- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
नेपाली कांग्रेसको १४ औं महाधिवेशनको माहौल विस्तारै आउन सुरु भएको छ। वडाहरूमा क्रियाशील फाराम भर्ने काम भइरहेको छ । पुरानो क्रियाशील सदस्यता नविकरणको साथै नयाँ क्रियाशील पनि बढो उत्साहकासाथ भर्ने काम भइरहेको छ । कांग्रेसले आफ्नो करिव ५ लाख पुरानो क्रियाशील सदस्य संख्यालाई दोब्बर अथवा १० लाख बनाउने निर्णय गरिसकेको छ। पार्टी संरचनाअनुसार कुन तह तथा पदमा बस्ने भनेर वडादेखि केन्द्रसम्मका नेताहरूको जोडघटाउ शुरु भइसकेको छ ।
विशेष गरेर चौधौं महाधिवेशनबाट केन्द्रको नेतृत्वमा को आउँछ वा को आउनुपर्छ ? भन्ने पार्टीभित्र र पार्टीबाहिर धेरैको चासोको विषय बनेको छ। किनकि नेपाली कांग्रेस मुलुकको सबैभन्दा जेठो र गौरवशाली इतिहास बोकेको पार्टी हो, जुन पार्टी हाल आएर आफैंभित्रको आन्तरिक किचलो र नेतृत्वको व्यवहारले अस्तव्यस्त बनी राष्ट्रिय राजनीतिमा आफ्नो भूमिका खुम्च्याउँदै गएको अवस्थामा छ । अहिले नेतृत्व परिवर्तनको आवाजहरू जोडतोडका साथ् उठिरहेका छन् । वर्तमान नेतृत्वलाई विस्थापित गरेपछि कांग्रेसको समस्या कसरी हल हुन्छ ? कांग्रेसलाई कसरी जनताको पार्टी बनाउने हो ? यी सवालहरूका वारेमा नेतृत्वका आकांक्षीहरूबाट विचार र योजनाहरू अहिलेसम्म ठोस रुपमा आउनु सकेको छैन ।
नेपाली कांग्रेसको संस्थापक नेता वीपी कोइरालाको निधन पछि सभापति हुने भाग्यशाली नेतृत्वहरूमा एक किसिमको प्रवृत्तिको विकास भयो, जुन प्रवृत्ति वर्तमान सभापति शेर बहादुर देउवासम्म आइपुग्दा पराकष्टाको सिमा नाघेको देखिन्छ । त्यसकारण स्वतन्त्र वुद्धिजीवीहरू तथा कांग्रेस पार्टीका नि:स्वार्थ कार्यकर्ता र शुभचिन्तकहरू पात्र परिवर्तनको मुद्दा भन्दा प्रवृती परिवर्तनलाई ठूलो विषय मानिरहेका छन् । पात्र फेरिने तर प्रवृत्ति उही दोहोरिने हो भने नेतृत्व परिवर्तनले खासै तात्विक महत्व राख्दैन । मात्र पार्टी सत्ताको सान, मान र खुसियाली एउटा कोटरीबाट अर्को कोटरीमा मात्र सर्दछ ।
वीपी कोइरला आफैंले धेरै पहिला भनेका थिए - 'जव पार्टी सत्ता र शक्तिमा पुग्छ तब नेतृत्वलाई सुकिला मुकिलाहरूले घेरिसकेको हुन्छ र पार्टी कार्यकर्ताहरूले तिनको विरोधमा आन्दोलन गर्नुपर्ने हुन्छ ।' उसबेलामा केही सिमित मात्रामा पढेलेखेका सुकिला मुकिलाहरू थिए भने अहिले त झन् पढेलेखेका मात्र नभएर विभिन्न जायज नाजायज पेसा व्यवसाय गरेर प्रसस्त धन दौलत जम्मा गरेका धनाढ्यहरूद्वारा घेरिने प्रवित्तिको विकास भएको देखिन्छ । त्यस्तै किसुनजीको पालामा पार्टीमा गणेश प्रवृत्ति हावी भयो भन्ने गुनासाहरू खुव सुनिन्थे । तर अहिले आएर त्यो प्रवृत्तिको पनि विकास भएको छ । आफन्तवाद र पैसाको चलखेल बढी हावी भएको देखिन्छ ।
त्याग र निष्ठा भन्दा पैसा कैयौं गुणा बलवान बनेको छ । पैसावाल र आफन्तहरूको जगजगीको अगाडि योग्य र निष्ठावान कार्यकर्ता निरिह मुकदर्शक बन्नु परेको छ। नेतृत्व निश्चीत स्वार्थी समूहहरूद्वारा घेरिएको हुन्छ, जसले गर्दा उसको विवेकलाई बन्दक बनाइएको हुन्छ । नेतृत्व आफैं पनि चाकडी प्रथाप्रति मोहित भएको देखिन्छ । तर स्वाभिमानी कार्यकर्ताहरू विशेष कामबाहेक वा नेताले नबोलाइकन सँधै नेताको घरमा चाकरी गर्न जाँदैनन् ।
नेतृत्वका आकांक्षीहरूले माथि उल्लिखित प्रवृत्तिलाई चिर्ने प्रतिवद्दता जाहेर गर्दै आफ्नो चार वर्षे कार्यकालमा पार्टीलाई कसरी ड्राइभ गर्ने भन्ने बारेमा स्पष्ट धारणा आउन जरुरी छ । कुशल नेतृत्व दुईवटा विशेष परिस्थितिहरूमा जन्मिन्छ। एउटा आन्दोलन वा क्रान्तिको बेलामा र अर्को धेरै प्रतिस्पर्धीहरू महाधिवेशनको मैदानमा आएको अवस्थामा । आन्दोलन वा क्रान्तिको बेलामा जसले त्यो क्रान्तिको प्रभावकारी अगुवाई गर्छ ऊ नेता बन्छ । त्यस्तै जुन महाधिवेशनमा धेरै आकांक्षीहरू मैदानमा उत्रन चाहन्छन अवश्य पनि त्यो महाधिवेशनले कुसल नेतृत्व पैदा गर्छ किनकि ती नेताहरूले अन्य नेताहरू तथा कार्यकर्ताहरूको सामु अग्नि परिक्षा दिनुपर्ने हुन्छ ।
अग्निपरिक्षा दिने बेलामा आकांक्षीहरूले आ-आफ्नो तरिकाले विभिन्न उत्तरहरू दिन सक्छन । जस्तै: कसैले भन्न सक्छन - म यति सालदेखि कांगेसको सदस्य हुँदै यो यो पदहरूको जिम्मेवारी सम्हालेको व्यक्ति हुँ। कसैले भन्न सक्छन - मसंग फलाना संस्थापक नेताको लिगेसी छ । कसैले भन्न सक्छन - मसंग सबैलाई मिलाएर पार्टी हाँक्ने क्षमता छ । कसैले भन्न सक्छन - मसंग नेपाली कांग्रेसलाई जनताको भरपर्दो पार्टी बनाउने नीति र योजना छ । युवा नेताहरू भन्न सक्छन - कांग्रेसमा अव पुस्तान्तरण हुनुपर्छ । यसरी विभिन्न नेताहरूबाट आएका विभिन्न तर्कसहितको अभिव्यक्तिलाई कार्यकर्ताहरूले राम्रोसित नियालेर सुन्ने बुझ्ने मौका पाउँछन् र त्यहीअनुसार उनीहरूले पनि आफ्नो विवेक प्रयोग गर्न सक्नेछन् । नेतृत्वको जुन धारणाहरू अहिले विभिन्न मिडियामा आएका छन्, ती धारणाहरू रेकर्डेड छन् र भोलि आवश्यकता पर्दा हेर्न सकिने भएकाले नेतृत्वमा पुग्नेले पछि पनि उत्तिकै सजग र सतर्क हुनुपर्ने हुन्छ किनकि त्यहीअनुसार कार्यकर्ताहरूले उसको मूल्याङ्कन गर्नेछन्।
नेतृत्वका आकांक्षीहरूले आफूलाई जे जसरी दाबी गरे पनि नि:स्वार्थ कार्यकर्ता र शुभचिन्तकहरूले व्यवहारमा पनि उतार्न सक्ने निम्न विशेषताहरू भएको नेतृत्व खोजेकाछन् । आफ्नो, पराइ वा विरोधी नठानी सवैलाई समान व्यवहार गर्दै अधिकांस नेता कार्यकर्ताहरूको चित्त वुझाउन सक्ने क्षमता भएको, पार्टीको विधि पद्दतिको हुबहु अनुसरण गर्ने अठोट भएको, पार्टी भित्र र बाहिरको समस्याहरूलाई हल गर्न कठोर कदम पनि चाल्न सक्ने साहस र पार्टीलाई सही गन्तब्यमा पर्याउने दूरदृष्टि भएको । यस्तै ब्यक्ति नै कांगरेसको नयाँ नेतृत्वको लागि उपयुक्त होला । तपाई पनि आफ्नो नजरमा रहेको यस्तो ब्यक्तिको बारेमा मन बनाउनुहोला र अरुलाई पनि शेयर गर्दै जानु होला । त्यही ब्यक्तिले नै कांग्रेसलाई सहि नेतृत्व दिन सक्छ कांग्रेसजनको साथै आम नागरिकको पनि भावना सम्बोधन गर्न सक्छ ।
drrkrai9@gmail.com