arrow

मतदाता, नागरिक र प्रजातन्त्र 

logo
प्रियरन्जन दाहाल,
प्रकाशित २०७७ भदौ २० शनिबार
priyaranjan.JPG

मतदाताको मूल्य हुने नागरिकको मूल्य नहुनु भनेको प्रजातान्त्रिक निर्वाचन पद्धति अपनाइएको अप्रजातान्त्रिक व्यवस्था हो । ५ बर्षमा एकपटक निर्वाचन गर्ने र सो निर्वाचनको दिन एक पटकका लागि मतदाताको मत बलवान देखिने तर निर्वाचन परिणामसंगै मतदाताबाट नागरिकको भूमिकामा आएकाहरुको कुनै मूल्य नहुने व्यवस्था प्रजातान्त्रिक हुन सक्दैन । उमेद्वारबाट निर्वाचित नेता भएको दिनदेखि एउटा शासकको रुपमा र अर्को शोषित नागरिकको रुपमा स्थापित हुने व्यवस्था पूर्णरुपमा अलोकतान्त्रिक मान्नुपर्छ । कस्तो पार्टी वा नेतृत्वलाइ सरकार संचालनको जिम्मेवारी दिने मात्रै हैन नागरिकसँग सरोकार राख्ने अरु बिषयमा पनि जनतालाई  सक्रिय सहभागी बनाउन सकिएन भने त्यो सहि मानेमा प्रजातन्त्र मान्न सकिदैन ।

सरकार बनाउने निर्वाचनले मात्रै जनताका अधिकारहरु पनि सुरक्षित हुदैनन र राष्ट्र निर्माणको आधार पनि त्यो मात्रै हैन । युरोपकै उदाहरण हेर्ने हो भने बेल्जियमको निर्वाचनमा सबैभन्दा बढी लगभग ८० प्रतिशत मत खस्छ जबकि स्विटजरल्याण्डमा ५० प्रतिशत भन्दा कम मत खस्छ । तर यी दुइको तुलना गर्दा आर्थिक रुपमा स्विटजरल्याण्ड बलियो देखिन्छ । प्रजातन्त्रबाट सन्तुष्टिकै बिषयमा पनि तुलनात्मक रुपमा स्विसहरु अरु युरोपियनहरु भन्दा बढी सन्तुष्ट देखिन्छन् । राज्यका महत्वपुर्ण बिषयमा निर्णय गर्दा जनमत संग्रहद्वारा जनताबाट अनुमोदन गराउनु पर्ने भएकाले जनताप्रति नेतृत्व सधै उत्तरदायी हुन्छ । निश्चित प्रतिशत जनताले माग गर्ने बितिक्कै जनमत संग्रहमा बिषयहरुले प्रवेश पाई हाल्छन् । संसदमा रहेका पार्टीहरुले नीजि स्वार्थका लागि आपसी सहमति गरेपनि जनआवाज त्यसको खिलाफमा जाँदा तुरुन्तै जनमत संग्रहमा जानुपर्ने भएकाले नेतृत्व संसदलाई मात्रै हैन आमजनता र समुदायलाई पनि सहमतिमा ल्याउन चाहन्छ । सांसद, मन्त्रीहरुले आफ्नो सुबिधालाई अनावश्यक रुपमा बढाउने निर्णय गर्न संसद एकमुख हुँदा जनता मुकदर्शक हुने अवस्था रहन्न । संवैधानिक बाटोबाटै आफ्नो माग पुरा गराउन सकिने भएपछि हिंसात्मक सडक आन्दोलनको औचित्य पनि कम हुने नै भयो । शिर्ष नेतृत्वको स्वार्थपूर्ण निर्णयलाई तिनका कार्यकर्ताले दास बनेर स्विकार गरे पनि जनताबाट अनुमोदन हुन सक्दैन । 

राजनीतिक दलका नेताहरु जनताका अधिकारहरुलाई सांसद बनाउने निर्वाचनको अधिकारसंग मात्र जोड्न खोज्छन । मताधिकार नै जनताको पहिलो र अन्तिम अधिकार हो । तर राज्य संचालकहरुले जनताको अधिकार र सुविधालाई कसरि सम्बोधन गर्छन र प्रयोग गर्छन, त्यसमा प्रजातन्त्र र बिकास टिकेको हुन्छ । निर्वाचित नेतृत्व जनताप्रति उत्तरदायी देखिएन भने उसको जितको प्रतिशतको केहि अर्थ नहुने रहेछ । प्रजातन्त्रमा निर्वाचनले स्वतन्त्रतापुर्वक नेतृत्व छान्ने अवसर उपलब्ध गराउँछ । निर्वाचित सरकार र प्रतिपक्षले नागरिकको हक, सुबिधाका लागि कति काम गर्छन त्यसले प्रजातन्त्र र बिकासको आधार तयार गर्ने हो । आर्थिक मन्दीले गाँजिएको जर्मनीमा हिटलरको उदय एउटा जननेताको रुपमा भएको थियो । उनको भाषणको कलाले जनताको आवाजलाई सम्बोधन गर्दा जनता स्वाभाविकरुपमा प्रभावित हुँदै गए र अन्त्यमा जर्मनीले प्रजातान्त्रिक बिधिद्वारा एउटा तानाशाह जन्मायो ।

चेक एण्ड ब्यालेन्सको लागि प्राय: संसद, न्यायालय र सरकारमा शक्ति पृथकीकरण गरिन्छ । तर शासकले आफ्ना पुरै संयन्त्र लगाएर संसद र न्यायालयलाई घुँडा टेकाईसकेपछि त्यहाँ चेक एण्ड ब्यालेन्स भन्ने रहदैन ।अनुभवले भन्छ राज्य सधै अधिकार केन्द्रित गर्न चाहन्छ । कुनै पनि राज्यले जनताका अधिकारहरुलाई स्वेच्छले जनतालाई दिएको छैन । स्वतन्त्रताको उपभोगका लागि जनताले कुनै न कुनै ढंगले संघर्ष र बिद्रोह गर्ने परेको छ । धेरै  देशमा प्रजातन्त्र र बहुदलिय व्यवस्थाकालागि धेरैले आफुलाई उत्सर्ग गरेका छन् । केवल मताधिकारकोलागि धेरैको ज्यान गएको छ । प्रजातन्त्रको आधार भनेकै  आलोचनाको स्वागत गर्ने र आवश्यकता अनुसार त्यसको सम्बोधन गर्दै जाने हो  । आलोचना र खबरदारी बिनाको सरकार, राज्य न जिम्मेवार हुन्छ न सफल । जनताले वास्ता नगर्दा निरङ्कुश जन्मिन्छ ।

नेतृत्व आफ्नो लागि सधै केहि अधिकारहरु नजानिँदो ढंगबाट सुरक्षित गर्न चाहन्छ । अफ्ट्यारो समयमा ठिकै होला भन्ने आशामा सहमति गरिएका कतिपय नीति, कानुन सुखद समयमा अभिशाप साबित हुन पुग्छन । बलात्कारका घटनाहरुमा राज्य उदाशीन देखिन्छ राष्ट्रप्रमुख गैर जिम्मेवार भएर बोल्छन । तर नागरिकको आवाज सडकमै सिमित रहन्छन् । जबसम्म जनताको आवाजले शासकलाइ असहज हुँदैन तबसम्म नागरिक आवाजलाइ राज्यले सुन्दैन । बर्षौंदेखि अध्यारोमा बसेका नागरिकले बिजुली न आउनुको कारण खोजेनन । तर केवल एउटा व्यक्तिको परिवर्तनले एउटा देशले पुरा समय बत्ति पाउँछ । बिगतमा जिम्मेवारी लिएकाहरु यो कुकृत्यका लागि कारवाहीको भागि नहुदासम्म बिकास सम्भव छैन । ति कुकृत्यहरुको चेक जाँच गर्ने काम, प्रश्न गर्ने, बैधानिक रुपले कारवाही गर्न दबाब दिने अधिकार जनताले नपाउँदासम्म प्रजातन्त्र र विकास सम्भव देखिदैन । शान्तिका लागि नोबेल पुरस्कार पाउने व्यक्ति शासनमा पुग्दा निश्चित सम्प्रदायको लाभमा टासिन पुग्छ, लाखौँ फरक सम्प्रदायका नागरिक बिस्थापित हुँदा तिनलाई आतंककारी भन्छ र तिनको आवाज दबाउँछ । विश्वले महान प्रजातन्त्रवादी भनिएकाहरु निर्वाचनबाट सत्तामा पुगिसकेपछि नेतृत्वको लोभमा निरङ्कुश तानाशाह हुन पुग्छन ।

एकातिर प्रजातन्त्रको रटान लगाउने अर्कोतिर निश्चित पार्टी र सम्प्रदायमा लाग्न प्रेरित गर्ने कुरा नै बास्तवमा गैर प्रजातान्त्रिक आचरण हो । सहि र गलत छुत्याउन जनताले स्वतन्त्रतापुर्वक आफ्नो बिबेकको प्रयोग गर्न पाउनु प्रजातन्त्र हो । त्यती मात्रै हैन आफ्नो बिबेकलाई स्वतन्त्रतापुर्वक प्रयोग गर्न सक्ने बनाउने काम पनि राज्य र पार्टीको हो । जनता र कार्यकर्ताले बिबेक प्रयोग नगर्दिदा वा गर्न नसक्दा योग्य ब्यक्ती, उपयुक्त पार्टीले जिम्मेवारी पाउने बातावरण बन्दैन र समग्रमा देश र जनताले त्यसको मुल्य चुकाउनु पर्ने हुन जान्छ ।

पार्टीका लागि धेरैभन्दा धेरै सदस्य बनाउने र तिनलाई जस्तोसुकै अलोकप्रिय, जनघाती, राष्ट्रद्रोही काम गर्दा पनि आफ्नो पार्टीको पक्षमा लागिरहन हरदम प्रेरित गर्नुले प्रजातन्त्र बलियो हुन सक्दैन । गुण र दोषका आधारमा भन्दा पार्टीको सदस्यका नाताले आजीवन र अझ पुस्तौं पुस्ता त्यहि पार्टीलाई मत दिने चलनले प्रजातान्त्रिक बिधि अपनाए पनि अयोग्य, भ्रष्ट शासक सत्तामा रहने डर रहिरहह्न्छ । दक्षिण एसियाका प्राय मुलुकमा यसको नकारात्मक असर परेको देखिन्छ । केवल मतदाता हैन नेतृत्व समेत त्यहि पुस्ता राजनीतिबाट डोर्याइएको देखिन्छ । पार्टीले नागरिकका अधिकार र सुविधाका लागि निरन्तर लाग्ने हो भने उसले पार्टी सदस्यतालाइ धेरै महत्व दिनुपर्ने नहुन सक्छ । पार्टीको कथनी र करनीमा भेद नहुने हो भने प्रजातान्त्रिक पार्टीहरुले सदस्यता बढाउनु भन्दा आफ्नो घोषणापत्रमा उल्लेख गरे अनुसार नागरिकको चाहनालाई सम्बोधन गर्नुपर्छ र बिना आग्रह, पूर्वाग्रह जनताले पार्टीहरुको कामको मुल्यांकन गर्ने र मत दिने बाताबरणको निर्माण हुनुपर्छ ।

बहुदलिय पद्धतिको अर्थ धेरै दलले धेरै संख्यामा सदस्य बनाउने र निर्वाचनलाई त्यहि ढंगबाट प्रभावित गर्ने र सत्ता प्राप्त गर्ने भन्ने मात्रै सोच राख्नु हुन्न । धेरै दलहरुले आफ्नो घोषणापत्र सार्वजनिक गर्ने, त्यहि अनुसार काम गर्ने र कामकै आधारमा जनताले निस्पक्ष भएर मुल्यांकन गर्ने र मत दिने पद्धतिका रुपमा बहुदल चिनिनु पर्छ । घोषणापत्र एकातिर, पार्टीको व्यवहार र चरित्र अर्कोपट्टी हुँदा पनि निष्पक्ष मुल्यांकन भन्दा सदस्यहरुलाई एकपक्षीय बनाएर मत दिन प्रेरित गर्ने अझ निर्देशन दिने चलनले बहुदल व्यवस्था जनताको प्रतिनिधिमुलक व्यवस्थाको रुपमा देखिन सक्दैन । यो केवल धेरै दल सहभागी हुने निर्वाचन पद्धतिमा मात्रै सिमित हुन पुग्छ जसमा न पार्टी जिम्मेवार भएर आउछन न जनता निष्पक्ष भएर मत दिन्छन ।

बहुदलिय ब्यवस्था भन्ने बितिकै पूर्ण प्रजातान्त्रिक ब्यवस्था हो भन्ने भ्रमबाट मुक्त हुनुपर्छ । अनुभवले के देखाएको छ भने कतिपय अल्पबिकसित र बिकासशिल देशहरुमा बहुदलको अर्थ मतदानको नाममा नै सत्ता कब्जा गर्ने र प्रतिपक्षलाई र तिनका नेतालाई ब्यक्तिगत रुपमा नै कलंकीत बनाउने र आफुलाई सत्तामा टिकाइ रहने गरेको पाइएको छ । बङ्गलादेश, पाकिस्तान लगायत देशमा यस्तो प्रयोग सामान्य बनेको छ । अझ नेपालमा त न्यायालयदेखी विश्वबिद्यालयसम्म र संबैधानिक अंगहरुमा दलहरु बिचको भागबण्डाले योग्यभन्दा पार्टी कार्यकर्ताहरु पोस्ने काम भएको अनुभव हुन्छ । धेरै दलहरु पनि छन तर जनताप्रती उत्तरदायी छैनन भने परिणाम नराम्रो नै आउने हो । अझ संयुक्त सरकार बन्दाका अनुभवहरु त झन कहाली लाग्दो छ ।

त्यती मात्रै हैन पार्टीभित्र पनि कार्यकर्तालाई यसरी प्रशिक्षित गरिन्छ कि उ आफ्नो नेतृत्वको  कमजोर  पक्ष सुन्नै चाहदैन । नेतृत्वमै पनि अबैधानिक तहहरु निर्माण गरिन्छ । पार्टीका समितीहरु त बनाइन्छ तर त्यो भन्दा माथि केही सिमित ब्यक्तिहरु आफुलाई शिर्ष नेता भनेर स्थापित गराउँछन र तिनले सबै निर्णयहरु गर्छन् । पार्टीको बैधानिक संरचना भन्दा बाहिर बसेर शिर्ष नेतृत्वको नाममा पार्टी र सरकारका निर्णयहरु गरिनु पनि निरंकुशता नै हो ।

नेतृत्वको सफलता र असफलताको मापक बहुमत हुनुलाई मानिएपछि जुनसुकै हत्कण्डा अपनाएर भए पनि पार्टी र सरकार कब्जा गर्ने र आफुसंग बहुमत भएको प्रमाणित गर्ने संस्कारको बिकास हुनु स्वाभाविक हो । सत्ता होस् वा प्रतिपक्ष आज सबै राजनैतीक पार्टीहरु यही समस्यामा अल्झिएका छन् । साना ठुला सबै राजनीतिक पार्टीको अधिवेशन आउन लाग्दा केवल नेतृत्वको छनौटको मात्रै चर्चा हुन्छ । ति पार्टीहरु आफ्नो स्वमुल्यांकनतिर ध्यान दिदैनन । न नेतृत्व बैचारिकरुपमा आफ्नो सबल पक्ष र दुर्बल पक्षको बारेमा आत्मसमिक्षा गर्छन् ।

अरौटे भरौटे र कुरौटेलाई छाँया बनाएर गर्न लगाइएको मुल्याङ्कनले सधैं शतप्रतिशत अंक प्राप्त गर्छ । छाँया सधैं कालो हुन्छ यसले मान्छेको सही तस्विर देखाउन सक्दैन । आफुलाई चिन्ने हो भने आफु भित्र हेर्न सक्नुपर्छ । त्यस्का लागि पहिलो शर्त भनेको छायाँको भर पर्नुहुन्न ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ