arrow

कृषि उत्पादनमा लोभ्याउँदै कांग्रेस नेता जनक

logo
दीपेन्द्र बस्नेत, 
प्रकाशित २०७७ कार्तिक ४ मंगलबार
janaksingh-dhami.jpg

कञ्चनपुर । विद्यार्थी राजनीतिबाट नेपाली कांग्रेसमा प्रवेश गरेका कञ्चनपुरका ५० वर्षीय जनकसिंह धामी यतिबेला कृषि उत्पादनमा युवालाई लोभ्याउन लागि परेका छन् । उनले व्यावसायिक केरा खेती सुरु गरेका हुन् । 

२०७६ असारदेखि साढे ७ लाखको लगानीमा ४ बिगाहा जमीन भाडामा लिएर दानसिंह ठगुन्नासंग मिलेर उनी केरा उत्पादनमा होमिएका छन् । २०४६ सालदेखि नेपाल विद्यार्थी संघ मार्फत राजनीतिमा प्रवेश गरेका जनक २०४९ मा नेबिसंघ कञ्चनपुरका सचिव थिए ।
 
समयसँगै माउ पार्टी कांग्रेसको राजनीतिमा समेत सक्रिय जनक २०५९ मा कञ्चनपुर क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिसमेत रहिसकेका थिए । जनक यतिबेला नेपाली कांग्रेस कञ्चनपुरका सदस्य हुन् ।
 
दार्चुलाका युवा दानसिंह ठगुन्नासँग मिलेर उनले पुनर्वास नगरपालिका ४ घ गाउँमा आधुनिक कृषि उद्यम केन्द्र नामको फर्म दर्ता गरि केरा खेतिमा होमिएका छन् । 

सुरुमा सानै स्तरमा केरा उत्पादनमा लागे पनि यी दुई युवाहरुको योजना भने निकै महत्वाकांक्षी रहेको छ । ४ बिगाहा जमीनबाट सुरु गरिएको केरा खेती अहिले ५ बिगाहामा फैलिएको छ । योसंँगै लगानी १७ लाख बिस्तार भएको छ ।
 
०४६ सालमा प्रजातान्त्रिक शासन स्थापनाको निम्ति नेपाली काँग्रेसले थालेको जनआन्दोलनका बेला  पक्राउ परि जेल परेका धामी राजनीति समृद्धिका लागि गरिनु पर्छ भन्छन् । समृद्धि त्यसै भाषणले हुने होइन त्यसका लागि कर्म गर्नु पर्छ र समृद्धिका लागि उत्पादनमा जोड दिए मात्रै बन्छ । त्यसकारण पनि राजनीतिमा होमिएका नेता कार्यकर्ता स्वयं कृषि उत्पादनमा जुट्न सके आम्दानी संगै शिक्षित युवालाई कृषि मोह बढाउन उदाहरण समेत मिल्ने जनक धामी बताउँछन् । 

समृद्ध समाज र समाजवाद भन्ने कुरा भाषणले आउने होइन आफै जुटे मात्रै देश र समाजलाई समृद्ध बनाउन सकिने जनकको यो पहलले राजनीतिमा लागेका तमाम नेता कार्यकर्ताहरुलाई गतिलो सन्देश दिएको छ ।

एक वर्षअघि सुरु गरिएको जनक (दानसिंहको आधुनिक कृषि उद्यम केन्द्रले यो वर्षको असोजदेखि उत्पादन सुरु गरेको छ । असोज मसान्तसम्म ८ लाख बराबरको केरा बिक्री गरिसकेका छन् । यो सिजनमा २७ लाखको केरा उत्पादन हुने कृषक धामीले बताए ।

२०५५ मा सुकुम्बासी आयोग कञ्चनपुरका सदस्य समेत रहेका जनक ब्यबसायिक केरा खेतीमा होमिएसंगै कृषि फर्मलाई दोहरो आम्दानीको रुपमा बिकसित बनाउने योजनामा रहेका छन् । कृषिजन्य उत्पादनसँगै उद्योगका रुपमा बिस्तार गर्ने उनको अठोट कम्ता प्रेरणादायी छैन । 

बारीमा उत्पादन भएका केरा फलफूल आपूर्ति गर्नुका साथै चिप्स उद्योग सञ्चालन गर्ने उनको तयारी रहेको छ । योसँगै कञ्चनपुरको दक्षिणी क्षेत्रको नेपाल–भारत सीमा नजिक रहेको घ गाउँ स्थित केरा उत्पादन फर्ममा बनाना रिसोर्ट बनाएर आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्दै केरा फर्मलाई पर्यटन हबका रुपमा बिकास गर्ने उनको योजना रहेको छ । 

सशस्त्र द्वन्दका बेला ०५८ मा बिस्थापित बन्न पुगेका काँग्रेस नेता देशमा शान्ति पुनर्बहाली पछि स्वदेश फिर्ता भएका हुन्। कुनैबेला रोजगारी खोज्दै विदेशका गल्ली गल्लीहरुमा भौंतारिएर हिँड्ने जनक यतिबेला आफ्नै भूमिमा कृषिलाई व्यवसाय बनाउँदै समृद्ध परिवारसँगै दर्जनौं युवा, नेता र कार्यकर्ताका लागि उदाहरणीय पात्र बन्न पुगेका छन् ।  

बारीमा जि नाइन जातको उन्नत केराको उत्पादन संगै समृद्धिको साँचो हातमा लिएर हँसिलो बन्न पुगेका छन् । केरा खेतीमा जति सम्भावना छ त्यतिनै चुनौती रहेको उनको अनुभव रहेको छ । 

केरा कृषकहरुलाई बजारको मुख्य समस्या छ । सीमापारीका भारतीय कृषकले उत्पादन गरेका केरा नेपाली बजारमा सहजै आउने कारण स्थानीय कृषक मारमा परेको उनको भोगाइ छ । केरा कृषकहरुका लागि प्राविधिक सेवा , परामर्श लगायतका सेवाहरुको अभाव, सरकारी निकायको अनुगमन अभाव संगै केरा रोपेको १५ दिनभित्र बिमा गरिसक्नु पर्ने वाध्यात्मक व्यवस्था कृषकहरुको हितमा नभएको उनको दुखेसो रहेको छ ।

वाधा , ब्यवधान र चुनौतीहरुको चाङ भए पनि काँग्रेस नेता जनकले जस्तै अरु थुप्रै नेता कार्यकर्ता पनि कृषि उत्पादनमा होमिएको भए आर्थिक उपार्जन संगसंगै मुलुकमै रोजगारीको अवसर समेत बन्ने थियो र राजनीतिमा लाग्नेहरुको आर्थिक सम्पन्नताले शिक्षित युवालाई समेत प्रोत्साहित गर्न सक्थ्यो अनि देशको समृद्धि फगत नारा बन्ने थिएन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ