arrow

खेलकुदमा चौतर्फी प्रहार, जिल्लाको कर्भडहल निर्माणमा ४० लाख भ्रष्टाचार

१३औं साग आयोजना चुनौती

logo
प्रकाशित २०७३ जेठ २ आइतबार
ghus-kand.jpg.jpeg

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला खेदकुद विकास समिति दार्चुलाले कभर्डहल निर्माणका लागि पाएको रकम चरम दुरुपयोग भएको भन्दै तत्कालिन दुई संयोजक सहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । भ्रष्टाचार आरोप लाग्नेमा दुई संयोजक, पाँच सदस्य र दुई इन्जिनियरहरु छन् । यो संगै, जिल्ला प्राविधिक कार्यालयका इन्जिनियरहरुले झुठ्ठा बिल भरपाई बनाएको खुलेको छ ।

जिल्लाको खेलकुद विकासको पूर्वाधारको रकम अनियमित रुपमा खर्च गरेको उजुरीपरेपछि छानविनका क्रममा अख्तियारले जिल्ला खेलकुद विकास समिति दार्चुलाको कभर्डहल निर्माणका लागिथ राष्ट्रिय खेलकुद परिषद्बाट आर्थिक वर्ष २०६७–०६८ देखि आर्थिक वर्ष २०६९–०७० सम्म निकासा भएको रकम दार्चुला जिल्ला खेलकुद विकास समितिका तत्कालिन अध्यक्ष एवं कभर्डहल निर्माण समितिका तत्कालिन संयोजक तथा सदस्यहरुको मिलेमतोमा निर्माणका क्रममा नभएका र नगरेका कामलाई गरेको भनि झुठ्ठा बिल भरपाई तथा श्रेस्ताहरु तयार गरी भुक्तानि लिने दिने बद्नियत कार्य गरेको अख्तियारले विशेष अदालतमा दर्ता गरेको आरोप पत्रमा उल्लेख छ ।

अख्तियारले ती ९ जनाबाट छुट्टा–छुट्टै विगो माग गर्दै कुल ४० लाख २० हजार ७ सय ३४ रुपैंया ६० पैंसा अशुल गर्न भनेको छ ।तत्कालिन संयोजक मंजु बम १० लाख ६५ हजार ९ सय ७३, तत्कालिन संयोजक कल्याण सिंह धामी ३ लाख २३ हजार ३ सय १२, तत्कालिन सदस्य भूपेन्द्रराज अवस्थी ५ लाख ७२ हजार ८ सय १२, सदस्य मान सिंह विक ३ लाख २३ हजार ३ सय १२, सदस्य श्यामराज अवस्थी ८ लाख ४२ हजार ६ सय ६१, सदस्य दान सिंह निरौला ३ लाख ५० हजार र सदस्य हरिश चन्द्र भट्ट ६ लाख ४२ हजार ६ सय ६१ तथा इन्जिनियर द्वय शेखर चन्द्र बढु र मदनराज जोशीलाई समाना ६ लाख ४२ हजार ६ सय ६१ विगो बमोजिमको जरिवाना तोकिएको अख्तियारले जनाएको छ ।

सरकार मुख दर्शक हुँदा खेलकुद विकासमा चरम अनियमितता हुने गरेको छ । खेलकुदका संरचना निर्माणमा हुने ढिला सुस्ती र भ्रष्टाचारले नेपालले खेल सुधारमा प्रगति हासिल गर्न सकेको छैन । क्रिकेट र फुटबलमा सफलता पाए पनि अझै दक्षिण एसियाली खेलकुदकै हकमा नेपालको फितलो उपस्थिति छ । अन्य अन्तर्राष्ट्रिय ठूला प्रतियोगिता र विश्व च्याम्पियनसिपमा नेपालको उपस्थिति न्यून छ ।

खेलकुदको विकास र जनशक्ति उत्पादनको वाधक भौतिक पूर्वाधार र संरचना अभाव रहेको खेल क्षेत्रका विज्ञ एवं खेलाडीहरु बताउँछन् । खेल संरचनाकै अभावका कारण कयौं खेल देश बाहिर भएका छन् । यस्तै, मोफसलमा समेत अन्तर्राष्ट्रिय स्तरका ठूलो प्रतियोगिता गर्ने संरचना अभावले जनशक्ति विकास र खेलकुदको विकास हुन सकेको छैन ।
 

मोफसल सरकारलाई चुनौती ?
सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दा एक प्रदेश एक अन्तर्राष्ट्रिय स्तरको कभर्डहल निर्माण गर्ने भनेको छ । यस्तै, झापामा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण गर्ने समेत भनिएको छ । यद्यपि, राष्ट्रिय खेलकुद परिषद् मार्फत् मात्रै ३ वर्षको अवधिमा मोफसलमा समेत अन्तर्राष्ट्रिय स्तरकार खेल संरचना बनाउने भन्दै खर्बौंका योजना अघि बढेका बताइन्छ ।

दुई वर्ष पछि नेपालमै हुने दक्षिण एसियाली खेलकुदलाई मध्यनजर गर्दै सरकारले नीति तथा कार्यक्रममा सागका केही खेलहरु मोफसल समेत संचालन गर्ने कार्यक्रम अघि सारेको छ । तर, भौतिक संरचना निर्माणमा भइरहेको ढिला सुस्ती र अनियमितताले सोचे अनुसारको काम गर्न चुनौती हुने छ । हुन त यसअघि दुई पटक संचालन गरिसकेको नेपालले फेरि पनि संचालन गर्न सक्छ भन्ने एक थरीको अड्कल छ । यद्यपि, भूकम्पले क्षति पुगेका संरचनाको पुनःनिर्माण एवं स्तरोन्नति तथा आवश्यक नयाँ संरचना निर्माण भने जस्तो सजिलो पक्कै छैन ।

गएको फागुन ४ गते १२ औं साग सकिँदा खेदकुद मन्त्री सत्यनारायण मण्डलले नेपालले साग गेम्सको जिम्मा लिँदै झण्डा उचाले । यद्यपि, अबको दुई वर्ष भित्र त्यो संरचना तयार हुने वा नहुनेमा धेरैको शंका छ । ३२ वर्ष अघि नेपालबाटै सुरु भएको साग गेम्स नेपालले तेस्रो पटक आयोजना गर्नेछ ।

यसैबीच, अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले नेपाल क्रिकेटसंघ क्यानलाई निलम्बन गरेसंगै राष्ट्रिय र स्थानीय प्रतियोगिताहरु राखेप अर्थात् सरकार आफैले संचालन गर्ने तयारी गरिरहेको छ । यद्यपि, क्यान निलम्बनको टुंगो लगाउनुको साटो उल्टै क्रिकेट प्रतियोगिता आफै गर्ने भन्दै हिंड्नु राखेपको नालायकिपन भएको धेरैको टिप्पणी छ ।

आइसीसीले समेत सरकारले हस्तक्षेप गरेको भन्दै क्यानको स्वतन्त्र निर्वाचन हुनु पर्नेमा जोड दिई निलम्बन गरेको हो । राखेपले नै तीन पटकसम्म क्यानमा हस्तक्षेप समिति गठन गरेको छ  । क्यानभित्रको विवादले खेलाडीको भविष्य समेत अन्योलमा परेको छ । खेलाडीले डिसेम्बर यताको पारिश्रमिक नपाईरहेको अवस्थामा राखेपले फेरि आफै प्रतियोगिता गर्ने विषय राम्रो नभएको अधिकांशको धारणा छ । आइसीसीले क्यानमा सरकारी हस्तक्षेत हुन नहुने धारणा राख्दछ । अमेरिकामा समेत सरकारी हिमचिमकै कारण क्रिकेटसंघमाथि निलम्बन लागेको थियो । यसरी खेल क्षेत्रमा चौतर्फी प्रहार भइरहेको खेल पण्डितहरु बताउँछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ