- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
बागलुङ । विश्वभर फैलँदो कोभिड १९ महामारी नियन्त्रणको अस्त्रको रुपमा धेरैजसो मुलुकमा लकडाउन जारी गरिएका कारण गरिखाने थुप्रै मानिसहरु घरको सानो कोठामा सीमित हुन पुगेका छन् । थुप्रैको रोजीरोटी गुमिसकेको छ। कोरोनाबाट सबैभन्दा मार खेपेको क्षेत्र भने होटल तथा पर्यटन व्यवसाय एवं लत्ता कपडा लगायतको व्यापार हो ।
कोभिड १९ अर्थात् कोरोनाको वैश्विक महामारी नेपालमा समेत फैलिदै जाँदा नेपाल सरकारले २०७६ साल चैत्र ११ गतेदेखि गरेको बन्दा बन्दी तथा महामारीको दर बृद्धि हुँदै कतिपय जिल्लामा निषेधाज्ञा समेत जारी गरेको छ ।
लैना पाडापाडी संकलन गरी पाल्ने र पशुपालन र दुग्ध उत्पादनमा गाउँलाई आत्मनिर्भर बनाई रोजगारी सिर्जना गर्ने सोच
बन्दाबन्दीको समयलाई कतिपयले आफु र आफ्नो उद्यमलाई रुपान्तरण गर्दै अनुकरणीय कार्य गर्ने अवसरका रुपमा समेत उपयोग गर्न थालेका छन् । त्यही मध्य काठमाडौं लाजिम्पाटमा विगत तीन बर्षदेखि होटल व्यवसाय संचालन गर्दै आएका होटल प्राइमल्याण्डका संचालक तथा व्यवस्थापक बागलुङ, बलेवाका युवात्रय चेतन, लालु र रमेश लामिछाने भने पृथक काममा जुटेका छन् । कोरोनाका कारण ठप्प व्यवसायका बारेमा चिन्तित भएरमात्र नबसी बसेनन् न चुरोटको धुँवा उडाउँदै कोठाकोठामा तासका बुक पल्टाउँदै म्यारिज खेलमा मग्न पनि रहेनन् । बरु आफ्नो व्यवसायिक मस्तिष्कलाई नवीन सोचमा लगाए ।
गाउँमा पशुपालन गर्ने किसानहरु अभाव हुँदै गएको, दूध समेत बजारबाट लगेर खानुपर्ने अवस्था तथा यातायातको सुविधा पुगेसँगै ऋण सापट गरी सुखसयलमा बसीबसी खाने संस्कार विकसित भईरहेको र बैदेशिक रोजगारीका कारण युवायुवतीहरु लाहुरे बन्न लालायित हुँदै जाँदा गाउँमा बृद्धबृद्धाहरु सन्तानको बाटो हेरी पिलपिल गरी पिंढीमा बस्ने अनि बचे खुशेका केही थान युवाहरु पनि दिनभर ध्रुमपान तथा मद्यपानमा मस्त रहने दुखदायी अवस्थाका बिच युवात्रय आफ्नो जन्मभूमि पैयुँपाटा (खर्सेडाँडा) पुगेर नूतन व्यवसायिक कर्म आरम्भ गर्ने निष्कर्षमा पुगेर गाउँ फर्किए।
गाउँगाउँमा गुजारा खेती तथा पशुपालनका परम्परागत प्रणाली जस्तै दुई चार पाटो खेतबारी अनि एउटा बाख्रो, एउटा गोरु, एउटा गाई र एउटा भैंसी पाल्ने र परिवारका सारा सदस्यको समय र श्रम त्यसमै खर्चिने पद्धति यद्यपि छ । उक्त पद्धतिलाई रुपान्तरण गर्ने व्यावसायिक सोच बोकी गाउँ पुगेका युवाहरु भैंसी पाल्ने किसानका घरघरमा मिठो सन्देश लिएर पुगे । 'पाल्नाका दुखले माया लाग्दालाग्दै पनि क्रुर मन गराएर काटेर खानेलाई दिनुपर्थ्यो, बाबुहरुले निकै राम्रो कामको सुरुवात गर्न थालेछौ । म निशुल्कै भएनि दिन्थें तिमीहरुले त झन तिनीहरुले भन्दा दोब्बर पैसा दिएर लानेरैछौ। मलाई त एकदम खुशी लाग्यो।' केहीदिन अगाडि मात्र ब्याएको भैंसीका लैनो पाडी जिम्मा लाएका खर्सेडाँडाका किसान भूमिश्वर शर्मा बताउँछन्।
अवोध पाडापाडीहरुलाई पाल्नका दुखले जन्मिंदै माउको मुख हेर्न समेत नदिई लुकाउने र काटी खानेलाई दिने गलत अभ्यास रहिआएको थियो । एकातिर ती अवोध पाडापाडीहरुको एकपटक समेत आफ्नो आमाको स्तनपान गर्न नदिई, माउलाई बच्चाको मुख हेर्न नदिई भकारोको कुनामा लुकाईलुकाई काटी खानेका हातबाट रेटिंदै मृत्युबरण गरी शिकार हुनुपर्ने दर्दनाक अवस्था थियो । यसैलाई समेत दृष्टिगत गरि निर्दोष पाडापाडीहरुको बाँच्न पाउने अधिकार समेत हनन हुन नदिनेगरि युवात्रय नयाँ काममा लागेका छन् । गाउँमा गाईभैंसीका बाच्छाबाच्छी तथा पाडापाडी हुर्काउने मानिसहरु समेत नहुँदा किसानलाई एउटा भैंसी किन्दा अलि पहिला सहर बजारका छेउछाउमा घडेरी नै आउने गरी लाखौं मूल्य तिर्नुपर्ने अवस्थालाई हृदयंगम् गर्दै युवात्रयले पाडापाडीहरुको संकलन, पालन पोषण तथा संरक्षणमा जुट्न थालेका हुन् ।
प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि वडा कार्यालयमा निवेदन बोकी बस्दा गाउँलाई पशुपालन तथा दुग्धजन्य उत्पादनमा आत्मनिर्भर बनाउने तथा रोजगारी समेत सिर्जना गरी गाउँमा बेरोजगार युवाहरुलाई रोजगारी दिलाउने दिगो सोचले मूर्तरुप लिएको तीन भाइमध्यका कान्छा रमेश बताउँछन् । गाउँमा मान्छेहरु सहर र सुविधा सम्पन्न ठाउँमा बसाईं सरेसँगै बेवारिसे रहेका गाईगोठहरु प्रयोग गर्ने अनुमति माग्दै, तिनीहरुको मर्मत तथा सम्भार गर्दै पाडापाडी मैत्री बनाउने र दुधको लागि लैना गाईभैंसी खरिद गर्ने र भकारो व्यवस्थापनमा ती युवाहरु अहोरात्र खटिए । यस कार्यमा उनीहरुका बुवा नारायणदत्त, आमा मिनादेवी र बहिनी भगवतीले समेत होस्टेमा हैंसे गर्न थाले ।
बागलुङ नगरपालिका वडा नम्बर १३ को वडा कार्यालयमा 'बलेवा पशुपालन केन्द्र' दर्ता गरी चेतन र लालु बाँकी जिम्मा बुवा र भाइलाई सुम्पेर काठमाण्डौ फर्किए भने जोसिला भाइ रमेश ब्याउने भैंसी भएका किसानका घरघरमा पुगी 'पाडापाडी काटेर खानेलाई लैना पाडापाडी नदिनू । हामी केही रकम पनि दिन्छौं, यिनीहरुलाई संरक्षण गर्ने र बयस्क भैंसी वा राँगा बनाई तपाईंहरुलाई नै पछि बरु सुपथ मूल्यमा बेच्छौं ' भन्दै आफुलाई भैंसी ब्याएपछि खबर गर्न भन्दै मोबाईल नम्बर र बैना छोड्दै हिडे ।
आजका मितिसम्म उनीहरुले गाउँभरिबाट झण्डै ५० वटा लैना पाडापाडी संरक्षणका लागि जम्मा गरी हुर्काउने जिम्मा लिईसकेका छन् भने ती पाडापाडीलाई दुधको जोहो गर्न ३ वटा लैना भैंसी र एउटा गाई समेत खरिद गरेका छन् । ' लैना पाडापाडी संकलन गरी हुर्काउन निकै कठिन कार्य हो। लामो समयको त्याग र धैर्यता नहुने हो भने व्यवसाय असफल पनि हुन सक्छ ' व्यवसायको सुरूवात गरी बुवा र भाइलाई जिम्मा लगाई पहिलो चरणको बन्दाबन्दी समापनसँगै काठमाण्डौ फर्केका चेतन भन्छन् ।
युवाहरुले सुरु गरेको स्वरोजगारको यस्तो उम्दा नमूना संभवतः बागलुङ जिल्लामात्र नभै गण्डकी प्रदेशमै पहिलो भएको दावी गर्छन् स्थानीय समाजसेवी टेकबहादुर रोका । 'भाइहरुले दीर्घकालीन सोचका साथ निकै सर्हानिय कार्यारम्भ गरेका छन् । उनीहरुलाई स्थानीय तहबाट पर्याप्त सहयोग र हौसला आवश्यक छ' पन्ध्र बर्ष जापान बसी व्यावसायिक योजना बोकी नेपाल फर्केका गाउँले तुलसीराम लामिछाने, काठमाण्डौ बस्ने देबेन्द्र लामिछाने तथा चीनबाट आर्थिक सहयोग र हौसला प्रदान गर्ने हरिभक्त लामिछानेले युवाहरुको प्रशंसा गर्दै नआतिन र नमातिन सल्लाह प्रदान गरेको बताउँछन् ।
आधुनिक एवं व्यवस्थित भकारो र गाउँमा चितुवाको डर भएकोले सुरक्षित गोठ निर्माणका लागि सम्बन्धित वडा र नगरपालिकाले आवश्यक सहयोग गरेमा आफू अथकरुपमा यसमै समर्पित हुने काठमाडौंको प्रतिष्ठित कलेजबाट होटल म्यानेजमेन्टमा स्नातक तह पुरा गरेका युवा रमेशको अठोट छ ।
पैयुपाँटाकै काभ्रेडाँडा गाउँमा केही बर्ष अघि व्यवसायिक रुपमा किवी खेती आरम्भ गरेका अर्का युवा महेन्द्र रिजाल र गाउँलाई नै कुखुरामा झण्डै आत्मनिर्भर बनाउन सक्षम युवा प्रकाश सुवेदी रखाल तथा पशुपालन तथा दुग्धजन्य उत्पादनमा गाउँलाई आत्मनिर्भर बनाउन तल्लीन यी युवाहरु कुलतमा फसेका, गाउँमा केही छैन भन्दै बसेका अन्य युवाहरुका लागि गतिला उदाहरण बनेका छन् । यस्ता जुझारु युवाहरुलाई राजनीतिक छाताभन्दा बाहिर उत्री सम्बन्धित वडा कार्यालय तथा स्थानीय तहबाट यथेष्ट सहयोग र हौसला प्रदान गरी बजारको प्रत्याभूति गरिदिन सकेमा यसरी नै थुप्रै बेरोजगार तथा कोभिड१९ का कारण रोजगारी गुमाएका युवाहरुलाई स्वावलम्बी र स्वरोजगार बनाउने मात्र होइन कि नयाँ नयाँ रोजगारीका अवसर सिर्जना हुने अपेक्षा गर्न सकिन्छ ।