arrow

कौशीबारीमा किवीफल र तरकारी

logo
टेकराज अवस्थी,
प्रकाशित २०७७ भदौ १५ सोमबार
kaushikheti-vegitable-kiwi.jpg

डडेल्धुरा। तरकारी उत्पादनमा अग्रणी रहेको डडेल्धुरा जिल्लामा एक जना कृषि प्राबिधिकले घरको छानामाथी तरकारी र फलफूल उत्पादन गरेका छन्। 

डडेल्धुरा सदरमुकाम पछिल्लो समय शहरउन्मुख छ । ठूलाठूला पक्की घरहरु धमाधम निर्माण भईरहेका पनि छन तर सदुपयोग भने बिरलै भएको पाईन्छ । 

परिश्रम गरे र गर्न चाहे के हुँदैन भन्ने उदाहरण कृषि प्राबिधिक खेमराज पनेरुले आफ्नो तीनतले घरको छानामा हरियो साग, काँक्रा लगायत मसलाजन्य बिभिन्न वालीसँगै महंगो रहेको किवी फल समेत लगाएर देखाएका छन्। बेरोजगार युवाहरुका लागि उत्प्रेरणाका श्रोत समेत बनेका छन् पनेरु।

अमरगढी नगरपालिका वडा नं. ५ बागथलामा बिगत १५ वर्षदेखि बस्दै आएका पनेरुले १० वर्षदेखि कौशीबारी तरकारी उत्पादन गर्दै आएका छन्। उनले आफ्नै लगानीमा नर्सरी जस्ता पक्की आरसिसि ब्याड बनाएर बाहिरबाट माटो ल्याई शुरुमा हरियो साग उत्पादन गरे पनि पछिल्लो समयमा अन्य वाली पनि लगाएर सानो ठाउँमा धेरै काम गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्न सफल भएका छन् । 

कौशीबारीमा किवी फल, स्ट्रबेरी र मौसमी तरकारी लगाएर छानाको सदुपयोग गर्दै फोहर व्यवस्थापन र घरका सदस्यहरुको समय र आम्दानी बचतलाई पनि टेवा पुगेको कृषि प्राबिधिक खेमराज पनेरुको भनाई छ।

समाजमा बेरोजगारी व्याप्त छ, आम्दानीको श्रोतहरु संकुचनमा परेका छन, व्यवसायिक कृषि खेतीभन्दा पनि घरायसी प्रयोग र सामान्य घरखर्च धान्नका लागि आर्थिक उपार्जनको सजिलो माध्यम बन्न सक्ने कौशीबारी करेसाबारीले आफू र घर परिवारलाई पनि व्यस्त राख्ने भएकाले सबैले गर्न सक्ने प्राबिधिक पनेरुले बताए । 

सुदूरपश्चिम प्रदेशको एक मात्र कृषि तालीम केन्द्र सुन्दरपुर कञ्चनपुरमा योजना अधिकृतको रुपमा कार्यरत कृषि प्राबिधिक पनेरुले कौशीबारी व्यवस्थापनका लागि छानाको किनारमा रेलिङको सट्टा पक्की ब्याड बनाएर फलामे थाक्रा राखेर वालीबाट बढी भन्दा बढी उत्पादन लिन लगानी गरेका छन्। यसबाट उनी सन्तोष पनि भएका छन्। 

बारीमा सजिलै कुहिने बिभिन्न फोहरलाई व्यवस्थापन गर्दै कम्पोष्ट मल पनि तयार गर्न सकिने पनि उनले बताए। त्यहि मल बारीमा प्रयोग गर्दा प्रांगारिक हुने, स्वस्थ र स्वादिलो तरकारी फलफूल उत्पादन हुने भएकोले अत्यन्त कम खर्चमा धेरै वर्षसम्म लाभ लिन सकिने उनको भनाई थियो । 

पनेरुका घर परिवार पनि आफ्नो घरको छतबाट किवीफलसँगै डडेल्धुरा सदरमुकामको दृष्याबलोकन अत्यन्त सुन्दर र मनोरम देखिन्छ भन्दै खुशी छन् । यसपाली कोरोनाको महामारी फैलिईरहेका बेला हामीले पनि सघायौं सिक्यौं र खान पाउँदा आनन्द आउँछ पनेरु गृहिणि खिमादेवी पनेरुले बताईन् ।

पनेरुबाट अनुशरण गर्दै जिल्ला सदरमुकामका केहि घरधनीहरुले पनि कौशीबारीमा तरकारी फलाउन थालेका छन् । घरको तरकारी घरमै, मितव्ययि पनि हुने ताजा पनि खान पाईने यसमा त फाईदै फाईदा छ अमरगढी ५ बागथलाकै नन्दराम खत्रीले खुशी व्यक्त गरे । 

डडेल्धुरा सदरमुकाम लगायत जिल्लामा रहेका बिभिन्न स्थानीय तहहरुले पनि यस्तो कार्यक्रमहरु संचालन गर्नुपर्छ, सदरमुकाममा धेरै घरका छाना तरकारीमय भएका छन, केहि गर्न चाहने युवाहरुका लागि स्थानीय तहहरुले अवसर सिर्जना गर्नुपर्नेमा पनेरुको अनुरोध रहेको छ ।

कपडा सुकाउन प्रयोग गरिने व्यक्तिगत घरको छाना आम्दानीको श्रोत, पैसाको बचतसँगै प्रांगारिक र बिषादीरहित उत्पादन उपभोग गर्न पाएकोमा पनेरु परिवार खुशी त छन नै कोरोना सन्त्रास र महामारीको बेला जग्गाजमिन कम भएकाले पनि समय श्रोतसाधनको सदुपयोग गर्नु पर्ने धारणा उनको छ । 

कोरोनाको प्रभाबले रोजगारी गुमाई घर फर्केका युवाहरुलाई कृषिका बिभिन्न प्रबिधि र बिधागत यस्ता संभब कार्यमा लगाएर स्वरोजगार बनाउन र जनताको जीवनस्तरमा परिबर्तन ल्याउने प्रभाबकारी कार्यक्रमहरु स्थानीय तहहरुले संचालन गर्न आवश्यक रहेको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ