arrow

कोरोनाले जिन्दगी चुँडेपछिको क्रन्दन सुनेर

logo
बिबेक कान्त न्यौपाने, 
प्रकाशित २०७७ भदौ ३१ बुधबार
bibek-kant-neupane.jpg

झिसमिसे बिहानीपख उज्यालो भरिदै थियो । अघिल्लो दिन सदा झैं ढिलो सुतेकोले मस्त निद्रामा नै थिए । एकाएक कानमा कम्पन भएको कारुणिक क्रन्दन ब्युँझन पुगे । छिमेकमा कसैको मृत्यु भएर अभिभावकहरु नै भावविह्वल बनेको त्यो रोदन अत्यन्तै अत्यासलाग्दो थियो । सबै मृत्यु स्वभाविक लाग्दैनन् । अझ कुनै मृत्यु अपत्यारिला नै हुन्छन । कोरोनाले सिकाएको सामाजिक दुरीको अभ्यास काठमाण्डौ जस्ता शहरहरुले पहिलेदेखि नै गर्दै आइरहेकै छन् । यस अर्थमा एउटा घरलाई छिमेकको अर्कोको बारेमा खासै चासो नहुनु वा एउटै घरमा बस्ने घरधनी र बहालवालाहरु वीच समन्वय नहुनु पनि नौलो बिषय हुदैन । मनमा जति नै उदार भावना आएपनि उ कोरोना संक्रमित हो भन्ने जान्दाजान्दै नजिक जाने आँट नआउने रहेछ । सायद ज्यानको माया लाग्छ भनेको यस्तै होला । 

नजिक जाने आँट नै नगरेपछि के भएको भनेर अनुमान गर्नु बाहेक अरु विकल्प रहेन । अपरान्ह अनलाईन पोर्टलमा आखाहरू नाच्छन । कोरोनाको संक्रमणबाट काठमाण्डौका ३४ बर्षिय पुरुष सहित ५ जनाको मृत्यु भएको छ । टक्क रोकिएर सोच्न थाल्छु । बिहानको अनुमान सहि साबित पो भएछ । कोरोनाको पक्ष   बिपक्षमा मतहरु विभाजित हुदै गईरहेका छन् । भरत दाहाल र जागृत रायमाझीहरुको ' तर्क 'ले स्थान पाईरहेको बेला कोरोना कतै हाउगुजी पो हो कि लाग्न थालेको मलाई यो समाचारले स्तब्ध बनायो । भर्खर जन्मेको नाबालक शिशुले बाबा भन्न नपाउदै यो धर्ती उजाडिनु जसले जति तर्क गरेपनि कोरोनाकै कारण मृत्यु कति भयानाक र दर्दनाक बन्दोरहेछ देखिएको छ । त्यो परिवारले यतिबेला बज्रपात भोगिरहेको छ । यो एउटा प्रतिनिधिमुलक घटना हो । यस्तै असंख्य पिडाहरुको शृंखला देश बिदेशमा चलिरहेकै छ ।  

देशमा यतिबेला झन् झन् कोरोनाको कहर चलिरहेको छ । सत्तापक्ष प्रतिपक्ष तथा स्वघोषित कोरोनाबिद् सबैले कोरोना संक्रमण न्यूनीकरण भन्दापनि तर्कको राजनीतिमा समय खेर फालेको लामो समय भईसक्यो । राज्यले नागरिकहरुसँग कर असुली रहेको छ । अर्को शब्दमा भन्नुपर्दा जनताले तिरेको कर र खाडीमा रगत पसिना बगाएर युवाहरुले पठाएको रेमिट्यान्सले नै राज्य संचालनमा भरथेग भईरहेको छ । यसरी हेर्दा सत्ताको जिम्मेदारी साथसाथै केहि सीमाहरू पनि हुन्छन् । त्यसो त नगरीक आफैं पनि सचेत रहनै पर्दछ । विकसित देशमा जस्तो सेवा सुबिधा दिन सकिदैन भनेर एकातिर कुर्लने अनि अर्कोतिर जनताले तिनै देशका नागरिकले जस्तो सचेतना देखाएनन् भनेर अपेक्षा राख्नु आफैंमा गलत हो । प्रत्येक समाज अनि देशको आफ्नै बिशिष्ठ पहिचान हुन्छ । आमजनता दुखमा परेको बेला आड भरोसा दिन सक्छ भनेर नै सरकारलाई जनताको अभिभावकको रुपमा हेरिएको हुन्छ ।

देशमा छुट्टै स्वास्थ्य मन्त्रालय पनि छ । त्यहाँका प्रवक्ताले अपरान्ह टेलिभिजन स्क्रिनमा तथ्याङक वाचन गर्नु बाहेक त्यहाँका जिम्मेवार मन्त्री लगभग बेखबर छन् । यस्तो लाग्छ लामो समयदेखि उनी आईसोलेशनमा बसिरहेछन् । यस्तोबेला मिडियाका प्रश्नदेखि डराएर भाग्नु भनेको असान्दर्भिक मात्र होईन लाचर हुनु हो । पीसीआर सङ्ख्या यति दैनिक थप संक्रमित सङ्ख्या यति निको भई घर फर्किनेको सङ्ख्या यति भन्दै दैनिक विवरण दाखिला गर्दैगर्दा माननीय मन्त्रीजीले कोरोना नियन्त्रण तथा संक्रमण न्युनिकरणको भावी कार्ययोजना पस्कने र आम जनतालाई आडभरोसा दिने केहि काम गरे जस्तो लाग्दैन । अब नैतिकताको कुरा यहाँ उल्लेख गर्नुको कुनै अर्थ नै छैन ।

हिजोका दिनमा पिपीई आरडीटी कीट र अन्य सामाग्रीको गीत गाईयो। अबका दिनमा आईसियू र   भेन्टिलेटरको गीत गाईनेछ भनेर जवाफदेहिताबाट भाग्न नमिल्नुपर्ने हो । सम्बन्धित मन्त्रीदेखि प्रधानमन्त्रीसम्म समग्र क्याबिनेट सदस्यहरु यस्ता जनगुनासोहरूसँग असन्तुष्टि पोखिरहेका छन् । सरकारले गरेका राम्रा कामको प्रशंशा भएन, मात्र आलोचना भैरह्यो भन्ने उनीहरुको दुखेसो ब्यापक छ। यदि बिधि बिधान पद्दतिबाट राज्य संचालन भएको हो भने साँचो अर्थमा त्यस्ता गुनासोहरुको छानविन पनि सरोकारवाला निकायहरुले गर्नुपर्ने हो । तर त्यसो हुन सकिरहेको छैन । किनकि सत्तामा प्रणाली भन्दा व्यक्ति हावी भईरहेको अवस्था देखिन्छ । सङ्कटको वेला प्रतिपक्षको आवाज बुलन्द हुनुपर्ने तर निकै मन्द पो देखिन्छ । भागबन्डाको राजनीति अनि अपारदर्शी आर्थिक लेनदेन यसको प्रमुख कारण हुन सक्छन् । कोरोनामाथिको राजनीति जतिसक्दो छिटो बन्द गर्नु राष्ट्रको हितमा देखिन्छ ।

कोरोनाको प्रभाबकारी औषधी तथा भ्याक्सिन नआईन्जेल यस्तै पौंठाजोरी खेल्दै अघि बढ्नुपर्ने बाध्यता विश्व समुदायलाई नै आईपरेको छ । मेडिकल माफियाहरुको षड्यन्त्र भन्दै फ्रन्टलाईनमा अहोरात्र खटिएर काम गर्ने चिकित्सक तथा नर्सहरुलाई समेत हतोत्साही पार्ने काम भएको छ। वर्गेल्ती युट्युवरहरुले र केहि थान ठूला मिडियाले समेत स्थान दिएका केहि विवादास्पद अन्तर्वार्ताहरु अहिलेको सोसल मिडियाको दुनियाँमा जनजनको मोवाईलमा पुगेकै हुन्छन् । त्यसले जनमानसमा भ्रम चिर्न भन्दापनि थप भ्रममा पार्न मलजल गरिरहेको आभास हुन्छ । अन्य दीर्घरोगी भएपनि वा बुढ्यौली लागेको भएपनि कोरोना संक्रमण भएकै कारणले छिटो मृत्युको मुखमा पुर्याएको कुरा बिर्सन मिल्दैन । कोरोना केहि होईन भन्दै चिउँडो मात्र छोपेर मास्क लगाउँदा आफु मात्र होईन अरु पनि जोखिममा पर्छन भन्ने तथ्य पनि नभुलौं । भन्ने भाषाशैली फरक होला तर रोग प्रतिरोधात्मक हाम्रा आयुर्बेद जडिबुटीहरुलाई प्रवर्द्दन गर्न खोज्दा हाम्रा प्रधानमन्त्रीलाई मजाकको विषय बनाईरहन भन्दा पनि नियमित सेवन तथा प्रयोगको वानी बसालौं । यसो भनिरहदा अर्कोतिर लामो लकडाउन र सरकारको गलत नीति अख्तियारीले आर्थिक पाटो साथै आम जनताको जनजीविका निकै अप्ठेरो परिस्थितिबाट गुज्रिरहेको छ । दैनिक मजदुरी वा ज्यालादारी गरेर पेट भर्नुपर्ने जनताहरुलाई अब पनि थुनेर संक्रमण फैलिनबाट रोक्न सकिन्छ भन्ने लघुताभास त्यागौं । ऋण, ब्याज र कर केहीमा सहुलियत नदिने तर ब्यापार व्यवसाय यातायात सबै सेवा बन्द गराएर लामोसमयदेखि जनतालाई परेको समस्या र समाजमा देखा परेको नकारात्मक प्रभावको सहि मुल्यांकन गर्न निकै ढिला भईसकेको छ ।    
अब सत्ताले कुनै विकल्प र योजना विना जनतालाई लकडाउनमा राख्न सक्ने आधार सकिईसक्यो । त्यसैले असोज महिना शुरुसंगै देश खुल्ने संकेतहरु देखा पर्न थालेका छन् । यहि पारामा कोरोना संक्रमण झन् रफ्तारमा फैलने निश्चित जस्तै छ । सरकारले संक्रमण न्यूनीकरण र यसको सहि व्यवस्थापन समयमा गर्न सकेन भने देश अनि समाजले थप चर्को मूल्य चुकाउनपर्न सक्छ । सरकारको उच्च तह मन्त्री वा प्रधानमन्त्रीको स्तरबाट नै समय समयमा जनतालाई सु-सुचित र भरोसा दिन सक्नुपर्छ । बजारमा फैलिएका भ्रमहरुलाई बिज्ञ टोली मार्फत थप प्रष्ट्याएर यथार्थ जानकारी दिने व्यवस्था जतिसक्दो छिटो मिलाउनुपर्छ । कोरोनाले सिध्याईहाल्छ वा कोरोना केहि पनि होईन भन्ने दुवै अतिवादी सोचबाट बचेर कोरोनासँग जुध्दै नियमित जीवनयापनतिर फर्कनुको विकल्प तत्कालै देखिदैन । सरकारले यहि बेला हो आफ्ना नागरिकको समस्या समाधानमा सहजीकरण गरिदिने नत्र किन र केका लागि तिर्ने कर ?  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ