arrow

काल बनेको सिद्धबाबाको बाटोबाट नागरिकले कहिले पाउने राहत ?

logo
कविता पन्थी,
प्रकाशित २०७७ असोज २९ बिहिबार
siddababa-pahiro-1.jpg

गत चैत्रमा तम्घास जाँदा चार घण्टामा पुगेकी रुरु शर्मालाई असोजको दोस्रो हप्ता तम्घास पुग्न सात घण्टाभन्दा पनि बढी लाग्यो । सधै एक, डेढ घण्टामा पुगिने तानसेन पुग्न नै तीन घण्टा लाग्यो । तल्लो सिद्धबाबाबाट अगाडि लागेपछि प्रवास नपुगुन्जेल उनी डरले भुतुक्क भइन् । दुई दिनमा फर्कनुपर्ने योजनाका साथ हिडेकी उनले मनमनै पानी नपरोस् भन्ने कामना पनि गर्न  भ्याइन् । काठमाडौं जान हिडेका गुल्मीका विशाल पन्थी सिद्धबाबा क्षेत्रका विभिन्न ठाउँमा गएको पहिरोका कारण बाटो सुचारु हुन नसक्दा स्याङ्जा, पोखरा हुदै लामो बाटोबाट यात्रा गर्न बाध्य भए । विभिन्न कामले बुटवल आउनुपर्ने,यही बाटो हुदै काठमाडौं लगायत देशका विभिन्न ठाउँमा पुग्नुपर्ने, सुनौली हुदै भारततर्फको यात्रा गर्नुपर्ने  सबैलाई यो बाटोको दुरावस्थाले सास्ती दिएको छ ।

तराइ पहाड मिलनविन्दुको रुपमा रहेको तल्लो सिद्धबाबादेखि नै कहालीलाग्दो बाटो शुरु हन्छ । निकै अनिश्चयका बिच यात्रा तय गर्नुपर्छ । उबडखाबड बाटो, ठाउँठाउँमा ठूलाठूला खाल्डाहरु । माथिबाट आएको झरनाको पानी सडकमै बगेको छ, सडकको छेउतिर अधिकांश ठाउँमा भासिएको छ । माथितिर हेर्दा सानादेखि ठूला ढुंगाहरु झर्न तम्तयार भएर बसेका जस्ता देखिन्छन् । दैनिक १० हजार सवारी साधन ओहोरदोहोर गर्ने सडकको अवस्था यस्तो कहालीलाग्दो छ । यही बाटोमा दैनिक हजारौको संख्यामा टिप्पर ओहोरदोहोर गर्छन् । अप्ठयारो, घुमाउरो, साँघुरो बाटो, टिप्परको अनियन्त्रित गतिका बिच यात्रा कम कष्टकर हुँदैन ।

यो सिद्धार्थ राजमार्ग पोखरालाई पाल्पा हुदै लम्बिनीसँग जोड्ने प्रमुख राजमार्ग हो । कास्कीबाट शुरु भइ सुनौलीसम्म पुग्ने यो राजमार्गको लम्बाइ करीब १८१ किमी रहेको छ । ४८ वर्षअघिदेखि संचालनमा आएको यही राजमार्ग हुँदै गुल्मी, अर्घाखाँची, बाग्लुङ, पाल्पा, पर्वत, स्याङ्जा जाने सवारीसाधनहरु यात्रा तय गर्छन् । हरेक बर्ष धेरै जनधनको क्षति हने यस राजमार्गको सिद्धबाबा, तल्लो सिद्धबाबा, दोभान, रामापिथेकस पार्क, भूतखोला, कालीमाटी लगायतका स्थानको बाटो क्षतिग्रस्त  छ।त्यतिमात्र नभएर यो वर्ष परेको अत्यधिक वर्षाका कारण यो क्षेत्रमा थप पहिरो पनि गएको छ । राजमार्गको धेरै स्थानमा एकतर्फी सवारी चल्नुपर्दा जामको समस्या पनि उत्तिकै छ । लामो समयदेखि वैकल्पिक सडकको चर्चा भएपनि अहिलेसम्म संचालनको टुङ्ंगो छैन ।

यो राजमार्ग चुरेक्षेत्रमा छ । चुरेक्षेत्र भनेको पूर्णरुपमा नखाँदिएको खुकुलो पत्रे चट्टान भएको क्षेत्र हो । यही चुरेक्षेत्र भई महाभारतबाट बग्ने नदीहरु तराइतर्फ बग्ने हुँदा यो प्राकृतिक रुपमा संवेदनशील क्षेत्र मानिन्छ । चुरेक्षेत्र जैविक विविधतायुक्त्त क्षेत्र हो । यस क्षेत्रमा १५ लाख वर्ष पुराना प्रागऐतिहासिक वन्यजन्तुका अवशेषहरु रहेको अनुमान गरिन्छ । यस सिद्धबाबा क्षेत्रमा पनि आदिमानव रामापिथेकसको अवशेष प्राप्त भएको हुँदा त्यहाँ रामापिथेकस पार्क नामाकरण समेत गरिएको छ । भौगोलिक वनाबटकै कारण पनि चुरे संवेदनशील क्षेत्र हो, त्यसमा जलवायू परिवर्तन, नदीजन्य पदार्थको अव्यवस्थित उत्खनन, वन डढेलो, भौगर्भिक अध्ययनविना सडक लगायत अन्य संरचना निर्माण हुनु लगायतका कारणले यो क्षेत्रमात्र नभई नेपालको पूर्वदेखि पश्चिमसम्म ३३ जिल्लाका केही न केही भाग ओगटेको चुरेक्षेत्र प्रभावित बनेको छ ।

सिद्धबाबाको बाटो राम्रो गराउने प्रतिबद्धता हरेक चुनावताका नेताहरुले गर्ने गरेको तर त्यो केवल चुनावी एजेण्डा जस्तोमात्र बनेको टिप्पणी गर्छन् हिमालय बुक हाउसका संचालक माधव गौतम । धेरैपटक सिद्धबाबाको बाटो सुधारका प्रतिबद्धता र योजना सुनिरहेपनि पुरा कहिल्यै नहुँदा नेतृत्वप्रति नै जनताको अविश्वास बढेको ठम्याइ गौतमको छ । ‘जनजीविकासंग जोडिएको र गुल्मी, पाल्पा, स्याङ्जा,अर्घाखाचीका ग्रामिण जनताको जल्दोबल्दो समस्याको रुपमा रहेको बाटोप्रति नेतृत्व उदासिन बन्नुले राजनीतिप्रति नै एकप्रकारको उपेक्षाभाव प्रकट भएको छ ’ पाल्पाका विपिन बस्यालले भने ।

गुल्मी, अर्घाखाची, पाल्पा, स्याङ्जाबाट धेरै संख्यामा  जनताहरु रुपन्देहीमा बसाइसराइ गरेर आएका, केही समय यता केही समय उता बस्ने गरेका, चाडपर्व मनाउन आफ्नै थातथलोमा जाने चाहना, पढाइ र रोजगारीका लागि रुपन्देही झरेकाहरुको लागि यो बाटो पानीपधेरो जस्तै हुनुपर्ने तर एकदमै अनिश्चयका बिच यात्रा गर्नुपर्ने वाध्यता छ भन्छिन मन्जू भुसाल । सधै यात्रा गर्दा सिद्धबाबाको बाटो कटे है भनेर परिवारलाई निश्चिन्त गराउनुपर्छ उनी थप्छिन् ।

बुटवलको रापिलो मौसमबिच गर्मी छल्ने उपयुक्त मौसम रहेको झुम्सा, दोभानक्षेत्र पनि ओझेलमा परेको छ । शितल हावामा विचरण गर्न, छुट्टी मनाउन, वनभोज गर्न जाने स्थानको रुपमा विकास हुनसक्ने संभावना देखेरै यसक्षेत्रका व्यवसायीले लगानी गरेपनि उनीहरुको सपनाले पूर्णता भने पाउन सकेकोे छैन । राम्रो पर्यटकीय क्षेत्र हुने अवसरहरु हुँदाहुँदैपनि सडकको दुरावस्थाका कारण समस्या भएको तिनाउ रिभरसाइट रिसोर्ट प्रा.लि.का अध्यक्ष चित्र के.सी.ले गुनासो गरे ।

वैकल्पिक मार्गको रुपमा प्रस्तुत गरिएको चरङ्गेको बाटो पनि प्रभावकारी नभएको जनगुनासो छ । केही समय अगाडि सिद्धबाबाको बाटाको सुधारका लागि सुरुङमार्ग बनाउने प्रतिबद्धता प्रस्तुत गर्दै योजना ल्याइएपनि  यसको भूगोल अध्ययन गरेर मात्र कार्य  प्रारम्भ गर्नुपर्ने अन्यथा पछि पछुताउनुपर्ने अवस्था नआउला भन्न सकिदैन । वैकल्पिक मार्गमध्ये सालझण्डी अर्घाखाँची गुल्मीको तम्घास हुँदै ढोरपाटन जोड्ने सडक निर्माण योजना तय भइ बहुसंख्यक जनता खुशी भएको भनिएपनि राजनीतिक पूर्वाग्रहका कारण यो सडक निर्माण योजना सम्पन्न हुन नसकेको रेसुङ्गा बहुमुखी क्याम्पसका राजनीतिशास्त्रका प्राध्यापक गुणानिधी शर्माको कथन छ । वहुसंख्यक जनताहरुको माग, आवश्यकताको विषयलाई राजनीतिक आग्रहपूर्वाग्रहको रुपमा नलिई सेवा, समर्पण भाव राख्ने हो भने जस्तासुकै अप्ठेरा, कठिन काम सम्पन्न गर्न सकिन्छ भने यो बाटो सुधार गर्नु सामान्य काम भएको शर्माले बताए ।

यातायात समाजको विकासको एक महत्वपूर्ण आधार हो । जवसम्म सडकहरु व्यवस्थित बन्दैनन् तबसम्म सुखी र समृद्ध मुलुक बन्न सक्दैन । चुनावताका गरेका प्रतिबद्धता पुरा गर्नु र जनताको सुखसुविधाको ख्याल गर्नु जनप्रतिनिधिको कर्तव्य हो । सडकसँग शासकको स्वार्थ जोडिनु हुदैन । पर्यटन,व्यापार,उद्योगधन्दाको आधार यातायात नै हो । जबसम्म सडकमा यात्रा गर्दा सुरक्षित बन्न सकिदैन, यस्तो यातायात प्रणालीबाट अरु विकासका संभावनाको अपेक्षा कसरी गर्न सकिएला ?



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ