- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। छोराको नागरिकतामा बाबुको नाम जोडिएर आए झैँ कृतिसमीक्षामा कृतित्व भन्दा अगाडि सन्दर्भ र व्यक्तित्व स्वाभाविक नै हो । यसैलाई प्रष्ट पार्न खोजिरहेको छु । दोलखा जिल्लाको कालिञ्चोक गाउँपालिका सुनखानी गाउँका स्रस्टा भुवनराज शिवाकोटी 'चौघरे'हाल काठमाडौंमा नै बसेर साहित्यसेवा गरिरहेका छन्। भुवनराज शिवाकोटी एउटा कित्ताका दुई सृजनशील शोपानउन्मुख व्यक्तित्व रहेछन् । उनका दुई पाटामध्ये एउटा सङ्गीत र अर्को साहित्य पर्दछन्। सङ्गीतअन्तर्गत शब्दरचना, लयविधान र गायन पर्दछ र यसैको त्रिकोणात्मक मूल सम्बन्धको मूल खाँबो पनि रहेछन् । साहित्यअन्तर्गत सबै विधामा प्रायः कलम चलेको देखियो र उनको अरू सृजनाहरू पनि पढ्दा हालसम्म खण्डकाव्य र महाकाव्यबाहेक । कविताअन्तर्गत गद्य कवितामा बढी लगानी रहेको देखिन्छ साथै अरू विधामा भन्दा कवितामा शसक्त ऊर्जा भर्न सफल पनि देखिन्छन् भने कवितामा पनि गद्य कवितामा जति ऊर्जाशील छन् त्यति नै अरूमा कम भेटिन्छन् । हुन त कविताको ऐतिहासिकता खोज्ने हो भने हामी गीतमै पुग्नुपर्ने हुन्छ ।
कविताको लघुत्तम रूप मुक्तक, लघु रूप फुटकर कविता र गजल लगायत आयातीत विधा हाईकुमा समेत सशक्त कलम चलाएका छन् । साहित्यमा वर्तमान समयको विकृतिविसङ्गति, न्याय सम्पादन, अन्याय अत्याचार, बलात्कार र घुषखोरी जस्ता विषयवस्तुलाई समावेश गरी उक्त घटनाहरूलाई निरुत्साहित गर्दै देशभक्तिमूलक रचनाहरूको सृजना गरेका छन्। भने सङ्गीतको पाटाबाट पनि देशको गौरबलाई माथि उठाउँन आफ्नै शब्द, स्वर र सङ्गीतमा करीब तीन दर्जन गीतका म्युजिक भिडियोहरू श्रोता दर्शकहरूमाझ सार्वजनिक गराइसकेका छन् । साहित्य र सङ्गीतका गरी र सालका हिसाबले वि सं २०६७ देखि हालसम्म करीब दर्जन ९-१२ भन्दा बढी कवितासङग्रह र साङ्गीतिक कृतिहरू प्रकाशित गरी सार्वजनिक गरिसक्नुभएको छ । त्यसैगरी दर्जनभन्दा बढी प्रकाशोन्मुख अवस्थामा पनि रहेको देखिन्छ। करीब दशवटा विभिन्न साहित्यिक संघसंस्थाबाट सम्मानित, अभिनन्दित एवं पुरस्कृत भइसकेका स्रष्टा शिवाकोटी करीब आधा दर्जन साहित्य र सङ्गीतका संघसंस्थाका संस्थापक र आजीवन सदस्यको पदमा संलग्न वा आवद्ध भई अनवरत सेवासमेत गरिरहेको पाइन्छ ।
उपर्युक्त कृति छरिएका पाइला हाइकुसङ्ग्रहको बाहिरी आवरण र संरचना हेर्दा आवरण निक्कै आकर्षक देखिन्छ मतलब आवरण पनि कृतिको पूर्वपरिचय हो । यसको रङ्गीय दृष्टि त्यत्ति उज्यालो देखिन्न तर गुणात्मकता चाहिँ अब्बल देखिन्छ । बाहिर एउटी नारीको पिठ्युँमा बीचमा सलक्क परेको केशराशी कम्मरभन्दा तलको भागमा राखिएको दुई आँखाको बीचमा नाकको समानान्तर हुँदै पुछार पुग्दा पिरामिडको विपरीत आकारमा गाडिएको छ । त्यसको ठीक माथि नारीको टाउकोमाथि छरिएका पाइला ठूला अक्षरमा लेखिएको छ। त्यसको ठीक तल स्रष्टाको नाम लेखिएको छ। विपरीत पाटामा स्रष्टा परिचय र सम्मान तथा आवद्धता राखिएको छ । यसले कृतिभित्रको रचनाहरूको प्रतिनिधित्व गरेको पाइन्छ भने पाइला ले हाइकु र आवरण चित्रले आफ्नो स्थायी अस्तित्वसहितको सृजना भन्ने भाव देखाउन खोजिएको हो भन्ने मेरो व्यक्तिगत बुझाइ हो । साहित्यकार पुष्कर लोहनीको भूमिका , लेखकीय मन्तव्य र प्रकाशकको भनाइ हुँदै पृष्ठसंङ्ख्या एकबाट हाइकु शुरु भएको छ र करीब ३३ पानाको दुवै पाटामा एक पानामा दुई लाइन र यसमा करीब बीस थान गरी दुई पाटामा जम्मा चालीस थान हाइकु अटाई करीब १३१४ थान हाइकु आफ्नै गतिमा हुँइकिरहेको भेटिन्छ। हाइकुको मात्र फैलाहटले ६६ पृष्ठ देखाउँछ भने बाँकी आठ पाना वा १६ पृष्ठलाई सङ्केत दिइएको छैन ।
छरिएका पाइलाको गुदी खोतल्दा
नेपाली सृजना र नेपाली भाषाको अत्यन्तै गहिरो र नजिकको सम्बन्ध छ जसले हामीलाई सृजनशील हुन सिकायो फरक फरक विधामा दख्खल राख्न सक्ने बनायो त्यसैले नेपाली भाषाको अहिलेसम्मको पुराना अभिलेखहरूमध्ये विक्रमको चौधौँ शताब्दीको शुरुको अवधि जुन अशोक चल्लको प्रशासनिक ताम्रपत्र, हुम्लाको रेलिङ गुम्बामा रहेको थियो र १३१२ मा कपिएको । करीब हजार वर्षभन्दा पहिलेदेखिको नेपाली भाषाको विकास हाल आएर नेपाली कविताको काल विभाजनको प्राथमिक काल १८२६-१९४० को पनि उत्तरप्राथमिक कालको सेरोफेरोमा कवि सुवानन्ददासद्वारा लेखिएको पृथ्वीनारायण सम्बन्धी कविता नै हालसम्मको झ्याङ्गिएको कवितात्मक रूप मानिन्छ । हालसम्म करीब २५२ वर्ष फड्को मारिसकेको छ । यही विशाल र सम्भ्रान्त सृजनशील छहारीमुनि साहित्यका सबै विधा र आयातीत विधासमेत हामी नै हौँ र हामीले गर्व गर्नुपर्छ। हाम्रै गोत्रमा आइसकेको हाइकु एक सशक्त विधा भइसकेको छ नेपाली साहित्यको फाँटमा । थोरैमा धेरैको सम्भावना भएको यो विधा आजकल निक्कै लोकप्रिय पनि बनेको छ । एउटा जापानीज संरचना नेपालमा साहित्यकार शंकर लामिछाने हुँदै भित्रियो भने पनि हुन्छ योगदानको हिसाबले । त्यही बीऊ ५्७्५ को संरचनामा हुर्किँदै गयो र अहिले छ्यापछ्याप्ति भएको हो । हुन त जापानीज हाइकुहरू अक्षरात्मक हुन्छन् वर्ण हुदैनन् पनि भन्ने गरिन्छ तैपनि ५्७्५ कै संरचनामा यता लेखिन्छन् र अनिवार्य रूपमा प्रकृति वा ॠतुको वर्णनसँगै जीवनजगत् बोल्न सक्नु हाइकुको धर्म मानिन्छ। उपर्युक्त कृति छरिएका पाइलालाई सतही अध्ययन गर्दा संरचनाका हिसाबले, भावका हिसाबले, विषयवस्तुको हिसाबले, रस अलङ्कारको हिसाबले, बिम्ब प्रतीकको हिसाबले, बक्रोक्ति र व्यञ्जना आदिको हिसाबले हेर्न सकिन्छ तर सबै संभव नभएपनि समग्र हिसाबमा हेर्ने प्रयत्न गरेको छु।
कुनै पनि रचनाको कुरा गर्दा पहिले स्वरूप वा संरचना आउने गर्दछ । त्यसमा पनि विधागत हिसाबले पहिचान र भाव पक्ष प्रमुख रहन्छ । फुटकर कवितामा केन्द्रीय भाव प्रबल रहने हुँदा कविताको समकक्षी आयातीत विधा भएपनि हाइकुलाई संरचनागत हिसाबले खासै फरक पर्दैन । बाह्य संरचना ५्७्५ हुने र विषेश गरी मुक्तलय हुने भएकोले सबैले यसमा इच्छाशक्ति हुनेहरूले लेखेका छन् । हेर्दा सूक्ति जस्तो पनि अनुभूति गर्न सकिन्छ । थोरैमा धेरैको संभावना रहन्छ । विशेषत आलङ्कारिक हुनुपर्छ भन्ने तर्क रहन्छ मेरो । सैद्धान्तिक हिसाबले प्रकृतिवर्णन र ॠतुवर्णनसँगै जीवन र जगत्को अनिवार्य प्रश्तुति भनिएपनि कला कलाको लागि वा कलाको लागि विचार पक्ष भन्ने कुरा ठूलो हो । तर यो हाइकुसङ्ग्रहमा विचार र कला दुवै भेटिन्छ। खोज्नेले खोज्न चाह्यो भने सबैमा खोज्ने हो अगाडि र पछाडि मात्र यसको अन्त्य होइन ।हाइकुसङ्ख्याको हिसाबले कला पक्ष कम छ तर अस्तित्वपूर्ण छ । बाँकी विचार विचारको लागि मात्र पर्याप्त भएपनि अभिधेय अर्थमा ठीक छ । यो अहिलेको सन्दर्भमा ठीकै पनि हो किनकि रीसको बेला कसैले वेद पढ्दैन । जसले जे पोख्छ परेको वेला गाउँकै भूत काम लगाएको हो । विपदमा छिटो जानकारी गराउँदा कसैले सम्मान श्रॄङ्गार पहिरिरहँदैन।
कलापक्षमा आन्तरिक संरचना प्रतीकात्मकता र बिम्बात्मकता पनि भेटिन्छन् नै त्यस्तो रूखो भेटिन्न । स्रष्टा शिवाकोटीको हाइकु कुनै स्कृप्ट तयार नगरी लेखिएको हो भन्ने कुराको प्रमाण १३१४ थान हाइकु पढ्दा थाहा हुन्छ मात्रै होइन लेखक यादृच्छिक हुनुपर्छ भन्ने कुरा पनि प्रमाणित गरिदिएकाले म उहाँलाई सम्मान गर्न चाहन्छु। वर्तमान समय नै सूचनाप्रवाहमूलक भएको छ र सृजनात्मक सूचना वा साहित्यको विधागत क्षेत्र पनि सरल बन्न थालेको छ । यसअर्थमा साहित्य नै एउटा भद्र र शालीन सूचना हो भन्ने लाग्छ। सबैलाई सूचना गरेर म कवि हुँ भन्नु र कविहरूको बीचमा सबैले कवित्व देख्नु महान लाग्छ। वास्तवमा भुवनराज त्यहाँनेर मात्र भेटिन्छन्।
विषयवस्तुको हिसाबले शिवाकोटीका हाइकुहरू विचार पक्ष धेरै र युगीन चेतना कम भेटिन्छन् जसमा कलाका लागि कला भन्ने सन्दर्भ जोडिन्छ। उनको समसामयिक विषयवस्तुले यौटा पहाडी श्रृङ्खला नै खडा गरेको छभन्दा पनि फरक नपर्ला यो आजको आवश्यकता पनि हो । प्रकृति र ॠतु भनेकै सैद्धान्तिक पक्ष जो युगीनतातिर दौडिएका छन् यसको बारे बोल्नै परेन कम छन् कलात्मक छन्, प्रतीकात्मक र बिम्बात्मक छन् । समाजका विकृतिविसङ्गति, अन्याय अत्याचार, भ्रष्टाचार घुषखोरी आदिमा व्यङ्गधर्मिता प्रशस्तै भेटिन्छन् ।
यसैक्रममा अविधेय अर्थको बिचारमूलक केही प्रेमील हाइकुको उदाहरण हेर्न सकिन्छ ।
बन्द कोठामा
भिजेछ त सिरानी
शीत नझरी।।७२२।।
नसमाउन
यो घाउ अधरको
चहर्याउँछ ।। १०४१।।
तिमी सहारा
जीवनको घुम्तिमा
सुख र दुःख ।।९०२।।
तिम्रो आँखामा
खुशी पोखिएदेखि
छैन अँध्यारो ।।१३०२।।
प्रतीकात्मक र व्यञ्जनालाई पनि हेर्न सकिन्छ राजनैतिक विसङ्गतिमाथिको
भेँडा जनता
स्याल जस्तै नेतृत्व
ब्वाँसो निर्णय ।।५७६।।
देशको झण्डा
हल्लाउँदै पखेटा
आयो हुँचिल ।।५७१।।
उस्तै देखियो
दलीय राजनीति
काटेको आलु ।।४९६।।
नेता गाउँछन्
नाच्छन् नागरिक
रत्यौली देश।।४९६।।
गरीबीको पक्ष र रुढीवादी परम्पराको विरुद्धको मात्र १्१ उदाहरण हेरौँ (
धनीको भोज
गरीब अगेनुमा
गिट्ठा भ्यागुर ।।३९१।।
अन्धविश्वास
कालीको मन्दिरमा
मानव वली ।।४८३।।
त्यस्तै मानव सम्वेदनाहरूको अन्तर्ज्वाला पनि त्यत्तिकै पाइन्छ (
नतातेपनि
हृदयको तलाउ
उम्लिरहन्छ ।।२८४।।
चिसो दिलमा
सल्केको छैन आगो
पोल्छ मात्र पो ।।२८५।।
नयाँवर्ष र नयाँ शिक्षा सन्दर्भमा भाषामोह , राष्ट्र र राष्ट्रियताका केही उदाहरण हेरौँ (
भाषा नेपाली
अग्रेजी नयाँ वर्ष
शुभकामना ।।१९२।।
खै त नेपाली
अङ्ग्रेजी होर्डिङ बोर्ड
मारियो भाषा ।।१९३।।
देश नेपाल
धेरै छन् नयाँ वर्ष
खै नयाँ दिन ।।१९५।।
नयाँ शिक्षामा
अङ्ग्रेजी विद्यालय
हरायो भाषा ।।२०१।।
प्रतीकात्मक , बिम्बात्मक र प्रकृतिको प्रयोग हेरौँ केही (
जून हेरेर
भूल्न कोशिस गरेँ
तिम्रो मुहार ।।९५।।
जलेको छाती
सिमलको ओछ्यान
तात्दैन मन ।।१२१।।
गङ्गा जलमा
डुबेर निस्कदैमा
हुँदैन धर्म ।।१२३।।
ढुङ्गाको काप
पिपल उम्रिएर
प्रेम फूलेछ ।।१५०।।
वास्तवमा मैले उदाहरणस्वरूप मात्र प्रश्तुत गरेको हुँ यहाँ भित्र यति फराकिलो आकाश छ जहाँ जता उडेर पनि र जे चाहे पनि सतहमा ल्याउन सकिन्छ मात्र अध्ययन र इच्छाशक्तिको केही आवश्यकता भने अवश्य पर्छ। भावनाको आकाश र विचारको सागर अनन्त र प्रशस्तै भेटिन्छ यो सङ्ग्रहमा । विचार र विश्लेषण सबैको आ(आफ्नै हुनेगर्छ र हुनु पनि पर्छ । मैले खोतल्न नसकेको कुरा अरू कसैले बढी नै रौँचिरा पनि गर्लान् । त्यो भन्दा अतिशयोक्ति वा अतिरञ्जना पनि गर्न सकेको हुँला आफूले । यद्यपि जो कोहीले पनि समीक्षात्मक धर्म निर्वाह गर्दा भेटिने सत्य र वैयक्तिक भावावेश सबैमा थोरै धेरै रहेकै हुन्छ भन्ने लागेको छ । यो कृतिको सन्दर्भमा मैले मीमांसाको रूपमा मात्र प्रश्तुत गरेको छु। एक जना सिद्धहस्त साहित्यस्रष्टा भुवनराज शिवाकोटीको हाइकुसङ्ग्रहमा आफ्नो पाठकीय दृष्टिकोण प्रश्तुत गरेर डुबुल्की मार्ने अवसर प्राप्त भयो । यो मेरो लागि सौभाग्य सम्झेको छु । यो हाइकुसङ्ग्रह सैद्धान्तिक रूपमा , व्यावहारिक रूपमा पनि सफल देखेको छु । पाठकीय आँखामा पनि सुन्दर फूल भएकै कारण सबै सृजनशील मनहरूमा सजिन सफल बन्लान् ।
अबका दिनमा यो भूमण्डलीकरणको समयमा थोरैमा धेरै अँटाउँने क्षमताको सृजना लेख्न आवश्यक देखिन्छ नै र यस्ता किसिमका सरल शब्दहरू भएका र वर्तमान समयको विषयवस्तुमाथि विचार पक्ष सबल भएका भुवनराज शिवाकोटी 'चौघरे'द्वारा सिर्जित हाइकुसङ्ग्रह 'छरिएका पाइला ' नामक पुस्तक खोजीखोजी एक पटक सबै अग्रज र अनुज सृजनशील व्यक्तित्वहरूले पढ्न आवश्यक ठानेको छु किनकि सृजना जन्माउँनु र बुझ्नु पुरस्कार र आर्थिक पाटो मात्र होइन यो त स्वर्गीय आनन्दको साथै अमर सन्तान वा आफ्नै अमरत्व सृजनाको मूल आधार पनि हो । जीवनमा आफूलाई सत्य निष्ठा, राष्ट्र र राष्ट्रियताको आफू बन्न प्रेरित गर्छ त्यो नै म र मभित्रको आफ्नोपन हो ।
दोलखाका साहित्यस्रष्टा भुवनराज शिवाकोटी 'चौघरे' कृत पुस्तक हाइकुसङ्ग्रह 'छरिएका पाइला' भित्रका कोमल फूलजस्ता सृजनशील डोबहरूसँग पाइलैपिच्छे यात्रा संवादको प्रयास गरेँ। कतै ती डोबहरूले चित्त दुखाएभने पनि अज्ञानता सम्झेर क्षमा दिनुहुनेछ भन्दै संसारभरि राज गर्ने अर्थमा अग्रज स्रष्टा 'भुवनराज' शिवाकोटीको साहित्यिक यात्रा यसरी नै अनवरत रूपमा अघि बढिरहोस् । जय साहित्य ।