arrow

उज्यालोका नायक कुलमान घिसिङ   

logo
मनोज लामिछाने,
प्रकाशित २०७७ भदौ १४ आइतबार
kulman_office.jpg

२०७३ को भदौ ३१ गते नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका कुलमान घिसिङ अहिले जनताका ढुकढुकीमा बस्न सफल भएकाछन् । तत्कालिन अबस्थामा देशमा दैनिक ७ घण्टा लोडसेडिङ हुन्थ्यो । सुख्खायाम बढ्दै जादा लोडसेडिङ ११ घण्टासम्म पुग्थ्यो भने कुनै समय दैनिक १८ घण्टा सम्मपनि लोडसेडिङ हुने गर्थ्यो । कुलमान नियुक्त भएको दुई महिनामै काठमाण्डौमा लोडसेडिङ हटेको थियो भने क्रमशः बर्षदिन भित्र ठूला सहरहरु हुँदै नेपालमा लोडसेडिङको अन्त्य भएको थियो । उनको कार्य दक्षताकै कारण जनताले उनलाई उज्यालोका नायक भनेर सम्मान गरेका थिए । उनै उज्यालोका नायक कुलमानको कार्यकाल आगामी भदौ २९ गते सकिदैछ तर जनताले उनलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा निरन्तरता दिनुपर्छ भन्ने आवाज सर्बत्र उठाई रहेकाछन् । उनलाई निरन्तरता दिनु अहिलेको आबश्यकता पनि हो ।

उनि कसैको निगाहमा नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका भने होइनन् । कुलमान घिसिङसंग चिलिमे हाइड्रोपावरको प्रबन्ध निर्देशक भएर लामो समय काम गरेको अनुभव छ । तत्कालिन समयमा चिलिमेकै आम्दानीबाट ३ वटा अन्य आयोजना निर्माण सुरु गरेका कुलमानलाई तत्कालीन ऊर्जामन्त्री राधा ज्ञवालीले आयोजनाको काम तीब्र गतिमा अघि बढाइरहेको समयमा प्राधिकरणको केन्द्रीय कार्यालयमा सरुवा गरिदिएकी थिइन् । उनलाई सरुवा गरेकोमा ऊर्जामन्त्री राधा ज्ञवालीको रसुवाका जनताले व्यापक आलोचना गरेका थिए । कुलमानको सरुवाको बिषयमा रसुवाका जनताले आन्दोलन पनि गरेका थिए ।

कुलमानले आफ्नो कार्यकालमा लोडसेडिङ मात्र अन्त्य गरेका होइनन् । टुकी बालेर पढ्न पर्ने बाध्यता भएका हजारौं बालबालिकाको पठनपाठनमा सहयोग गरेकाछन् । महिला र बालबालिकाहरुको स्वास्थ्यको अबस्थामा सुधार गरेकाछन् । युनियनको नाममा पार्टीको झण्डा बोकेर हिड्ने केहि कथित ब्यक्तिहरुलाई तह लगाएकाछन् । बर्षेनी घाटामा गएको बिद्युत प्राधिकरणलाई नाफामा पुर्याएकाछन् । आर्थिक वर्ष २०७२/०७३ मा प्राधिकरण ९ अर्ब सञ्चित घाटामा रहेको प्राधिकरणलाई आर्थिक बर्ष २०७३/०७४ मा १.५ अर्ब, आर्थिक बर्ष २०७४/०७५ मा ३ अर्ब र आर्थिक बर्ष २०७५/०७६ मा १० अर्ब नाफा गराएका छन् भने आर्थिक बर्ष २०७६/०७७ मा यो अंक बढेर ११ अर्ब पुगेको छ । उनको कार्य कुशलताका कारण नेपालमा बिद्युत उत्पादन बढ्दै गयो भने भारतबाट आयात हुने बिद्युतको आयात घटाउदै गयो । नयाँ प्रशारण लाईनको बिस्तार गर्दै लैजानु, मर्मत सम्भारलाई तिब्रता दिनु, चुहावट कमि गर्दै लैजानु, कर्मचारीहरुको कार्य दक्ष्यताको मुल्यांकन र हौसला प्रदान गर्नु र प्राधिकरणको अनुरोधलाई उपभोक्ताहरुले स्वीकार गर्दै पिक आवरको समयमा हुने बढी खपतलाई बिद्युत खपत कम गरिदिनु जस्ता यावत कार्यहरु नै उनको कार्य कुशलताको परिचय हो । 

कुलमानको कार्यकाल सकिने दिन नजिकिदै जादा उनिसँग प्रधानमन्त्री केपी ओली असन्तुष्ट रहेको भनिएपनि प्रचण्डले जनभावनाको विपरित गएर कुलमानको विपरित निर्णय गर्न नहुनेमा उर्जामन्त्री बर्षमान पुनलाई सम्झाएको समाचारहरु पनि आएका छन् । यो बेलामा आफ्नो निहित स्वार्थका लागि प्राधिकरणलाई चुसेर मोटाउनेहरु, प्राधिकरणलाई पार्टी र आफ्ना मान्छे भर्ना गर्नका लागि भर्ति केन्द्र बनाउन नपाएर छटपटीएकाहरु, जनतालाई दैनिक १८ घण्टासम्म अँध्यारोमा राख्ने तर जनताले बिजुलीको बिलको रकम तिर्न १ दिन मात्र बिलम्ब भए जरिबाना ठोक्ने कुख्यातहरु, योग्यता र विज्ञता नभएका तर पहुँच र शक्तिको आधारमा सत्ता हासिल गर्न पल्केकाहरु अहिले कुलमान घिसिंङको म्याद थप्नु हुदैन भनेर लागि परेका समाचारहरु संचार माध्यमहरुमा निरन्तर आईरहेका छन् । 

संचारमा माध्यममा आएका प्रधानमन्त्री केपी ओली र उर्जामन्त्री बर्षमान पुनको असन्तुष्टीका कुराहरु साचो हुन् भने यो अत्यन्त दुखद कुरा हो । अँध्यारो नेपाल भनेर विश्वमा चर्चा कमाएको नेपाललाई ४ बर्ष भित्र उज्यालो नेपाल भनेर चिनाउन सफल कुलमानसँग असन्तुष्टि हुनु भनेको जनमतको भावनामा ठेश पुर्याउनु हो । यसतर्फ प्रधानमन्त्री केपी ओली यसतर्फ सचेत हुनुपर्छ । नेपाल लोडसेडिङ मुक्त भएको जस कुलमानले सरकारलाई दिएन र आफ्ना मान्छेको सरुवा, बढुवामा उनको असहयोग रहयो भन्ने कुराहरु छापामा आएका छन् । कार्यको जस जनताले दिने हो न कि कुलमानले । जसको कुरा गर्ने हो भने, कुलमानलाई तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र तत्कालिन उर्जामन्त्री जनार्दन शर्माले नियुक्ति गरेका हुन् । नियुक्ति गरेकाहरुले आफुले जस पाउनु पर्छ भन्ने कुरा संचार माध्यमहरुमा आएको सुनिएको छैन भने अहिलेको सरकारको प्रतिपक्षीहरुको पनि यो सफलतामा ठुलो हात छ । यद्यपी, कुलमान घिसिंङले हरेक संचार माध्यमहरुमा प्राधिकरण यो अबस्थासम्म आई पुग्नुमा सबै टीमको सहयोग, सहकार्य र मेहनतले हो भनिरहेकाछन् । यो टिमभित्र सरकार, सरकारको प्रतिपक्षीहरु र प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग गर्ने सबै सरोकारवालाहरु पर्दछन भन्ने कुरा बुझ्नु जरुरी हुन्छ ।   

कुलमानको भनाईमा पनि प्राधिकरणको सफलतामा तत्कालिन उर्जामन्त्री जनार्दन शर्मा, ऊर्जा सचिव अनुपकुमार उपाध्याय, ३३ केभिएसम्मको प्रसारणलाइन निर्माण, सवस्टेशन मर्मत-सम्भारका साथै मिटर रिडिङसम्मको कामको नेतृत्व गरेका प्राधिकरणका उपकार्यकारी निर्देशक गोपालबाबु भट्टराई, देशका विभिन्न भागमा रहेका पावर हाउस कतिबेला चलाउने र कति समय सञ्चालन बन्द गर्ने भन्ने निर्णय गर्ने बिद्युत प्रणाली सञ्चालन विभागका विष्णुकुमार श्रेष्ठ, प्रसारणलाइन निर्माण गर्ने बिद्युत प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमा निमित्त उपकार्यकारी निर्देशकको रुपमा कार्यरत मनोज सिलवाल, प्राधिकरणका प्रवक्ता तथा बिद्युत व्यापार विभागका प्रवन्धक तथा निजी कम्पनीबाट उत्पादित विजुलीको ‘पावर पर्चेज एग्रीमेन्ट’ गर्ने जिम्मेवारी पाएका प्रबल अधिकारी, निर्माणाधीन अवस्थामा रहेका जलबिद्युत आयोजनाको नियमन जिम्मेवारी पाएका हरराज न्यौपाने, प्रशासनको निमित्त उपकार्यकारी निर्देशक शान्ति लक्ष्मी शाक्य जसले २४ सय कर्मचारीको सरुवा गर्ने आँट गरेकी थिइन् । लोडसेडिङ हटाउनका प्रसारण लाइनको निर्माण सञ्चालन तथा सम्भार गर्ने जिम्मेवारी पाएका प्रसारण निर्देशनालयका उपयकार्यकारी निर्देशक राजीव शर्मा, विभिन्न कार्यालय तथा क्षेत्रीय निर्देशनालयबाट आएका तथ्यांकहरु इन्ट्री गर्न शिवकुमार अधिकारी जसले प्राप्त भएका तथ्यांकका आधारमा कहाँ बढी विद्युत चुहावट भएको छ वा गाडिएका पोलहरुको अवस्थाको जानकारी लिने काम गर्छन् र सोहि जानकारीको आधारमा योजना बनाउने काम गरिन्छ । यी उपरोक्त पात्रहरु उज्यालो नेपाल भनेर विश्वमा चिनाउन सफल व्यक्तिहरु हुन् । 

तत्कालीन उर्जामन्त्री जनार्दन शर्माको भनाईलाई हेर्ने हो भने “कुलमानको नियुक्ति पछि मन्त्रालय र प्राधिकरण बीचको सम्बन्ध सुधार भएको हो रे । ‘मैले राति ११ बजे फोन गर्दा पनि उहाँ काममै खटिएको हुनुहुन्छ ।"अहिले सिनेकर्मी, गायक गायिकाहरु, बुद्धिजिबीहरु, महिला, बृद्ध, युवाहरु सबैको माग कुलमानको म्याद थप गर्नुपर्छ भन्ने हो । थप्नु पनि पर्छ । कामको जस जनताले दिन्छन् मागेर पाइदैन भन्ने कुरा राज्य सत्तामा बसेकाहरुले बुझ्न जरुरी छ । सामाजिक संजालमा प्रकाशित समाचारमा प्रधानमन्त्रीले कुलमान घिसिंङले कामको जस आफुले मात्र लिए सरकारलाइ दिएनन भनेर दुख मनाउ गरेछन् । कामको जस जनताले कुलमान घिसिङलाई  दिएका हुन् । कुलमानले मैले गरेको कामको जस मलाई देउ भनेर जनतासंग मागेका भने पक्कै होइनन् । यो पंक्तिकारले नवलपरासी पश्चिमका एक १९ बर्षे किशोरलाई तिमि भविष्यमा के बनछौ ? भनेर प्रश्न गर्दा म कुलमान घिसिंङ जस्तै बन्छु भनेको सुन्दा तराईको दुर्गम ठाउमा बसेको त्यो युबकको कुरा सुन्दा पंक्तिकार नतमस्तक हुनु परेको थियो । कुलमानको यो लोकप्रियता उनले मागेर पाएका भन्ने पक्कै होइन । 

प्रधानमन्त्री केपी ओली देश र जनहितका लागि निरन्तर लड्ने योद्धा हुन् । ओली राष्टियताको लागि लड्ने एक राष्ट्रनायक हो भनेर जनताले उनलाई भनि सकेकाछन् । उनको राष्ट्रनायकको छबीलाई कसैले हल्लाएर हल्लाउन सक्दैन । ईतिहासमा उनले यसको जरो गाडि सकेकाछन् । ईतिहासले दिएको यो छविलाई उनले जोगाउनु पर्छ । यसका लागि उनले आफ्नो बेमौसमी बोली, आफ्ना सल्लाहकारहरुप्रतिको बढी बिश्वास, नेपालको नक्शा अंकित केक काटेर उनको जन्मदिन मनाउन उक्साउनेहरु, अदूरदर्शी निर्यण र आफ्नो हठतर्फ सोच्नु आबश्यक छ । उनले राष्टियताको नारा बोकेर हिड्दा सबै जनताले उनलाई सलाम गरेकै हो । अहिले कुलमान घिसिङ र उनका टिमलाई जनताले सलाम गरिरहेका छन् । कुलमानलाई उनले गरेको कामको सराहना गर्दा ओलीले कुलमानले सरकारले गरेको सहयोगको जस दिएन भनेर चित्त दुखाएको हो भने यो उनको र उनको पार्टीको लागि पनि राम्रो होइन । सानो चित्तले गरेका कामलाई केहि समय त जनताले वाहवाह गर्लान तर सधै जनताको मनमा बस्न सकिन्न भन्ने कुरा सबैले बुझ्न जरुरी छ । अहिले जनताले नेपाल प्राधिकरणमा कुलमान चाहिन्छ भनिरहेका छन् । जनभावनाको कदर गर्दै उनलाई नेपाल बिधुत प्रधिकरणमा ४ बर्षका लागि निरन्तरता गर्नु सरकारको दायित्व हो । कुलमानको म्याद थपिदा जनतालाई मात्र फाइदा हुने होइन । यसको फाईदा सरकार र कुलमानको इर्ष्या गर्ने र उनका सन्ततिका लागि पनि हो भन्ने कुरा सबैले बुझ्नु आबश्यक छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ