प्रेमकथा

लबहरि ढुङ्गेल, प्रकाशित मिति : २०७७ असोज २६ सोमबार

प्रिय, कसरी सुरु गरौं । कुन कुराबाट सुरु गरौं आज म आफ्नो कथा । मेरो हरेक अध्याय, हरेक खण्ड, हर अनुच्छेदमा तिमी छौ। तिमी चाहेर वा नचाहेर अटाएकी हुन्छौ, त्यसमा कुनै शंका छैन । तिमी मेरो जीवनको उत्तरार्धमा थियौ र पश्चिममा पनि हुनेछौ । जसरी सरगमबिना संगीत अधुरो छ, त्यसैगरी तिमी नभए अपूर्ण कथा बनेर म पनि हराउनेछु । तिमीले दिएको साथको लागि धन्यवाद भनेर तिम्रो मायाको अपमान गर्न कहाँ सक्छु र ? म बाँच्नुको उदेश्य तिम्रो ओठमा मुस्कान हेर्नु र आफू तिम्रो छत्रछायाँ रहिरहोस् भन्ने हो । आज अस्तव्यस्त मेरो जिन्दगीको यदि कसैले चासो राख्छ भने त्यो तिमी नै हौ । कसैले तैँले किन त्यसको मतलब गरिस् भनेर तिमीलाई प्रश्न गर्नै सक्दैन । तिमी आफैँमा ढुक्क छ्यौ, अनि म तिमीमा। मेरो मायाको एउटा मात्र सहारा भनेकै तिमी हौ ।

विज्ञानले मुटुको चार कोठा छ भन्छ, अरुको बास ती कोठाको कुनै एक कुनामा हुँदो हो तर तिमी हरेक कोठाको मध्यबिन्दु बनेर बसेकी छौ । मलाई भगवान कृष्णको कृपा छ होला र त मायामा हार्न जान्दिन। साँढेले लखेट्दा पनि म प्रेम बाँड्न खोज्छु । सायद तिम्रो मायाको अलौकिक शक्तिले बचाउँछ भन्ने निश्चित भएकाले हुनुपर्छ । तिमीलाई त सबै थाहै छ, म तिम्रा केही कुरा पनि हार्न सक्दिन । अब भन म तिमीलाई कुन पल नसोचौंला । मैले लेख्ने कवितामा शब्द तिमी हुन्छौ, शब्दमा भाव तिम्रो हुन्छ अनि भावमा आकृति तिम्रो । मेरो हातमा घडी छैन तर हरेक पल तिमी मेरो समय बनेकी हुन्छौ । बिहानीको किरणदेखि मध्यरातको निद्रामा पनि सपनी सजाउन आएकी हुन्छौ । तिमीलाई पाएर म कुर्सीमा बिराजमान नेताभन्दा बढी खुसी छु । त्यसैले मैले तिमीलाई खोजिरहन निस्कनु जरुरी छैन । मेरा हरेक ध्यानमा तिमी नै बसेकी हुन्छौ तेस्रो आँखा बनेर ।

परेवाले कुँडकुँड आवाज निकाल्दै चारो टिप्दै गरेको देख्दा तिमीलाई सम्झिएँ । हो प्रेमले नै त हो कतिबेला कहाँबाट मट्याङ्ग्राले घाइते बनाउँछ भन्ने आभास हुँदाहुँदै पनि उ चारोको खोजीमा निस्किएको । उसलाई गुँडमा भएका बचेराहरुको मात्र झझल्को आएको हुन्छ । उ घण्टौं उडेर लामो दुरी तय गरेर भए पनि चारो लैजान्छ किनकि प्रेम छ र प्रेमले मात्र पुग्दैन। म पनि यहाँ छु टाढा किनकी त्यो न्यानो अंगालोमा बाँधिएर मात्र प्रेमको कथा अजर अमर बन्ने हैन। नत्र मदनले ल्हासा किन जानुपर्थ्यो र ? प्रेम नै त हो । आज पनि प्रेममै गीत गुन्जिन्छन्, कथा सुनाइन्छन्। जति पनि त्याग र तपस्या हुन्छन् र भविष्यमा पनि हुनेछन् त्यो सब प्रेमकै कारण हुनेछन् । प्रेम एउटा धारो हो जुन निरन्तर बहने छ यहाँका हरेक उपासनालाइ भिजाउनका निम्ति ।

मेरो हातमा घडी छैन तर हरेक पल तिमी मेरो समय बनेकी हुन्छौ । बिहानीको किरणदेखि मध्यरातको निद्रामा पनि सपनी सजाउन आएकी हुन्छौ। तिमीलाई पाएर म कुर्सीमा बिराजमान नेताभन्दा बढी खुसी छु । आजभोलि एउटा प्रश्न चर्चाको शिखरमा छ त्यो त थाहै होला । आखिर धन बिनाको मन र मन बिनाको धन कुन ठूलो हो भनेर छुट्याउने कुनै सुत्रधार नै बनेकै छैन । जुन आँखाले हामी हेर्छौँ त्यहाँ त्यही ठूलो हुन्छ चाहे मन होस् या धन । हामीले इर्ष्याको चस्मा लगाएर हेर्ने गरेकाले मात्र छुट्याउन नसकेका हौं । हामी जाडो भए त्यही घाम प्यारो सोच्छौं र गर्मीमा त्यस्लाई दोष दिन कुनै कसर बाँकी छोड्दैनौं । अब भनौं त ठूलो के ? एउटै कुरा समय र परिवेशले हामी फरक तरिकाले हेर्छौं भने ठूलो र सानो किन भन्ने ।

शत्रु कमाउने धन कहिल्यै ठूलो हुँदैन तर मित्र कमाउने मनलाई यसले कहिल्यै ठूलो हुन पनि दिएन । त्यसैले हामीमा दुविधा छ । अन्तर्मनको यात्रामा निस्किएको दिन भ्रमको बादल फुट्नेछ अनि मात्र सत्यको झरी दर्कन्छ र सबैले प्रेमको सही शीतलता महसुस गर्नेछन् । म पनि त्यही क्षणको प्रतीक्षामा छु तबसम्म तिमीले धैर्य गर्न सक्यौ भने बचेको जिन्दगी रमाउन सकिन्छ। हैन भन्छौ भने त न आज सहज हुन्छ न भोलिको समय उज्यालो होला ।

प्रेमको कुन रंग चाहिँ आहा छ भन्न सक्छौ ? म त प्रेमका हरेक किरण उज्यालो देख्छु । हरेक पल म तिम्रो चमक आफ्नो शक्ति बनाउन खर्च गरिरहेको छु । तिमी प्रेरणाको धारो खोल्ने गर तब म हारेका पाइला जित्दै निस्किनेछु । सुनको चुराले बाँधेर बन्धक बनाउने हैन, प्रेमको डोरीले स्वतन्त्र पंछी बनेर उढ्न सिकाउँछु । तिम्रो काख सिरानी नबनाएको पनि जुग नै बित्न लागेछ ।

म आज पनि ती दिनमा फर्कन चाहन्छु जहाँ म तिम्रो साथमा हराएको हुन्थे । प्रश्न गर्नु त गलत नै हुन्छ तर के तिमी मलाई आफ्नो छातीमा टाँसेर राख्छ्यौ ? त्यसरी नै जसरी तिम्रो अधिकारले दिएको छ । जसरी तिमीले मलाई कहिल्यै राख्ने गर्थ्यो । जसरी म निदाउँथे अनि तिमी मलाई चुम्थ्यौ । म त्यही दिन आज पनि चाहन्छु । म मेरो प्रियाको साथ चाहन्छु ।

म चाहन्छु कि तिम्रा आँखा रसाउन, तिमीले गहभरी आँसु बोकेकी हौ तर केवल खुशीले । तिमीले मेरो खातिर धमिल्याएका ती पानाहरु कुचिकारको मसी चोरेर म रंगाउनेछु । प्रेमले । सम्बोधनमा मैले प्रिय खर्चिएकोमा क्षमा चाहन्छु । तिमी प्रिय मात्र छैनौ किनकी आदर्शलाई प्रिय मात्र भन्नू अनुचित नै हुन्छ जस्तो लाग्छ । तर सम्बोधनको लागि सायद त्यो जरुरी पनि थियो । तिमी प्रियभन्दा पनी प्राणप्रिय छौ । आज प्रेमको खाग ओढेर चरित्र हत्या गर्नेहरुको भिडमा छु म त्यही भएर डर पनि कताकता लाग्छ । कतै म पनि तिनीहरुजस्तै कपटी त हुने हैन ? अहँ । तिमीले मायाको समुन्द्रमा डुबुल्की मार्न सिकाएकी छौ अनि म छाल बगाएर छिटा मात्र भए पनि नछरी कसरी बस्न सकुँला ? बस मैले देखाउन अझ केही समय लाग्न सक्छ तर तिमी बिल्कुल पनि शंका नगर है। तिमीलाई क्षितिजको त्यो गुमनाम बिन्दुमा छोडेर म कुनै यात्रामा निस्कने छैन यो मेरो वचन भयो।

लबहरि ढुङ्गेल

लालबन्दी सर्लाही

नयाँ