arrow

गणेशमान, कांग्रेस र नेपाली राजनीति 

logo
प्रियरंजन दाहाल,
प्रकाशित २०७७ असोज ३ शनिबार
priyaranjan-dahal.jpeg

गणेशमान सिंह र सुबर्ण शमशेर दुबै पार्टी सभापतिमा उमेद्वार भए । कांग्रेसका कार्यकर्ताका लागि असहज अवस्था बन्यो । कस्लाई छान्ने ? खराबहरुको बिच कम खराब छान्न जती गाह्रो हुन्छ त्यो भन्दा असलहरुको बिचबाट एउटा असललाई छान्नुपर्दा झन गाह्रो हुन्छ । खराबको बिच छान्दा कसैमाथि अन्याय गरेको महशुस हुन्न तर असलको बिच छान्दा अर्को असल माथि अन्याय गरेको महशुश हुन्छ । शायद गणेशमान सिंह र सुबर्ण शमशेरको बिच एकलाई छान्नुपर्दा कार्यकर्तालाई त्यस्तै अनुभव भयो होला ।

बिभाजित कोइराला परिवारमा बीपीको समर्थन सुबर्ण शमशेरलाई रह्यो । बाँकी कोइराला परिवारको समर्थन गणेशमान सिंहलाई । बीपीको समर्थनमा सुबर्ण शमशेर पार्टी सभापति निर्वाचित भए । त्यसपछि पनि गणेशमान सिंहको क्रियाशिलता पनि घटेन न  बीपीसँगको सम्बन्धमा कहिल्यै समस्या आयो। समयक्रमसँगै गणेशमान सिंह बीपीसँग झन नजिक भए, बीपिको अवशान पछी भएको २०४६ सालको जन आन्दोलनमा गणेशमानले कांग्रेसको मात्रै हैन पञ्चायत बिरोधीधारको नेतृत्व गरे । जनताले उनलाई  ४६ सालको जनआन्दोलनको कमान्डर भनेर घोषणा गरे । कांग्रेसको ईतिहासमा पार्टीको महामन्त्री र सरकारको उद्योगमन्त्री भएका गणेशमानले प्रधानमन्त्री नलिएर फर्स्टम्यानको पदिय जिम्मेवारी बिना नै नेपाली प्रजातन्रिक संघर्ष र राजनीतिको ईतिहासमा आफुलाई उपल्लो स्थानमा स्थापित गरे ।

ब्यक्तिगत पद र पैसाका लागि पार्टी नै दाउमा लगाउने समकालिन राजनीतिमा उनी एउटा श्रद्धाले शिर झुकाउनु पर्ने पात्रका रुपमा झन टड्कारोसँग देखिएका छन् । एउटा पार्टीको नाम र प्रतिष्ठा अर्को पार्टीमा भएकी सासुको लागि दाउमा लगाउने, राष्ट्रिय ब्यक्तित्व बनाएको एउटा ब्यक्ती संसदको निर्वाचनमा हार्दा पार्टीको छवी बिगारेर भएपनि संसदमा जानुपर्ने अहिलेको राजनीतिमा, समर्पण नैतिक कथामात्रै बनेको छ।आफ्नो अपरिहार्यतालाई आफैले पुष्टी गर्ने, आफ्ना आसेपासेलाई स्तुतीमा लगाउने र पार्टीभित्र जिम्मेवारी पाउने र दिने पहिलो शर्त नै त्यही बनाउने संस्कारको बिकास भएको छ । संसदको गरिमा बढाउन आफु जानुपर्ने तर्क आफैले राखेको उदाहरणहरु छन् ।

राजनीति आदर्शको प्रवचन सुनाउने थलो मात्रै हैन ब्यहावारमा खरो उत्रिएर उदाहरण बन्नुपर्ने कठिन जिम्मेवारी पनि हो । सत्ता र शक्तीले सिद्धान्त, बिचारलाई थिचेको छ । पद र पैसा नै राजनीति सफलताको मानक बनाइएको छ । सबै पार्टीको सबैखाले पुस्ता सफलता भनेकै पद र जिम्मेवेरी पाउनुलाई सम्झन्छ ।आशलाग्दा भनिएका युवा जमात पार्टीमा वा सरकारमा आफ्नो बन्दै गरेको राम्रो छवीको वास्ता नगरेर कुनै जिम्मेवारी पाउने बितिक्कै हामफाल्छन् । कतीसम्म भने नेतृत्व एउटा बिभागमा सदस्य मनोनित गरेर कार्यकर्ता किन्न सक्छु भन्ने विश्वास पाल्छ । कार्यकर्ताप्रतीको नेताको यो भन्दा तल्लोस्तरको धारणाको अरु के उदाहरण हुनसक्छ ? कुनै समय प्रधानमन्त्री पदको प्रस्ताव स्विकार नगर्ने नेता भएको पार्टीमा अहिले बिभागीय सदस्यको पद पार्टी संगठन सम्झेर होइन आउने महाधिवेशनमा नेतृत्वको आकांक्षा राखेर बाँडिन्छ र कार्यकर्ता बिक्छन भन्ने विश्वास गरिन्छ । 

कांग्रेसको महाधिवेशनको चर्चा शुरु भएको छ । दर्जनौ नेताहरु कोही खुलेर त कोही दबाएर पार्टी सभापतिदेखी  महामन्त्रीमा आफ्नो उमेद्वरीको घोषणा गर्दैछन । आफ्नो योग्यताभन्दा अरुको अयोग्यतालाई आफ्नो जित्ने आधारका रुपमा प्रस्तुत गर्दैछन् । प्राय आफ्नो ब्यक्तिगत असिमित महत्वाकांक्षालाई पुरा गर्ने अभियानमा छन् । देश र  जनताप्रतीको जिम्मेवारी बोधबाट सत्ता, प्रतिपक्ष सबै टाढिएका छन् । सत्तापक्ष, प्रतिपक्ष भ्रष्टाचार हटाउने भन्दा मिलेर सत्ता र शक्ती कसरी आफ्नो बनाउने, संबैधानिक निकायमा भागवण्डामा कसलाई कहाँं खटाउनेमा केन्द्रीत छ । राज्य यति अबिश्वासनिय छ कि उसले कुनै पनि निर्णय राम्रो गर्छ भन्ने विश्वास जनतामा छैन । एउटा कर्मचारीको पदावधी सकिन्छ अर्को झन बढी योग्यले नियुक्ती पाउन सक्छ भन्ने विश्वास नहुँदा जनता कर्मचारीको पक्षमा नारा लगाउदै सडकमा आउँछ ।

जनताले  राजनीतिक पार्टीलाई भरोसा गर्नुपर्ने हो। पार्टीले योग्य र इमान्दारलाई उपयुक्त स्थानमा जिम्मेवारी दिनुपर्ने हो तर सरकार र प्रतिपक्ष दुबै भ्रष्ट छन्। इमान्दरले अवसर पाउँछ भन्ने विश्वाश आमजनतालाई छैन । प्रजातन्त्रमा जनप्रतिनिधीमाथिको निरासाको यो चरमस्वरुप हो । सत्ताधारी मात्रै हैन प्रतिपक्षप्रती पनि जनताको भरोसा बढेको छैन । कार्यकर्ता स्वयंलाई आउने महाधिवेशनमा कांग्रेसमा ठूलै परिवर्तन आउछ भन्ने विश्वास छैन ।

आमजनता र कार्यकर्तामा स्थापित आफ्नो नकारात्मक धारणा र रुपलाई नेतृत्वले परिवर्तन गर्छु भन्दैन बरु पार्टी रुपान्तरण भन्छ । कांग्रेसको रुपान्तरणको अर्थ बीपी, गणेशमान, सुबर्ण र सुर्य प्रसादको कांग्रेस फेर्ने भनेको हो ? कुनै पनि पार्टीको रुप उसको सिद्धान्त र बिचारले तय गर्छ । के पार्टी रुपान्तरण भनेको कांग्रेसले त्यसलाई छोड्ने भनेको हो ? वास्तवमा कांग्रेसको हैन कांग्रेसको नेतृत्व गर्नेको रुपान्तरण अथवा परिवर्तन जरुरी छ । पार्टीको रुपान्तरण हैन ब्यक्तिगत लाभका लागि कुरुप बनेको कांग्रेस नेतृत्वको चरित्रको रुपान्तरण जरुरी छ ।

गणेशमान सिंहका छोराले एउटा अन्तर्वातामा भनेका छन् उनको पिताको लागि शहीद गंगालालले मर्नुअघी जेलमा "मेरो रगतलाई नबिर्सनु" भनेको आवाजले सधैं प्रजातान्त्रिक अधिकारको संघर्षमा प्रेरणाको काम गर्‍यो । एउटा पाएको प्रधानमन्त्री नलिने नेता र त्यही पार्टीको अर्को नेता ज्योतिषी कहाँं कतिपटक प्रधानमन्त्री हुन्छु भनेर भविश्य देखाउन जान्छ । आफ्नो बिगतको संघर्षपूर्ण ईतिहासलाई सासुको राजदुत पद, श्रीमतीको सांसद पदमा, छोरालाई राजनीतिक नियुक्तिमा लीलाम गर्न पुग्छ । अहिलेको नेपाली राजनीतिमा यो संस्कार बनेर आएको छ । धर्म अफिम हो भन्ने राजनीतिक पार्टीको नेतृत्व भैंसीको पूजा गरेर भए पनि आफुलाई सत्तामा टिकाइ रहन चाहन्छ ।

ग्रीक कथामा एउटा पात्र छ, हर्कुलस । अत्यन्त बलशाली हर्कुलसलाई पराजित गर्न उसकी सौतेनी आमाले केहि समयको लागि बौलाहा बनाइ दिन्छे । त्यहि समय उसले आफ्नो सबैभन्दा प्यारी श्रीमती र सन्तानलाई मार्न पुग्छ । आफ्नो बिगतको गौरब, पौरखलाई सत्ता र शक्तिको लोभमा पार्टी नै कमजोर बनाउनेतिर नेतृत्व अग्रसर देखिन्छ । अझ ब्यक्तिगत स्वार्थका लागि पार्टी फुटाउने काम नेपाली राजनीतिमा सामान्य बनिसक्यो । बलशाली तर बहुलाएको हर्कुलसहरुको बाहुल्यले नेपाल र नेपाली राजनीति बिसंगत बनेको बेलामा गणेशमान सिंहको समर्पणले इमान्दार राजनीतिक कार्यकर्तालाई सधैं प्रेरित गरिरहनेछ र नेपाली जनतामा राजनीतिक पार्टी र नेतृत्वप्रती घोर निरासाबिच पनि असल मान्छेहरु पनि राजनीतिमा पाउने आशालाई जगाइरहने छ । 

तत्कालिन दरबारको काजीको नाती, कुस्ती खेलाडी आफ्नो आरामको जीवन, ऐस र बैंशलाई छोडेर बर्षौ जेल बस्छ, अनेकन यातना सहन्छ, निर्वासित हुन्छ, सयौं कोर्रा खाएर बेहोस भएर लड्छ, तर बेहोसीमा पनि जनताको अधिकारको लागि लड्ने प्रण गरिरहन्छ, प्रजातन्त्र जिन्दाबाद भनेर बर्बराइ रहन्छ र आजीवन त्यसकै लागि पार्टी भित्र र बाहिर लडिरहन्छ । नेपाली राजनीतिमा गणेशमान सिंह समर्पण र त्यागको प्रतिमुर्तीको रुपमा सधैं रहनेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ