरेक गाउँ-गाउँमा मानिसहरुले औषधिकाे प्रयाेग गर्ने कल्पना बाहेक अन्य उपाय हुन्न । शरीरलाई आवश्यक पर्ने तत्वकाे पूर्ती आहारबाट नै हुन्छ । असार-साउन महिनामा आहार त्यस्ताे हुनुपर्छ जसले शरीरलाई बल दिनुकाे साथै अन्न पचाउन पनि सजिलाे हाेस् । तसर्थ असारकाे मध्यमा दही चिउरा खाने प्रचलन छ, जसले शरीरमा आवश्यक पर्ने पाचन शक्तिकाे निर्माण गर्नुका साथै बल प्रदान गर्छ र साउन मध्यमा खाईने खीरले शरीरमा बल प्रदान गर्छ साथै पाचन कार्यमा पनि सहयाेग गर्छ । याे संस्कारले असार-साउन महिनामा खान याेग्य आहारहरुलाई दर्शाउछ ।

हामीले सेवन गर्ने दही अनेक स्वादयुक्त हुन्छ- अमिलाे, गुलियाे, गुलियाे-अमिलाे, धेरै अमिलाे, धेरै गुलियाे र कुनै स्वाद नै नभएको । दहीले पाचन शक्ति बढाउने, खानामा रुचि लगाउने र शरीरमा बल बढाउने हुन्छ । दही प्रयाेग गर्दा गुलियाे दही उत्तम हुन्छ । याे दहीले पाचन शक्ति ठिक राख्ने, पच्नमा सहज हुने, शरीरकाे रक्षा गर्ने हुन्छ । धेरै अमिलाे दही र ठीक प्रकारले नजमेकाे दही खानु हुन्न, यसले शरीरमा हुने रगत र वायुलाई दुषित गर्दछ । दही गाई, भैंसी, बाख्राकाे दुधबाट तयार गरिन्छ । गाईकाे दुधबाट तयार गरिएको दही सेवन गर्नु राम्रो हुन्छ । यसले खानामा रुचि उत्पन्न गर्नुकाे साथै सुपाच्य हुन्छ । दही खाँदा मिश्रिकाे साथ प्रयाेग गरेर खाँदा राम्रो फाइदा हुन्छ, शरीरमा यसरी प्रयाेग गर्दा शितलता प्रदान गर्छ । रातीमा दही खानु हुदैन । रातीमा दही खाएमा शरीरलाई आलस्य बनाउने हुन्छ र शीर, घाँटी, जाेर्नीहरुकाे राेग उत्पन्न गर्नमा सहयाेग गर्दछ । चिउराले शरीरमा उत्पन्न विकृत वायुकाे नाश गरि बल बढाउँछ । दही चिउराले शरीरमा उत्पन्न दाहकाे शमन गर्ने, बल बढाउने जस्ता हितकारी काम गर्छ । असार महिनामा यस्तै प्रकारकाे अन्नपान गरेमा शरीरकाे रक्षा हुन्छ ।

खीर दुध, घिउ, घिउमा भुटेकाे चामल, चिनी, किस्मिस, छाेकडा, नरिवलकाे स-सानो टुक्राहरु जस्ता पाेशिलाे अन्नहरु मिलाई पकाएर तयार गरिन्छ । यसले शरीरलाई बल दिने हुन्छ । असार महिनामा दही चिउरा जस्ताे खाध्यान्न खाएर पाचन शक्तिलाई जाेगाउदै साउन महिनामा खीर खानाले निश्चय नै शरीरकाे वृद्धि विकास हुन्छ ।

यसरी असार-साउन महिनामा हलुका, सजिलोसँग पच्ने, पाचनमा सहयाेग गर्ने शरीरलाई बल दिने खानपिनकाे प्रयाेग गर्नुपर्दछ । यी महिनाहरुमा पानी तताएर सेलाएकाे पिउने, पुरानाे चामल, गहुँ, मक्कै सेवन गर्नुपर्दछ । सफा कपडा लगाउने, हलुका व्यायाम गर्ने, मनलाई स्थिर राख्ने प्रयत्न गर्नुपर्दछ । यी महिनाहरुमा दिनमा सुत्ने, पानी सफा नगरि पिउने, अधिक पानीमा रुझ्ने, स्त्री सहवास धेरै गर्ने, मैथुन धेरै गर्ने, धेरै व्यायाम गर्ने जस्ता कामहरु गर्नु हुदैन ।

(पौडेल राष्ट्रिय आयुर्वेद संस्थान, जयपुरमा आवद्ध छन्)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ