arrow

देश निष्काशनपछि खिन्न बनेका युधिष्ठिरलाई मार्कण्डेयले सुनाए रामको दुःखका कथा

युधिष्ठिरको चिन्ता २

logo
विष्णुप्रसाद तिमिल्सीना,
प्रकाशित २०७७ कार्तिक ६ बिहिबार
yodhisthir.jpg

गौरीघाट । एकपटक युधिष्ठिरलाई आफू देशबाट निक्लनु परेको, द्रौपदीको हरण भएको आदि कृया कलापबाट मनमा दुःख लागेर खिन्न भएका रहेछन् । उनी मार्कण्डेय आदि ऋषिहरुको सत्संगमा गए । उनले मार्कण्डेय ऋषिलाई आफू जस्तो मन्दभाग्य पुरुष संसारमा नभएको सोचेर खिन्न भएको कुरा बताएछन् । उनले “म जस्तै कोही छन् कि भनेर ऋषिलाई प्रश्न गरेछन् । उनको प्रश्न सुनेर ऋषिले यसप्रकारका दुःख पाउने पुरुषहरु पनि छन् । श्रीराम, सीता, जटायु, रावण आदिले भोग्नुपरको कष्ट, दुःखका बारेमा बताएछन् । 

उनी भन्दै गएछन्, “हेर युधिष्ठिर, अज नाम गरेका एक राजा ईक्ष्वाकु कुलमा जन्मेका थिए । उनको छोराको नाम दशरथ थियो । श्रीराम दशरथका जेठा छोरा थिए । उनी १४ वर्ष बनमा जांदा अनेक प्रकारका दुःख भोग्नु परेको थियो । द्रौपदी पनि यज्ञको वेदीबाट पैदा भएकी हुन् । उनले सबैलाई सत्कार गर्दथिन्, सबैलाई मान गरेकी नै थिइन् ।  तर पनि जयद्रथ जस्तो पापी राजाले गर्दा उनले त्यस्तो अपमानित हुनुपरेको दृष्टान्त दिएर चित्त बुझाएछन् । 

युधिष्ठिरलाई श्रीराम बारे बढी जान्ने इच्छा भएछ । उनले अनुरोध गरेपछि मार्कण्डेयले रावण, कुम्भकर्ण आदिको जन्म, तपस्या आदिका बारेमा बताउन थाले । ब्रम्हाजीका परम प्रिय मानसपुत्र पुलस्त्यजी थिए । पुलस्त्यजीको गौ नामक पत्नीको तर्फबाट एक पुत्र जन्मन गयो । यिनी वैश्रवणको नामले चिनिन्छन् । वैश्रवण आफ्नो बाबुको सेवा नगरी बाजेको सेवागर्न लागे । उनको यस्तो चाला देखेर पुलस्त्य रिसाए अनि उनको आधा शरीरबाट विश्रवा प्रकट हुन गए । 
                                                        
विश्रवा वैश्रवणसंग वदला लिन सधैं तत्पर रहन्थे तर पितामह ब्रम्हाजी उनी संग खुशी भएको हुनाले उनलाई अमरत्व र धनको मालिक (कुवेर) बनाइ दिए । ब्रम्हाजीले नै कुवेरसंग श्री शिवजीसंग मित्रता बढाइदिए । उनको नल कुवर नामको पुत्र भए र लंकाको राजधानी बनाइ दिए । त्यसैगरी कुवेरलाई जहां गएपनि हुने एक पुष्पक विमान दिए । 

विश्रवाले कुवेरलाई वक्रदृष्टिले हेर्न लागे । कुवेर लंकामा नै बस्तथे । उनी मानिसहरुले वोकेर लैजानु पर्ने पाल्कीमा बसेर यात्रा गर्दथे, त्यसलै उनलाई नरवाहन पनि नाम दिईएको थियो । आफ्नो वावुको स्याहार सुसार गर्न उनले तीनवटा सेविकाहरु प्नि नियुक्त गरेका थिए । उनीहरु तीनै जना राम्ररी नाच्नमा निपुण थिए । त्यसैले महर्षिलाई खुशी पार्न खोज्दथे । उनीहरुको नाम पुष्पोत्कटा, राका तथा मालिनी थियो । उनीहरु आफ्नो भलाई पनि चाहन्थे त्यसैले महर्षिको सेवामा तंछाड मछाड गर्दथे । महर्षिले उनीहरुलाई ईच्छा अनुसारको पराक्रमी पुत्र होस् भन्ने वरदान दिए । पुष्पोत्कटको गर्भबाट रावण र कुम्भकर्ण जन्मे । मालिनीले विभीषणलाई जन्म दिइन् भने राकाले खर र शुर्पणखालाई जन्म दिइन् । 

यी सन्तान मध्ये सवभन्दा गुणवान र धर्मरक्षक विभीषण थिए । रावण दश शीरबाला थियो । कुम्भकर्ण मायावी र कुशल लडाकु थियो । त्यसैगरी खर धनुर्विद्यामा निपुण र मांसभक्षण गर्ने हुनगयो । शुर्पणखा ठूलो शरीरकी तथा ऋषि मुनिहरुको तपस्यामा विघ्न पार्नेवाला थिइ । ती सवै केटा केटीहरु आफ्नो बाबुसंग गन्धमादन पर्वतमा सुखपूर्वक वस्तथे । एक दिन कुवेर आफ्नो बाबुसंग वसीरहेको रावणहरुले देखे । उनीहरुलाई डाहा भयो र ब्रम्हाजीको तपस्यागर्न लागे । रावणले एक खुट्टा टेकेर तपस्या गर्‍यो । कुम्भकर्ण आहारको संयम गर्दैं जमीनमा सुतेर कठोर नियम पालना गर्दथ्यो । विभीषण केवल सुकेको पात खाएर हरदम जपमा तल्लीन भईरहने भए । खर र शुर्पणखा आफ्नो दाजुभाइहरुको रेखदेखमा लागे ।  

एकहजार वर्षको कठोर तपस्या पछि रावणले आफ्नो शीर काटेर अग्नीमा होमिदिए । व्रम्हाजी खुशी भए । सवैलाई आशिर्वाद दिंदै भने, “तिमीहरु मसंग अमरत्व बाहेक सवै वर माग” भने । रावणको दशै शीर व्युंझ्यो । तिमीलाई मनुष्य बाहेक अरु कसैले मार्न सक्तैन, मैले नै मनुष्यव्दारा तिम्रो वध हुने विधान बनाएको हुं भने । रावण खुशी भयो । कुम्भकर्णको बुद्धि तमोगुणले भरिएको हुनाले धेरै समयसम्म निद्रा लाग्ने वर मांगे । विभीषणलाई पनि वर मांग भन्दा उनले जति संकट आएपनि मेरो मनमा कसैप्रति पापको भावना नआओस् भन्ने वर मांगे । ब्रम्हाजीले आफू खुशी भएर उनलाई अमरत्वको वरदान दिए । 

वर प्राप्त गरेपछि रावणले सवभन्दा पहिले आफ्नो दाजु कुवेरलाई लडाइंमा हराए । र लंकाबाट बाहिर पारिदियो । कुवेर गन्धमादन पर्वतमा आएर वस्न लागे । पछि पुष्पक विमान पनि उनीबाट रावणले खोसे । यति भएपछि कुवेरले रावणलाई यो विमान तैंले चढ्न पाउने छ्रैनस्, जसले तलाई मार्छ उसले नै चढ्छ, अव तेरो चांडै नाश हुनेछ भन्ने श्राप दिए ।
  
धार्मिक प्रवृत्तिका विभीषणले दाजु कुवेरको अनुशरण गर्दै गए अनि लक्ष्मीवान बने । रावण उद्दण्ड स्वभावको थिए त्यसैले रुप वदलेर देवता, दैत्यमाथि आक्रमण गर्दै सम्पत्ति खोस्न लागे  । यसले गर्दा संसारका सवै प्राणी दुखीत हुन पुगे । सवै देवताहरु मिलेर ब्रम्हाजीको शरणमा गए । ब्रम्हाजीले पनि आफ्नो वर अनुसार रावणको वध हुने कुरा आश्वस्त पार्नुभयो । यसरी यस प्रकारका दुष्ट प्रवृत्तिका राक्षसहरुलाई मार्न रामावतारको आवश्यकता हुन गयो र रामले त्यही पुष्पक विमानमा बसेर रावणलाई मार्नुभएको कुरा ऋषिले युधिष्ठिरलाई बताए । 

( तिमिल्सिना शिवपुरी बाबाको स्वधर्म पुस्तका संकलक हुन् ।) इमेल :aamodita@gmail.com



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ