arrow

कोरोना नियन्त्रण गर्न सर्वसाधारणको जिम्मेवारी

logo
रामप्रसाद न्यौपाने,
प्रकाशित २०७७ भदौ २५ बिहिबार
ram-prasad-neupane.jpg

काठमाडौं । कोरोना भाइरसको त्रासले समाज नै आतंकित छ । नेपालमात्र होइन धेरैजसो विकसित देशहरु पनि यो महामारीबाट उम्कन सकेका छैनन् । नेपालमा पनि कोरोनाको त्रास छाएको ६ महिना भइसकेको छ । तत्काल खोप ननिस्केकाले यसको प्रकोप कहिलेसम्म हुने हो भनेर यकिन गर्न सकिने अवस्था छैन ।

सरकारले कोरोना रोकथाम र नियन्त्रणमा धेरै समय बिताएको र खर्च गरेको भनेर प्रचारबाजी गरे पनि अहिलेसम्म त्यसको उपलव्धि देखिन सकेको छैन । सरकारको मात्र एक्लो प्रयास कोरोना रोकथाम होला भन्ने कल्पना गर्नु पनि बेकार छ । सरकारसँग प्रशस्त साधन र स्रोत भएकाले बढी जिम्मेवार हुनुपर्दछ ।

पटकपटक गरिएको लकडाउन र निषेधाज्ञाले पनि प्रभावकारी भूमिका खेल्न सकेको छैन । लकडाउन र निषेधाज्ञा गरेपछि मानिसको चहलपहल कम हुन्छ र संक्रमण फैलन पाउँदैन भन्ने सोच पनि सही हो तर अरु कुनै विकल्प नखोजी यसैलाई मात्र प्रमुख अस्त्र बनाउनु पनि व्यवहारिक रुपमा असफलजस्तै भएको छ ।

चैत्र ११ गतेबाट असार अन्तिमसम्म देशैभर गरिएको लकडाउनले के कति सार्थकता पायो त्यसको खोजी हुन सकेको छैन । केही दिन त मानिसहरु चुपचाप सहेर पनि बसेकै हुन् तर बन्द लम्बिँदै गएपछि ठाउँठाउँमा अवज्ञा समेत गरियो । दैनिक ज्यालादारी गरेर खाने वर्ग यो समस्याबाट निकै पिरोलिएको छ । जीवन धान्न नसक्ने टुंगोमा पुगेर कतिपयले आत्महत्याको बाटो रोजे, यो भन्दा सरकारलाई चुनौती दिने अरु विषय खोजिरहनु पर्दैन ।

सरकारले आफूलाई जनताको सेवक भन्दै आए पनि सरकारबाट यो बेला केही पनि नपाएकाले सरकार छ कि छैन प्रश्न गर्न थालेका छन् । यो बेला सरकार र विपक्षी केही पनि नभनी सामाजिक विषयमा सबै दल सक्रिय हुनुपर्ने बाध्यता छ तर पनि यही असहज अवस्थालाई देखाएर राजनीतिक स्वार्थपूर्ति गर्न खोज्नेहरुको संख्या पनि कम छैन । कमसेकम केही समयसम्म पुग्ने खाद्य सामग्री सरकारले वितरण गर्न सकेको भए पनि यत्रो आलोचना हुने थिएन ।

समाज परिवर्तनका वाहक सामाजिक अभियन्ता हुन् । सामाजिक अभियन्ता भन्नसाथ सामाजिक सेवाको माध्यम वा एउटा राजनीतिक कार्यकर्ताको हैसियतबाट सामाजिक रुपान्तरणमा योगदान दिने वर्गहरु हुन् । अहिले समाजले राखेको चाहना र खोजेको सेवा भनेको कोभिड– १९ को महामारीबाट बच्नु नै हो ।

मानिसहरु पनि आफ्नै स्वास्थ्यको लागि हो भनेर सचेत हुनुभन्दा पनि सरकारको काम हो कोरोना रोक्ने त, हामीले जे गरे पनि हुन्छ भन्ने सोचेकाले पनि समस्या थप बल्झिएको छ । अहिले सामाजिक अभियन्ता हुन् या राजनीतिक कार्यकर्ता हुन् उनीहरु  समाज परिवर्तन गर्न चाहनेहरु कोेभिड – १९ सँग जोड्ने कोसिसमा छन् ।  

आफू सामाजिक अभियन्ता र समाजको सचेत सदस्य भएको नाताले यस्तो अवस्थामा केही गरेर जान सके समाज तथा आफू र आफ्ना आगामी पुस्ताले स्मरण गर्नेछन् भन्ने सोच राख्दछन् । यही भावनाले सामाजिक अभियन्ता बन्दछन् तर समाज परिवर्तन गर्न शब्द तथा भनाइले मात्र पर्याप्त देखिएन । 

कोरोना भाइरस २०१९ ले त्रसित मानसिकता छ, आफ्नो परिवारसँगै डराएर बस्नुपर्ने बाध्यता छ । यस्तो अवस्थामा  त्यस्तो माग भएकोे समाजलाई रुपान्तरण गर्न कार्यकर्ता तथा अभियन्ताहरु समाजमा जति देखापरे तिनीहरुबाट सोचेजस्तो र भनेजस्तो पर्याप्त सेवा पाएनन् मानिसहरुले । त्यो त केवल शब्दसँग मात्र खेल खेल्दा रहेछन् भन्ने पुष्टि भएको देखिन्छ ।

समाजमा एकातर्फ भोक छ भने अर्कोतर्फ रोगसँग भिँड्नैपर्ने अवस्था छ । हामीले  शक्ति राष्ट्रहरुसँग तुलना गर्न पनि सकेनौं र उनीहरुले गरेको बुझ्न पनि खोजेनौ । हामीले आफ्नो देशमा के गरिरहेका छौं भन्ने कुरा मनन् पनि गरेनौं । के गर्नुपर्छ भन्नेमा हाम्रो ध्यान पनि गएन । समाजले के खोजेको छ र हामीले के गर्नुपर्छ भन्ने कुरामा पनि खासै चासो गएन । एउटै कुरा रह्यो, राष्ट्र असफल भयो भन्ने जमात (भिड) मात्रै देखियो । यसले कतिपय कुरा त्यसमा सीमित हुन्छन् होला तर समाजमा हुने घटनाक्रम त समाजसँग नै रहन्छ र पछिसम्म देखिन्छ पनि होला नि त ? अभियन्ताले यो सोचेको देखिँदैन । 

आज हामी गरिव देशका जनताका रुपमा परिचित छौ । भोकको चपेटामा परेर मर्नुपर्ने अवस्था छ ।  ‘जहाँ गाह्रो त्यही साह्रो’ भने जस्तो बजार मूल्य हेर्ने हो भने कहाली लाग्ने अवस्था छ । आलुजस्तो वस्तुको मूल्य पनि अहिले २ सय ५० रुपियाँ धार्नी पुगेको छ ।  कोभिड –१९ ले काम गर्ने अवसर सबैजसो गुमाएको देखिन्छ  भने महंगीले मानिस मर्नु कि बाँच्नुको अवस्थामा पुर्‍याएको छ । यो अवस्थामा समाजले खोजेको कुरामा हामी कहाँनेर सहयोगी बन्न सक्यौँ त ?

सामाजिक अभियन्ताहरु त्यही समाजको राजनीतिक हिसावले ओहदामा होलान् वा अभियन्ताको रुपमा मात्रै होलान् । खोइ त महंगी नियन्त्रण ? देशमा नै जताततै उत्पादन हुने, हुन सक्ने आलुको मूल्य नै के कारणले एकाएक धार्नीको २ सय ५० पुग्यो ? कहीँ कतैबाट न लेखाजोखा छ, न गर्ने प्रयास गरिएको छ । कोभिड–१९ को बहाना, नामले सजिलो बनाइदियो, यसले समाजलाई कस्तो असर पारेको छ ? यो कहीँ कतैबाट हेरिएन।

अहिले अवस्था यस्तो छ कि ३ बर्षको बच्चाले नि बिहान उठ्नेबित्तिकै आज कोरोनाले कतिजना मरेछन् बाबा भनेर सोध्छन् । यसो हेर्दा सरकारको काम खालि डाटा दिने मात्रै देखियो । जनताका निम्ति यो सुविधा र सेवाको व्यवस्था छ भनेर भन्न कहीँ कतैबाट सकेनौं । अहिले राज्य सत्ताबाट वैदेशिक सहयोग भित्र्याउने, अनि समस्या देखाएर जनता त्रसित बनाउने काम भयो ।

आखिर के देश र जनता यस्तो महामारीमा परेका बेला सरकारको काम यही हो त ? सरकारले यो भन्न सकेन कि जनतालाई – ‘हामीले यो राहत प्याकेज ल्याएका छौं, तपाइँहरु नआत्तिनुस, जनतालाई पर्दा सरकार छ ।’ रोग भनेको कुनै न कुनै रुपमा निरन्तर आइराखेको हुन्छ । किन सामाजिक अभियन्ताका रुपमा आफूलाई चिनाउन चाहनेले  यो कुरा गर्दैनन् । यस्तो अवस्थामा विदेशीले गरेको राम्रो कुरा नल्याउने, नराम्रा कुरा चाहिँ गरेर जनता तर्साउने ! यस्तो कुरा कुन निकायबाट सुनवाई हुन्छ ? कसले उठाउँछ ?

परीक्षणको बहानामा विदेशी दाताबाट ल्याएको रकम झ्वाम् पार्ने अनि सरकारसँग  साधन स्रोत छैन भन्ने ? अस्पतालमा आइसियू, सिसियू र भेन्टिलेटर खालि छैन भन्दै सरकार नै जनतालाई तर्साएर एकातिर  मानसिक रोगी बनाउँदैछ भने अर्कातिर केही रोग नभए पनि आत्तिएर नै मर्ने वातावरण बनाउँदैछ । यो विषयमा सचेतना ल्याउन जरुरी छ ।  मानसिक तनावले आत्महत्या गर्नेको सङ्ख्या बढ्दैछ । यसका लागि सरकारले सम्बोधन गरेको खोई ?

यससँगै काठमाडौँलगायतका विभिन्न ठूला सहरमा विदेशबाट आएर बस्ने प्रशस्त छन्, उनीहरुको संरक्षण गर्ने कि तिमीहरु घरमै बस वा  हेरचाह नपाएर मरिराख भन्ने हो ? हामी अन्य ठाउँबाट आएकालाई रोक्न सक्दैनौं भन्ने किन यस्तो भइराखेको छ त ? परिस्थिति र वातावरण हेर्दा अब हामी सरकारको मुखमात्र ताकेर बस्ने हो भने समाज भयावह अवस्थातिर जाँदैछ ।  त्यसै हामी सामाजिक अभियन्ताको रुपमा लाग्नेहरुले जो जहाँ र जुन समाजमा छौं जोखिम न्यूनीकरणका उपायहरु अपनाउँदे समाजलाई भयरहित बनाउन लाग्न जरुरी छ । यो कोभिड १९ तुरुन्त समाप्त हुने होईन । यो तत्काल पूर्ण नियन्त्रणमा आउँदैन । यदि यो ४–५ बर्ष रहेमा हाम्रो जस्तो देशमा अशान्ति फैलिने समाज बिद्रोहको बाटोमा जानसक्छ । यो कोभिड १९ भन्दा अझ घातक हुन्छ  ।

यसलाई राज्य सत्तामा बस्नेलगायत सामाजिक अभियन्ता सबैले बुझ्न जरुरी छ । समयमै  यसको नियन्त्रण, सम्बोधन र  व्यवस्थापन गर्न सरकार चुक्नु हुँदैन  । यसो गर्न नसकिएमा सरकार त आउँछ, जान्छ तर देशलाई हानी र खतरा पुग्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ