- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
आज नेपाली राजनीतिको पहिलो महिला अधिकारवादी संस्था तथा राजनीतिक सङ्गठन नेपाल महिला संघको ७३ औं स्थापना दिवस हो । प्रजातान्त्रिक, लोकतान्त्रिक तथा गणतान्त्रिक राज्य व्यवस्था एवम् मूल्य पद्धतिको स्थापनाको लागि महिला नेतृ स्व. मंगलादेवी सिंहको सकृयतामा वि.सं. २००४ सालमा नेपाल महिला संघको स्थापना भएको थियो । २००४ साल श्रावण २४ गते तदनुसार १९४७ अगष्ट ८ का दिन मंगलादेवी सिंहको सक्रियतामा भेडासिंस्थित चिनियालाल श्रेष्ठको घरमा भूमिगत रुपमा महिला भेला भई मंगलादेवी सिंहको अध्यक्षतामा नेपाल महिला संघको पहिलो ११ सदस्यीय तदर्थ कार्यसमिति गठन भएको थियो । नेपाल महिला संघले यसैलाई आफ्नो स्थापनाको मिति मान्दै आएको छ । महिला अधिकार तथा महिलावादमा केन्द्रित राजनीतिक संगठन स्थापना भएको यो दिनलाई नै राजनीतिमा नेपाली महिलाहरुको प्रवेशका लागि कोषेढुङ्गा तथा आधारस्तम्भका रुपमा लिन सकिन्छ ।
चुलो चौकामा मात्र सीमित महिला राजनीतिमा परिवार तथा आफन्त पुरूषका सहयोगी मात्र रहेका नेपाली महिलाहरु राजनीतिक रूपमा २००४ सालमा सङ्गठित भए पश्चात् महिलाहरूले २००७, २०३६, २०४६ र २०६२/ ०६३ सालको राजनीतिक आन्दोलनमा सकृय भूमिका निर्वाह गरी गौरवशाली ऐतिहासिक जिम्मेवारी वहन गर्दै आएका छन् । नेपालमा पहिलो पटक महिलाको उत्थानको लागि वि.सं. १९९४ मा दिव्यादेवी कोइरालाको सक्रियतामा महिला समिति गठन भएको थियो । त्यस समयका अग्रणी महिलाहरु योगमाया देवी, चन्द्रकान्ता, लक्ष्मीदेवी, तुलजा शर्मा, मेलवादेवी, द्वारिकादेवी चन्द ठकुरानी आदि महिलाहरुको योगदानको आधारमा टेकेर महिला संघको स्थापना भएको हो ।
१९९८ साल आषाढ २२ गते शनिवार योगमाया देवी न्यौपानेको नेतृत्वमा ६८ जनाले राणा शासनको विरुद्धमा तथा सामाजिक सुधारको पक्षमा संगठीत रुपमा जलसमाधी (देहत्याग) गरेको घटना पहिलो महिला संर्घषका रुपमा लिने गरिन्छ । २००३ सालमा नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा भएको विराटनगर जुटमिल आन्दोलनमा दिव्यादेवी कोइराला, नलीनी उपाध्याय, इन्दिरा आचार्य, कामीनी गिरी जेल चलान भएका थिए । प्रजातान्त्रिक आन्दोलमा संलग्न भएर जेल जाने सम्भवतः उनीहरु नै प्रहिलो पुस्ता थियो । २००४ सालमा राणा शासनको चरमोत्कर्षको समयमा शान्ति निकुञ्ज विद्यालयका महिला शिक्षकहरु र छात्राहरु म्हेपीमा पिकनिक जाने वाहानामा भेला भई महिला सम्मेलन गरी भूमिगत रुपमा नेपाल महिला संघको स्थापना गर्न आधार तयार पारेका थिए ।
२००७ सालमा नेपाली कांग्रेसको नेतृत्वमा मूलुकमा राणा शासन विरुद्धको ठूलो सशस्त्र क्रान्ति भयो उक्त क्रान्तिमा महिला नेतृहरु मंगलादेवी सिंह, दिव्या कोइराला, नलिनी उपाध्याय, इन्दीरा आचार्य, विजया लक्ष्मी, नोना कोइराला आदिले गोप्य रुपमा क्रान्तिका लागि ल्याइएका हतियार राख्ने, घाइतेको औषधोउपचार गराउनुको साथै क्रान्ति सफल पार्न आवश्यक भूमिका निर्वाह गरेका थिए । २००७ सालको क्रान्ति पछि पार्टीहरु स्वतन्त्र भएपछि नेपाल महिला संघले पनि खुल्ला रुपमा काम गर्न थालेको थियो । २००८ साल श्रावण २७ गते काठमाडौंको भूगोलपार्कमा प्रजातन्त्रवादी महिला नेतृहरुको वृहत भेला भएको थियो । उक्त भेलाले मंगलादेवी सिंहको अध्यक्षतामा रहेको कार्यसमितिलाई वैधानिकता प्रदान गरेको थियो ।
१९ औं शताब्दीको पछिल्ला वर्षहरुदेखि २० औं शताब्दीको मध्यसम्म विश्वव्यापी रुपमा महिला मुक्तिको अभियान तथा आन्दोलनहरु सुरु भएको देखिन्छ । यसरी सुरु भएका महिला मुक्ति तथा स्वतन्त्रताका अभियानका चरणहरुलाई तीन तरङ्गका रुपमा विभाजन गरिएको छ । यसरी हेर्दा यो कालखण्ड महिला मुक्तिको पहिलो तरङ्ग आएको कालखण्डका रुपमा लिन सकिन्छ । जुन समय विश्व भू राजनीति स्वतन्त्रता र औद्योगिकीकरणको सैद्धान्तिक धरातलका अलावा मार्क्सवादी तथा समाजवादी राजनीतिक धरातलबाट अभिमुख भएको पाइन्छ । यसै कालखण्डमा महिलाहरुका लागि कानूनमै व्याप्त तथा विद्यमान असमानतामूलक कानुनी व्यवस्थाहरु उन्मुलन गर्नका लागि प्रयासहरू भएका पाइन्छन् र कानूनतः महिलाहरूको मताधिकार तथा अन्य राजनीतिक अवसरहरु प्राप्त गर्ने गरी महत्वपूर्ण व्यवस्थाहरु सुरू भएको थियो ।
नेपालमा १९४७ अगष्ट अर्थात् २००७ साउनमा नेपाली महिलाहरुको कृयाशीलतामा महिलावादी राजनीतिक सङ्गठन स्थापना हुँदाका वखत विकासमुखी अवधारणाभित्र महिला र लैङ्गिक पक्षलाई संवोधन गर्ने अवधारणा सुरू भएको पाइँदैन । सन् १९७० को दशकमा मात्रै इस्तर बोसेरूपको सेमिनल कार्यपत्रका माध्यमबाट विकासमा महिला (Women in Development - WID) को अवधारणा सुरु भएको थियो । नरम महिलावादको अधिकारवादको सैद्धान्तिक धरातलमा सुरु भएको यो अवधारणा लगत्तै ७० को आधादशक पश्चात् नयाँ परिमार्जित आयाम तथा नव मार्क्सवादी महिलावाद र निर्भरताको सिद्धान्तमा आधारित भएर महिला र विकास (Women and Development -WAD) को अवधारणा सुरु भएको थियो । सन् १९८० को दशकदेखि हालसम्म विश्व अधिकार तथा राजनीतिक परिवेशभित्र समाजवादी महिलावादको सैद्धान्तिक धरातलमा लैंगिकता र विकास (Gender and Development - GAD) को अवधारणा विद्यमान छ ।
यसरी महिला अधिकार तथा समाज सुधारका नाममा १९९८ मा योगमाया लगायत ६८ जना महिलाहरुले आफूलाई नै आहुती दिएर सुरु गरेको नेपाली महिला आन्दोलनले नेपाली राजनीतिमा अर्थपूर्ण फड्को मारेको पाइन्छ जसले महिला अधिकारवादको विश्व राजनीतिमा प्रत्यक्ष परोक्ष स्थान जमाएको देखिन्छ ।