arrow

गणेशमान सिंह अविश्रान्त यात्री

logo
रामचन्द्र घिमिरे,
प्रकाशित २०७७ असोज २ शुक्रबार
ramchandra-ghimire.jpg

गणेशमान सिंहको जन्म १९७२ कार्तिक २४ गते यट्खामा भएको थियो । २०५४ असोज २ गते उहाँको स्वर्गारोहण भयो । गणेशमान सिंह ६ वर्षको हुँदा उहाँको पिताको स्वर्गारोहण भएको थियो । हजुरबुवा रत्नमान काजीको रेखदेखमा हुर्कनु भएको थियो । रत्नमानको सामाजिक क्षेत्रमा सम्मान थियो । त्यसैले पनि गणेशमान सिंहलाई निडर र हक्की  बनायो । 

एकदिन गणेशमान सिंहले गङ्गालाललाई भेटेर भन्नु भयो पार्टी खोलौं । त्यसपछि गङ्गालाल र गणेशमानले प्रजापरिषद् पार्टी खोज्न थाल्नु भयो । १९९३ जेठ २० गते टङ्कप्रसाद आचार्य, दशरथ चन्द, धर्मभक्त माथेमा, रामहरि शर्मा, र जीवराज शर्माले झोंछेको ओमबहालस्थित धर्मभक्तको फुपुका घरमा प्रजापरिषद्को गठन गरिएको थियो । प्रजापरिषद्को राणा शासनको अन्त्य गरेर प्रजातन्त्रको स्थापना गर्ने मुख्य उद्देश्य थियो । पार्टीको सदस्य बन्नुभन्दा पहिला देवस्थलमा बसेर प्रतिज्ञा गर्नुपथ्र्यो । गङ्गालाल, गणेशमान र हरिकृष्ण धर्मभक्त विजेश्वरी गएर भगवतीको पाऊ छोएर गीताको पुस्तक टाउकामा राखेर आजदेखि हामी जिउज्यान दिएर प्रजापरिषद्लाई मजबुत पार्छौं देशमा प्रजातन्त्र ल्याउछौं भन्दै सदस्यता प्राप्त गर्नुभयो ।

प्रजापरिषद्ले १९९७ असार ९ गते भोटोजात्राको दिन चोकचोकमा गल्लीगल्लीमा पर्चा छरियो । राणा सरकारले पहिचान गराउनेलाई ५ हजार पुरस्कार दिने घोषणा गर्‍यो । असार ३० गते दोस्रो पर्चा छरियो । श्रावण १६ गते तेस्रो पर्चा छरियो । भदौ २४ गते चौथोपटक पर्चा छरियो । १९९७ कार्तिक २ गतेदेखि राणा सरकारले धरपकड शुरु गर्‍यो ? गणेशमानलाई पक्राउ गर्‍यो । १९९७ साल माघ महिनाको शहीद काण्डपछि देशमा सनसनी पूर्ण वातावरण पैदा भयो । जेलमा गएर बसेपछि गणेशमान सिंहले शहिदले भनेको कुरामात्र संझन थाल्नु भयो ।
 
गणेशमान सिंहले यसै बसेर हुँदै्रन भनेर भद्रगोल जेलबाट भाग्ने योजना बनाउनु भयो । भद्रगोलको पर्खाल नाघेर, सिस्नुको झाडिमाथि हाम्फालेर रातिराति हिड्दै अनेक हन्डर खादै, छद्म नाम र रुपले धादिङ, गोरखा, स्याङजा, तानसेन हुँदै जेलबाट भागेको ७ दिनका दिन बुटवल हुँदै भारत पस्नु भयो । भारत पुगेपछि वीपी कोइरालाले पटनाबाट आह्वान गरेको सन् १९६४ अक्टोवर ४ तारिखको सर्चलाइट पत्रिकाको सूचना प्राप्त गर्नु भयो । गणेशमानले वीपीलाई भेटन चाहनु भयो । वीपी र गणेशमानको भेट भयो । राणा शासन अन्त्यका लागि एकजुट भएर लड्ने संकल्प गर्नु भयो । 

अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेसको राष्ट्रिय सम्मेलन वि.सं.२००३ माघ १२ र १३ गते कलकत्ताको भवानीपुरमा सम्पन्न भयो । त्यसमा १ सय २५ जनाको उपस्थिति थियो । गणेशमानको सल्लाह अनुसार पार्टीको अध्यक्षमा टङ्कप्रसाद आचार्य र का.वा. अध्यक्षमा वीपी कोइरालालाई चयन गर्ने निर्णय भयो । बालचन्द्र शर्मा महामन्त्री, डिल्लीरमण रेग्मी प्रचार अध्यक्ष, कृष्णप्रसाद भट्टराई संगठन मन्त्री, देवशंकरलाल श्रेष्ठ कोषाध्यक्ष हुनु भयो । सदस्यमा गोपालप्रसाद भट्टराई, रुद्रप्रसाद गिरी, गणेशमान सिंह, डीबि परियार, सीबी सिंह र पुष्पलाल हुनुहुन्थ्यो । यो सम्मेलनमा गणेशमान सिंह कृष्णबहादुर प्रधानको नामले भाग लिनु भएको थियो । अधिवेशन सफलताको लागि भारतीय नेताहरु महात्मा गान्धी, पं.जवाहरलाल, जयप्रकाशनारायण, आचार्य कृपालनी, आचर्य जे.बी. नरेन्द्रदेव, विजयलक्ष्मी, डा.राममनोहर, सरोजिनी जस्ता नेताले शुभकामना दिनु भएकाृ थियो । 

सम्मेलनले श्री५को वैधानिक नायकत्व, जनताको उत्तरदायी शासन स्थापना गर्ने भन्यो । यसपछि नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेस एकीकरणको विषय अघि बढ्यो । दुबै पार्टी एकीकरणको मूल उद्देश्य राणा शासनको समाप्ति थियो । २००६ चैत २७ गते कलकत्ताको टाइगर हलमा ३ सय भन्दा बढीको उपस्थितिमा सम्मेलन सम्पन्न भयो । सम्मेलनले सशस्त्र क्रान्ति गर्ने घोषणा गर्‍यो । काठमाडौंमा क्रान्तिको तयारीका लागि गणेशमान सिंहसँग मुक्ति सेनाका केही सदस्य आएका थिए । २००७ श्रावणमा हतियार काठमाडौं ल्याउने रणनीति गणेशमान सिंह र सुन्दरराज चालिसेले बनाउनु भयो । राणाको गुप्तचरले गणेशमान काठमाडौं आएको थाहा पाए । गणेशमानलाई जोगाउन भारत पठाउने योजना बन्यो । काठमाडौंमा पर्चा छर्ने काम चलिरहेको थियो । यसै क्रममा भोलामान सिंह, उनकी श्रीमती, भोगेन्द्रमान, सुन्दरराज चालिसे पक्राउ पर्नु भयो । गणेशमान भारत जान हिड्नु भयो तर ठोरीमा पक्राउ गरेर काठमाडौं ल्याइयो ।

इन्द्रजात्राको दिन राणा प्रधानमन्त्री र अन्य राणालाई मार्न खोजेको अभियोगमा गणेशमान सिंह, सुन्दरराज चालिसे, प्रतावविक्रम शाह, दिलमानसिंह थापा, कुलमानसिंह लामा, बद्रीबिक्रम थापा र पूर्णबहादुर खवास लगायत ११ जनालाई मृत्युदण्डको सिफारिस गरियो । २००७ कार्तिक २१ गते सोमबारका दिन राजा त्रिभुवन परिवार लिएर भारतीय दुतावासमा शरण लिन पुगे । कार्तिक २६ गते दिल्ली प्रस्थान गरे । त्यसै दिन नेपाली कांग्रेसले क्रान्तिको पहिलो प्रहार वीरगञ्जमा हमला गर्‍यो । राणा शासन समाप्त भयोर गणेशमानलाई दिन आँटेको मृत्युदण्डको सजाय असफल भयो । २००७ फागुन २ गते गणेशमान जेलबाट छुट्नु भयो । काठमाडौं बासीले अभूतपूर्व सम्मान र स्वागत गरे । १ सय ४ वर्षको राणा शासन ढल्यो । वि.सं. २००७ फागुन ७ गते त्रिभुवनले प्रजातन्त्रको घोषणा गरे । राणा कांग्रेसको संयुक्त सरकारमा वीपी, सुवर्ण, गणेशमान सहभागी हुनुभयो । 

२०१२ सालमा वीरगञ्जमा भएको पार्टीको महाधिवेशनमा गणेशमान सिंह सभापतिमा उठ्नु भएको थियो । गणेशमान सिंहले आफ्नो सभापति उम्मेदवारका रुपमा आफुलाई भोट दिए म पार्टीलाई संघर्षको कार्यक्रम दिन्छु, पार्टीलाई संघर्षमा लैजान्छु भन्नु भएको थियो । यस अधिवेशनमा सुवर्ण शम्शेर सभापतिमा विजयी हुनु भयो । सभापतिमा पराजित भएपनि गणेशमान सिंहको भूमिका पहिला जस्तो सक्रिय रह्यो । पार्टी एक ढिक्का भएर अघि बढ्यो । राजाले खोलोतरेपछि लठ्ठी विर्सिएझै गरे । कांग्रेसले भद्र अवज्ञा आन्दोलन, सत्याग्रह सुरु गर्‍यो ।

गणेशमान सिंह २०१५ सालको चुनावमा काठमाडौं क्षेत्र नं.१ बाट विजयी हुनु भयो । कांग्रेसको देशभरबाट दुई तिहाई मत ल्याएर विजयी भयो । यसपछि बनेको मन्त्रिमण्डलमा सबै भन्दा स्पष्टवक्ता, दृढतापूर्वक कुरा राख्न सक्ने व्यक्ति हुनुहुन्थ्यो । २०१७ साल पुष १ गते राजा महेन्द्रले सेनाको बलमा कु गरे । ८ वर्षसम्म गणेशमान सिंह फेरि थुनिनु भयो । २०२५ कार्तिक १४ गते कृष्णप्रसाद भट्टराई बाहेक वीपी गणेशमानहरुलाई छोडियो । २०२९ देखि ३१ सम्म कांग्रेसले सशस्त्र क्रान्ति संचालन गर्‍यो । त्यस समयमा समाजवादी कक्षा वीपी र गणेशमानले दिने गर्नु हुन्थ्यो । 

२०३३ पुस १६ गते वीपी गणेशमानले मेलमिलापको नीति लिएर नेपाल फर्कनु भयो । ८ वर्षको निर्वासन त्यागेर मेलमिलापको नीति लिएर आएपछि नेपालमा छुट्टै किसिमको राजनीतिक हलचल पैदा भयो । विद्यार्थी आन्दोलनले गति लियो । राजा वीरेन्द्रले २०३६ सालमा जनमतसंग्रहको घोषणा गर्न बाध्य भए । जनमतसंग्रहमा बहुदललाई नियोजित रुपमा हराइयो । गणेशमान जनमतसंग्रहको परिणाम सुनेर क्रुद्ध हुनु भयो । २०३८ सालमा पंञ्चायतले गरेको निर्वाचन बहिष्कार गर्ने निर्णय गर्नुभयो । पञ्चायतको ज्याजतिको विरुद्ध भने कांग्रेसले आन्दोलन चलाई रहेको थियो । 

२०४२ सालको प्रारम्भमा गणेशमान सिंहको निवासमा नेपाली कांग्रेसको सम्मेलन गर्‍यो । उक्त सम्मेलनमा सत्याग्रह गर्ने प्रस्ताव राखियो । जेठ १० गतेदेखि सत्याग्रह गर्ने, जेठ १ गते राजालाई स्मृतिपत्र बुझाउने । १० गते सत्याग्रह सुरु भयो । सत्याग्रहमा १०औं हजार मानिस थुनिए । मंसिर २५ गते टङ्कप्रसाद आचार्यको घरमा मानवअधिकारवादीको छलफलमा गणेशमान उपस्थित हुनुहुन्थ्यो । उहाँले पञ्चायत बाहेकका सबै शक्तिलाई संयुक्त जनआन्दोलनमा जुट्न आह्वान गर्नु भयो ।  २०४३ चैत २० मा हुने स्थानीय चुनावलाई कांग्रेसले आउटपोष्ट कब्जाको रणनीति अनुसार भाग लिने निर्णय गर्‍यो ।

२०४५ मंसिर ८ गते गणेशमान सिंहले राजासँग भेटेर पार्टी माथिको प्रतिबन्ध हटाएर राष्ट्रिय सरकार बनाई निष्पक्ष चुनाव गराउन भन्नु भयो । गणेशमानका कुरा सुनेर राजाले म सोचेर भेटौंला भने । त्यसपछि केही समय गणेशमानले राजाका कुराको प्रतिक्षा गर्नु भयो । राजाबाट गणेशमानले सोचेजस्तो कुनै कदम चालिएन । २०४६ जेठ ३ गते गणेशमान सिंहले  वीपीको ७६औं जन्मदिनको अवसरमा २०४६ भाद्र ३० गतेबाट जनआन्दोलन गर्ने घोषणा गर्नुभयो । २०४६ कार्तिक २४ गते आफु ७५ वर्ष पुगेको उपलक्ष्यमा आफुलाई शुभकामना दिन आएका नेता कार्यकर्तालाई आन्दोलन गर्नुपर्छ भन्दै कम्युनिष्टसँग पनि संयुक्त मोर्चा बनाएर आन्दोलन गर्नसकिने ढोका खोलिदिनु भयो । २०४६ माघ ५, ६ र ७ गते गणेशमान निवासमा सम्मेलन भयो र फागुन ७ गतेबाट आन्दोलन गर्ने निर्णय भयो ।

२०४६ सालको आन्दोलन उत्कर्षमा बढिरहेको थियो । २०४६ चैत २६ गते राति ११ः३० बजे राजा वीरेन्द्र शाहले पार्टी माथिको प्रतिबन्ध हटाई पञ्चायतको विघटन, बहुदलीय व्यवस्था र संवैधानिक राजा भएर बस्न मञ्जुर गरे । चैत २७ गते सर्वोच्च कमाण्डर गणेशमान सिंहलेले खुलामञ्चमा भाषण गरेर भन्नुभयो– हामीले मागेको बहुदल हो त्यो पाएका छौं । अरु प्राविधिक कुरा पुरा हुन बाँकी छ । पूर्णप्रजातन्त्र ल्याउन सबै एकजुट भएर लाग्नु पर्छ । चैत २८, २९, ३० गते देशभर जुलुश आमसभा भई रहे । 

२०४७ बैशाख २ गते परिस्थिति अचानक बदलियो । अन्ततः बैशाख ३ गते पञ्चायती व्यवस्थाको जरो उखेलियो । त्यसपछि मात्रै गणेशमान सिंहले भनेको माग पुरा भयो । गणेशमान सिंह र राजा वीरेन्द्रका बीच भेट भयो । भेटमा गणेशमानले राजाकै नेतृत्वमा सरकार गठन गर्ने प्रस्ताव राख्नु भयो । राजा वीरेन्द्रले गणेशमान सिंहलाई प्रधानमन्त्री प्रस्ताव गर्दा आफ्नो स्वास्थ्यको कारण देखाई पार्टी सभापति कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्री बनाउन सिफारिस गर्नुभयो । 

गणेशमान सिंहको सोच अनुसार नेपाली कांग्रेस अघि बढ्न सकेन भन्ने उहाँको गुनासो रहिरह्यो । २०५० सालदेखि जागरण अभियानको थालनी गरेर मेची महाकाली यात्रा गर्ने निर्णय गर्नु भयो । २०५१ असार २६ गते संसद्मा सरकारको नीति कार्यक्रम कांग्रेसका सांसद अनुपस्थित भएर फेल भयो । प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संसद् भङ्ग गरी मध्यावधि निर्वाचनको घोषणा गर्नु भयो । गणेशमान यसको विरोध गर्दै जन कांग्रेसको पृष्ठभूमिमा मेची महाकाली अभियान चलाउनु भयो । २०५१को मध्यावधीमा कांग्रेस पराजय भयो । यि सबै घटनाले गणेशमान सिंहलाई निरास बनायो । पार्टीका संस्थापक सदस्य क्रान्तिका कमाण्डर ७९ वर्षीय गणेशमानले करीव छ दशक लामो राजनीतिक यात्रा पछि वि.सं. २०५१ भदौं २७ गते आफ्नै सक्रियतामा निर्माण गरेको नेपाली कांग्रेस पार्टी परित्याग गरेको सूचना सार्वजनिक गर्नुभयो । 

गणेशमान सिंहलाई हामी अविश्रान्त यात्रीका रुपमा पनि लिन सक्छौं । प्रजापरिषद् पार्टीमा रहेर निरन्तर जोखिम मोलिरहनु भयो । त्यसपछि नेपाली कांग्रेस पार्टीको स्थापना गरेर पनि आफुलाई निरन्तर जोखिममा राखिरहनु भयो । जेलमा बस्दा मानसिक शारिरिक यातना खपिरहनु भयो । जतिनै विघ्नबाधा आएपनि राजनीतिक अभियानमा निरन्तर लागिरहनु भयो । जीवन कुनै ठाउँमा रोकिदैन भन्ने कुरालाई उहाँले अभ्यासका रुपमा पुष्टि गरिदिनु भएको छ । त्यसैले गणेशमान सिंह अविश्रान्त यात्री हुनुहुन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ