जापान छोडेर बाख्रापालनमा जम्दै पर्वत जलजलाका युवा

देबेन्द्र बागलुङे कान्छा, प्रकाशित मिति : २०७७ भदौ २८ आइतबार
पुरुषोत्तम सुवेदीले शुरु गरेको वाख्रा व्यवसाय

पर्वत । कोभिड १९ महामारीका कारण गरिखाने थुप्रै मानिसहरुले रोजीरोटी गुमाउन पुगेका समाचारहरु संचार माध्यममा दिनहुँ आईरहेको अवस्थामा पर्वतको जलजला गाउँपालिकाको वडा नं ६ का पुरुषोत्तम सुवेदीले युवा वर्गलाई नै सकारात्मक सन्देश दिने गरी बाख्रापालन व्यबसाय आरम्भ गरेका छन् ।

अध्ययन तथा रोजगारीका दौरान विद्यार्थी भिसामा पाँच बर्ष जापान बसी आफ्ना बाबु फूलप्रसाद सुवेदीको मेहनतबाट द्रबीभूत भई गाउँमै केही गर्न सकिन्छ भनि पुरुषोत्तम गत २०७६ मा स्वदेश फर्केका थिए । सानैदेखि मेहनतमा विश्वास गर्ने व्यबसायिक सोच भएका पुरुषोत्तम अहिले आफ्नो ठाउँमा रोलमोडल भएका छन् ।

पृथ्वीको जुन भौगोलिक पाटोमा बस्यो त्यहाँकै माटो सुहाउँदो कर्म गरियो भने सफलता हात पार्न सकिन्छ भन्ने विश्वास बोकेर आफ्नै जन्मस्थल फर्किएको बताउँछन् उनी । जापानमा कमाउने मासिक दुई लाख कलेजको फी, डेरा  भाडा, कार्यस्थलसम्म पुग्ने तथा फर्कने सवारीलाई भाडा अनि खाद्यान्न एवं लत्ताकपडामै सकिएर १०/१५ हजार मात्र बचत हुने लेखाजोखा गरी मासिक ५०/६० हजार त गाउँघरमै घरको आँटोपिठो खाएर परिवारसँग रमाएर पनि कमाउन सकिने देखेर गाउँ फर्किएको पुरुषोत्तम बताउँछन् ।

कोभिड १९ को महामारी नियन्त्रणका लागि जिल्ला जिल्लामा गरिएका बन्दाबन्दीका कारण गाउँबाट कतै निस्कन नपाएका उनी खाली समयमा आफ्ना बाबुसँग मिली ३ वटा आधुनिक एवं व्यवस्थित खोर निर्माणमा जुटे । झण्डै ८० वटा बाख्रा अटाउने क्षमताका ती खोरमा पाल्न गाउँमै उपलब्ध खरी जातका माउ बाख्रा तथा पाठापाठीहरु खरिद गर्दै गए । कम्तीमा ७५ वटा जति बाख्रा पुर्‍याउने लक्ष्य राखेका पुरुषोत्तमले हालसम्म माउ १३  वटा,  बोका ७ वटा तथा ५ वटा पाठी गरी २५ वटा बाख्रा पाल्न सुरु गरिसकेका छन् । 

बाख्रापालन तथा मासुजन्य पदार्थमा गाउँलाई आत्मनिर्भर बनाई रोजगारी सिर्जना गर्ने लक्ष्य
व्यवसाय आरम्भ गरी स्थानीय तहमा फर्म दर्ताको प्रक्रियामा रहेका पुरुषोत्तम प्रधानमन्त्री रोजगार कार्यक्रम गाउँगाउँमा संचालनमा रहेको तथा स्वरोजगार युवाहरुलाई प्रोत्साहन गर्ने राज्यको नीति भएकोले स्थानीय वडा कार्यालय, गाउँपालिका तथा जिल्लास्तरीय कार्यालयहरुबाट समेत आवश्यक सहयोग प्राप्त हुनेमा ढुक्क देखिन्छन् । 

हाललाई सात रोपनी पाखोबारीमा बाख्राका लागि पोषिला घाँसपात लगाएका उनले उच्च मनोबलका साथ भन्छन्, ' गाउँमा केही छैन भनी विदेशमा पैसाको बोटबाट नै पैसा टिप्न जाने हो कि जसरी बैदेशिक रोजगारीमा ओईरिने युवाका लागि उदाहरण बन्न पनि व्यबसाय सुरु गरेको हुँ ।'

बाख्राको जुतो खेतीपातीका लागि अति नै उत्तम मल हुने र सोको उपयोगबाट तरकारी, फलफूल,  खाद्यान्न बाली तथा घाँसखेतीलाई समेत फलदायक हुने हुँदा बाख्रापालनले बहुपक्षीय फाइदा पुगी उत्पादन चक्रलाई समेत टेवा पुग्ने स्थानीय बासिन्दाहरु सुनाउँछन् । 
 
स्थानीय अगुवा कृषक तथा व्यवसायीबाट अभिप्रेरित
स्थानीयस्तरमा झण्डै दुई दशक अगाडिदेखि व्यवसायिक फलफूल तथा कफी खेती गर्दै आएका लेखफाँटका अगुवा कृषक टिकानाथ सुवेदी, लेखफाँटकै रातामाटामा व्यवसायिक किवी खेती गरेका स्थानीय समाजसेवी यज्ञ सुवेदीको मेहनत र व्यवसायिक सफलताबाट आफू उत्प्रेरित भएको पुरुषोत्तम बताउँछन् ।

'छोराले थुप्रै खर्च गरेर विदेश गई छोटो समयमै फर्केकोमा बाबुआमा खुशी हुनुहुन्न होला नि' भनी जिज्ञासा राख्दा पुरुषोत्तम जवाफ दिन्छन, 'आफ्ना सन्तानसँग सँगै बसेर होमा हो गर्न पाउँदा उहाँहरु निकै हर्षित् हुनुहुन्छ।' उनको व्यवसायमा उनका बाबु फूलप्रसाद तथा आमा चन्द्रकुमारीले हरदम साथ दिएका छन् ।
 
पर्वतको उत्तरी भेगमा पर्ने जलजला क्षेत्रको भौगोलिक बनोट तथा हावापानी फलफूल तथा तरकारी खेतीका लागि उपयुक्त मानिन्छ । घाँसपात एवं चरिचरणको पर्याप्त भएका कारण पशुपालनका लागि समेत अति नै उपयुक्त रहेको छ । यस भेगको बाँसखर्कमा थुप्रै समय अघिदेखि गरिदैं आएको व्यवसायिक सुन्तला खेती गण्डकी प्रदेशमै नमूना मानिन्छ । 
 
स्थानीय शालिजा माध्यमिक विद्यालयका पूर्व शिक्षक महेन्द्रप्रसाद सुवेदी भन्छन्, ' गाउँका व्यवसायिक उद्यममा जुटेका उनीजस्ता युवालाई सम्बन्धित स्थानीय तह तथा अन्य सरोकारवाला निकायले आवश्यक सहयोग तथा अनुदान प्रदान गरेमा व्यवसायिक यात्रा सफल र दिगो हुने मात्र नभै अन्य बेरोजगार युवाहरुलाई समेत हौसला मिल्ने थियो ।'  

नयाँ