arrow

कमरेड अध्यक्षका छोराछोरीको ‘प्रगतिशिल वालविवाह’

नेकपा नेता जनार्दनले पठाएको ३० हजारको गिफ्टको गाउँभरी चर्चा

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ साउन ८ बिहिबार
rukum-child-marriage.jpg

रुकुम पश्चिम। समाजमा हुने वा हुनसक्ने विकृति, विसंगति र अपराधको अन्त्य गराई कानूनी राज्यको सुनिश्चितता गराउनुपर्ने जिम्मेवारीमा बसेका जनप्रतिनिधिले नै कानूनको बर्खिलाप गरेपछि ‘कानून चाहि चौताराको मादल’ झै भएको गुनासो बढेको छ।

रुकुममा बाल विवाहको अवस्था डरलाग्दो भएको भन्दै बालविवाह बिरुद्ध संगठित वाल क्लबहरु जनप्रतिनिधिकै संरक्षणमा वाल विवाह भएपछि निस्कृय अवस्थामा पुगेका छन्। जनप्रतिनिधिले नै आफ्ना छोराछोरीको बालबिबाह गराएपछि वालविवाह बिरुद्ध काम गर्ने निकायहरु तै चुप मै चुपको अवस्थामा पुगेका हुन्।

रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष तथा नेकपाका नेता चन्द्रबहादुर केसीले आफ्ना दुई सन्तानको धुमधाम बालविवाह गरिदिएका छन्। ‘छोरा प्रकाश देवकोटाको १८ बर्ष नपुग्दै उनले धुमधामसँग विहे गराइदिएका थिए’ केसी निकट एक स्थानिय भन्छन्,–‘प्रगतिशील विवाहको व्यानरमा गरिएको उक्त विवाहमा लाखौँ खर्चेर मासुभात सहितको भोजभतेर चलाइएको थियो। पुर्व मन्त्री जनार्दन शर्माले समेत बर्सीको स्वरुप तीस हजार नगद पठाएको भन्दै चर्चा गाउँभरि थियो।

प्रगतिशील बिहेको नाममा अध्यक्ष केसीले फजुल खर्चलाई जोड दिएका थिए। नेकपाकै एक कार्यकर्ताले प्रचलित कानूनको बर्खिलापमा जनप्रतिनिधि लागेको बताए। प्रगतिशील विवाहको ब्यानरको सामुन्नेमा बेहुलीको सिउँदो रंगाउदै दक्षिणा र बर्षीको स्वरुप नगद रकम उठाएको कुराले प्रगतिशिल बिबाह शब्दको धज्जी उडाएको उनको भनाई छ। उनका छोरा १८ बर्षको नपुग्दै उनले २०७४ साल माघ २४ गते विवाह भएको थियो। २०५७ साल पुस ३ मा जन्मेका प्रकाश अझै बिस बर्ष भने पुगेका छैनन्।

यतिमात्र हैन, छोरी कोपिला केसीको पनि १७ बर्ष नपुग्दै उनले विवाह गरिदिएका छन्। कोपिला प्रकाश भन्दा कान्छी हुन्। यसरी जनप्रतिनिधिले नै धुमधाम आफ्ना सन्तानको वाल विवाह गराउँदा न प्रहरी न त अधिकारकर्मीहरुले नै बोलेका छन्। विवाहको बखत छोरी ज्वाइँलाई केही समय दाङ र नेपालगन्ज आफन्तकोमा राखेका उनले अहिले घरमै राखेका छन्। 

गाउँपालिकाले हालै सबै वडाको वस्तुगत विवरण संकलनको लागि तयार पारेको फाराममा विवाह हुँदाको उमेर समाबेश गरेको छ। उक्त सर्वेक्षण कार्यमा संलग्न एक स्वयमसेवकले करिब ९० प्रतिशतको उमेर नपुग्दै विवाह भएको देखिन आएको जनाएका छन्। गाउँपालिकामा बालविवाहको अवस्था यस्तो डरलाग्दो छ।

बाल क्लबमा लामो समयदेखि काम गरिरहेका एक जना अभियन्ताले भने, ‘यो बाल क्लब वा अरु कसैले उजुरी गर्नुपर्ने विषय नै होइन, थाहा पाउने बित्तिकै प्रहरी आफैं गएर बिबाहित जोडी छुट्याइदिनुपर्ने र अभिभावकलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने सरकारवादी फौजदारी मुद्दा हो।’ तर, यहाँ वडाअध्यक्ष चन्द्रबहादुरले घर नजिकै प्रहरी चौकी राखेका छन्, प्रहरीले यस बिरुद्ध कदम चाल्ने आँट गर्नै सकेको छैन।

नेपालको प्रचलित कानूनले बीस बर्ष नपुगी विवाह गर्न मिल्दैन। बीस बर्ष भन्दा कम उमेरका विवाहलाई राज्यले फौजदारी कसुरको रूपमा लिन्छ। उमेर नपुगेको बिहे स्वतः बदर हुन्छ भने विवाहित केटाकेटीका बाआमा, लमी, पुरोहित समेतलाई कानूनी कारबाही हुने स्पष्ट व्यवस्था छ। जहिले बिहे गरेको भएता पनि बीस बर्ष नपुगेसम्म जुनसुकै बेला पनि अभिभावक सहित बिबाहित जोडी कानूनी कठघरामा उभिनुपर्ने हुन्छ।

बालबालिका सम्बन्धि ऐन २०७५ ले समेत वालविवाह गर्ने गराउनेलाई ७५ हजारसम्म जरिवाना र ३ बर्षदेखि ६ बर्षसम्म कैद हुन सक्ने व्यबस्था गरेको छ। देवानि संहिताले ३ बर्ष कैद र ३० हजार जरिवाना तोकेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ