arrow

कोरोनासँग नेतृत्वविहिन लडाई

logo
मनोज कँडेल,
प्रकाशित २०७७ भदौ १३ शनिबार
manoj-kumar-kandel.jpg

कोरोना कहरको बितेको ६ महिनाको मुल्याङ्कन गर्दा नत कोरोना संक्रमण नियन्त्रण गर्न सक्यौं न उचित व्यवस्थापन । पहिलो चरणमा एम्बुलेन्स नपाएर, अस्पतालमा उपचार नपाएर, समयमा परिक्षण नभएर जसरी कोरोना संक्रमितहरु मरिरहेको थिए आज पनि तिनै कारणहरु दोहोरिएर कोरोना संक्रमितहरु मरिरहेका छन् ।

कोरोना संक्रमणको सुरुवाती दिनहरुमा छिटो परिक्षण गर्न नसकेको, कोरोना संक्रमितहरुको पहिचान गर्न ढिलो भएको, परिक्षणको लागि आबश्यक ल्याब अपुग भएको, आइसोलेसन, क्वारेन्टाइन व्यवस्था गर्न नसकेको, क्वारेन्टाइनहरु सरकारले जारी गरेको मापदण्ड अनुसार नभएको, भारतीय सिमानाबाट संक्रमितहरुलाई व्यवस्थित गर्न नसकेको भनेर जुन आरोप नेपाल सरकारलाई लगाइन्थ्यो आज पनि त्यही समस्याहरुबाट देश जुधिरहेकोछ ।

कोरोनामात्र होइन कुनै पनि महामारीसँग लड्नको लागि आम नागरिकको विश्वास जित्न सक्ने नेतृत्व महत्वपुर्ण हुन्छ, जुन नेपालको सन्दर्भमा पटक्कै देखिएन । कुनै पनि युद्धमा नैतिकबान, इमान्दार, विश्वासिलो र सेनाको प्रत्येक तप्काले मनै देखी आत्मसाथ गर्न नसकेको सेनापति रह्यो भने जस्तोसुकै सर्बशक्तीमान सेना भए पनि जसरी महाभारतको युद्धमा दुर्योधन पराजित भएकै हालत सबै युद्धमा हुन्छ नै । यही हविगत आज हाम्रो देशले कोरोनाको युद्धमा व्यहोर्नु पर्ने संकेत देखिएकोछ ।

आम नागरिक, बुद्धिजिबी, प्रतिपक्ष र आफ्नै पार्टीका नेता तथा कार्यकर्ताहरुमा कोरोनासँग लडिरहेको देशको नेतृत्वप्रति विश्वास रहेन । प्रधानमन्त्रीको बेतुकका भाषणबाट शुरुभई गोकुल बास्कोटा काण्ड हुदै अन्तत कोरोनाको स्वास्थ्य सामाग्री खरिद प्रकृयामा आएर यो अविश्वास अझ झाँगियो ।

यहाँसम्मकी नेता मन्त्रीहरुको सानो आर्थिक स्वार्थको लागी स्वास्थ्य सामाग्री खरिद प्रकृयामा सेनालाई तानेर स्वच्छ र आमनागरिकमा अतिकती भने पनि मन जितीरहेको सेनालाई विबादित बनाइयो। हुदाँहुदाँ आज सेनाप्रमुख र रक्षामन्त्री विच बोलचाल नभएको समाचारहरु सुन्न आम नागरिक बाध्य भएकाछन ।

यदि हामीले यो अबस्थालाई समाधान गर्न सकेनौं भने संकट झन झन जकडिने र हामीले न कोरोनाको संक्रमण कम गर्न सक्छौं न देशलाई आर्थिक महामारीबाट जोगाउन । हामीले कोरोनाको महामारीसँगै आर्थिक माहामारीलाई सँगै जोडन सक्नु पर्नेछ । नत्र कोरोना माहामारीबाट प्रताडित हुनु त छदैछ सँगै सामाजिक, राजनितीक र आर्थिकरुपमा देश संकटमा फस्ने निश्चित छ ।

यसविच देशबासीले लगातार सत्तासिन पार्टीको सत्ता भागबण्डाका बाहेकको समाचार कहिल्यै सुन्न पाएनन् । आज पनि पत्रपत्रिकाहरुको मुख्य समाचार यही सत्ता भागबण्डाहरुले भरिएको हुन्छ भने झण्डै ६ महिनादेखी आम नागरिक कोरोना, बाढी पहिरोसँग नेतृत्वविहिन, सरकार विहिन नागरिकको रुपमा आफै लडिरहेकाछन ।

दुई तिहाई मत प्राप्त पाटी जो सत्तासिन छ उसको पुरै संयन्त्र बिभाजित मात्र भएन कोही नयाँ पाटी दर्ता गर्न, कोही कोरोनाको निषेधाज्ञा विच जुलुस निकाल्न, जनप्रतिनिधीहरु गाँउटोलमा जनतासँग हुनुपर्नेमा पक्षबिपक्षको जोड घटाउमा हस्ताक्षर गर्न र सरकार आफु अनुकुल अध्यादेश जारी गर्नतिर रुमल्लियो ।

उदेक त यो लाग्छ हिजो बहुमतको सरकार नभएर नेपालको राजनीति अस्थिर भयो, विकास गर्न सकेनौं, देशले विकास प्रगतिको रफ्तार लिन सकेन भनेर थाकेका हामी आज झण्डै दुई तिहाईको सरकार रहँदा पनि त्यही अबस्थाबाट एकरत्ती पनि पछि हटेका छैनौं । आज पनि उही सत्ताको वरीपरी झींगा जस्तै भुनभुनाउन छाडेनौं । त्यही सत्ताको स्वादमा र्याल चुहाउने बाहेक जनताको मनछुने कुनै काम गर्न सकेनौं ।

महामारीसँग एक भएर लडनु पर्ने सत्तासिनको सबै शक्ती भाँडिदा महामारी र संकट विच कमाउन खोज्नेहरुले रजाई गर्न पुगे, भ्रष्टाचार र अनियमिता झन बनमारा सरी मौलायो । अन्तत आम नागरिकले सरकारले दिएको खर्चको विवरणलाई पत्याउन सक्ने बातवरण बनेन ।

यससगै केन्द्रीय सरकारले कोरोनाको लडाइमा हात उठाउन बाध्य भयो र लकडाउनलाई निषेधाज्ञाको नाममा प्रमुख जिल्ला अधिकारीलाई कोरोना युद्धको कमाण्ड छाड्न पुग्यो । संघीय सरकार कोरोनाबाट मर्ने र संक्रमण हुनेहरुको विवरण घोषणा गर्ने काममा सिमित हुनपुग्यो ।

सत्तापक्षमात्र होइन प्रतिपक्षको भुमिका समेत आलोचित हुन पुग्यो । छाँया सरकार संचालन गरिरहेको प्रतिपक्ष पनि आफ्नै पार्टीसत्ता संघर्षमा रमाउन पुगे भने सत्तापक्षले काम गर्न नसकेकोमा विरोध गर्नु सिवाय कुनै पनि ठोस योजनाहरु सरकार समक्ष दिन सकेन । आज पनि कोरोना विपत्तिको सन्दर्भमा प्रतिपक्ष र यसको छाँया सरकार कहाँ छ खोज्नु पर्ने अबस्था छ ।

नेपालमामात्र होइन विश्वका सबै राष्ट्रहरु आज कोरोनासँग लडिरहेकाछन । हामीले देखेका छौं सुनेका छौं ति देशहरु जसले सहज र सरल तरिकाले कोरोनासँग लडिरहेकाछन त्यो देशको प्रमुख कारण नेतृत्व नै हो । आम नागरिकहरुको आफ्नो नेतृत्वप्रतिको विश्वास हो । यसकारण पनि महामारीको प्रमुख हतियार यसको नेतृत्व हो ।

नेतृत्वको आफ्नो जनताप्रतिको उच्च दायित्वबोध हो । तर नेपालमा त्यस्को ठिक उल्टो नेताहरुको भुमिका रह्यो । हो, केही नेताहरु अहिले पनि चिन्तीत देखिन्छन । एकल प्रयासमा केही गर्ने, केही सुझाबहरु दिने गरिरहेका देखिन्छ तर राज्य र राज्यको श्रोत तथा साधनप्रति कुनै पहुच नभएका विचराहरुको आवाज शून्य सरह हावामा हराइरहेको छ । यसरी यत्रो महामारीमा दुर्भाग्यबस आज हामी नेतृत्वविहिन अबस्थामा छौं ।

समस्याहरुलाई सहिबाटोमा हिडाउन सहि र उचित व्यवस्थापन अर्को प्रमुख पाटो हुन्छ । योजना बनाउन जति सजिलो छ त्यस योजनालाई पुरा गर्न सहि व्यवस्थापनको समुह चाहिन्छ । कोरोना नियन्त्रणमा अर्को डरलाग्दो कमजोरी कोरोना व्यवस्थापनको व्यवस्थापकिय नेतृत्वमा रह्यो ।

नेताहरु नै सर्बेसर्बा, विद्धान र विशेषज्ञ हुन पुगेको स्वास्थ्य मन्त्रालयदेखी सबै क्षेत्रमा विषय विज्ञ भन्दा नेता, मन्त्रीका परिबारबाद र पाटी कार्यकर्ताहरुको जमातले व्यवस्थापनलाई कब्जा गर्न पुगे । कब्जामात्र हाईन सबै मन्त्रीदेखी नेता तथा कार्यकर्ताहरुले यही महामारीको दुखद अबस्थालाई कमाउने धन्दाको रुपमा मौकामा चौका हान्नतिर लागे । 

आज पनि यो अबस्थाको अन्त्य भएको छैन । सरकारले तल्काल मन्त्रालयको कोरोना व्यवस्थापनको जिम्मा पुर्णरुपमा विषय बिज्ञलाई जिम्मा दिने र उनीहरुलाई स्वतन्त्ररुपमा अगाडि बढनको लागी स्रोत तथा साधनहरु दिने हो भने अहिलेको अबस्थालाई नियन्त्रण गर्नको सहज हुने देखिन्छ । आम जनतामा गिरेको विश्वास जित्न पनि यो एक प्रस्थान विन्दु हुनसक्छ यो सरकारको लागी ।

अर्को पाटो कम्तीमा कोरोनासँग जोडिएको स्वास्थ्य समाग्री खरिद प्रकृयामा नाजायज आर्थिक लाभ लिन पुगेका र यस काण्डमा जोडिएका मन्त्रीदेखी व्यापारी सम्मलाई कुनै न कुनै प्रकारको कारबाहीको दायरामा लिन सक्नुपर्छ । जसले आम नागरिकमा सरकारको लागि विश्वासको अर्को आधार खडा गर्न सक्छ ।

आजको टडकारो आबश्यकता आर्थिक अनियमिततामा नेतृत्व कठोर हुन सक्नुपर्छ नत्र अबश्य पनि कारोनासँगै आएको आर्थिक संकटले देशको आर्थिक भार धान्न सक्ने देखिदैन । तर विडम्बना ओली नेतृत्व भाषणमा भनिने गरेको भ्रष्टाचारमा शुन्य सहनसिलता व्यवहारमा देखाउन तत्पर पटक्कै देखिदैन ।

अन्तमा विश्वासिलो, नैतिकबान र देश र जनताप्रति इमान्दार नेतृत्व विनाको लडाई देशबासीहरुको लागी अभिशाप नै हुन्छ । सबै पक्ष तथा प्रतिपक्ष सम्पूर्णरुपमा एक भएर आम विश्वासको साथ अगाडि बढनु आजको कारोनासँग लडने एकमात्र शसक्त हतियार हो । यहि दरिलो मनोविज्ञान सहितको समक्ष नेतृत्वले नै आम नागरिकलाई एक मालामा उन्नेछ र कोरोनाको यो युद्धबाट सहज जीत हासिल गर्नेछ । के देशले नेतृत्व विहिन यो अबस्थाबाट मुक्ती पाउला ? आम नागरिकको जवाफ छ पाउनु पर्छ र यसको पहल हुन जरुरी छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ