- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। ललितपुर पुल्चोकमा अवस्थित संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत निजामती राष्ट्रिय कितावखाना रहेको छ । निजामति कर्मचारी वाहेक अन्य सेवाग्राहीको खासै काम समेत नपर्ने कितावखाना कर्मचारी वाहेक अन्यको आँखामा पर्दैन पनि । निजामती कर्मचारी समेत जिन्दगीको अन्तिम घडीमा १ वा २ दिन मात्रै आए पुग्ने हुने यस अड्डामा न अख्तियार न सतर्कता केन्द्र न अन्य नियामक अड्डाको आँखा पुग्छ । यही कुराको फाइदा उठाउँदै कितावखानामा थुप्रै अनियमितताहरु भइरहँदा पनि कसैको आँखा पर्दैन । एकपछि अर्को अनियमितता हुँदै आएपनि नियामक निकायहरु पनि पेन्सन बनाउन एक पटक त जानै पर्ने अड्डाको विषयमा किन दुश्मनी साध्ने भनेर चुप लागेर बसेका छन् । सबै चुपचाप रहेको यो कार्यालयमा अनियमितताका फेहरिस्त चाङ लागेको छ ।
सफ्टवेयरमा अनियमितता
कितावखानामा हुने सबैभन्दा ठुलो अनियमितता मध्ये एक हो सफ्टवेयर । सम्पुर्ण कर्मचारीहरुको विवरण अनलाइन अद्यावधिक गर्न वार्षिक करोडौं रकम आउने गरेको छ । तर रकमको पुर्ण सदुपयोग नभएको साथै रकम सिद्याउन मात्रै केही उच्च पदस्थ कर्मचारीहरु लागि परेको स्वयं कर्मचारीहरु बताउँछन् । कितावखानाको सफ्टवेयर यस्तो काम नलाग्ने छ कि यो सफ्वेयरमा जात, भाषा, धर्म, लिंग, वर्ग, क्षैत्र, शैक्षीक योग्यता र आफ्नो पोर्टफोलियो केही पनि देखाउदैन । निजामती सेवाका प्रवेश गर्ने हरेक कर्मचारीले अनिवार्य रुपमा भर्नुपर्ने सिटरोलमा कर्मचारीले आफु कुन वर्गको, कुन धर्मको, कुन जातको, कुन क्षेत्रको, न्युतम शैक्षिक योग्यता लगायतका सम्पुर्ण विवरण खुलाए पनि सफ्टवेयरमा सो सम्बन्धमा कुनै विवरण भेट्न सकिदैन । मानौ नेपालको निजामती सेवामा राई थर भएका कति कर्मचारी कर्मचारी कार्यरत छन्, मुश्लिम धर्म मान्ने कति कर्मचारी कार्यरत छन् भनेर कुनै पनि व्यक्ति वा संस्था माग्न आएका वा विश्वविद्यालयको अनुसन्धानको लागि डाटा माग्न आएमा कितावखानाले दिन सक्ने अवस्था छैन । यसरी डाटाको जानकारी माग्नेहरुलाई कितावखानाले लोकसेवा आयोगमा गएर माग्नोस भनेर पठाउने गरेको छ भने लोकसेवाले विवरण राख्ने निकाय हामीहरु हैन भन्दै पठाउने गरेको छ । लोकसेवाले आफूहरु सिफारिस गर्ने निकाय मात्रै भएङ्को भनेर संघिय मामिला मन्त्रालयमा पठाउने र संघिय मन्त्रालयले पुन कितावखानामा नै पठाउने गरेको छ । एक विवरण लिन यसरी कार्यालयहरुको चक्कर लगाउनु पर्ने अवस्था विद्यमान छ । वास्तवमा सिटरोलमा उल्लेख भएको विवरण अद्यावधिक गरेर राख्ने जिम्मेवारी पाएको निकाय कितावखानाको सफ्टवेयरमा खालि कर्मचारीको सरुवा र वढुवा मात्रै अपडेट हुने गरेको त्यो पनि समयमा हुन नसकेको गुनासो कमर्चारी गर्छन । यसका साथै कर्मचारीको व्यक्तिगत फाइल स्क्यान गर्न लाखौं रकम आउने तर सो काम कितावखाना भित्रका नै कम्प्युटर अपरेटर तथा अन्य कर्मचारीले गर्न सक्ने भए पनि वाहिरका कन्सन्टेन्सी हायर गरेर कामै नगरी विल मिलाएर लाखौं रकम अनियमितता गरेको कितावखाना स्रोत बताउँछ । कर्मचारीबाटै काम भएका विल नमिल्ने साथै काम हुने र काम सकिए अर्को वर्ष वजेट नआउने भएपछि हरेक वर्ष काम नगरे पनि प्रगति न्युन देखाउने काम हुने गरेको छ । जसले गर्दा नियामक निकायलाई यो काम त अप्ठेरो हो भन्ने पारेर रकम पचाउने काम भएको कितावखाना स्रोतको दावी छ । यो वर्षमात्र एकीकृत सफ्टवेयर निर्माण ९प्रहरी, शिक्षक० समेतको गरी करिव ३ करोड रकम आएकोमा सो वापत हालसम्म ८० लाख भुक्तानी भई सकेको छ । तर माथि उल्लेखित कुनै विवरण दिन नसक्ने पुरानै ढर्राको सफ्वेयरमा थपथाप गरेर ३ करोड पचाउने खेल भइरहेको समेत स्रोतको दावी छ ।
ईन्धन र सवारी साधन
कितावखानमा हुने अर्को अनियमिता ईन्धन शीर्षकमा हुने गरेको पाइएको छ । आफ्ना मन परेकालाई महिनाको २० लिटरसम्म ईन्धन दिने तर काम परेर कार्यालय दैनिक आउजाउ गर्नेलाई मासिक ४ लिटर मात्रै दिने गरेको कर्मचारीहरु गुनासो गर्छन । कितावखानामा निर्देशकहरुका सवारीमा चाहिने मात्रामा भन्दा अधिक रुपमा ईन्धन खर्च भएको देखाई विल मिलाउने प्रवृति देखिएको छ । यसका साथै अफिसका सवारी साधन घरमा र व्यक्तिगत काममा प्रयोग हुने गरेको छ । कुनै कर्मचारी सरुवा भएर जादा आफुले प्रयोग गरिरहेको सवारी साधन अफिसलाई बुझाएर जानु पर्नेमा सो नभएको पाइएको छ । घनश्याम तिम्सिनाले आफु पहिले कार्यरत कार्यालय जिल्ला समन्वय समिति काठमाडौंको वाइक प्रयोग गरीरहेको र कितावखानाबाट पुन अर्को स्कुटी लिई श्रीमतिलाई दिएको तथ्य खुलेको छ । साथै विगतमा सरुवा भएर गएका शिवहरी भट्टराई, विदुर तिम्सिना, सुरेन्द्र बर्जचार्य, राजकुमार श्रेष्ठ, मोहन न्यौपानले वाइक बुझाए वा नवुझाएको र बुझाएको भए सो वाइक कार्यालयले कहाँ राख्यो भनेर बारम्बार खोजी गर्दा समेत निर्देशक रोशन ज्ञवालीले जवाफ दिएका छैनन्। बरु झर्कोफर्को गरेर टार्ने प्रयास गरेकोबाट सो वाइकहरु समेत परिवारका सदस्यलाई दिएको स्रोतको दावी छ ।
पुच्छरले टाउको हल्लाउने प्रबृति
अन्य निकायको ठिक विपरित कितावखानमा पुच्छरले टाउको हल्लाउने प्रवृति विद्यमान रहेको देखिन्छ । कितावखानमा कार्यरत करार र कार्यालय सहयोगीहरुले माथिल्ला पदका नायव सुब्बा र खरिदारलाई नटेर्ने प्रवृतिका साथै अधिकृत लेभलका कर्मचारीहरुलाई समेत ठाडो ठाडो जवाफ फर्काउने र माथिल्ला निकाय र तहमा गलत रिपोर्टिङ गरिदिने प्रवृति रहेको छ । भन्सारमा अकुत कमाएर कितावखानामा आएका नवराज अधिकारी यहाँ पनि सेटिङमा कार्य गर्नुका साथै सुविधामुखि बन्ने गरेको र अह्राएको कार्य नगर्ने प्रवृति रहेको स्वयं कर्मचारीहरु बताउँछन् । तर माथिल्ला पदमा रहेकाहरु नै अधिकारीजस्ता कारवाही गरी सम्पत्ति शुद्दिकरण र अख्तियार लगाउनु पर्ने प्रवृतिका कर्मचारीको गलत रिपोर्टीङ सुन्ने र सोहि बमोजिम अन्य कर्मचारीको मुल्याङकन गर्ने प्रबृति विद्यमान रहेको कितावखाना स्रोत बताउँछ ।
दरवारीया र करारका कर्मचारीको दादागिरी
कितावखनामा विगतमा राजाप्रसाद सेवाका विना शैक्षिक योग्यता र क्षमता विना नियुक्त भएका दरवारका कर्मचारीहरुको वाहुल्यता रहेको र केहि कर्मचारीहरु उच्च पदमा समेत रहेको हुँदा निजामति सेवाका लोकसेवा पास गरेर आएका कर्मचारीको मनोवल उच्च हुन नसकेको र पुरा अवधि काम नगरी सरुवा लिएर हिड्ने गुनासो देखिन्छ । राजाप्रसाद सेवाका कर्मचारीहरुको मुख्य शैक्षिक योग्यता भनेको नै चाकरी र चाप्लुसी मात्रै थियो ९दरवारको भए पनि वावुरत्न महर्जन यसमा अपवाद रहेका छन् ० । निजामती सेवामा शैक्षिक र निरन्तर खारिएर आएका अव्वल कर्मचारी र चाकडी र चाप्लुसीमा विश्वास गर्नेको तुलना नै हुन नपर्नेमा कितावखानामा चाकडीलाई मुख्य प्राथमिकता र जिम्मेवारी दिएको कारण अन्य निकायबाट सरुवा र वढुवा भएर आउने कर्मचारीहरु टिक्न नसकी साथै हिनतावोध र निराश भई कितावखानामा वस्न नमान्ने प्रवृति छ । साथै कितावखानामा विगतमा दरबारमा झै शैक्षिक योग्यता र क्षमता विनाका आफन्त र नातेदारलाई करारमा राख्ने क्रम पनि जारी रहेको छ । विगतमा स्थायी कर्मचारीलाई जवरजस्ती सरुवा गराएर पनि सो पदमा करारका राखेको उदाहरण छ । निजामती सेवा ऐन नियमावलीमा पद रिक्त भएको १ महिनाभित्र लोकसेवा आयोगमा पठाइसक्नु पर्ने भनिए पनि सो नगरी करारका आफ्ना आफन्त र नातेदारलाई जागिर खुवाइ राख्ने प्रवृती बढेको छ । यसले क्षमतावान लोकसेवाबाट छानिएर आउने प्रक्रियालाई पनि रोकेको छ । दरबारीया कर्मचारी र करारका कर्मचारीले आफ्नै कन्सन्टेन्सी मार्फत कम्प्युटर प्रिन्टर विजुली लगायतका कार्य गर्ने र सो कार्यबाट आफु वलियो बन्दै सरकारी कोष लुट्न उद्धत रहेको देखिन्छ । हरेक कर्मचारीको २(२ वर्षमा सरुवा हुने भए पनि कितावखानामा कार्यरत तत्कालिन दरवारीया कर्मचारी १० वर्ष हुँदा पनि सरुवा नहुने र उनीहरुले अनियमितता पनि धेरै गरेको देखिन्छ । यसका साथै करारका कर्मचारीको शाखा एउटै तोकेर थुपारिदिएर कामको बस्तुनिष्ठ मुल्याङकन समेत गरेको पाइन्न । साथै अनलाईनमा के कति काम गर्यो सो अन्य कर्मचारीका हकमा हेर्ने सिष्टम भए पनि करारका कर्मचारीको हकमा सो गरिएको छैन । यसले काम नगरे पनि करारका कर्मचारीबाट राज्यकोष लुटाइ रहने र अन्य करारका राख्न बाटो खोल्ने नीति राखेर नीतिगत भ्रष्टाचार गरेको पाइन्छ ।
गुणस्तरहीन क्यान्टिन र कमिसन
कितावखानमा सरकारी हाताभित्र सरकारी भवनमा क्यान्टिन संचालनमा रहेको छ । जुन क्यान्टिनमा कार्यरत कर्मचारी समेत कितावखानामानै कार्यरत करारका कार्यालय सहयोगि हुन् । उनको क्यान्टिनको पानी, वत्ति, विजुली समेत कितावखानाले नै तिर्दिने साथै भवनको भाडा समेत नलाग्ने अवस्थामा अन्य ठाउँमा भन्दा सस्तो हुन पर्ने खाजा, खाना र चियाको मुल्य बृद्वि गरिएको छ । माथिल्ला पदका, स्टोर र लेखा लगायतका कर्मचारीलाई निशुल्क खुवाउने गरेको र अन्य कर्मचारीको हकमा उच्च मुल्य बृद्वि गरी सो वापतको रकम कमिसन भन्दै माथिल्ला पदहरुलाई दिने गरेको तथ्य समेत खुल्न आएको छ । कोरोनाको यस्तो महामारी समयमा कितावखानाको क्यान्टीन खोलि थप जोखिम निम्त्याउने काम गरेको देखिन्छ । मानवअधिकार आयोग, उच्च अदालत, पशु र कृषिको क्यान्टिन जोखिम निम्तिने भन्दै बन्द गराउने तर कितावखानाको खुला गर्नुको पछाडि कमिसन नै रहेको आशंकालाई थप बल मिलेको छ । साथै निज क्यान्टिन संचालक करारका कर्मचारी भए पनि कार्यालयमा काम नगर्ने २४ घण्टा क्यान्टिनमा नै रहने गरेकोले कर्मचारीहरु उसलाई पाले भनेर राखेको मान्छे भाले भयो भन्दै टिप्पणी हुने गरेको छ । साथै कर्मचारीहरुलाई क्यान्टिन संचालकले मुख छाड्ने, कार्यकक्षमा खाजा नल्याउने, गुणस्तरहिन खाजा दिने साथै खाना खाजामा ढिलासुस्ती गर्ने गरेको बारम्बार आवाज उठाए पनि सुनुवाई नहुने गरेको देखिन्छ ।
ट्रेड युनियन र शाखा विभाजन
निजामति सेवा ऐन नियमावलीमा नै सेवा प्रवाहमा राजनीतिक प्रभाव पार्न नहुने भन्ने रहे पनि कितावखानमा प्रशासन, लेखा, योजना र स्टोरमा विभिन्न ट्रेड युनियनका कर्मचारीको हालिमुहाली रहने गरेको देखिन्छ । कुनै कर्मचारी सरुवा भएर आएमा उ कुन निकायमा काम गरेको सो निकायमा रहँदा कस्तो कार्य गर्दथ्यो, बसाई कता हो, शैक्षिक योग्यता के कति हो, कुन क्षेत्रमा विज्ञ र रुची हो सो बुझेर मात्रै शाखाको जिम्मेवारी दिनुपर्नेमा सो विपरित कुन ट्रेड युनियनको हो कुन विचारप्रति आस्था राख्दछ भनी प्रशासन प्रमुखले नै खोज्दै पुरानो काम गरेको निकायहरुमा समेत बुझ्ने गरेको कर्मचारीहरुको गुनासो छ । यसरी उसको दलप्रतिको आस्था हेरेर मात्रै शाखा दिने नत्र कुनै जिम्मेवारी नदिने वा कम्प्युटर टाइप जानेकोलाई समेत कम्प्युटर रहित र जिन्दगीमा कम्प्युटर खोल्न पनि नजान्नेलाई दुधको साक्षी विरालो जस्तो गरी महत्वपुर्ण शाखा दिइएको आरोप छ । साथै लेखा, स्टोर, योजना र प्रशानसनमा रहेर गुटबन्दी गरेको राम्रो भन्दा हाम्रोलाई काखा गर्ने गरेको, सेवा सुविधामा विभेद गर्ने गरेको, कार्यालय सहयोगिलाई उक्साउने र गलत गर्नेलाई कारवाही गर्नुको सट्टा पुरस्कृत गर्ने गरेको पनि कर्मचारीहरुको गुनासो छ । साथै घरमा बसेर गर्दा हुने कार्य समेत गर्न नदिएको, घरमा बसेर यति गर र उति गर यो र त्यो गर भनेर दुख दिने गरेको साथै घरमा बस्दा समेत सर्भर राम्ररी चलाउनतिर ध्यान नदिएको पनि गुनासो छ । यसका साथै दुनियाको कुनै निकायमा नभएको शाखा अधिकृतले स्टोर चलाउने कितावखानामा मात्रै देख्न सकिन्छ । जवकी संघिय मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा समेत नासु र खरिदार स्तरका कर्मचारीले स्टोर चलाउने परम्परा भएकोमा कितावखानमा वफादार र यसम्यान प्रवृतिकोलाई स्टोर दिएर आर्थिक हिनामिना ढाकछोप गर्ने प्रवृतिलाई मलजल गरेको देखिन्छ ।
नेपाल सरकारको निर्णयको बारम्बार अवज्ञा
नेपाल सरकारले गर्ने हरेक निर्णयहरु सरकारी कार्यालय र कर्मचारीले पालना गर्नु पर्नेमा कितावखानामा केही व्यक्ति र प्रवृतिले बारम्बार लत्याउने गरेका छन् । विगतका कोरोनाको जोखिमलाई कम गर्न २ सिफ्टमा कार्यालय संचालन गर्नु भन्नेमा पनि कितावखानामा सो हुन सकेको छैन । साथै हालसालै पनि कोरोनाको जोखिम कम गर्न कम्तिमा ५० प्रतिशत कर्मचारी मात्र उपस्थित हुने गरी आलोपालो सिस्टममा काम गर्ने वातावरण वनाउने पर्नेमा सो समेत पालना गरिएको छैन । अन्य सबै निकायमा ३(३ दिनको आलोपालो रहेकोमा कितावखानामा के कति कारणले सो हुन नसकेको स्पष्ट हुन सकेको छैन । अन्य निकायको जस्तो निषेधाज्ञाको समयमा टाढा टाढाका कर्मचारीलाई विदा दिने गरेकोमा कितावखानका कर्मचारीहरु २(२ घण्टा पैदल हिडेर आउने गरेका छन् तर हाकिमका निकटका कर्मचारीहरु विदामा बस्ने गरेको विदामा नै बसे पनि भत्ता पाउने गरेको छन् । टाढाका कर्मचारीलाई ल्याउन लैजान स्टाफ वसको व्यवस्था गर्न नसकेको तर ईन्धन भने खर्च गरेको देखिन्छ । प्रशासनका निर्देशकको उमेर अनुसार र पद अनुसार परिपक्वता हासिल नहुँदा उनले घरेलु कामदारलाई जस्तो कर्मचारीलाई सोच्ने र व्यवहार गर्ने गरेका छन् । उनी आफै पनि माथिल्लो निकायमा सेटिङ मिलाएर रकम दुरुपयोग गर्ने सिपालु देखिन्छन् । उनले कर्मचारीलाई उच्च मनोबलले काम गर्ने वातावरण मिलाउन पर्नेमा थर्काउने र पेल्ने मात्रै निति लिएका छन् । पदमा वसेर पद अनुसारको वोली र व्यवहार गर्ने नजानेको देखिन्छ ।
यसरी माथिल्लो निकायको गैह्रजिम्मेवार व्यवहार र अन्य नियामक निकायको फितलो कार्य सम्पादनले कितावखाना अनियमितताको अखडा बन्दै गएको छ । राज्यकोष दोहन गर्न गर्न माहिर केहि कर्मचारीहरु र चाकडी र चाप्लुसी गरि फाइदा लिन जान्ने मुठ्ठीभरका लागि स्वर्ग भएको छ ।