arrow

वैरागीलाई मुख्यसचिव बनाउने ओलीको चाहना, १५ दिनअघी नै रेग्मीलाई राजिनामा गराईने

जगेडमा राखिएका सचिवलाई भने दिइयो काम

logo
आकाश शर्मा,
प्रकाशित २०७७ असोज २ शुक्रबार
Shanker_Das_Bairagi.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मुड चेन्ज भएन भने अबको मुख्य सचिव शंकरदास वैरागी हुने भएका छन् । बहालवाला मुख्यसचिव लोकदर्शन रेग्मीलाई १५ दिन अघि नै राजिनामा गराइ बैरागीलाई मुख्यसचिव बनाउने तयारी भएको प्रधानमन्त्री निकट स्रोतले दावी गरेको छ । रेग्मीको कार्यकाल कात्तिक ६ गतेबाट सकिदै छ । कार्यकाल पूरा हुन १५ दिन अघि मुख्यसचिवले राजिनामा गर्ने परम्परा पनि छ । २०७३सालमा तत्कालिन मुख्य सचिव सोमलाल सुबेदीले १५ दिन अघि राजिनामा गरेका थिए । तर त्यसपछि कसैले पनि १५ दिन अघि राजिनामा गरेको उदाहरण भने छैन ।

स्रोत भन्छ, वैरागीलाई मुख्य सचिव बनाउन प्रधानमन्त्री ओलीले बहालवाला मुख्यसचिव रेग्मीलाई राजदुत बनाउन तयारी गरेका छन् । सरकारले राजदुतमा सिफारिश गरेमा रेग्मीले १५ दिन अघि नै राजिनामा गर्ने भएका छन् । तर रेग्मीले १५ दिन अघि राजिनामा गरेनन भने बैरागी मुख्सचिव हुन पाउँदैनन् । वैरागीको कार्यकाल असोज २२ बाट सकिदै छ । उनले असोज २२बाट अनिवार्य अवकाश पाउने भएका छन् । वैरागी हाल परराष्ट्र मन्त्रालयका सचिव हुन्। 

वहालवाला मुख्यसचिव रेग्मीले कार्यकाल पूरा हुन १५ दिन अघि राजिनामा गरे एउटा परिदृष्य बन्छ भने कार्यकाल पूरा गरेर राजिनामा गरे भने अर्को परिस्थिति तयार हुनेछ । रेग्मीले १५ दिन अघि राजिनामा गरे भने मुख्यसचिवका मुख्य दावेदार बहालवाला ३ सचिव  बैरागी, केदार अधिकारी तथा मोहनकृष्ण सापकोटा हुनेछन् । तर रेग्मीले १५ दिन अघि राजिनामा गरेनन् भने वैरागी मात्र नभइ अधिकारी र सापकोटाले पनि अवसर पाउने छैनन्। किनभने अधिकारी र सापकाटाले पनि असोज २२बाट अनिवार्य अवकाश लिदैछन् । 

कारणवश रेग्मी कात्तिक ६सम्म नै कार्यरत रहे भने जेष्ठताको आधारमा हालका उद्योग, वाणिज्य तथा आपुर्ती सचिव चन्द्रकुमार घिमिरे मुख्य सचिव बन्ने प्रवल सम्भावना छ । तर घिमिरेलाई मुख्यसचिव बनाउन प्रधानमन्त्री तयार नभएको स्रोतको भनाइ छ । रेग्मीले १५ दिन अघि राजिनामा नगरे घिमिरे बाहेक विश्वनाथ ओली र मधुसुधन अधिकारी पनि मुख्यसचिवका दावेदार हुनेछन् । किनभने घिमिरे, ओली र अधिकारी करिब करिब सँगसँगै सहसचिवबाट सचिवमा बढुवा भएका हुन् । मुख्यसचिवमा बढुवा हुन पाएनन भने घिमिरेको २०७७, माघ ८ मा, ओलीको २०७८ वैशाख ७ मा र अधिकारीको २०७८ वैशाख २४ मा अनिवार्य अवकाश पाउनेछन् ।

हाल लागु भएको निजामती सेवा ऐन २०४९मा सरकारले बहालवाला सचिवमध्येबाट ज्येष्ठता र कार्यकुशलताको आधारमा बढुवा गर्ने व्यवस्था गरिएको छ । त्यसैले मुख्यसचिव बनाउने तजविजी अधिकार प्रधानमन्त्रीलाई छ । स्रोतका अनुसार, प्रधानमन्त्रीको आशिर्वाद लिन बहालवाला ६ जना सचिवहरुको दौडधुप शुरु भएको छ । यसमा बहालवाला सचिवहरूको दुई थरी दौड सुुरु भएको छ । एक थरीका दौड बहालवाला रेग्मीलाई १५ दिन अघि राजिनामा गराइ आफू मुख्यसचिव हुने र अर्को दौड रेग्मीलाई कार्यकाल पूरा गर्न लगाइ मुख्य सचिव हुने । यस दौडमा बहालवाला सचिवलाई १५ दिन अघि राजिनामा गराउने लाइन निकै बलियो देखिएको स्रोतको भनाइ छ । 

सुशासन (व्यवस्थापन तथा सञ्चालन)ऐन २०६४ले मुख्यसचिवलाई प्रशासनिक क्षेत्रको सबैभन्दा माथिल्लो पदको हैसियतमा अधिकार तथा जिम्मेवारी दिएको छ । सरकारका सचिव तथा अन्य विशिष्ट श्रेणीका अधिकृतहरुको सुपरीवेक्षण गर्ने, विभिन्न मन्त्रालय तथा अन्य सम्बद्ध कार्यालयहरुमा प्रशासनिक काम कारबाहीलाई समन्वय गर्ने, मन्त्रपरिषद्को सचिवको रुपमा काम गर्ने, तथा मन्त्रीपरिषद्को निर्णय प्रमाणित गर्नेसम्मका अधिकार मुख्यसचिवलाई दिइएको छ । 

जगेडामा राखिएका सचिवलाई काम दिइयो
केहि समयदेखि जगेडामा राखिएका सचिवलाई भने केपी ओली सरकारले काम दिएको छ । केही दिन अघि बसेको मन्त्रिपरिषद्को बैठकले जगेडामा राखिएका केदार न्यौपानेलाई मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयमा पदस्थापना गरिएको छ । यसैगरी सहसचिवबाट सचिवमा बढुवा गरिएका मधु मरासिनीलाई महालेखा नियन्त्रकको कार्यालयमा सरुवा गरिएको छ । 

गणतन्त्र पछि आफूलाई मन नपरेको सचिवलाई जगेडामा राख्ने परम्परा ओली सरकारले सुरु गरेको थियो । यस अघि २०६२/६३को आन्दोलनको बेला शाहीकालमा झण्डै आधा दर्जन तत्कालिन सचिवालाई जगेडामा राखिएको थियो र त्यसपछि बनेको सरकारले शाही कालका एक जना सचिवलाई जगेडामा राखेको थियो । तर गणतन्त्र कार्यान्वयन पछि भने कसैलाई जगेडामा राखिएको थिएन । २०७५मा तत्कालिन स्वास्थ्य सचिव पुष्पा चौधरीलाई जगेडामा राख्न खोज्दा सर्वोच्चले सरकारको निर्णय उल्टयाएको थियो । जगेडामा राख्ने चलनलाई पूर्व प्रशासकहरुकाले विरोध गर्दै आएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ