arrow

विश्वेश्वरप्रसाद प्रसाद कोइराला, सुम्निमा, माक्सवाद र मानवतावादको संगम

logo
संसारचन्द्र न्यौपाने,
प्रकाशित २०७७ भदौ २४ बुधबार
Sansar-Chandra-Neupane.jpg

साहित्य समाजको उपज हो । सर्जकहरु समाजद्वारा बनाइएको उत्पादनको साधन र उपभोग अनि यसको अन्तर्कृयाद्वारा प्रेसित हुने चिन्तनद्वारा सृजनशिल भएर साहित्य वा रचना निर्माण गर्दछ्न् । साहित्यमा सामाजिक द्वन्द्वात्मक स्थिति र भौतिकवादले सृजित गरेको सामाजिक लेखिनु र देखाउन सक्नु उत्कृष्ट साहित्य हो । एङेल्सको भनाइलाइ अझ मान्ने हो भने साहित्यमा रचनाकारले जति आफ्ना भावना र सोचलाई वस्तुगत भएर अप्रत्यक्ष व्याख्या गर्न सक्छ उति नै उत्कृष्ट साहित्य सृजना हुन पुग्दछ । साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको कथा र उपन्यासहरु थुप्रै रुपमा पाठकहरुमा समालोचना र व्याख्या हुन सक्ला, विश्वेश्वरप्रसाद कोइरालाकै शब्दमा साहित्यका अराजक अर्थात त्यो अराजकता तत्कालीन सामाजिक सोच र मान्यता जुन विसङगतीपुर्ण थिए ती माथी गरिएको निर्मम प्रहार थियो भन्ने आशयमा विश्वेश्वरप्रसाद कोईरालाको साहित्य र उत्कृष्ट कृति सुम्निमा मार्क्सवादी सौन्दर्य चेतले भरिएको र मानवतावादको पक्ष या कसिमा उभिएको कृति हो भन्ने कुरामा विवाद नहुन सक्दछ । त्यसो त अत्यन्त मन पराइएको र त्यसै गरि बारबार जलाइएको कृतिको थुप्रै अनुत्तरित व्याख्या र विश्लेषण अझै भविष्यको गर्भमानै हुन सक्छ ।

सुम्निमा पूर्वी नेपालको पहाडी भेग कोशी नदी किनारमा रहेका आर्य र अनार्य अर्थात किरात सम्प्रदायबाट प्रतिनिधित्व गर्ने पात्र ब्राम्हण युवक सोमदत्त र किरात युवती सुम्निमाको भेट, त्यो भेटले सोमदत्तको जीवनमा पारेको प्रभाव, सोमदत्तको पितृत्व सुखको अभाव, सुम्निमासंगको पुनर्मिलन त्यो मिलनले जगाएको रागात्मक क्षमता, पुत्रको आगमन, अन्तिम पल सुम्निमासँगको सानिध्यता र सुम्निमाकै छोरीसंग सोमदत्तको छोराको सम्भावित विवाह सन्दर्भमा उपन्यास अन्त्य हुन्छ । उपन्यासमा पुलोमा, भिल्ल युवक, बिजुआ लगायत थुप्रै पात्रहरू छ्न् तर ती सबै गौण पात्रहरू मानिएको छ ।

पूर्वी नेपाल र सामाजिक चेतना 

साहित्यकारको सामाजिक अवस्था परिस्थितिको अध्ययन सृजनाको व्याख्या र विश्लेषण गर्दा आबश्यक पर्दछ भन्ने सोच इतिहासवाद र मार्क्सवादी सोचको उपागम हो । सुम्निमाको लागि केही भन्नू अगाडि नेपालको सामाजिक र राजनीतिक पक्षको अध्ययन अछुतो रहन सक्दैन । महान कार्यको लक्ष्य लिएर मार्ग पहिल्याउदै हिड्ने क्रममा ढुङ्गामा ठेस नलागे, बगरमा नदर्फराए, जंगली काडाले नघोचे, हावापानी र बर्खासँग जोरी नखोजे, अत्यधिक चिसोले ओठहरु नकापे, अनि केहि जनाको पिठ्युँ पछाडिका अनर्गल कुराहरू नसुने परिपक्वता र समाज सुधार पक्कै हुदैन भलै त्यसको लागि धेरैनै त्याग गर्न किन नपरोस।
    
भोजपुरको दिङलालाई संस्कृत शिक्षाको केन्द्रबिन्दु बनाएर मठाधिशहरुले मन्दिर परिसर भित्रमात्र सिमित गरिराखेका शिक्षण क्रियाकलापलाई सर्बसाधारणको पहुँचमा पुर्याउने बालगुरु खडानन्द अधिकारी हुन कि, आदर्श राज्यको पक्षअनि महिला शसक्तिकरणको परिकल्पनामा जलसमाधी लिन बाध्य बनाइएकी, योगमाया उपाध्याय नै किन नहुन सबैको योगदान अविस्मरणिय छ ।

परापुर्व कालको “ बिजयपुरका बुढा सुब्बा“ मात्र नभै, जनताको अबस्था सचित्र बर्णन गर्ने उद्देश्यले जुम्रा र लिखाले भरिएको बोराको कपडा लगाउने आम नेपालीको पोशाक श्री ३ लाई पठाउने कृष्ण प्रसाद कोइराला हुन वा आजको आधुनिक धरान बन्ने क्रमसँगसँगै सामाजिक चेतना जगाउन सहभोज र बिजातिय बिबाहको पक्षमा बोली ब्राह्मणबादी सामाजिक जडसुत्रबादी चिन्तनलाई खुला चुनौती दिन सक्ने पण्डित छबिलाल पोखरेल नै किन नहुन फरक फरक कालमा विभिन्न तरिकाले सामाजिक जागरण लिएर आउन कोशी नदी र त्यसको प्रवाह अनि सन्निकटबाट सिंचित र पल्लबित कोशी भेगका थुप्रैले अविस्मरणिय काम गरे । बिश्वेश्वर प्रसाद कोइराला त्यही कोशी भेगको भएकोले होला चेतना र सामाजिक विसङगती बिरुद्ध राजनीति गरेपनि साहित्यमा राजनीति नघुसाउने उनको कथन पूरा भने हुन सकेन । तर पनि समाजको चेतना प्रकट गर्ने रुपमा स्विकार्न सकिन्छ । सुम्निमा समाज र यसप्रतिको चेतना अनि विद्रोहको अवचेतन धारणाबाट पृथक हुन सक्दैन ।

सुम्निमा र सामाजिक पृष्ठभुमि  

साहित्य कल्पनाले साकार रुपदिन सृजित गरिएको अभ्यास हो, अभ्यासमा अनायासै मान्छेको मन, त्यो मनद्वारा निर्मित विचारधाराको शृङ्खला मरुभूमिको बालुवा झै तरेली तरेली पर्ने मान्छेको सोचलाई हावाको झोकासँग विभिन्न परिवर्तन सोचको कारण एकनास राख्न सक्दैन अर्थात बिचार आफैमा पनि अटल हुदैनन् र विचारको चेतले प्रेरित भएर केही कोरिदा कुनै कुनै कुराहरू सहसा प्रकट हुन्छन् सुम्निमामा पनि विश्वेश्वरप्रसाद कोइरालाले पात्र, स्थान अनि सन्दर्भ देखाउदा समाजमा रहेको द्वन्द्वात्मक चरीत्र, आधारभुत बर्गिय चरित्रले निश्चित गरेका सामाजिक मूल्य मान्यताको परिवर्तनपन र मानवीय संबेदनसिल कुरासँग जोडिएको आधारभुत कुराहरूको नजानिदो व्याख्या छ र जसलाई यौन मनोेविष्लेषणमा मात्र सिमित गरिदिदा अधुरो र अपुरो हुन पुग्दछ ।

प्रथमतः “सुम्निमा परापुर्वकालिन समयको रूपरेखा भित्रको नभै आधुनिक नेपाल निर्माणक्रममा नै रहेको सामाजिक मान्यता र सोच भित्र रहेको छ । परापूर्बकालमा पाइने साहित्यमा वातावरणिय पक्ष, मानिसले प्राकृतिक स्रोत साधनसँगको द्वन्द, जंगली जनावरहरुसँग गरिएका साहसिक युद्धकथाहरु मा सम्बन्धित हुन्थे । सामन्ती, अथवा औद्योगिक युगमा साहित्यसृजना मनुष्य र मनुष्य बिचकै द्वन्द जहाँ प्राकृतिक पक्ष कम देखा पर्यो । आधुनिक साहित्य मान्छेले आफैसित लड्ने लडाइँमा केन्द्रीत भएर लेखिएको छ जहाँ मानिसहरूले आफैले मानेको चिन्तन र सोचमा परिवर्तन गरेको छ । सुम्निमा आधुनिक सोच अनि सामन्ती सोच दुबैको समिश्रणमा रहेको आभाश हुन्छ ।

साहित्यले सामाजिक धरातलीय अवस्थालाई प्रष्टिकरण गरिरहेको हुन्छ भन्ने मान्यतालाई मार्क्सवादी व्याख्या मान्दै चर्चा गर्दा सुम्निमामा धेरै कुराहरू मार्क्सवादी दर्शनसंग राखेर हेर्न सकिन्छ । सोमदत्त, जातिय रूपमा मात्र नभएर आर्थिक रुपमा पनि सबल पात्र हो, आधारभुत आवश्यकताको अन्त्यपछी आवश्यक पर्ने स्वपहिचान र आत्मसम्मानको भोकले उसलाई गाजेको छ, फलस्वरुप उ तपस्या गर्न कोशीतटीय क्षेत्रमा जान्छ । तपस्याको वहाना गर्दछ । उसलाई आम मानिसहरूले भोग्नुपरेका कठिनताहरुसँग खासै केही लिनु दिनु छैन, परालौकिक र स्वर्गीय आनन्दको लालसामा बाचिरहेको छ । सोमदत्त आमरुपमा वर्गिय ब्यबस्थाको त्यो पात्र हो जुन उत्पादनसँग नजोडिएर उत्पादित वस्तुको उपभोग गर्ने र हक लिने पक्ष हो । तर यसको विपरित सुम्निमा जातिय रूपमा मात्र नभएर आर्थिकपक्षले सीमान्तकृत पारिएकी समाजको आधारभुत वर्गिय पात्र हो उसलाई मृत्युपछिको कथित स्वर्गीय लालसाले तानेको छैन । माटोसँग रमाउन चाहने र यससँग बाच्न अभ्यस्त भैसकेकी सुम्निमा माटो, जमिन, आधारभुत श्रमसँग सन्निकट छ । वस्तुत विश्वेस्वरप्रसादको सुम्निमा उपन्यासमा सामाजिक वर्गिय अवस्था छ्ताछुल्ल भएर पोखिएको छ । कसरी एक वर्ग थप सुखभोग जुन कल्पनामा आधारित छ त्यसको खोजिमा हिंड्न् खोज्छ तर अर्को आर्थिक बर्ग आधारभुत वर्ग जल,जमिनसंग मात्र गाँसिन चाहन्छ र त्यसको जोहोमा भौतारिरहेको छ यसको सजिव वर्णन सुम्निमाले प्रष्ट पारेको छ ।

मार्क्सवादी चेतमा अभिप्रेरित हुने मुख्य कुरो वर्गिय बिभाजन मात्र नभएर समाजको यथास्थितिको प्रतिबिम्ब पनि सृजनामा अटाउन सक्नु हो । सामाजिक जातिय बिभाजनले निम्त्याएको भिन्नताहरु, असम्भव बिजातिय बिवाह, किरात र ब्राह्मण समुदायसँग रहने आफ्नै जातिय सोचको ब्याख्या पात्रहरुको सम्बादहरु मार्फत देखाएर उपन्यासकारले जातिय बिभाजन र यससँग रहेको द्वन्द्व देखाएका छ्न् । सुम्निमाको शब्द शब्दमा लेखकले ब्राह्मण युवा सोमदत्तलाई सम्बोधन गर्दै आफु माटो अर्थात पृथ्वी अनि सोमदत्त आकाश अर्थात हावाको उपमा दिएकी छ्न । सामाजिक लैङ्गिक संरचनाले पनि स्त्री जातिलाई पृथ्वी र पुरुष जातिलाई आकाश मानेको छ । वर्तमान परिवेशमा पनि आमालाइ पृथ्वी र बाबुलाई आकाश मान्ने लोकोक्ती छ । वास्तवमा जातिय रुपको होस या लैंगिक रुपको होस सामाजिक अबस्था जस्तो छ, जस्तो सोच छ, त्यसको प्रष्ट जानकारी पात्रहरुको सम्बादबाट भएको छ जसलाई मार्क्सवादी सिंहावलोकन गर्दा अतिशयोक्ति नहोला।

जब कुनै कृति या सृजनालाई मार्क्सवादी नजरले दृष्टिगोचर गरिन्छ, अन्तिममा देखिने भनेको आधारभुत वर्गको अभिजात्यवर्ग माथीको बिजय हो । मार्क्सवादमा त्यो कुरा बस्तुहरुको उत्पादन, बितरण प्रयोगमा मात्र लगाउन सकिएला । मार्क्सवादी हेराइ सुम्निमामा बस्तुको उत्पादन र बितरण र प्रयोगसँग भन्दा पनि सोचाइमा हुने परिबर्तनसँग लगाउन सकिन्छ । अभिजात्य बर्गले निम्न बर्गसंग हार स्वीकार गरेको कुरा सोमदत्त सुम्निमासँग अन्तिम समयमा सँगै भएबाट अर्थ लगाउन सकिन्छ । आफ्नो मृत्युपुर्ब सुम्निमाले आफ्नो छोरीलाइ ब्राह्मण सोमदत्तको छोरासँग गराइदिन खोजेको बिबाहको मन्जुरीलिदा यो ब्राह्मणहरुको चेतनामा अन्य कुराहरुको बास हुन्छ, यो हावामा रहने जीवहरु फरक फरक हुन्छन् तर हामीहरु माटोसँग रहेर आनन्दमा रमाउन चाहनेहरु अर्कै हुन्छौ भनेर मनाउन खोजेकी छिन् । अन्तिम पानाहरुमा सुम्निमाको गहकिलो तर्क अनि तर्क माथी पाठकको दृृृष्टिकोणको व्याख्या गर्दा सहसा आघारभुत र जीवनसँग जोडिएको कुराहरुमा पाठक आइपुग्नु बर्गिय समालोचना हो ।

मार्क्सवादी चेतले सकारात्मक र प्रगतिशील र बिज्ञानसम्मत कुराहरुको प्रधानता सधै रहनु पर्दछ भन्ने आशय राख्दछ । उपन्यासको शुरुआतमा किराँत र आर्यबिचको मौलिक भिन्नताहरुको अनुभुति गराउन सक्नु, जातियता र त्यस माथिको सोच, जातिय विभेद र ब्राह्मण संस्कृतिको बारेमा धेरै प्रश्नबाचक लाग्ने तर्कहरु पाठकहरुको मनमा उब्जाएर केही जागरुक र प्रगतिशील हुन सन्देश दिएको छ। सामाजिक सचेतता अर्थात बिचार आधारभुत कुराहरूबाट नै परिलक्षित हुनुपर्छ भन्ने सोचलाई अनि सामाजिक जटिलताहरुको सकारात्मक समाधानतिर लानुपर्दछ भन्ने कुरा देखाएको छ । उपन्यासको अन्त्यमा अन्तरजातिय बिबाह हुन खोज्नु, सामाजिक जागरण र प्रगतिशील पक्ष हो । परिकल्पना जस्तो लाग्ने स्वर्गीय संसारको खोजिमा लम्कने सोमदत्त अन्तिममा धरातलिय संसारमा ओर्लनु, इन्द्रियजनितबाट आर्जित ती सबै सम्पुर्ण ज्ञान नै सत्य हो भन्ने सुम्निमाको निष्कर्ष छ्न् । मार्क्सवादी चिन्तन सत्यमा बिश्वास गर्दछ जुन बैज्ञानिक हुन्छ । किम्बदन्तीमा होइन अनुसन्धान र इन्द्रिय जनितपक्षद्वारा प्रेषित कुरानै सहि, प्र्माणित, बैज्ञानिक सोच र ढाँचा हो भन्ने कुरा उजागर सुम्निमामा भएको छ ।

साहित्य, आधारभुत बर्गिय धारणा, बर्गिय द्वन्द, आधारभुत बर्गले गर्ने बिजय, सामाजिक प्रगतिशिल धारणाको सचेतता र बैज्ञानिक तथ्य माथिको जोड मार्क्सवादी सोन्दर्य चेतको गहना हो । विस्वेश्वरप्रसाद कोइराला फ्रायडबादी सोचले मात्र हैन,अपितु सामाजिक जागरण र बर्गिय र जातीय समन्वय गर्न पनि सक्षम भएका छ्न आफ्ना कृति सुम्निमामा । त्यसैले सुम्निमा कालजयी उपन्यास हो ।

मानवताबादको कसिमा सुम्निमा

ऐतिहासिक रूपमा भन्नुपर्दा धार्मिक रुढताले सामाजिक पक्ष र मानवीय पक्ष सबैलाई पौराणिक कथाको व्याख्या र परालौकिक ज्ञानको श्रीनाद गर्दै संकुचित गरिदिएको अबस्थामा देवता असान्सारिक कुराहरूबाट पुर्णरूपमा पछि हटेर मानविय पक्ष, मानबिय सुख दुख, आक्रोश,संवेदना, रिस, राग, आशक्ती जस्ता मानिसका प्रत्येक कुराहरुको प्रमुखता साहित्यमा उजागर हुन सक्नु मानवताबादी धारणा हो । जनमानसले बुझ्न सक्ने भाषा प्रयोग हुन सक्नु, साधारण मानवीय कुराहरुमा चर्चा गर्न सक्नु, रोमाञ्चक पल, प्रेम घृणालाई प्रधानता दिनु, मानिसकै कमजोरी या खुवी व्याख्या गर्न सक्नु अनि मुल चुरो अर्थात समस्याको जड अनि समाधानको उत्प्रेरक पनि मानिसलाई नै ठानिनु र मानिनु मानवताबादी सोच हो ।

महाकवि देवकोटा स्वच्छन्दतावादीसँगै मानबिय सम्बेदनालाई पनि प्राथमिकतामा राखेर साहित्य सृजना गर्दथे । बिश्वेस्वरप्रसाद कोइरालाका सृजनाहरुमा मनोबिश्लेषणात्मक शैलीको धेरै ब्याख्यात्मक पक्ष भएता पनि मानबताबादी चेतबाट उनका सृजनाहरु च्युत हुन सक्दैनन् । भनिन्छ उनी एक नदी हुन । नदीमा अम्खोरा लिएर जानेले अम्खोरा भरि र गाग्री लिएर जानेले गाग्री भरी लिएर आउन सक्छ । तर अझै उनको ब्याख्या बाकी नै रहन्छ यो बिश्वेस्वरप्रसाद कोइराला मात्र हैन अन्य धेरै सर्जकहरुमा पनि लागू हुन सक्दछ । उनको राजनीतिक मात्र नभएर साहित्यको चिनारीलाई पनि ब्याख्या फरक फरक तरिकाले गर्न सकिन्छ । मानवताबादी बिश्वेस्वर प्रसाद कोइराला आफ्नो कृति सुम्निमामा मानवीय भावनाको प्रकटिकरण लागि स्मरणीय भएका छ्न् ।

प्रथमतः सुम्निमा उपन्यास शिर्षक नै आख्यानको नायिकासँग सम्बन्धित छ । यहाँ मुलपात्रनै सुम्निमा हुन् । ब्यबहारिक पाटो, मानवीय भावनाको पक्षमा सुम्निमा सुरुदेखि नै अगाडि भएको छ । इन्द्रियजनित ज्ञानलाई प्रधानता दिने यस उपन्यासमा प्रकृतिबाट मानिस जति दुर हुँदै जान्छ उति उसमा दुख अनि बिचलन देखा परेको छ भनेर देखाइएको छ ।

तपस्यामा लिन भएर परमार्थ सुधार्न तम्तयार सोमदत्त, सुम्निमासँगको भेटपश्चात हठी सोमदत्त बिचारदेखि फरक हुन्छ । आफ्नो छोराको धारणा र व्यबहारमा आएको परिवर्तन ले “छोरा बिग्रे, बिबाह गराइदिने ”आधुनिक धारणा झै गरि बाबुआमाले गृहस्थ जीवनमा प्रबेश गराइदिने, अनि पुत्रप्राप्ती मार्फत बंशज धान्नुपर्छ भन्ने चिन्तन र सोचाइको शिकार सोमदत्त दिक्दार लाग्दो सहबास अनि कमजोर शरीर साथ अनायास सुम्निमालाई भेट्न् पुग्दछ । सुम्निमासँगको नदी स्नानपश्चात कुण्ठित, बासना जागृत हुन्छ फलस्वरूप बाबू बन्न सफल हुन्छ । यो शृङ्खलाबद्ध घटनाक्रमहरुमा मानविय सोच, दुर्गुण, आशक्ती, कामबासना, घृणा, परस्त्री वा परपुरुषको सान्निध्य्को कल्पना सबै मानवीय इच्छा र आबश्यकताहरु हुन् ।

मानवता दृष्टिकोणले मानिसको शरीर, मानिसले गर्ने कर्म र गतिविधिले नै मानिसको चेतना सुदृढ हुन्छ भन्ने धारणा राख्दछ । ब्राह्मणवादको सोच र परलौकीक खुशीभन्दा जीवनका गतिविधिहरुमा मानबिय सुखलाई जुनसुकै माध्यमबाट प्राप्त भएतापनि प्रधानता दिनु पर्दछ भन्ने सोच सुम्निमामा छ। एक रुग्ण धार्मिक सामाजिक आडम्बरको दुर्दान्त अन्त्य र चर्म चक्षुको ज्ञानको उदघोस सुम्निमाले छोडेको छ । मानिसको प्रधानता धार्मिक सोच र अलौकिक दुनियाँको भन्दा माथी रहनु यसको सुन्दर पक्ष हो ।

सुम्निमालाई सर्सर्ती हेर्दा बिश्वेस्वर प्रसाद कोइरालाले आफ्नो सामाजिक नैतिक मान्यता भित्र पात्रको सोचाइलाई प्रकटीकरण, मानवियकरण गर्दै सरल भाषा शैलीको प्रयोगबाट मानवताबादी उपन्यास बनाउन सफल भएका छ्न् । जबसम्म मानिस मानसिक कुन्ठाबाट मुक्त हुदैन उसमा सुखानुभुती हुदैन, सामाजिक मर्यादाहरु पनि मानविय संवेदनायुक्त जीवनमा मेल खाने गरि हुनुपर्छ अर्थात् मानिसको खुशीको लागि हुनुपर्छ न कि सामाजिक मर्यादाको र कोरा कल्पनाको घेरा भित्र मानव कैद हुनुपर्छ भन्ने स्पष्ट सन्देश उपन्यासकारले सुम्निमा मार्फत ब्यक्त गरेका छ्न् ।उपन्यासको मानबताबादी दृष्टिकोणमा सुम्निमा उत्कृष्ट छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ