परिवर्तन र युवा

बिकाश भण्डारी प्रकाशित मिति : २०७७ असोज २ शुक्रबार
बिकाश भण्डारी

समाज र सामाजिक परिवर्तन र सत्ताको विकृती बिसंगती विरुद्ध आवाज उठाउने पहिलो शक्ति नै युवा शक्ति हो । करिब दश बर्षको सशस्त्र द्धन्दपछि राज्य सत्तामा पुगेर बन्दुकको धाक लगाई हिड्नेहरु होस् वा हातमा नागरिकता बोकेर नागरिक हुन पाउँ भनि राज्यको अपहेलित र दमनकारी व्यवहार विरुद्ध गरिएको आन्दोलन सबैमा युवा र विद्यार्थीकै अहं भुमिका छ ।

पदले आर्जन गरेको पैसा, त्यो पैसाबाट आर्जित अझ ठुलो पद अनि त्यो पदबाट झन घरै पैसा कमाउने उद्धेश्य नै नेपालका राजनीतिक दल र तिनको नेतृत्व गर्ने नेतृत्वकर्ताको देखिन्छ। मार्टिन लुथर किङको “आई ह्याभ अ ड्रीम फर अमेरिका ” पढ्दै गर्दा होस वा बीपीको समाजबाद, सबैको सारांश भनेकै शासक वर्गको केन्द्रमा जनता हुनुपर्छ । जनताको जीवनलाई सहज बनाउन सहजिकरण गर्ने कुरादेखि बाहेक अरु सोच्नै भएन भन्ने मात्रै हो ।

कुनै पनि राष्ट्र सम्पन्न छ भन्नका लागि त्यस देशका नेतृत्व वर्गसँग आम जनता खुसि रहनुपर्दछ, अग्ला महल बन्दैमा विकसित हुन्छ भन्नु हाम्रो भ्रम हो । अहिले डनवाद, गनवाद र धनवाधको राजनीति मौलाई रहेको छ । यसको उदाहरण अहिलेको सरकारलाई मान्न सक्छौं । विभिन्न तानाशाहहरुलाई ढालेर हामीले कल्पना गरेको सुन्दर लोकतान्त्रिक पद्धतीलाई अहिलेको सत्ताले गिज्याई रहेको छ । आफुलाई परिवर्तनको संबाहक ठान्ने मुल नेतृत्वले जब आँखामा सपना, मनमा भाव वोकी आफ्ना र परिवारका हजारौ सपनाहरुलाई तिलाञ्जली दिदै राजनितिमा होमिएका युवा, विद्यार्थीलाई अझै पनि पिल्स्याएर राखिरहे त्यही ज्वारभाटाबाट आफ्नै नेतृत्व विरुद्ध विद्रोह गर्ने आँट गर्नुपर्छ ।

अठार वर्ष पुगेपछी हामीलाई भोट दिने अधिकार हुन्छ, भोट दिनु पनि राजनीति हो, भोट नदिनु पनि राजनीति हो । हाम्रा जीवनमा आइपर्ने तमाम समस्याहरु विचमा हामीले एउटा राजनितिक दल छानेर चुनावमा जिताउछौं । उनिहरुले संसदमा गएर नीति नियम बनाउँछन् । त्यही नीतिको असर हाम्रो जीवनमा जोडिन सुरु हुन्छ।  यसर्थ हाम्रो जीवनमा जोडिएका तमाम कुराहरुको फैसला राजनीतिबाट नै हुन थाल्छ ।त्यसैले हाम्रो साथै आगामी पुस्ताको सुन्दर भविष्य बनाउनका निम्ति तमाम युवा र विद्यार्थी साथीहरु राजनीतिमा आउनै पर्दछ । 

घरबाट कोठाभाडा तिर्न पढाइदिएको पैसाले संगठन चलाई हिड्ने, खालि गोजी भोको पेट नै भएपनि भोलिको सुन्दर भविष्यको कल्पनामा आफ्नौ जीउ ज्यानको पर्वाह नगरी सडक र विश्वविद्यालयहरु तताउने युवालाई पाखा लगाई अझै पनि कोही दाई, दिदी, भाउजुको नाममा परिवारबाद र कृपाबाद घुसाउन खोजिन्छ भने ठेगान लगाईदिन्छौं भन्ने आँट गर्नुपर्छ । राजनिति शब्दनै एउटा सकारात्मक शब्द हो । किनकी सबै नीतिको राजा नै राजनीति हो । तर हाम्रो समाजले “राजनीति” शब्दलाई यति घृणा गर्छ की पछिल्लो पुस्ता यसबाट भाग्न बाध्य भईराखेको अवस्था छ । आउने पुस्ता यसबाट अझ टाढीने छ । धर्म खराब हुँदा मानिसले यसलाई अधर्म भन्दै जाँदा राजनीतिलाई पनि आउने दिनमा अर्को शब्दको उपमा नपाईएला भन्न सकिन्न । 

नेपालमा किसान र मजदुर बाहेक बहुसंख्यक परिवारमा आफ्नो अभिभावकले अपनाएको पेशा व्यवसायलाई नै उसको उत्तराधिकारीले अंगालेको हुन्छ । एउटा व्यापारीको छोराछोरी व्यापार नै गर्न चाहन्छ । नेताको छोरा मन्त्री बन्न चाहन्छ तर किसान र मजदुरको छोराछोरी त्यही हुन चाहदैन । नेपालमा किसान र मजदुर अझ भनौ श्रमजिवीको संख्या बहुसंख्यक छ । त्यसैले राजनीतिलाई गलत देखाएर वर्गीय एवं व्यवसायिक हस्तान्तरण हुन नदिई आफु र आफ्नो परिवार मात्रै सर्वेसर्वा भई राख्ने रणनीतिक चाल हो। भोलि बहुसंख्यकले राजनीतिक, आर्थिक, सामाजिक, राजनितिक क्रान्तिका निम्ति लडी, दिनभरी ज्याला मजदुर गरेर बेलुका छाक टार्नेको छोरी मेयर हुँदै गर्दा एउटा जुत्ता सिई दैनिक गुजारा चलाउनेको छोरा भोलि प्रदेश मुख्यमन्त्री हुँदै गर्दा जडशुत्रबादी मानसिकताबाट ग्रसित समाजले सहज रुपमा स्विकार्न सक्दैन । त्यसैले अरुको हस्तक्षेप नहोस भनि यस राजनीतिक शब्दलाई सुरुवातबाट नै घृणित र दुषितको लेपन लगाईएको हो ।

(भण्डारी नेपाल विद्यार्थी संघ त्रिभुवन विश्वविद्यालय समितिका उपसभापती हुन्।)

नयाँ